राउटे बस्तीमा एक दिन

        दैलेख विष्णु शर्मा   |   प्रकाशित मितिः सोमवार, माघ २२, २०७४     ::: 207 पटक पढिएको   |  

 ट्वाक,…ट्वाक…ट्वाक एकनासको आवाज निरन्तर कानमा आइरहेको थियो, एक हुलको बीचमा । मस्त थिएँ, कसैको वास्ता थिएन । केटाकेटीको नाच्ने, दौडिने, अनि लुकामारी थियो, यताउता । आफ्नै लवजमा गाउँथे, कराउँथे र घरिघरि चिच्याउँथे । केही भने काठका कोसी र मधुसमा रातो माटो धसिरहेका थिए ।

माघे जाडो छ, यतिवेला । एउटा गुन्युबाट बनेको छ, जाडो छल्ने बासस्थान । बस्ती नै गुन्युले बनेको छ । परैबाट देखिन्छ, बस्तीबाट हल्का–हल्का बाफ उँडिरहेको । रातभर शीतले भिजेको गुन्युको छानो अनि त्यही छानोबाट शीत छिरेर भिजेको पातलो ओछ्यान घाममा सुकाउँदा उडेको रहेछ, बाफ । सिरसिर हावा चल्ने खोलाको किनारमा यस्तै जिन्दगी छ, राउटेहरूको । दैलेखको भैरवी गाउँपालिका–३ बागदुलास्थित राउटे बस्तीको दृश्य हो, यो ।

दिउँसो करिब २ बजेको थियो, हामी पुग्दा । राउटे समुदायका वृद्धहरू पारिलो घाम ताप्न व्यस्त थिए । चिसोले थलिएका बिरामी बच्चालाई पनि पारिलो घाममा सुताइएको थियो । युवा राउटेहरू मधुस र कोसी बनाउन व्यस्त थिए । निर्माण

गरेका सामान बिक्रीबाट आम्दानी गर्छन्, उनीहरू । पैसा वा अन्नसित यी सामान साट्ने राउटे समुदायको पुरानै चलन हो ।

माघी पर्व खुबै लाग्छ, राउटेलाई । अरू वेला ननुहाए पनि माघ महिनामा अनिवार्य नुहाउनुपर्ने कडा नियम छ, यो समुदायमा । नयाँ मानिस (हामी) पुगेपछि मुखामुख गरेका राउटे युवाले काम रोकेनन् । बरु, केटाकेटी हामीनजिकै झुम्मिए । बस्तीमा पुग्दा एकछिन खैलाबैला मच्चियो ।

०००
हातमा फोटो खिच्ने क्यामेरा थियो । राउटे समुदायले गरेका सबै गतिविधि क्यामेरामा कैद गर्नु मेरो रहर र खोजको विषय थियो । झुप्रैझुप्राको बस्ती । चिसो सिरेटो नछल्ने वासस्थान । उनीहरूको रहन–सहन नेपालका अन्य नागरिकका लागि पठनयोग्न सामग्री बन्छ भनेर सोचेँ । फोटो खिच्न के थालेको थिएँ, एक युवा उठेर ‘फोटो खिचेको त पैसा तिर्नुपर्छ’ भने । प्रकाश शाही हुन्, उनी ।

समुदायकी एक बालिकाले मधुस लिप्दै थिइन् । उनकी आमा पनि नजिकै सुतिरहेकी थिइन् । दुईजना नाबालकले गरेको कामको फोटो खिच्नु राम्रै हुन्थ्यो । नजिकै पुगेर फोटो खिच्न थालेँ । बालिकाहरूले आफ्नै भाषामा बोल्दै आमालाई उठाए । राउटे समुदायकी महिलालाले ‘रुपैयाँ दिनुपर्छ, नत्र फोटो खिच्न मिल्दैन’ भन्दै रकम मागिन् । मैले पैसा नदिई सुखै पाइनँ । एक सयको नोट ती महिलालाई दिएँ ।

पैसा दिएको देखेका राउटे समुदायका प्रकाश शाहीले विशेष गरेर पत्रकारलाई अलि धेरै नजिकबाट बुझेका रहेछन् । उनी पनि नजिकै पुगे अनि भने– म पनि गीत गाउँछु, मेरो श्रीमतीलाई सुर्ती खानका लागि पैसा दिनोस् ।

उनले गीत सुरु गरे, ‘सुस्ता हाम्रै हो बैनी, सुस्ता हाम्रै हो, कालापानी लिम्पियाधुरा, सिमखोला वनवासा हेर त्यो पनि हाम्रै हो’ ।

कसले सिकायो यस्तो गीत ? जसको नाममा एक टुक्रा जग्गा छैन, जसले नेपाली नागरिकता बनाएको छैन र जसलाई स्थायी रूपमा कुनै स्थानमा वास बस्नु छैन, फिरन्ते जीवन बिताइरहेको छ, त्यो समुदायलाई नेपालको यति धेरै माया ? मैले सीमामा मिचिएका देशको जमिन र हराएका सीमा स्तम्भ सम्झिएँ ।

आफूलाई जंगलको राजा सम्झिने, एउटै स्थानमा धेरै समय बस्न नरुचाउने, राउटे समुदाय एसियाकै फिरन्ते जाति हो । जंगलमै वास बस्ने यो समुदाय दैलेखका विभिन्न जंगलमा लामो समयसम्म बस्ने गरेका छन् । यो समुदायका बारेमा धेरै चर्चा बहस र पैरवी पनि भएका छन् । तर, आफ्नो परम्परागत सोचमा अहिलेसम्म राउटे समुदाय परिवर्तन हुन सकेको देखिँदैन ।

यो समुदायका महिलाले अहिले पनि खाम्ची भाषा नै बोल्ने गर्छन् । पुरुषहरू नेपाली भाषा पनि बोल्छन् । खाम्ची भाषाको संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आवश्यकता खड्किएको छ । यो समुदायको लोप हुने अवस्था आए भाषासमेत लोप हुने सम्भावना देखिन्छ ।
०००
राउटे समुदायमा बच्चा जन्मिनेबित्तिकै सरकारले व्यक्तिपिच्छे भत्ता दिन्छ । त्यसैले सुत्केरी महिलालाई हुने स्याहार बढेको छ । तर, विडम्बना वर्षैपिच्छे बच्चा जन्माउने प्रचलन बढेको छ, भत्ताका लागि । वर्षैपिच्छे सुत्केरी हुँदा अकालमै मृत्यु नभएको पनि होइन । राउटे बस्तीमा धेरै महिलाका बर्षौटे बच्चाबच्ची देखिन्थे ।

०००
राउटे समुदायका मानिस हरसमय जाँड पिउँछन् । आफैँले बनाएको जाँड उनीहरूको राम्रो आहार हो । कोदोको जाँडले शरीरमा तागत दिने उनीहरूमा विश्वास छ । विशेष गरी एकसरो कपडा र एउटा गुन्युको छानोमा रात बिताउनुपर्ने राउटे समुदाय चिसो काट्न पनि जाँड बढी पिउँछन् ।

एनजिओ र आइएनजिओले दिने सहयोग राउटे युवालाई कुलतमा फस्ने बहाना बनेको पनि देखिन्छ । विभिन्न संघ संस्थाले दिने सहयोग सामग्री बिक्री गरेर राउटे युवा मदिरा सेवनमा रमाउने गरेका छन् । उनीहरूले लिची भन्ने मदिरा धेरै खाने गरेको स्थानीय जानकारी बताउँछन् ।

०००
राउटे बस्तीमा अहिले तीनथरी समुदाय छन् । ठकुरी समुदायका कल्याल, रास्कोटी र स्ववंशी । यिनीहरू एक वंशले अर्को वंशको छोरी बिहे गर्ने चलन छ । चलनअनुसार उमेर पुग्ने केटा वा केटीको जोडी अर्को समुदायसँग नहुने समस्याले युवा र युवतीहरू छिप्पिँदो उमेरसम्म बिहे गर्न पाउँदैनन् । जसले गर्दा धेरै उमेर भएका केटासित कम उमेरको केटी वा धेरै उमेर भएको केटीसँग कम उमेरको केटाले बिहे गर्नुपर्ने बाध्यता देखिन थालेको छ ।

०००
परम्परागत सोच र मान्यतामा राउटे समुदाय अडिग छ । विधवा महिलालाई यो समुदायले हेलाको दृष्टिले हेर्छ । नयाँ कामका लागि बस्तीबाहिर निस्किँदा साइत नपर्ने भन्दै विधवा महिलाका लागि ढोका नै फरक राखिएको छ । अशुभ मानेर एकल महिलाप्रति दुव्र्यवहार गर्दा राउटे एकल महिलाको जीवन झन् कष्टकर बनेको देखिन्छ ।

त्यसो त राउटे समुदायको जीवनशैली परिवर्तन गर्नुपर्छ भनेर एकथरी सोच राख्नेहरू पनि छन् । र, राउटेको नाममा लाखौँ रकम खर्च गरेर परिवर्तन खोज्नेहरू पनि धेरै छन् । अर्कोतर्फ राउटे हाम्रो संस्कृति हुन्, जेजस्तो ठाउँमा रहेका छन्, त्यहीँबाट समुदायका सबैलाई संरक्षण गर्नुपर्छ भन्ने बेग्लै धारणा राख्ने पनि छन् । पछिल्ला वर्षमा राउटे समुदायमा परिवर्तनका केही संकेत देखिएका छन् । तर, समुदायका केही युवा वा युवतीले परिवर्तनको आँट गरेर मात्र परिवर्तन सम्भव देखिँदैन ।

अहिले समुदायमा लुकिछिपी मोबाइल चलाउने एक-दुईजना युवा भेटिन्छन् । यसकारण बस्तीमा भएको तत्कालको समस्या पत्ता लगाउन सजिलो भएको छ । स्वास्थ्य उपचारमा ख्यालै नगर्ने समुदायका युवा चार महिनासम्म काठमाडौं अस्पतालमा बसेर उपचार गराउन थालेका छन् । समुदायको परिवर्तनको एउटा यो संकेत हो । रोग लागेर मरिन्छ, त्यसैले वेलैमा उपचार गर्नुपर्छ भन्ने सोच समुदायमा विस्तार भएको देखिन्छ ।

अन्य समुदायका मानिससँग घुलमिल गराएर राउटेको सोचलाई परिवर्तन गर्दै लैजाान सकिने देखिन्छ । खासगरी राउटे बालबालिकालाई शिक्षा दिलाएर परिवर्तनको सहज बाटो देखाउन सकिने देखिन्छ । परम्परागत शैलीमा काठका सामग्री निर्माण गर्दै आएको समुदायलाई आधुनिक सामग्री निर्माणका लागि तालिम दिएर व्यावसायिक बनाउन सकिन्छ । उनीहरूको इच्छाअनुसार जुन ठाउँमा छन्, त्यही ठाउँमा व्यवस्थित जीवनशैलीमा जिउने व्यवस्था मिलाउन सकिन्छ । त्यसो हुँदा एउटा जातिको संस्कृति, भाषा र रहनसहन पनि जोगिन्छ, जुन आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र पनि बन्न सक्छ ।

 





Leave a comment

Your email address will not be published.


*