राउटे समुदायको कला, जिवन गुजार्ने मेसो

          |   प्रकाशित मितिः मङ्लबार, माघ २३, २०७४     ::: 111 पटक पढिएको   |  

दैलेख । यति बेलाको कठ्याग्रीदो माघे जाडो, पुराना कपडा (गुन्यु) बाट बनेका साना साना झुपडीहरु, त्यहि थियो जाडो छल्ने बासस्थान । झट्ट हेर्दा बस्ती नै गुन्युले बनेको जस्तै देखिने ।

तिनै साना साना झुपडीहरुबाट हल्का–हल्का बाफ उँडिरहेको । रातभर शीतले भिजेको गुन्युको छानो अनि त्यही छानोबाट शीत छिरेर भिजेको पातलो ओछ्यान घाममा सुकाउँदा उडेका रहेछ । सिरसिर हावा चल्ने खोलाको किनारमा यस्तै जिन्दगी छ, राउटे समुदायको । दैलेखको महावुगाउँपालिका वडा नंं ३ बासी नजिकै छामघाट खोलामा बसोबास गरिरहेका राउटे बस्तीको दृश्य हो, यो ।

खोलाको किनारमै बसोबास गर्ने राउटे परिवार पारिलो घाममा बसिरहेका थिए । समूदायका युवा युवतीहरु, बालबालिका र बृद्ध बृद्धाहरु आ–आफ्नो धुनमा थिए । साना साना बालबालिकाहरु नजिकै बगेको छामघाट खोला खेल्दै थिए । झट्ट हेर्दा उनिहरु पुराना कपटाको सहारा लिएर माछा मार्न लागेको जस्तै । ककेहि केटा केटी आमाको काखमा पारिलो घामको सहारामा मस्न निन्द्रमा थिए । आफ्नै लवजमा गाउँथे, कराउँथे र घरिघरि चिच्याउँथे ।

युवा राउटेहरू भने मधुस र कोसी बनाउन व्यस्त थिए । राउटे युवाहरुले निर्माण गरेका कोसी र मधुसलाई सिगार्दै थिए बालबालिकाहरु । केटाकेटीको नाच्ने, दौडिने, अनि लुकामारी थियो, यताउता । केही भने काठका कोसी र मधुसमा रातो माटो धसिरहेका थिए । समुदायकी एक बालिकाले मधुस लिप्दै थिइन् । उनकी आमा पनि नजिकै सुतिरहेकी थिइन् । निर्माण गरेका सामान बिक्री गर्न नै उनिहरुको आम्दानीको स्रोत हो ।

पैसा वा अन्न सित यी सामान साट्ने राउटे समुदायको पुरानै चलन हो । जंगलमा पाइने कुकाठबाट निर्माण गरिएका कोसी र मधुसहरु हेर्न लाएक हुन्छ । निर्माण गरिएका सामानहरु उनिहरु बसेको बास स्थानको नजिकका गाउँहरुमा अन्न सित साट्छन् भने कोहि जिल्ला सदरमुकाम सम्म आएर विक्री गर्छन् । नयाँ मानिस पुगेपछि मुखामुख गरेका राउटे युवाले काम भने रोक्दैनन् । बरु, केटाकेटी नयाँ मान्छु पुग्ने वित्तीकै नजिकै गएर झुम्मिन्छन् । उनीहरूको रहन–सहन नेपालका अन्य नागरिकका लागि पठनयोग्न छ ।

आफूलाई जंगलको राजा सम्झिने, एउटै स्थानमा धेरै समय बस्न नरुचाउने, राउटे समुदाय एसियाकै फिरन्ते जाति हो । जंगलमै वास बस्ने यो समुदाय दैलेखका विभिन्न जंगलमा लामो समयसम्म बस्ने गरेका छन् । यो समुदायका बारेमा धेरै चर्चा बहस र पैरवी पनि भएका छन् । तर, आफ्नो परम्परागत सोचमा अहिलेसम्म राउटे समुदाय परिवर्तन हुन सकेको देखिँदैन । यो समुदायका महिलाले अहिले पनि खाम्ची भाषा नै बोल्ने गर्छन् । पुरुषहरू नेपाली भाषा पनि बोल्छन् । यो समुदायको लोप हुने अवस्था आए भाषासमेत लोप हुने सम्भावना देखिन्छ ।

राउटे समुदायमा बच्चा जन्मिने बित्तिकै सरकारले व्यक्ति पिच्छे भत्ता दिन्छ । त्यसैले सुत्केरी महिलालाई हुने स्याहार बढेको छ । तर, विडम्बना वर्षैपिच्छे बच्चा जन्माउने प्रचलन बढेको छ, भत्ताका लागि । राउटे समुदायका मानिस हरसमय जाँड पिउँछन् । आफैँले बनाएको जाँड उनीहरूको राम्रो आहार हो । कोदोको जाँडले शरीरमा तागत दिने उनीहरूमा विश्वास छ । विशेष गरी एकसरो कपडा र एउटा गुन्युको छानोमा रात बिताउनुपर्ने राउटे समुदाय चिसो काट्न पनि जाँड बढी पिउँछन् ।


राउटे बस्तीमा अहिले तीनथरी समुदाय छन् । ठकुरी समुदायका कल्याल, रास्कोटी र स्ववंशी । यिनीहरू एक वंशले अर्को वंशको छोरी बिहे गर्ने चलन छ । चलन अनुसार उमेर पुग्ने केटा वा केटीको जोडी अर्को समुदायसँग नहुने समस्याले युवा र युवतीहरू छिप्पिँदो उमेरसम्म बिहे गर्न पाउँदैनन् । जसले गर्दा धेरै उमेर भएका केटासित कम उमेरको केटी वा धेरै उमेर भएको केटीसँग कम उमेरको केटाले बिहे गर्नुपर्ने बाध्यता देखिन थालेको छ ।

परम्परागत सोच र मान्यतामा राउटे समुदाय अडिग छ । विधवा महिलालाई यो समुदायले हेलाको दृष्टिले हेर्छ । नयाँ कामका लागि बस्ती बाहिर निस्किँदा साइत नपर्ने भन्दै विधवा महिलाका लागि ढोका नै फरक राखिएको छ । अशुभ मानेर एकल महिलाप्रति दुव्र्यवहार गर्दा राउटे एकल महिलाको जीवन झन् कष्टकर बनेको देखिन्छ ।

त्यसो त राउटे समुदायको जीवनशैली परिवर्तन गर्नुपर्छ भनेर एकथरी सोच राख्नेहरू पनि छन् । र, राउटेको नाममा लाखौँ रकम खर्च गरेर परिवर्तन खोज्नेहरू पनि धेरै छन् । अर्कोतर्फ राउटे हाम्रो संस्कृति हुन । समुदायका सबैलाई संरक्षण गर्नुपर्छ भन्ने बेग्लै धारणा राख्ने पनि छन् । पछिल्ला वर्षमा राउटे समुदायमा परिवर्तनका केही संकेत देखिएका छन् । तर, समुदायका केही युवा वा युवतीले परिवर्तनको आँट गरेर मात्र परिवर्तन सम्भव देखिँदैन ।

अहिले समुदायमा लुकिछिपी मोबाइल चलाउने एक–दुईजना युवा भेटिन्छन् । यसकारण बस्तीमा भएको तत्कालको समस्या पत्ता लगाउन सजिलो भएको छ । स्वास्थ्य उपचारमा ख्यालै नगर्ने समुदायका युवा चार महिनासम्म काठमाडौं अस्पतालमा बसेर उपचार गराउन थालेका छन् । समुदायको परिवर्तनको एउटा यो संकेत हो । रोग लागेर मरिन्छ, त्यसैले वेलैमा उपचार गर्नुपर्छ भन्ने सोच समुदायमा विस्तार भएको छ ।

खासगरी राउटे बालबालिकालाई शिक्षा दिलाएर परिवर्तनको सहज बाटो देखाउन सकिने देखिन्छ । परम्परागत शैलीमा काठका सामग्री निर्माण गर्दै आएको समुदायलाई आधुनिक सामग्री निर्माणका लागि तालिम दिएर व्यावसायिक बनाउन सकिन्छ । उनीहरूको इच्छा अनुसार जुन ठाउँमा छन, त्यही ठाउँमा व्यवस्थित जीवनशैलीमा जिउने व्यवस्था मिलाउन सकिन्छ ।

त्यसो हुँदा एउटा जातिको संस्कृति, भाषा र रहनसहन जोगिनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने कतिपयको धारणा बन्ने गरेको छ । राउटे समूदायलाई का बालबालिहरुलाई विद्यालय पठाउनु पर्ने र उनिहरुलाई अन्य समुदाय संग घुललिम हुने बातावरण बनाउने पर्ने एक थरिले बहस चलाइरहेका छन् ।





Leave a comment

Your email address will not be published.


*