दैलेखमा संग्रहालय सपना

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     ::: 168 पटक पढिएको   |  
दुल्लु राज्यकालमा गौंडाको रूपमा रहेको पौवा ।

दैलेखको दुल्लु क्षेत्र इसाको बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म प्राचीन खस साम्राज्यको हिउँदे राजधानी थियो । त्यसका अवशेष, मूर्त/अमूर्त सम्पदा अहिले पनि दुल्लु तथा वरिपरिका क्षेत्रहरूमा देख्न सकिन्छ ।

तर, त्यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्वबारे जानकारी हासिल गर्ने जिल्लामा कुनै आधिकारिक निकाय छैन । न त कुनै संग्रहालय नै । सम्पदाको दुरवस्था देखेर कुँडिएको मन लिएर फर्कनुपर्छ ।

जिल्लाबारे थोरै मात्र जिज्ञासा राख्दा उत्साहित भई धेरै बताउनेहरू प्रशस्त भेटिन्छन् । यसो हुनुमा स्थानीयमा ‘भोलि आजको जति पनि सम्पदा बाँकी नरहला र बताउने कुरा पनि नहोला’ भन्ने चिन्ता देखिन्छ ।

प्रचार अभाव र संरक्षणमा उदासीनताले स्थानीयको यस्तो भयमा मलजल गरिरहेको छ । हुनत नेपालको इतिहास अध्ययनमा काठमाडौं उपत्यकापछि धेरै अध्ययन गरिरहेको क्षेत्र नै यही हो, जहाँ विवादित विषय पनि कमै छन् ।

तर छलफलका निष्कर्ष र प्रकाशित तथ्यहरू जिल्ला तहसम्म नपुग्दा प्रचलित जनश्रुति, किम्बदन्तीहरू नै प्रचलित छन् । तिनैलाई इतिहास भन्ठानिएको छ ।

औपचारिक शिक्षामा सबैका लागि इतिहास र संस्कृतिको अध्ययन व्यावहारिक नहुने भएकाले पनि संग्रहालयको आवश्यकता देखिन्छ ।

त्यसो त सुर्खेतस्थित क्षेत्रीय संग्रहालयले दैलेखलाई पनि समेट्न नसक्ने होइन, तर ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका दृष्टिले दैलेखले आफ्नो छुट्टै संग्रहालय बनाउने हैसियत राख्दछ । र, यसका लागि दुल्लु–डाँडीमाडी सडकखण्ड हुँदै ऐतिहासिक धुलेश्वर बजार जाँदा बाटैमा पर्ने पौवा उपयुक्त स्थान हुन सक्छ ।

यो पौवाको निर्माण १८७६ सालमा काजी जशपाव थापाले गरेका हुन् । दुल्लु राज्यकालमा गौंडाको रूपमा रहेको यही पौवा स्थल दैलेख, जुम्ला, सुर्खेत र पादुका जाने चौबाटो पनि रहेको थियो ।

झिगटीको छाना, तेलिया ईंटा, काठको दलान, झ्यालहरूमा कुँदिएका सुन्दर काष्ठकलाले सुन्दर दुई तलाको यो पौवाले काठमाडौंको ऐतिहासिक कालिगरी सम्झउँछ ।

पहिले प्रहरी कार्यालय बसेको पौवा अहिले खाली त छ, तर मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । पौवाको अग्रभागको कलात्मक झयाल झुण्डिएको छ ।

पौवामा रहेको अभिलेखअनुसार पौवासँगै लक्ष्मीनारायणको मन्दिर पनि निर्माण गरिएको थियो । तर, अहिले मन्दिरको नामोनिसान छैन । सत्तलको पछाडि खुल्ला ठाउँ छ, जुन शौच र फोहोर फाल्ने रछ्यानमा परिणत भएको छ ।

ऐतिहासिक सामग्री यथासक्य सोही स्थानमा सुरक्षित राखिनुपर्छ । र, त्यसबारेका जानकारी सबैलाई उपलब्ध गराइनुपर्छ । जताततै छरिएका सामग्रीलाई संग्रहालयमा संरक्षण तथा प्रदर्शनीमा राख्न सकिन्छ ।

नष्ट भइसकेका ऐतिहासिक सम्पदालाई उपलब्ध फोटो, सम्झ्नाका आधारमा बनाइएका स्केच, अवसरविशेषमा मात्रै देख्न पाइने नाचगानका भिडियो, अमूर्त संस्कृतिको वृत्तचित्रमार्फत पनि जीवित राख्न सकिन्छ । आगन्तुकलाई बढीभन्दा बढी जानकारी दिन सकिन्छ ।

संग्रहालय स्थापनाले पर्यटकलाई मात्र होइन, स्थानीयमा पनि ऐतिहासिक तथा संस्कृतिका विषयमा उत्साह र जाँगर थप्न सकिन्छ । प्रायःजसो गाउँघरमा ऐतिहासिक शिलापत्रहरू हँसियामा धार लगाउन र गुच्चा खेल्दा ठोक्काउने सामग्री बनिरहेको देखिन्छ । यिनै शिलापत्रलाई पनि संग्रहालयमा राख्न सकिन्छ ।

दैलेखलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बरोबर सुनिन्छ । तर यहाँ पर्यटकको आवागमन निराशाजनक छ । कामको सिलसिलामा छिरेकाहरूलाई नै आन्तरिक पर्यटक मानी चित्त बुझउनुपरेको छ । यसले ‘पर्यटकीय गन्तव्य’ को नारालाई नै गिज्याएको छ ।

जिल्लाभर पर्यटन उद्योग सुहाउँदा थोरै मात्र होटल छन्, दुल्लुमा त झ्नै दुर्लभ । तर, यी होटल पनि पर्यटकभन्दा अन्य कामका लागि आउनेले नै धानिनु परेको छ । त्यसो त पर्यटन विकासमा होटल पूर्वाधार मात्र हुन्, आकर्षण होइनन् । महत्वपूर्ण त दुल्लु तथा दैलेखका ऐतिहासिक महत्वका सम्पदाको संरक्षण नै हो ।  Himal Khabar





Leave a comment

Your email address will not be published.


*