बाल विकासको सहयोगी हुँदै साँसद

        दैलेख फागुन २०   |   प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०७४     ::: 211 पटक पढिएको   |  

दैलेख सदरमुकामको पुरानो बस्ती भगवतीटोल । त्यहि टोलकी बासिन्दा हुन् पार्वती कुमारी बिशुन्के । २०४३ असोज १८ गते जम्मनु भएकी पार्वती बिशुन्कले एसएलसी पास गरे लगतै तत्कालिन सेतो गुराँस नामक संस्थाले सञ्चालन गरेको बाल विकास केन्द्रको सहयोगी बनेर सुरुवात गरेको समाजसेवाले साँसद बन्न सफल बनाएको छ ।
४ कक्षामा पढ्दै गर्दा २०५३ सालमा पहिलो पटक जिल्लाभर नै शिक्षाका खाद्य कार्यक्रम सुरु भएको थियो । बिश्व खाद्य कार्यक्रमले त्यतिबेला दैलेख लगायतका १९ जिल्लामा प्राथमिक तहका सबै बालबालिकालाई दिवा खाजा सुरुवात गरेको थियो । दिवा खाजाका लागि हरेक विद्यालयमा विद्यार्थी संख्याको आधारमा हलुवा बनाउने पीठो, घ्यू, चिनी र पकाउने भाडा समेत दिएको थियो । खाजा पकाइसकेपछि पार्वती पढ्ने भाषा पाठशाला भनिने त्यतिबेलाको नारायण प्राथमिक विद्यालयका कार्यलय सहयोगी, कहिल्यै शिक्षक अनि कुनै बेला त गैरदलित विद्यार्थीलाई बाँड्न लगाइन्थ्यो ।


तयारी खाजा अर्थात हलुवा बाँड्दा दलित विद्यार्थीको अलगै लाईन लगाउने र कापीको पानामा टाढैबाट हाल्ने गरिन्थ्यो । दलित विद्यार्थीलाई मात्र अलगै लाईन लगाई हलुवा दिने गरेको विषयमा दलित विद्यार्थीको नेतृत्व गर्दै उनले विद्यालयका शिक्षकहरुसंग छलफल गरी बिना विभेद सबैलाई संगै हलुवा खाने सुरु गराउन सफल भइन् ।

सदरमुकाम छेउमा रहेको यो बस्ती सार्की (दलित) समुदायको बाहुल्यता छ । यातायातको विकास अघि भारी बोक्ने, मजदूरी गर्ने मात्र बस्ने भएका कारण ‘ढाक्रेटोल’ भनिन्थ्यो । पढेलेखेका युवाहरु भारतीय सेना, नेपाली सेना, प्रहरी सेवा र पार्वतीकै आफ्नै काका गणेश सार्की शिक्षक भइसक्दा पनि ‘ढाक्रेटोल’ किन भन्नु ? त्यो टोलमा भगवतीको मन्दिर रहेकोले भगवतीटोल नाम राख्नुपर्ने कुरा पनि १२–१३ वर्षकै छँदा पार्वती बहस चलाइन् र अहिले भगवतीटोल भनिन्छ । २०५६ सालतिर ‘ढाक्रेटोल’ भन्नेलाई ५० रुपैंयाँ जरिवाना गराउने गरिएकोले छिट्टै सुधार आयो अनि अहिले यो टोलका नाम ‘भगवतीटोल’ नै सबैलाई कण्ठ छ ।
त्यसबेला गडी नजिकको भाषा पाठशाला भनिने नारायण प्राथमिक विद्यालयबाट प्राथमिक तह सकेपछि ६ कक्षा पढ्न त्रिभुवन माध्यमिक विद्यालयमा जाँदा उनको कपाल छोटो र गुम्रिएको कारण सलले ढाँकेर राख्ने गरेको देखेर तत्कालिन प्रधानाध्यापक खगेन्द्रबहादुर मल्लले सल हटाउदा कपाल पलाउन सक्छ भन्ने सुझावपछि पार्वतीले सल हटाएको उनि सम्झीन्छीन । त्यसपछि लाज पनि हट्यो अनि पढाई पनि अब्बल बन्न सहयोग पुगेको उनले बताइन् ।
बुबा कविराम सार्कीले डकर्मी काम गरेर उहाँ र ४ भाईहरुको पढाई खर्च जेनतेन धानेकै थिए । २०५९ सालमा पार्वतीले एसएलसी उत्तीर्ण गर्नू र त्यही समयमा सेतो गुराँस संस्थाले बाल विकास केन्द्र सञ्चालन गर्ने तयारीको बेला बालबालिकालाई सरसफाई र सिकाउन सक्ने अनि थोरै परिवारलाई आर्थिक रुपमा राहत हुने ठानेर समुदायले सहयोगी कार्यकर्ता उनलाई नै छान्यो ।
सेतो गुराँसले पार्वतीकुमारी बिशुन्के र डिलकुमारी चन्द दुई जनालाई ललितपुरमा बोलाएर १५ दिनको आधारभूत तालिम दिएर बालबालिका स्याहार, संरक्षण र सिकाई प्रक्रिया विषयमा सिकायो । त्यो बेला बाल मनोबृति बुझ्नु भएकी पार्वतीलाई २ वर्षपछि दलित सेवा संघले आह्वान गरेको मनोविमर्शकर्ता छानिन सहज भयो ।
सेतो गुराँसको परियोजना सकिए लगतै पार्वती दलित सेवा संघको मनोविमर्शकर्ता छनौट भइन् । सेभ द चिल्ड्रेनको सशस्त्र द्वन्द्व पीडित बालबालिका संरक्षण कार्यक्रममा अन्तरगत द्वन्द्व पीडित मनोसामाजिक असर, समस्या समाधान निम्ति मनोविमर्श, सहयोग तथा पुर्नस्थापना विधि बारे ६ महिना काठमाण्डौंमा लिएको तालिमले विशिष्ट सीप त सिकायो तर जिल्ला फर्केको ६ महिनामै परियोजना सकियो ।


परियोजना सकिए पनि त्यो बिशिष्ट सीप अर्थात मनोविमर्शको काम भ्याई नभ्याई भयो । त्यो बेला सशस्त्र द्वन्द्वको चरम उत्कर्षले दुल्लूमा माओवादी बिरुद्ध प्रतिकार र नौमूलेमा माओवादी आक्रमणले विस्थापित भएका सर्वसाधारणहरुलाई मनोविमर्शले पीडितहरुलाई सामान्य अवस्थामा फर्काउन ठूलो सहयोग पुग्यो । परियोजना विना स्वयम्सेवा गरेको कारण असल समाजसेवीको रुपमा मनोविमर्शकर्ताको कामले स्थापित ग¥यो । समाज सेवाकै सिलसिलामा २०६२ सालमा दलित जागरण केन्द्र नामकको अध्यक्ष भई सुरुवात गरेको पूणलिन समाजसेवा २०६५ देखि १० वर्ष दलित महिला संघको जिल्ला अध्यक्ष रहँदा गरिएका समाज सेवाले राजनीतिमा तान्यो ।
सदरमुकामको नारायण मन्दिरमा दलितहरुलाई समेत प्रवेश पाउनुपर्ने र होटल तथा चियापसलमा दलित समुदायलाई गरिने विभेद बिरुद्ध गरिएका आन्दोलन, २०६८ मा छोराले अन्तरजातीय विवाह गर्दा मारिएका सेते दमाईका परिवारलाई १० लाख क्षतिपूर्ति दिलाउनदेखि जिल्लामा दलित आन्दोलनमा अग्रणी भूमिकाले दलित समुदायको भरोसाको व्यक्तिको रुपमा पनि उहाँलाई स्थापित गरायो ।
समाजमा यति स्थापित व्यक्तिलाई समेट्दा पार्टीलाई फाइदै पुग्छ भन्ठानेर पार्टी नेताहरुले आग्रहमा २०६६ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य बन्नुभयो । त्यसपछि २०७० मा दोश्रो कार्यकाल पनि जिल्ला कमिटी सदस्य पदमा निरन्तरता दिनुभएको छ । पार्टी नेतृत्व छान्ने दुबै चुनावमा निर्वाचित १४ महिलाहरु मध्ये सर्वाधिक बढी मत ल्याएर जितेपछि राजनीतिमा पनि त्यस्तै छलाङ्ग बन्यो ।

२०५२ मा नेपाली काँग्रेसबाट रत्नबहादुर बिश्वकर्मा राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका थिए । त्यसयता दैलेखबाट दलित समुदायको व्यक्ति साँसद पदमा पुग्ने पार्वतीकुमारी बिशुन्के पहिलो व्यक्ति बनिन् । जातीय विभेदको चरम समस्या, हिंसा पीडित महिला र विकास पूर्वाधार पछौटेपन भएको अवस्थामा यी तीन क्षेत्रमा आफ्नो पहिलो ध्यान जाने उनको भनाई छ ।





Leave a comment

Your email address will not be published.


*