कुप्रथाविरुद्ध कलिला बालबालिका

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४     ::: 109 पटक पढिएको   |  

                                                              दैलेखमा वालविवाह विरुद्धको अभियानमा जुटेका स्थानीय बालबालिकाहरु ।

स्थानीय सरकारबाट असहयोग

दैलेख–चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं.३ निवासी १६ बर्षिया रमिता विश्वकर्मा आफ्नो घर नजिकै हुन लागेको वाल विवाह रोक्न पुगिन् । घर परिवारलाई सम्झाएर विवाह रोक्छु भन्ने संकल्पका साथ उनी विवाहको तयारी भइरहेको घरमा त पुगिन् । तर समुदायका अगुवाहरुहरुले नै उल्टै हप्काएर पठाए । विवाह रोक्छु भनेर गएकी रमिता आफै गाली खाएर फर्किइन् ।

रमिताका लागि यो पहिलो अनुभव भने थिएन । आफू १३ वर्षको हुँदादेखि नै सामाजिक कुप्रथा र गलत कार्यकाविरुद्ध आवाज उठाउँदै आएकी उनले यस्ता साना तथा ठूला अनेकौ चुनौतीको सामाना गरिसकेकी छिन् । आफ्नो एकल प्रयासबाट सम्भव नभएपछि उनले बालविवाह रोक्न प्रहरीलाई गुहारिन् । प्र्रहरी र दैलेख जिल्लामा संचालन भएका सामाजिक संघ संस्थासँगको समन्वयमा उक्त बालविवाह रोक्न उनी सफल पनि भईन ।

रमिता जस्तै महावुगाउँपालिका वडा नं. २ वडाखोला निवासी विपना राना समाज सुधारको अभियानमा लागेको ५ बर्ष भयो । विद्यालय समयबाहेक अन्य समयमा सामाजिक कुरिती र कुसंस्कारकाविरुद्ध आवाज उठाउदै विपनाले गाउँमा हुने गरेको दर्जनौ बालविवाह रोक्न सफल भइन् । आफुले नसके जिल्लाका सामाजिक संघ संस्था र प्रहरीको सहयोग लिएर भए पनि उनी बालविवाह रोक्ने अभियानमा सक्रियतापूर्वक लागिरहेकी छिन् ।
त्यसैगरी भैरवी गाउँपालिका वडा नं. १ निवासी कुस्मा विष्ट पनि रमिता र विपनाजस्तै सामाजिक अभियन्ता हुन्, जसले कलिलो उमेरदेखि नै समाजमा जरा गाडेर बसेका सामाजिक कुरीतिविरुद्ध आवाज उठाउँदै आएकी छिन् । दैलेखमा यस्ता सयौं बालबालिकाहरु छन्, जसले कलिलो उमेरमै समाज सुधारको अभियान सञ्चालन गरिरहेका छन् । समाज सुुधारको अभियानमा लागेका बालबालिकाहरु विभिन्न बाल क्लब र बाल संजालमा आबद्ध छन् । उनीहरुले स्थानीय स्तरमा बाल विवाह रोक्न, छाउपडि, महिला हिंसा र सामाजिक विभेदविरुद्ध सशक्त रुप्मा अभियान गर्दै आएका छन् । यसले समाजमा सकारात्मक प्रभावसमेत पर्न थालेको छ ।
अभियन्ता नै अपहेलित
रमिताले सामाजिक कुप्रथाको रुपमा मानिदै आएको छाउपडी प्रथा, बाल विवाह र छुवाछुतको विरुद्धमा आवाज उठाउन १३ बर्षको उमेरदेखि नै सुरु गरेकी थिइन् । तर समाजका अगुवाहरुले नै आफूलाई असहयोग र अपहेलित गरेको उनको अनुभव छ । ‘गाउँघरमा छाउपडीको विषयमा बोल्दै उल्टै हप्काउछन्’ रमिता भन्छिन्, ‘आफुले घरमा छाउपडीबारे पनि समाजले स्वीकार्दैन्, कुप्रथाविरुद्ध बोल्दा उल्टै गाली खाइरहेका छौ ।’
वडाखोलाकी विपना राना पनि समाजको हितमा काम गर्दा समाजबाटै तिरस्कृत समेत हुनुपरेको गुनासो गर्छिन् । उनले भनिन,् ‘सामाजिक कुरिती र कुप्रथाको विरुद्धमा आवाज उठाउदा समाजले राम्रो मान्दैन्, हामीलाई नै हप्काउने र थर्काउने गर्दछन् । तर हामी त्यसबाट डराएर भने बस्दैनौं ।’ अभियानमा लागेर समाजबाट अपहेलित हुन पुगेकी विपना जस्तै कुस्मा विष्टको व्यथा पनि उस्तै छ । उनि भन्छिन्, ‘छाउ गोठको विषयमा शिक्षीत व्यक्तिहरुलाई पनि बुझाउन सजिलो छैन्, बुझाउन खोज्दा उल्टै हामीलाई गाली गर्छन् ।’
ठाँटीकाँध गाउँपालिका वडा नं. ५ निवासी अस्मिता शाही जिल्ला बाल संजालमा आवद्ध भएर समाज सुधारको अभियानमा लागेकी छिन् । ‘विद्यालयमा खानेपानी समस्या छ, शौचालय पनि छैन्’ उनले भनिन्,‘यस्ता विषयमा विद्यालयको समयमा आवाज उठाउन खोज्दा शिक्षकहरु पनि रिसाउनुहुन्छ ।’ विद्यालयमा अभाव रहेका विषयमा मात्रै नभई छाउपडी, वालविवाह, महिलाहिंसा र बाल श्रमको विषयमा विरोध गर्दा समाजका ‘गन्यमान्य’ व्यक्तिलेसमेत असहयोग गर्ने गरेको उनी बताउँछिन् । उनि भन्छिन्,‘स्थानीय समूदाय र शिक्षित व्यक्तिहरुले त सहयोग नै गर्नुहुन्न, त्यसमाथी गाउँघरका साथीहरुको सहयोग पाइएको छैन् ।’
गहयोग गर्दैनन् जनप्रतिनिधि
निस्वार्थ रुपमा सामाजिक कुसंस्कार र कुरितिकाविरुद्ध अभियानमा लागेका बालबालिकाहरुले स्थानीय तहले पनि सहयोग नगरेको गुनासो गरेका छन् । जिल्लाका गैरसरकारी निकायहरुले सहयोग गरिरहेको भए पनि स्थानीय सरकारलेसहयोग नगरेको उनीहरुको गुनासो छ । ‘प्रहरी, महिला तथा बालबालिका कार्यालय र जिल्लाका सामाजिक संघ संस्थाहरुले सहयोग गरेका छन्, तर स्थानीय तहले हामीलाई सहयोग गर्ने कुनै पनि कार्यक्रम ल्याएको छैन’, गुराँस गाउँपालिका वडा नंं ३ का यामबहादुर विकले भने ।
जिल्ला बाल संजाल दैलेखका अध्यक्ष समेत रहेका विक भन्छन्,‘साविकका गाउँविकास समितिहरुले यस्ता अभियानमा बाल क्लबहरुलाई थोरै भए पनि सहयोग गर्थे, अहिले स्थानीय तह पुर्नसंरचना पश्चात जनताबाट चुनिएका जनप्रतिनीधिहरुले हाम्रा लागि सहयोग गर्ने आशा लिएका थियौ, तर त्यो भएन् ।’ स्थानीय तहमा गठित बालक्लबहरुलाई गाउँ तथा नगरपालिकाहरुले आफ्नो कार्यक्रमहरुमा सहभागि गराउनुपर्ने भए पनि गुराँस गाउँपालिकामा हुने कुनै पनि कार्यक्रममा आफुहरुलाई सहभागि नगराएको उनको गुनासो छ ।
‘आजसम्म गाउँपालिकाले बालबालिकाहरुका लागि के कस्ता कार्यक्रम ल्याएको छ, त्यो हामीलाई थाहा छैन्’ उनी भन्छन, ‘राम्रो काम गर्छौ भन्दा स्थानीय तहले पनि सहयोग नगर्दा हाम्रो अभियान विचमै टुंगिने डर छ ।’ उनी जस्तै चामुण्डाविन्द्रासैनी नगरपालिका निवासी सुरेन्द्र देवकोटाले पनि स्थानीय तहबाट बालबालिहरुको अभियानका सहयोग नगरेको गुनासो गरे । ‘हामीले गाउँमा कुप्रथाविरुद्ध आवाज उठाउदै आएका छौ, हाम्रो अभियानमा सहयोग र साथ दिनु त कहाँ हो कहाँ, उल्टै स्थानीय स्तरमा जान्ने बुझ्नेले नै हपार्ने गरेका छन्’ सुरेन्द्रले भने ।
बजेट विनियोजन गर्न माग
सामाजिक कुरिती र कुसंस्कारका विरुद्धको अभियानमा लागेको जिल्ला बाल संजाल, स्थानीय बाल क्लबका बालबालिकाहरुले स्थानीय सरकार गम्भिर नभएसम्म यस्ता सामाजिक अभियानहरु सफल हुन नसक्ने बताउँछन् । ‘स्थानीय तहमा आएको बजेट बालबालिकाको क्षेत्रमा विनियोजित गरेमा हाम्रो अभियानका लागि सघाउ पुग्नेछ’ जिल्ला बाल संजाल दैलेखका सचिव सुरेन्द्र देवकोटाले भने ।
वडा तहदेखि गाउँपालिका र नगरपालिकाले बालबालिकाहरुको लक्षित रकम विनियोजन गर्नुपर्ने उनको भनाइ छ । ‘स्थानीय तहले हाम्रो अभियानलाई थप हौसला प्रदान गर्नका लागि विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने अभियान थाल्नुपर्छ । त्यसबाहेक कुरिती र कुसंस्कार विरुद्धका अभियानहरु स्थानीय तहले संचालन गर्नु आवश्यक छ’ उनले भने ।

(क्रियाशील पत्रकार मञ्च नेपालबाट)

 

 

 





Leave a comment

Your email address will not be published.


*