‘माफ गर्नुहोला, विवाहका लागि कुनै स्पेस छैन’

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र ६, २०७४     ::: 120 पटक पढिएको   |  


सरस्वती प्रतीक्षा सेलिब्रटी लेखिका हुन् । कविता कृति ‘यद्यपि प्रश्नहरु’, ‘बिम्बहरुको कठघरा’ र  ‘बागी सारङ्गी’मार्फत विद्रोही चेत पस्केकी सरस्वती प्रतीक्षा फुटकर लेख लेखेर पनि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमा समाजका बेथितिमाथि बहस गर्न रुचाउने सरस्वतीको हालै प्रकाशित कृति ‘नथिया’बाट उनले प्रशस्त शुभचिन्तक कमाएकी छन् ।

यद्यपि सरस्वतीका विषयमा विभिन्न टीकाटिप्पणी भइरहन्छन् । यी सबैलाई समेटेर  उनका मनका कुराहरु उधिनेका छन् । यस्ता प्रश्नहरु गरिरहँदा सरस्वती घरी दिक्क हुन्थिन् भने कहिले हाँस्थिन् । केही प्रश्नमा भने उनी रिसाएकी पनि छन् ।

सरुभक्तलाई चर्चाका लागि छोरी चाहिएको थियो, तपाईंलाई साहित्यमा जम्न सरुभक्तको साथ चाहिएको थियो । बाबु-छोरीको सम्बन्ध यहीँबाट सुरु भएको भन्ने गरिन्छ । यसमा तपाईंलाई केही भन्नु छ ?

आजभन्दा १९,२० वर्ष अगाडि जतिबेला म सरुभक्तकी छोरी बनें, त्यतिबेला सरुभक्तलाई कुनै चर्चाको पछाडि दौडन पर्थेन, बरु चर्चा नै उहाँको पछाडि दौडँदै आउँथ्यो । उहाँको जेनेरेशनको उहाँ नै पहिलो यस्तो साहित्यकार हुनुहुन्थ्यो, जसले मदन पुरस्कार पाउनुभएको थियो । पागल बस्ती त्यतिबेलाको हट केक थियो । मजस्तो सामान्य केटीलाई छोरी बनाएर उहाँले चर्चा बटुल्ने भन्ने कुरा नै हास्यास्पद सुनिन्छ ।

जहाँसम्म साहित्यमा जम्नलाई मलाई सरुभक्तको साथ चाहिएको भन्ने कुरा छ, व्यापारमा पो बाउको पैसा लगानी गरेर छोराछोरीले आफूलाई जमाउन सक्छन् । सिर्जनाको क्षेत्रमा त आफ्नो सिर्जनाशक्तिको भरमा आफूले आफैंलाई जन्माउने र हुर्काउने गर्नुपर्छ । आज म जहाँ छु, सरुभक्तकी छोरी भए पनि, नभए पनि यहाँ म जरुर हुन्थें ।

 यो मायाको सम्बन्ध नभएर स्वार्थको सम्बन्ध भयो कि ?

यो हदको विशुद्ध हृदयको सम्बन्धमा पनि स्वार्थ देखिन्छ भने देख्नेले आफ्नो चश्मा बदलोस् । किनकि म आफ्नो आँखा बदल्न सक्दिनँ । मेरो आँखाबाट हेर्दा म बाबा सरुभक्तको आँखामा कुनै स्वार्थ देख्दिनँ, सिवाय स्नेह र माया ।

बस्नुभयो जन्मघर, चर्चा पाउनुभयो सरुभक्तका कारण, यसले तपाईंलाई जन्मदिने बा-आमाप्रति अन्याय भयो भन्नेहरु पनि छन् ।

सरुभक्तका कारण चर्चा पाउनुभयो भन्नु नै वाहियात कुरा हो । बरु सरुभक्तका कारण आज म जहाँ छु, त्यो ठाउँमा आइपुग्न अलि बढी समय लाग्यो । ठूलो रुखको मुन्तिर सानो रुखलाई हुर्कन एकदम गाह्रो हुँदो रहेछ । आफूलाई प्रमाणित गर्न अलि बढी नै कसरत गर्नु पर्दोरहेछ ।

सुरुसुरुमा पत्रिकामा कविता छापिँदासमेत यो सरस्वतीले लेखेको होइन, सरुभक्तले लेखेर सरस्वतीको नाममा छाप्देको हो भन्नेहरु पनि धेरै भेटिए । ती सबलाई आफ्नो मौलिकताको भरमा जवाफ दिन कडै मेहनत र साधना गर्नुपर्‍यो मैले ।

जहाँसम्म जन्म दिने बा, आमाप्रति अन्याय भयो भन्ने कुरा छ, बरु जन्मदिने बा आमाले “तैले सरुभक्तलाई अन्याय गरिस् ” भन्नुहुन्छ मलाई बेलाबेला । ६० कटिसकेर बुढेसकाल लाग्दै गरेको बाबालाई यथेष्ठ समय र ध्यान मैले दिन नसकिरहेकोमा उहाँहरुको गुनासो पो छ त !

नथिया  सार्वजनिक भएका दिन पनि तपाईंले बाबा सरुभक्त र छोराको नाम मात्र लिनुभयो, यसबारेमा पनि थोरै केही भन्नुहुन्छ कि ?

जिन्दगीमा सबैभन्दा बढी जोसँग कृतज्ञ थिए, उनीहरुकै नाम लिएकी हुँ । बाबा सरुभक्त र छोराको मात्र होइन, अन्य नजिकका थुप्रै साथीभाइको नाम लिएकी थिएँ, जो मेरो लेखक जीवनसँग प्रत्यक्ष जोडिएका छन् ।


धेरैजसो सेलिब्रेटीको जीवन प्रेमपूर्ण हुँदैन भन्ने आम धारणा छ । तपाईंको वैवाहिक जीवनबाट पनि त्यही अर्थ निस्कन्छ । यसलाई साधरणीकरण गर्दा के अर्थ निस्कन्छ ?

-कसले भन्यो मेरो जीवन प्रेमपूर्ण छैन भनेर ? कुनै दिन प्रेमको संस्मरण लेखे भने सारा दुनियाँ छक्क पर्ने खालको अपत्यारिलो प्रेममा छु । डिभाइन प्रेममा छु । विवाह संस्था हो, दुर्घटित हुन सक्छ । मेरो सन्दर्भमा पनि त्यही भयो । प्रेम अनुभूति हो । यो फगत घटित मात्र हुन सक्छ, दुर्घटित हुँदैन ।

यी प्रश्न गर्दा तपाईंको अनुहारमा हलुका रीसले स्पर्श गरिरहेको महसुस गर्छु । तपाईमा रीसको मात्रा अलि बढी छ भन्ने आरोप तपाईंसँग नजिक हुनेहरुको पनि छ । केही अन्तरवार्तामा तपाईंले यो कुरा स्वीकार गर्नुभएको छ । खासमा तपाईंलाई कुन अवस्थामा रीस उठ्छ ?

पोखरामा सम्पन्न लिटरेचर फेस्टिभलको ‘कि नोट अफ स्पिच’मा प्रा.डा.पिताम्बर शर्माले भन्नुभएको थियो , “रीस उठ्नु पर्छ मान्छेलाई । रीस उठ्नु जीवन्त हुनुको प्रमाण हो ।” उहाँको त्यो कुरा मलाई निकै घतपर्दो लागेको थियो । रीस मलाई पनि उठ्छ नउठने होइन, तर रीसलाई म मेरो सिर्जना-शक्तिमा बदल्छु । रीसलाई कुण्ठा वा द्वेषमा बदलेर आफैंलाई ध्वस्त गर्ने बाटोमा म हिँड्दिनँ । चाहें भने म सहजै रीसमुक्त हुन सक्छु  । तर, म चाहदिनँ ।

हरेक बिहान ध्यान गर्दा  म जहिल्यै रीसको गति र दिशालाई हेर्ने गर्छु । त्यो ठीक दिशातिर गइरहेको छ, छैन भनेर कन्र्फम गर्छु हरेक दिन । यसर्थ रीसलाई म प्रयोगात्मक आँखाले हेरिरहेकी हुन्छु । रीससँग मेरो मित्रवत् उठबस छ ।

समाजमा आफूलाई चित्त नबुझ्ने कतिकति घटनाहरु घटिरहेका हुन्छन् । समाजका जड मान्यता र सीमाहरुले जबरजस्ती कुँज्याउन खोज्दा रीस उठ्छ । रीस उठ्छ , र त संवेदनाको तीव्रता बहन्छ मभित्र । रीस नै नउठेको दिनमा लेखक सरस्वती प्रतीक्षाको मृत्यु हुन्छ ।

सरस्वती प्रतीक्षा किताब बढी, जीवन कम पढ्छिन् भनिन्छ नि ? यसमा कतिको सत्यता छ ?

सत्य हो, म किताब अलि बढी नै पढ्छु । म जीवनमा जति प्रतिशत लेखक हुँ, त्योभन्दा कैयौं गुणा बढी पाठक हुँ । जीवनमा आजसम्म केही हजार शब्द लेखियो होला, तर कैयौं लाख र करोडांै शब्दहरु पढियो । आज पनि कतै घुम्न निस्कँदा मेरो ब्यागमा अरु कुराहरु छुट्लान्, तर किताब कहिल्यै छुट्दैन ।

किताब म पढ्नका लागि मात्र पढ्दिनँ, जीवन बुझ्नका लागि पनि पढ्छु । आफूले एउटा जीवन बाँचे पनि किताब पढ्दै गर्दा म एकसाथ थुप्रै जीवनहरु बाँचिरहेकी हुन्छु । फरक-फरक मान्छेका फरक-फरक कथाहरु । फरक-फरक मान्छेका फरक-फरक अनुभव र अनुभूतिहरु । फरक-फरक तिर्सना र खोजहरु । फरक-फरक पृष्ठभूमि र ज्ञानहरु । फरक-फरक भूगोल र संस्कृतिहरु । यसमानेमा किताब पढ्नेले जीवन पढ्दैन भन्नु नै गलत लाग्छ । किताब पढ्नेले झन् धेरै जीवन पढिरहेको हुन्छ ।

जहाँसम्म मान्छेका प्रत्यक्ष भोगाइलाई आफ्नै आँखाहरुले हेर्ने भन्ने कुरा छ, त्यसको निम्ति म बाँचिरहेको समाजको संक्रमणकालीन मनस्थिति आफैंमा कच्चा पर्दाथ हो लेखनको । मैले टेकिरहेको भूगोल र देखिरहेको परिदृश्यको कच्चा पदार्थ ३० प्रतिशत पनि प्रयोग गरेकी छैन आफ्नो रचनामा ।

कतिले के भन्छन् भने सरस्वतीभित्र आगो छ, जुन सिर्जनाका रुपमा बाहिर निस्किरहन्छ । जब यो सिर्जनामा परिवर्तन हुन सक्दैन, (त्यसका विविध कारण हुन सक्छन्) त्यसले छेऊछाउका व्यक्तिलाई पोल्ने गर्छ । यो कुरा सत्य हो ?

सत्य हो, मभित्र आगो छ । भर्भराउँदो आगो । यही आगोले घरीघरी आफैंलाई पोल्छ र जीवन्त हुनुको महसुस गराइरहन्छ । यही आगोले पोलेपछि म सिर्जना गर्छु । मभित्रको आगोले कहिलेकाही मेरो छेउछाउमा बस्नेलाई पनि पक्कै पोल्यो होला किनभने, म आफैं पनि एक आगो हुँ ।

आगोलाई प्रेम गर्छु वा आगोसँग मित्रता गर्छु भन्नेले कहिलेकाहीँ जल्न पनि तयार हुनुपर्छ । ज्ाो धेरथोर जलेर पनि अहिलेसम्म मेरो जिन्दगीमा छन्, ती प्रियजन म मर्दासम्म सँगै हुनेछन्, यसमा कुनै शंका छैन ।

तपाईंलाई हत्तपत्त नेपाली कृति मन पर्दैनन् भन्ने कुरा गएका १० वर्षको इतिहासमा तपाईंसँग संगत गर्ने व्यक्तिहरुको धारणा छ । नेपाली कृतिमा कस्ताखालका कमजोरी देख्नुहुन्छ ?

– आज पनि सानो भोल्युमको एब्स्ट्रयाक्ट चिन्तन प्याज हातमा लिउँ वा सुम्निमा नै, ती किताबहरुको वजनले हृदय नै ढक्क फुलेर आउँछ । पछिल्लो चरणमा हप्तैपिच्छे किताब त आइरहेछन्, तर तिनको वजन कति छ ? त्यो सोचेर म जहिल्यै रन्थनिने गर्छु ।

फास्टफुडको जमानामा किताब पनि फास्डफुड जसरी नै आइरहेछन् । यो महिना कुनै किताब बजारमा देखिन्छ, अर्को महिना बजारबाट हटिसक्छ । मान्छेको मनमा त झन् किताब पढेर सकिँदा नसकिँदै त्यो किताबको आयु सकिइसक्छ ।

मेहतन र साधना एकदम कम, रातारात सेलिब्रेटी लेखक बन्ने हतारोले बजारमा थुप्रै किताबहरु आएका छन् । यस्तोमा केही राम्रा लेखकहरुका राम्रा किताब पनि नआएका होइनन्, तर ती एकदम नगण्य छन् ।

मेरो स्वाभाव अलि खरो छ, किताब मन पर्‍यो भने म लेखकको सामु पनि मन पर्‍यो भन्छु र लेखकको पछाडि पनि । किताब मन परेन भने लेखकको सामु पनि मन परेन भन्छु र लेखकको पछाडि पनि । यति पनि निर्मम र इमान्दार हुन सकिनँ भने म मेरा पि्रय लेखक साथीहरुको र आफ्नै पनि हत्यारा सावित हुनेछु । र, मलाई हत्यारा बन्नु छैन ।

यिनै कारणहरुले मैले पछिल्लो चरणमा निस्केका एकदम कम नेपाली किताबहरु राम्रा छन् भन्दै आएकी हुँ र सत्य पनि यही हो ।

तपाईलाई एक नम्बरको घमण्डी भन्ने आरोप लाग्ने गरेको छ । कसैसँग बोल्नुहुन्न, सम्पर्कमा आउनुहुन्न भनिन्छ । यसको कारण के होला ?

हो, मलाई सबैभन्दा बढी लाग्ने आरोप भनेकै घमण्डीको आरोप हो । मान्छेको आफ्नो-आफ्नो स्वाभाव हुन्छ र स्वाभावैले म थोरै बोल्ने र अन्तरमुखीखालकी मान्छे हुँ । उपन्यास लेख्न शुरु गरेपछि त झन् म कार्यक्रमहरुमा पनि लगभग हिँड्न छाडें । अहिले पनि औसत महिनामा एउटा, दुईटा कार्यक्रममा काठमाडौं वा अन्य शहरबाट वक्ताका रुपमा बोल्न वा अन्य भूमिकामा बोलाइरहेकै हुन्छन् । तर, म मुस्किलले वर्षमा एउटा कार्यक्रमका लागि पोखरा बाहिर जान्छु । समय र उर्जा अहिले नजोगाए कहिले जोगाउने भनेर सचेत भएकी हुँ म खासमा ।

रमण महषिर्को मौनताको अवधारणले पनि म उत्तिकै प्रभावित मान्छे हुँ । जीवनमा सकेसम्म मौन रहने र बोल्नै परे आवश्यक कुरा मात्र बोल्ने मौनताको योखालको अभ्यास गरिरहेकी हुन्छु म । मेरोे यसखालको स्वाभावले मलाई घमण्डीको ट्याग दिएको जरुर हो । म लुकेर काम गर्न मन पराउने मान्छे । आफ्नो लुकाई वा रिजर्भेसन भन्छु म यसलाई, अरुहरु यसैलाई घमण्ड भनेर बुझिदिन्छन् ।

मलाई राजनीतिभित्रका कुरा मनपर्दैन भन्नुहुन्छ, तर कवि हुनुअघि कम्युनिस्ट राजनीति गर्नुहुन्थ्यो र कवि भएपछि कवितामा कतै न कतै मार्क्र्सवादी दर्शनको पृष्ठपोषण गर्नुहुन्छ । यो विरोधावास होइन ?

मैले कहिल्यै पनि राजनीति मन पर्दैन भनेर भनिनँ । राजनीति र राजनीतिक चेतना मेरो रगतको नशा नशामै बग्छ । वैचारिक आस्था मसँग पनि छ । तर, वैचारिक आस्थाका नाममा कुनै पार्टीको गोटी साहित्यकार बन्ने कुरामा भने मेरो आपत्ति छ । वैचारिक आस्थाका नाममा किताब होइन, पार्टीको मुखपत्र जस्ता सिर्जना पस्कने कुरामा मेरो विमति छ । मेरो निम्ति साहित्य एक सामाजिक अभिष्ट हो, जहाँ आर्थिक, सांस्कृतिक, राजनीतिक, लैङ्गकिदेखि धेरै कुरा अटाउँछन् । राजनीतिलाई लिएर आफ्नो कुरामा हिजो पनि स्पष्ट थिएँ र आज पनि स्पष्ट छु ।

 तपाईंका कविताहरु पढ्दा नेपाली महिलालाई पुरुषवादी चिन्तनले पछाडि पारेको निष्कर्ष निकाल्नुभएको हो कि जस्तो लाग्छ । अर्कोतिर, तपाई आफूलाई महिला लेखकका रुपमा सीमा कोरेको मनपर्दैन । यसको अर्थ तपाईं यो पुरुषवादी चिन्तन र समाजबाट माथि उठिसक्नुभएको हो ?

मैले धेरै पहिले एउटा लेख नै लेखेर स्पष्ट भनिसकेकी छु, म पहिले मान्छे हुँ अनि स्वास्नीमान्छे । तर, केही अपवादलाई छोडेर अझै पनि समाज स्वास्नीमान्छेलाई पूर्ण मान्छे मान्न तयार देखिँदैन । घरको घरमूली होइन, उसलाई सहायकको भूमिकामा स्वीकार गर्छ । अरु त अरु आफ्नो जिन्दगीको मालिकसमेत अरुलाई नै स्वीकारेर बाँच्न बाध्य बनाउँछ ।

यस्तोमा मैले लडिरहेको लडाइँ भनेको शब्दहरुमार्फतको लडाइ हो । शब्द सँगसँगै बचाइको पनि लडाइ हो । मेरो मान्यता छ- लेखकहरुले जुन बोल्डनेसका साथ लेख्छन्, त्यही बोल्डनेसका साथ बाँच्ने धृष्टता पनि गर्नुपर्छ । यस अर्थमा मेरा निम्ति समाजले तय गरेका हर सीमाहरु भत्काएर हिँड्ने मान्छे हुँ । कतिले अराजक भन्लान्, कतिले मयार्दा नाघी भन्लान्  । तर, मेरो जिन्दगीको लय लेख्ने अधिकार मलाई बाहेक अरु कसैलाई छैन ।

तपाईंका प्रशंसकहरुले तपाईंलाई पारिजातपछि सशक्त लेखिकाका रुपमा सामाजिक सञ्जालदेखि पत्रपत्रिकाहरु रङ्ग्याइरहेका छन् । यस्तो सुन्दा कस्तो लाग्छ ?

धेरै मान्छेहरु लेखक बन्ने रहरले साहित्यमा आउँछन । थोरै मान्छेहरु मात्र लेखक बन्ने प्यासनले साहित्यमा आउँछन् । जोसँग लेखनलाई लिएर प्यासन हुन्छ, ऊ लेखनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छ । लेखनलाई लिएर मेरो जुन प्यासन हो, त्यो नथियामा पोखिएको कारणले नै होला, नथियालाई धेरैले मन पराए र तारिफ गरे । लेखनलाई मैले जुन गम्भीरताका साथ ग्रहण गरेर यहाँसम्म आएँ, आउँदा दिनहरुमा झन् गम्भीर भएर सिर्जनामा लाग्नुपर्छ भन्ने जिम्मेवारीबोध हुन्छ ।

आज ह्रवार्र आयो, भोलि गयो-च्याउ साहित्य नलेखुँ, बरु मेहनत गरौं तर सार्वकालिक साहित्य लेखुँ भन्ने आत्मवोध हुन्छ । भूपि जस्ता यो समयका सशक्त कविहरुले जब लेख्छन्, “सकम्बरी पढेर र त्यसको प्रभावले तरंगित भएर हुर्किएँ । सामली पढेर र त्यसको प्रभावले तरंगित भएर बुढेसकाल बित्नेछ ।”, तब म लेख्नकै लागि जन्मिएकी हुँ भन्ने विश्वास झन् गाढा भएर आउँछ ।

 ‘किरिया बसेकी स्वास्नीमान्छे’ एउटा कविताले नै सरस्वती प्रतीक्षाको उचाइ नाप्न सकिन्छ भनेर प्रशंसा गरिन्छ । खासमा त्यो कविता लेख्नुको पृष्ठभूमि कस्तो थियो ?

फ्याक्ट्स आर स्ट्रेन्जर्स देन फिक्सन भन्छन् नि, यो कविता पछाडिको सत्य त्यस्तै छ । सत्यभन्दा पनि अझ डरलाग्दो सत्य भन्नु उचित होला । यो एउटा सत्यघटनामै आधारित कविता हो । लोग्ने बितेपछि एकपटक एउटी किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न गएकी थिएँ । सधैं उदास, कुण्ठित, निराश अनुहार बोकेर हिँड्ने एउटी स्वास्नीमान्छेको अनुहार किरिया बस्दै गर्दा धपक्क बलेको थियो । उनको खुसीले उनको अनुहार नै उज्यालो भएको थियो, जसलाई रोक्न खोज्दाखोज्दै पनि रोक्न सकिरहेकी थिइनन् उनलेे । मलाई त्योबेला लाग्यो, हाम्रो सामाजिक संरचना र अन्य कतिकति बाध्यताले उनलाई सँगसँगै हिँड्न बाध्य बनायो होला, त्यो सकसबाट मुक्ति पाउन र खुलेर हाँस्न पनि उनले लोग्नेको मृत्यु कुरेर बस्नु पर्‍यो । उनको अनुहारको त्यो भाव सम्झँदा आज पनि मलाई एकसाथ एकदम खुसी र पीडाको अनुभव हुन्छ ।

तपाईंका आलेख पनि कवितात्मक शैलीका हुन्छन् । आफ्नो यो मीठो शैली कसरी बन्यो भन्ने ठान्नुहुन्छ ?

लेख्नका लागि थोरै प्रतिभा त लिएरै जन्मे हुँला पक्कै । तर, धेरै प्रतिभा चाहिँ मैले आफ्नै मेहतनले उमारेकी र तिखारेकी हुँ । लेखनलाई लिएर मसँग अजीबको धैर्यता छ । कहिल्यै कसैलाई उछिनु वा किताब निकालिहालुँ भन्ने हतारो भएन मलाई । थोरै लेख्ने, तर राम्रो लेख्ने-मैले यही कुरालाई मूलमन्त्र बनाएँ सधैं ।

सरसर्ती लेख्यो भने एक घण्टामा दुई हजार शब्द त सजिलै लेख्न सकिन्छ नि । तर, उपन्यास लेख्दै गर्दा दुई हजार शब्द फाइनल गर्न मैले एक महिना पनि लगाएकी छु । निरन्तर तबसम्म काम गरेकी छु, जबसम्म यो भन्दा बेस्ट दिन सक्छु भन्ने अप्सन बाँकी रहन्थेन मसँग । यसर्थ योखालको लगनले नै होला, किताबको शैली कवितात्मक लागेको । किनभने, कवितामा थोरै शब्दमा धेरै कुरा भन्ने जो गरिन्छ, मैले आफ्नो उपन्यासमा पनि कविताको त्यही शैली अपनाएकी छु । व्याख्यामा धेरै नअल्झने, सकेसम्म थोरै शब्दमा धेरै कुरा भन्ने ।

नथिया उपन्यास लेख्दाको सबैभन्दा रोचक कुरा अहिले के सम्झनु हुन्छ ?

उपन्यास लेख्ने क्रममा म वादी बस्तीहरुमा त गएँ, तर सधैं त्यहीँ बसिराख्ने भन्ने कुरा सम्भव थिएन । घर फर्केपछि र उपन्यास लेखनको दौडान म कसरी वादी बस्ती र त्यहाँका पात्रहरुसँग वर्षौवर्ष जोडिएँ भन्ने कुरा चाहिँ रोचक नै छ ।

मसँग वादी महिलाहरुसँग गरिएको कुराकानीको ३० घण्टाजतिको अडियो रेकर्ड छ । प्रत्येक दिन उपन्यास लेख्न बस्नुअघि म त्यो अडियो रेकर्ड एकघण्टा जति सुन्थे, ताकि उनीहरुको आवाज र लवज सुनेपछि मलाई म वादी बस्तीमै छु भन्ने महसुस भइरहोस् । त्यो अडियो रेकर्डमा उनीहरुसँगको कुराकानी मात्र छैन, उनीहरुले आपसमा गरेका झगडाहरु पनि छन् । उनीहरुले मलाई गाएर सुनाएका गीतहरुदेखि पीडाहरु ओकल्दाओकल्दै अड्केर फेरेका लामालामा श्वासहरु पनि छन् ।

दिनदिनै लेख्नु अगाडि उनीहरुको अडियो रेकर्ड सुन्ने बानीले गर्दा पछि हुँदाहुँदा उनीहरुको आवाज र लवजको यस्तो बानी परेछ कि म साथीहरुसँग बोल्दा समेत आइकन, गइकन, गर्याकी थिया, भन्याकी थिया जस्ता लवजमा बोल्दी रहंेछु झुक्किएर । यस्ता रोचक अन्य संस्मरणहरु पनि कति छन् कति !

तपाईंले आफ्नो पहिलो प्रेमको कुरा सजिलै उल्लेख गर्नुभएको छ । जव कि धेरै महिलाहरु भन्न सक्तैनन् । यो आँट कसरी आयो ?

नेपाली समाजको मनोविज्ञान एकदम दोहोरो चरित्रको छ । यहाँ एकातिर प्रेमको प्रतीक मानेर दिनहुँ  राधाकृष्णको पूजा गरिन्छ, अर्कोतिर प्रेम जायज, नाजायज भनेर वर्गीकरण पनि यही समाजले गर्छ । घृणा गर्दा हामीहरु खुल्लमखुल्ला गर्छौ, मानौं कुनै गर्वको कुरा गरिरहेर्छौ । प्रेम गर्दा चाहिँ लुकेर गर्छौं, मानौं कुनै पाप गरिरहेछौं ।

यस्तो दोहोरो चरित्र बाचिरहेको समाजमा एउटी केटीमान्छेको पहिलो प्रेमको कुरा गर्दा समेत अचम्म मानिन्छ र  तपाई स्वयं पनि अचम्म मानेर मसँग यो प्रश्न गर्दै हुनुहुन्छ । प्रेमजस्तो पवित्र कुरा गर्न पनि केको लाज ? केको धक ? यही सोचेर मैले पहिलो प्रेमको कुरा उप्काएकी हुँ ।

आफू सानो छँदा यौन हिंसाको शिकार भएको कुरा पनि बोल्न थाल्नुभएको छ । यो कुरा बाहिर ल्याउनुको कुनै अन्तर्य कारण छ ?

लोकलाज, आफैंभित्रको डर, बदनामको भय के-के कारणले अहिलेसम्म आफैंभित्र दबाएर राखेथें त्यो बाल्यकालीन यौनहिंसाको कुरा । लेखनमा इमान्दारिको दुहाइ दिने एउटा लेखकभित्रको सफा कुरा मात्र होइन, अनुभूतिको बिद्रुपता पनि देखाउन जरुरी छ । यही सोचेर पनि मुख खोलेकी हुँ ।

मेरो छोरी पुस्ताले मेरो कथा सुनेर कतै न कतै आफूलाई सजगताको बाटोमा हिँडाउन सक्ला कि ? यही सोचेर  संचेतनाका लागि पनि आफैंलाई बोल्न कर लगाएकी हुँ ।

तपाईंले महिलाका पक्षमा धेरै लेख लेख्नुभयो । तर, कहिलेकाहीँ पत्रपत्रिकामा पुरुषका पक्षमा पनि लेख्नुहुन्छ । यसको कारण के हो ?

मेरो मान्यता के हो भने संसारका सबै महिलाहरु पीडित र सबै पुरुषहरु पीडक होइनन् । सामाजिक संरचना र परम्परागत सोचको कारण अधिकांश महिलाहरु उत्पीडनमा छन् , त्यो सत्य हो । तर, सबै महिलाहरु असल र सबै पुरुषहरु खराब पनि छैनन् ।

समाजलाई एक आयामले मात्र हेर्ने र सधैं एक आयाममै बसेर व्याख्या गर्दा त्यो व्याख्या आफैंमा अधूरो व्याख्या हुन्छ । एउटा स्रष्टासँग समाजलाई हेर्ने बहुआयामिक आँखाहरु चाहिन्छन्, नत्र स्रष्टा कहिल्यै पूर्ण स्रष्टा हुन सक्दैन । त्यही संचेतनाले विषय वा प्रसंग हेरिकन कहिले महिलाको पक्षमा त कहिले पुरुषको पक्षमा लेखिरहेकी हुन्छु ।

पहिलो उपन्यास ‘नथिया’ लेखेर आफूले जोखिम लिएको कुरा लेख्नुभएको छ । कविले उपन्यास लेख्नु जोखिम हो र ?

-कविले उपन्यास लेख्नु कुनै जोखिम मोल्नु होइन । तर, मैले जुन विषयवस्तु र समुदायमाथि उपन्यास लेख्न चाहे, त्योचाहिँ जोखिमपूर्ण काम थियो । आँसु, रगत र वीर्यको दलदलमा टेकेर वादीहरुका भित्री कथा दुनियाँलाई सुनाउन साहसले पुग्थेन, दुस्साहस चाहिन्थ्यो । नथिया त्यही दुस्साहसको परिणाम हो ।

‘नथिया’ लेख्न १० वर्ष लागेको कुरा उल्लेख गर्नुभएको छ ? ढीलो गरेर लेख्दा उपन्यास राम्रो बन्छ भन्ने अर्थ लगाउन मिल्छ ?

-वादी महिलाहरुमाथि नै उपन्यास लेख्छु भन्ने सोचको बिजारोपण भएको १० वर्ष भयो भनेकी हुँ, यसको मतलब उपन्यास लेख्न नै १० वर्ष लगाएकी होइन । ०६४ सालमा सिंहदरबार अगािड वादी महिलाहरुले निकालेको अर्धनग्न जुलुसका समाचार पढेपछि र टीभी स्त्रिmनमा उनीहरुका आर्तनाद र पीडाहरु देखेपछि बेस्कन छोइएकी थिएँ म । र, त्यतिबेलै निणर्य गरेथें-कुनै दिन मैले उपन्यास लेखंे भने वादी महिलाहरुको कथामाथि लेख्नेछु ।

त्यसको ५ वर्षपछि मात्रै म वादी मध्यपश्चिम तथा सुदूरपश्चिमका वादी वस्तीहरुमा गएँ र उनीहरुसँग बसेर उनीहरुका भित्री कथाहरु ख्ाोतल्ने प्रयास गरें । लगातार तीन वर्षजतिको समयाधिमा लेखिएको हो यो किताब ।

उपन्यास सार्वजनिक भएको दिनबाटै यसले मिडिया हाइप निकै पाएको छ । यसको कारण के हो ठान्नुहुन्छ ?

फगत नथियाका कारणले मात्रै नथियाले मिडिया हाइप पाएको भन्ने लाग्दैन । एक लेखकले यहाँसम्म आइपुग्दा मैले कमाएको विश्वासको कारण पनि हो । कविको उपन्यास आउँदैछ भनेपछि कस्तो उपन्यास लेख्यो होला भन्ने चासोका कारणले पनि हो ।

र, विमोचन लगत्तै ज-जसले रातारात नथिया पढेर सक्नुभयो र उहाँहरुको जसरी रातारात प्रतिक्रियाहरुको ओइरो लाग्यो, त्यसले पनि सबैखाले पाठकहरु र मिडियाका माझ नथियालाई अझ  नजिक पुर्‍यायो भन्ने लाग्छ ।

चर्चित निर्देशकले तपाईंको उपन्यासमाथि चलचित्र बनाउने प्रस्ताव लिएर आउँदा तपाईंको मनमा आएको कुरा के थियो ? निर्देशकले तपाईंको ‘नथिया’ लाई कति प्रतिशत पर्दामा उतार्लान् ?

कृतिमाथि बनेका नेपाली चलचित्रहरु खासै गतिलो नबनेको इतिहास छ । यस्तोमा दीपेन्द्र के. खनाल जीबाट चलचित्रको प्रस्ताव आउँदा शुरुमा त मनमा दुविधा नै थियो । नथियालाई लिएर मेरो जुन प्यासन हो, दीपेन्द्र जीलाई भेटेपछि उहाँमा पनि त्यही प्यासन देखें । त्यही प्यासनका साथ उहाँले यो किताबमाथिको चलचित्रलाई आफ्नो डि्रम प्रोजेक्ट बनाएर काम गर्छु भनेपछि भने एक प्रकारले विश्वस्त भएकी थिएँ ।

चपली हाइट, पशुपतिप्रसाद जस्ता चलचित्रहरु बनाएर नेपाली चलचित्रलाई फरक धारमा उभ्याउन सफल निर्देशक दीपेन्द्रजीले नथियालाई न्याय गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।  निर्देशकले नथियालाई कति प्रतिशत पर्दामा उतार्लान् ? यो प्रश्नको जवाफ त निर्देशकजीलाई नै सोध्नुपर्ला ।

अब म तपाईंलाई जसरी फटाफट प्रश्न सोध्छु, जबाफ पनि फटाफट दिनुहोला है त

हुन्छ ।

छोरा कि बाबा सरुभक्त ?

यो त बाँच्नको लागि धर्ती मात्रै लिन्छस् कि आकाशमात्र ? भनेजस्तो प्रश्न भयो । जवाफ आफंै मिलाएर बुझ्नु होस् Û

तपाईं कवि वा उपन्यासकार ?

कवि र उपन्यासकार दुबै । उपन्यास लेखें भन्दैमा कविता नलेख्ने वा कविता लेख्न छोड्छु भन्ने मनस्थितिमा म छैन ।

मानिसले विवाह गर्दा राम्रो कि अविवाहित बस्दा ?

आफ्नो इच्छामा भर पर्ने कुरा हो यो । विवाह गर्नैपर्छ भन्ने पनि छैन र गर्नैहुन्न भन्ने पनि छैन ।

पहिलो प्रेमीसँग विवाह भएको भए ?

ऊ सँग पनि डिभोर्स भइसक्थ्यो होला !….एउटा खरो मान्छेसँग अर्को खरो मान्छे टिकिरहन गाह्रो हुन्छ ।

लेखनमा नआएको भए ?

नामुद व्यापारी हुन्थें पक्कै । थकाली हुँ । र, अधिकांश थकाली व्यापारमा पोख्त जो हुन्छन् ।

जीवनबाट एउटा स्मृति मेट्ने अवसर पाउनुभयो भने कुन घटनालाई मेट्नुहुन्थ्यो ?

बाल्यकालसँग जोडिएको कुनै एउटा तीतो स्मृति छ, (त्यो पछि लेख्ने योजना छ ) त्यही मेटिदिन्थें ।

लेखेर डिलिट गर्न मन लागेको-डिलिट गरेको फेसबुक स्टाटस ?

त्यस्ता केही स्टाटस छन्, जुन मैले लेखेर पनि डिलिट गरेकी छु । जब आफैंलाई पछि पढ्दा आफ्नै स्टाटसमा नेगेटिभ भाइब्स आए झैं लाग्छ वा बढी नै आग्रही भएर लेखे भन्ने लाग्छ, त्यस्ता स्टाटस म डिलिट गरिदिन्छु ।

तपाई कोमल मान्छे हो कि कठोर मान्छे ?

थोरै मात्र कोमल, बढी मात्रामा कठोर मान्छे हुँ । सानै उमेरमा ममाथि धेरै प्रायोजित प्रहारहरु भएका छन्् । कोमल भएको भए म ५० को दशकमै सकिन्थें हुँला । कठोर छु र त यहाँसम्म आइपुग्न सकें ।

 आफ्नै नजरमा तपाईं सुन्दर कि तपाईको लेखन ?

लेखन नै सुन्दर । वास्तवमा म आफ्ना शब्दहरुलाई आफैंलाई भन्दा बढी प्रेम गर्छु ।

सबैभन्दा खुसीको क्षण ?

आमा बन्दा ।

तपाईंलाई एक प्रतिष्ठित पुरुषले मनपराउँछन् । तपाईंसँग विवाह गर्न चाहन्छन् । अब भन्नुहोस्, तपाईंको प्रतिक्रिया के हुन्छ ?

माफ गर्नुहोला, सरस्वतीको जिन्दगीमा अब विवाहका लागि कुनै स्पेस छैन । कुनै सम्भावना नै छैन ।





Leave a comment

Your email address will not be published.


*