हजार वर्ष पुराना साक्षी, दैलेखका सम्पदा

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र ९, २०७४     ::: 168 पटक पढिएको   |  
दैलेख– बाइसे/चौबिसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार बजारको बीच भागमा छ । अहिलेको दुल्लु बजार त्यसवेला सिंगो राज्यको केन्द्र थियो । त्यसैले त यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् । हुन त, द्वन्द्वकालसम्म यो दरबारको संरक्षणमा सरकारले सुरक्षाकर्मी नै खटाएको थियो ।

सायद, अहिले त्यसको महत्व नठानेर होला, टेकोले थामिएको छ, भग्नावशेष दरबार । दरबारको झ्याल, ढोकाको निशाना मेटिँदै छ । दरबार ढल्ने डरले भित्र छिर्ने हिम्मत आउँदै । माथिल्लो तलामा चढ्ने त कल्पनै नगरौँ ।

त्यही विरहलाग्दो दरबार दृष्यको जोडकोण मिलाएर तस्बिर लिए भरतबन्धु थापाले । अनि फरक पोजमा दरबारलाई पृष्ठभागमा पारेका तस्बिर लिइरहेका थिए, डा. रविन खड्का इतिहास सम्झेर । थापा र खड्का दरबारको कथा सुनाइरहेका थिए, वीरेन्द्रनगरदेखि । सायद, यिनले पनि यो दुर्दशाचाहिँ कल्पेका थिएनन् ।

भवनको अलिक परतिर छ, नेपाली भाषाको पहिलो शिलालेख । भवनको दुर्दशा देख्दा जति मन कुँडिन्छ, त्योभन्दा बढी शिलालेखको दुर्दशा देख्दा मन चिमोटिन्छ । त्योभन्दा दुःखचाहिँ शिलालेखको आडैका जग्गावालको व्यवहारले लाग्छ । ती जग्गाधनी हरेक वर्ष जग्गा अतिक्रमण गर्छन् र शिलालेख संरक्षणका लागि जग्गा खरिद गर्न खोज्दा जग्गा पनि दिँदैनन् ।

शिलालेखको ऐतिहासिकतालाई आधिकारिक भनिएको छैन, तर अस्वीकार पनि गरिएको छैन । यो शिलालेखको इतिहास विसं १०३८ सँग जोडिन्छ । अर्थात्, यसलाई नेपाली भाषा लिपिबद्ध गरेको सबैभन्दा पुरानो सा.के. ९०३ विसं १ हजार ३८ मा ‘कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपालको’ कालखण्डको भाषालिपि भनिएको छ ।

नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जाबाट भएको मानिए पनि लिपिबद्ध गरिएको इतिहास भने दैलेखसँग जोडिएको मानिन्छ । त्यसैले प्रश्न पनि छ कि दैलेखमा यो लिपिबद्ध भएर जुम्ला पुगेको हो वा जुम्लामा सुरु भएर दैलेखमा लिपिबद्ध गरिएको हो ? यसको टुंगो भाषाअध्येताले लगाउलान् ।

शिलालेख सडकको छेउमा असरल्ल छन् । दुई शिलालेख भएका स्तम्भको बीचबाट मोटर बाटो बनाइएको छ । यो दृश्य देख्दा लाग्छ, यी शिलालेखले पनि कुन दिन कसको घरको भित्तो वा बारीको पर्खाल बनेर उभिनुपर्ने हो ! कुनै युगका साक्षी, ऐतिहासिक महत्वका सम्पदा, यी शिलालेखका नजिकै फोहोर थुपारिएको हुन्छ । शिलालेखको महत्व बुझेका मानिस यिनलाई हेर्न आउँदा गर्व गर्नुभन्दा दुःखी भएर फर्किने गरेका छन् ।

यी ऐतिहासिक महत्वका सम्पदाप्रति दुल्लुका स्थानीय बासिन्दाको चासो त कम देखिएको छ नै सरकारी संयन्त्रसमेत यसप्रति उदासीन रहेको पाइन्छ । यो उदासीनताले ‘क’ र ‘ॐ’शब्दको अस्तित्व संकटमा छ । त्यो किन भने ‘क’ र ‘ॐ’ शब्दको पहिचानको सुरुवात भएको मानिने ढुंगा आफैँ जोखिममा छ । यो ढुंगाको आधा भाग फुटिसकेको छ । हुन त ढुंगालाई फलामे बारले घेरिएको छ, अचेल ।

दूल्लु बजारमा नेपाली भाषा लिपिबद्ध गरिएका तीनवटा शिलालेख छन् । शिलालेखको उचित व्यवस्थापन, रेखदेख र संरक्षणमा स्थानीय सरकार लाग्नैपर्ने देखिन्छ । अहिले पनि जग्गा विवादका कारण संरक्षणको स्पष्ट खाका निर्माण गर्न नसकिएको नगरप्रमुख घनश्याम भण्डारी बताउँछन् ।

योगी नरहरिनाथले जिल्ला भ्रमणका क्रममा इतिहास खोतल्ने वेला दैलेखमा भाषालिपिको लिपिबद्ध इतिहास रहेको जानकारी गराएपछि मात्र आफूहरूलाई यसको ज्ञान भएको दुल्लुका इतिहासकार भूपालविक्रम शाहको भनाइ छ ।

विसं १०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भ लेखबाट प्रारम्भ भएको नेपाली भाषाको सुरुवातका बारेमा भिन्न–भिन्न बहस भएको भाषाविद् प्राध्यापक डाक्टर मधुसूदन गिरी बताउँछन् । दुल्लुमा रहेको भाषालिपिसँगै रहेको सा.के. १२७९ वि.स. १४१४ को ‘कृति खम्ब’ पनि सँगै छ । त्यसलाई पनि प्रमाणको रूपमा व्याख्या गरिन्छ ।

०००

खस मल्लकालीन साम्राज्यकालमा जुम्लाको सिञ्जाहाटमा गृष्मकालीन र दैलेखको दुल्लुमा शीतकालीन राजधानी थियो । जुम्लाको मल्ल राज्य सिञ्जा र दुल्लु दैलेख अहिलेसम्म संरक्षणको पर्खाइमा छन् । आज पनि दैलेखका विभिन्न स्थानमा रहेका १ हजारभन्दा बढी सम्पदाको अवस्था लथालिंग छ । रेखदेख र संरक्षण हुन सकेको छैन । विवादका कारण गत वर्ष पुरातत्व विभागबाट आएको ७ लाख रकम खर्च हुन सकेको छैन ।

यो वर्ष पनि ४ लाख रकम त्यत्तिकै थन्किएर रहेको स्थानीय बताउँछन् । स्थानीय बासिन्दाको लापरबाही पनि कायमै छ । दामुपालको बारेमा विवाद नभएको भने होइन । दुल्लुमा रहेको दामुपालको शिलालेखमाथि पनि अहिले विज्ञहरूका भिन्न–भिन्न प्रतिक्रिया छन् ।

भाषाविद् डा. मधुसूदन गिरीको भनाइमा दुल्लुकै खिराखेतमा रहेको अर्को सा.के. १०१६ को शिलालेख पनि महत्वको हो । सबै क्षेत्रबाट प्रमाणित गर्न सकिने पूर्ण मान्यताको शिलालेखका रूपमा दुल्लुकै दामुपालको भएको दाबी गिरीको छ ।

३२ थरको उद्गम थलो
ठाउँको नामबाट विभिन्न थर निर्माण भएको मानिन्छ । त्यसका लागि दैलेखका केही स्थान निकै चर्चामा छन् । अर्थात्, दैलेखका ३२ स्थानबाट ३२ थर निर्माण भएको मानिन्छ । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेललगायत ३२ जातजातिको उद्गम थलो भनेर विभिन्न वंशावलीमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेतले दैलेख आएका वेला नेपा गाउँमा रहेको तियाडीबाट ‘पुर्खाको माटो’ काठमाडौं लिएर गएको स्थानीय माधव खनालले जानकारी दिए । दाहालहरूले दह भन्ने स्थानलाई पुख्र्यौली थलो मान्दै पुराणसमेत लगाएका छन् । कट्टी भन्ने स्थानमा काठमाडौंबाट विभिन्न थरका व्यक्ति आफ्नो पुर्खाको जन्मथलो भन्दै घुम्न आउने गरेको शान्तिप्रसाद शर्माले बताए ।

पञ्चकोसीको भएन प्रचार
पञ्चकोसी दैलेखको पहिचान बोकेको क्षेत्र हो । अझ श्रीस्थान, कोटिला, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवीलगायत क्षेत्रले पञ्चकोसी क्षेत्रका रूपमा परिचय बनाएका छन् । सयौँ वर्षदेखि पञ्चकोसी क्षेत्रका विभिन्न स्थानमा ज्वाला बलिरहेका छन् । वैश्वानर पुराणमा उल्लेख भएबमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पत्ति भएको जनविश्वास छ ।

त्यही आधारमा पञ्चकोसी क्षेत्रमा हरेक वर्षको शिवरात्रिमा मेला लाग्छ । खानी तथा भूगर्भ विभागको अध्ययनमा यो पेट्रोलियम पदार्थ भएको क्षेत्र हो । त्यही पदार्थका कारण ज्वाला निस्किएको हो । दैलेखका ४० वटा सम्पदाहरू खानी तथा भू–गर्भ विभागको सूचीमा सूचीकृत भएको र तिनीहरूको वर्गीकरणका आधारमा संरक्षणमा पहल गरिने भू–गर्भ विभागले जानकारी दिएको छ । तर, उल्लेख्य काम भने हुन सकेको छैन ।

श्रीस्थानमा सा.के. १७५७ को शिला अभिलेख छ । शिरिस्थान मन्दिरमा साके १७५९ मा चढाइएका घण्टहरू अहिले पनि देख्न सकिन्छ । दुर्भाग्य ! पुराना मूर्ति र घण्ट अहिले चोरी भइसकेका छन् । पादुका मन्दिरमा रहेको सा.के. ११३६ को जैन तीर्थंकर महावीरको मूर्तिको विशेष महत्व मानिन्छ । त्यस्तै, सिञ्जा साम्राज्यका राजा अशोकचल्लको समयमा स्थापना गरिएको साउना कार्की र साउका कक्र्यानी अभिलेखसहितको स्तम्भले पञ्चकोशी क्षेत्रको महत्व झनै बढाएको छ । नयाँ पत्रीकाबाट।





Leave a comment

Your email address will not be published.


*