नमुना नौमुले –फौजी परेड हुने विद्यालय अहिले शान्ति क्षेत्र

          |   प्रकाशित मितिः शनिबार, चैत्र १७, २०७४     ::: 172 पटक पढिएको   |  

नौमुले (दैलेख) — आफ्नै काखमा छोराको प्राण उडेको १४ वर्षअघिको त्रासदीपूर्ण घटनापछि नन्दकला ढकालका लागि आफ्नो घर कहिल्यै न्यानो लागेन । जीवनको उत्तराद्र्धमा पुगेकी नन्दकलाको बोलीमा नौमुलेको नयाँ बिम्ब प्रवाह भएको छ । सशस्त्र द्वन्द्वकालमा ‘त्रास–गाउँ’ का रूपमा चिनिने नौमुले अहिले विकासले नमुना ‘नगर’ का रूपमा चिनिएको छ । घरबास छाडेर हिँडेकाहरू गाउँ फर्केर उत्पादनमा लागेका छन् । सडक, सञ्चार, विद्युत्लगायत पूर्वाधारले नौमुले समृद्धि यात्रामा लम्केको छ । हिजो एकआपसमा लड्नेहरू अहिले हातेमालो गरेर अघि बढिरहेका छन् । ‘सबैको प्रयासबाट नौमुलेको मुहार फेरिएको छ,’ नौमुले गाउँपालिका अध्यक्ष भदे बुढामगर भन्छन्, ‘अबको पाँच वर्षभित्र नौमुलेलाई अझ नमुना बनाउने हाम्रो सपना छ ।’ स्थानीयको सक्रियताले यहाँको विकासमा निकै सहज भएको उनको भनाइ छ । दुई वर्षअघि श्रीमान् बितेपछि त घर झन् उराठलाग्दो बन्यो । तर, ८६ वर्षीया नन्दकला अहिले त्यही घर पुनर्निर्माणमा जुटेकी छन् । ‘जे हुनु भइहाल्यो, अब सास छउन्जेल भएको सम्पत्ति राम्रो गर्नुपर्‍यो भन्ने लागेको छ,’ बुधबार बिहान घरमा पुगेका  उनले भनिन्, ‘गाउँमा शान्ति छायो, वरिपरि सबैले राम्रा घर बनाए, हामीले पनि भएको घरलाई राम्रो बनाउनैपर्‍यो नि ।’

सात वर्षअघि नौमुले सडक सञ्जालमा जोडिएपछि सम्भावनाका ढोका उघ्रिएका हुन् । दिगो शान्तिको आशासँगै घरजग्गाको मूल्य पनि अकासिएको छ । शान्ति प्रक्रियाअघि ‘मूल्यहीन’ रहेको जग्गा अहिले प्रतिमिटर तीन लाख रुपैयाँसम्म पुगेको स्थानीयको भनाइ छ । द्वन्द्वकालमा दुई छोरा र एक छोरी गुमाएका स्थानीय केहरसिंह बुढामगर अहिलेको विकास र चहलपहलले कहालीलाग्दा विगत बिर्साएको बताउँछन् । ‘हुन त मैलेभन्दा ठूलो पीडाको भारी कसले बोकेको होला र ?’ उनी भक्कानिन्छन्, ‘तर समयक्रमले ती पुराना पीडा बिस्तारै भुलाउँदोरहेछ, वरिपरिको रमाइलो वातावरणले मल्हम लगाउने रहेछ ।’

जलविद्युत् नौमुलेको समृद्धिको प्रमुख आधार बनेको छ । यहाँ तीनवटा जलविद्युत् आयोजना निर्माण क्रममा छन् । ३ दशमलव ७३ मेगावाट क्षमताको द्वारीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरिसकेको छ । २१ किलोवाट क्षमताको लोहोर खोलाबाट लघु जलविद्युत् योजना पाँच वर्षदेखि सञ्चालनमा छ । विद्युत् उत्पादनपछि गाउँबस्ती झिलिमिली मात्र भएका छैनन्, स्थानीयको आर्थिक स्तरसमेत उकासिएको छ । सशस्त्र द्वन्द्वमा छोरी लालमायालाई गुमाएपछि नौमुले बजारमा व्यापार व्यवसाय गर्दै आएका दलबहादुर पुनमगर विकासका पूर्वाधार पुगेपछि व्यापार पनि फस्टाएको बताउँछन् । ‘उतिबेला यहाँ पसल चल्नु त टाढाको कुरा, गाउँमा मान्छे देख्नै मुस्किल हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले भने सहरबजारको झल्को यहीं देखिन्छ ।’

शान्ति स्थापनासँगै नौमुलेको शिक्षा र स्वास्थ्यमा समेत उल्लेख्य सुधार भएको छ । २०५१ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भए पनि उपस्वास्थ्यचौकीको हैसियतमा खुम्चिएको स्थानीय स्वास्थ्य संस्था अहिले एक करोड रुपैयाँ लागतको नयाँ भवनमा स्तरोन्नति भएको छ । गाउँमा १२ कक्षासम्मका दुई विद्यालय सञ्चालनमा छन् । निजी विद्यालयसमेत खुलेका छन् । स्थानीय भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह हिजो फौजी परेड हुने विद्यालय अहिले शान्ति क्षेत्र बनेको बताउँछन् । उनका अनुसार पछिल्लो समय विद्यार्थी संख्यासमेत बढेको छ । शैक्षिक सत्र २०६०/६१ मा साढे ६ सय विद्यार्थी रहेको उक्त विद्यालयमा अहिले करिब हजारको संख्यामा विद्यार्थी छन् । ‘हिजो सेना र मिलिसियाले पीटी–परेड खेल्दा मन कुँडिन्थ्यो,’ उनले भने, ‘आजभोलि विद्यार्थी रमाएको देख्दा मनमा शान्तिको अनुभूति हुन्छ ।’

सशस्त्र द्वन्द्वकालमा नौमुलेवासी राज्य र विद्रोही दुवैतिरबाट उत्तिकै प्रभावित भए । कसैका छोराछोरी राज्यतर्फबाट मारिए भने कसैका तत्कालीन विद्रोही माओवादीबाट । दुवैतिरबाट पीडित उनीहरू अहिले भने सँगै मिलेर बसेका छन् । दुई दशकपछि गाउँदेखि प्रदेश हुँदै केन्द्रसम्म नयाँ सरकार बनेपछि नौमुलेमा विकासको थप आशा जागेको छ । नौमुले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक पर्यटनजस्ता क्षेत्रमा १४ करोड रुपैयाँ छुट्याएको छ । यहाँ विभिन्न १९ वटा गैरसरकारी संस्थाले काम गर्दै आएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले स्थानीय सरकारले विकासका साथै गाउँमा शान्ति प्रवद्र्धन कार्य पनि गरिरहेको बताए । उनका अनुसार शान्ति प्रक्रियाका क्रममा ध्वस्त संरचना पुनर्निर्माण भएका छन् ।





Leave a comment

Your email address will not be published.


*