राउटे युवाको ‘जागिर मोह’

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र २७, २०७४     ::: 46 पटक पढिएको   |  

डुंगेश्वर (दैलेख) : बस्तीमा प्रायः नयाँ व्यक्तिको आउजाउ भइरहन्छ। नेपाली मात्र होइन, बेलाबेला विदेशी पनि पुग्छन्। आफ्नो बस्तीमा पुग्ने जोकोही नयाँ मानिसलाई उनी आफ्नो सपना सुनाउँछन्, ‘मलाई जागिर खाने रहर छ, पढ्न पनि मन छ। तर मुखियाले स्कुल जान दिँदैनन्, तपाईंले जागिर मिलाइदिनुहुन्छ कि ? ’

दैलेख डुंगेश्वर गाउँपालिकास्थित पराजुली खोलाको किनारमा ४६ वटा साना छाप्रासहितको राउटे बस्ती छ। त्यहीँका २० वर्षीय राउटे युवक दीपक शाहीले भनेको कुरा हो यो। बस्तीको एउटा छाप्रानजिकै भेटिएका उनले भने, ‘आजसम्म स्कुल जान पाइएन, जंगलमा बस्ने मान्छे कसरी स्कुलमा पढ्न जानु ? अब नपढेको मान्छेलाई जागिर पनि पाइँदैन, जागिर मिलेको भए हामी जंगलमा भोकभोकै बस्नुपर्दैनथ्यो कि ? ’ दीपकले आफ्नो सपना सुनाइरहँदा उनका बाबु भने निःशब्द थिए। किनकि, उनमा छोराको जागिर खाने रहर पूरा गरिदिने सामथ्र्य नै थिएन।

आकाशको पानी र घामसमेत नछेक्ने सानो छाप्रोभित्रै दीपकको जागिर खाने सपना दबिएको छ। अन्धविश्वास र घुमन्ते जीवनका कारण राउटे समुदायमा कसैले पनि शिक्षा आर्जन गरेका छैनन्। अशिक्षाका कारण आफूहरूले दुःख पाएको र जागिर गर्न नपाएको बुझेका राउटे युवाहरूमा पछिल्लो समय जागिर खाने रहर पलाउँदै गएको छ। उमेरले २० वर्ष कटेका अर्का राउटे युवा दिशबहादुर शाहीले भने, ‘जंगलमा सिकार छैन, काठको काम पनि हुन छोड्यो। अब जागिर खाने हो, नपढेको भए पनि केही काम गर्न मिल्ने जागिर त मिल्छ होला नि ? ’ मिल्ने भए आफूलाई प्रहरीमा जागिर खाने रहर भएको उनले बताए। दीपक र दिशबहादुर जस्तै राउटे बस्तीमा नयाँ पुस्ताले विद्यालयमा पढ्ने र जागिर खाने सपना बुनिरहेको छ।

‘बिस्तारै परिवर्तन हुँदै जाला, सबै ठीक होला’, दीपकले भने, ‘पहिला त चप्पल पनि लाउन दिँदैनथे मुखियाले, बिस्तारै चप्पल लगाउन थालेका छौं। बिस्तारै स्कुल पनि जाने दिन आउलान् कि ? ’ बस्तीका अन्य युवाको तुलनामा केही जिज्ञासु र हँसिलो स्वभाव भएका दीपक नयाँ मान्छे पुग्नेबित्तिकै आफ्नो जागिर गर्ने रहर सुनाउँछन्। त्यति मात्र होइन, उनी राउटे बस्तीमा शिक्षकको व्यवस्था गरेर पढाइको व्यवस्था गरिदिन पनि आग्रह गरिरहन्छन्। ‘हामी स्कुल जान सम्भव छैन, बरु बस्तीमा मास्टर ल्याउनुपर्‍यो। पढेर जागिर खाने हो, हाम्रो मुखियालाई सम्झाइदिनुहोला’, उनले भने। मुखियाले नमान्ने भएकाले आफूहरू विद्यालय जान सक्ने अवस्था नरहेको उनको भनाइ छ।

अचेल जंगलमा काठ काट्न र सिकार पनि खेल्न नपाइने भन्दै दिशबहादुरले पेट भर्न आफूहरूलाई जागिर नै चाहिने प्रतिक्रिया दिए। ‘पढाइ त छैन, नभए पनिकेही जागिर त मिल्ला ? जागिर गरेर कमाइ गर्नुपर्‍यो, नत्र अब हामी कसरी बाँच्ने ? ’ उनले भने। जागिर गर्दा सहरमा घुम्न पाइने र नयाँ लुगा लगाउन पाइने उनको सोचाइ छ।

आकाशको पानी र घामसमेत नछेक्ने सानो छाप्रोभित्रै दीपकको जागिर खाने सपना दबिएको छ।

दीपक र दिशबहादुरले बस्तीमा पुगेका कर्णाली प्रदेशसभाका सांसद धर्मराज रेग्मी र डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई समेत जागिर गर्ने रहर सुनाए।

‘मुखिया बनेर सबैलाई पढाउँछु’

राउटे समुदायमा शिक्षा आर्जन गरेमा पाप लाग्छ भन्ने अन्धविश्वास कायमै छ। यही अन्धविश्वासका कारण राउटे समुदायमा हालसम्म कसैले पनि विद्यालयबाट औपचारिक शिक्षा लिएका छैनन्। यद्यपि पछिल्लो पुस्ताले पढाइप्रति रहर गर्न थालेको छ। यो समुदायमा मुखिया नै निर्णायक हुन्छन्। मुखियाको आदेश नै राउटेका लागि कानुनसरह हो।

पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जानबाट वञ्चित भएपछि राउटे युवा दीपकले भने, ‘अब हामीले पनि पढ्नुपर्छ, नपढेर त जागिर नै पाइँदैन।’ दीपकले आफ्नो मुखिया बन्ने योजनासमेत सुनाए। ‘रहर भएर के गर्नु ? मुखियाले नमानेपछि कसैको केही चल्दैन। अब विस्तारै म नै मुखिया बन्नेछु, त्यसपछि बस्तीका सबैलाई पढाउनेछु’, उनले भने। पछिल्लो समय रक्सीले बस्तीमा बिगार्न थालेको भन्दै उनले आफूहरूले रक्सीको साटो कोक पिउने गरेको उनले बताए।





Leave a comment

Your email address will not be published.


*