बलात्कारको होडबाजी

          |   प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५     ::: 112 पटक पढिएको   |  

-मञ्जु मिश्र-

सैन्य आक्रमण भएका बेला संसारमा धेरै बलात्कारका घटना हुन्थे । शक्तिशाली देश वा राज्यका सैनिकहरूले कमजोर राज्यलाई परास्त गर्न महिला तथा बालबालिकालाई बलात्कार गर्थे ।

यथास्थान छाडेर भागेका शरणार्थीहरू सबैभन्दा धेरै बलात्कारको सिकार भएको विश्वको इतिहास छ । तत्कालीन समयमा लाचार महिला माथि आफ्नो विजयको उन्माद देखाउन अग्रसर हुँदा धेरै महिलाहरूले बलात्कृत हुनु पर्यो ।

तर इतिहास फेरियो । अहिले बग्रेल्ती बलात्कारका घटनाहरू सुनिन्छन्, त्यो पनि अपरिचित भन्दा बढी परिचित वा आफन्तबाटै । आफ्नै घरपरिवारका सदस्य, नेता र हाकिमहरू अनि आवारा बेरोजगारहरू, तछाड मछाड गर्दै बलात्कार गरिरहेका छन् ।

कारबाही गर्ने कानुन छ, तै पनि बलात्कार कम भएको छैन । केही यस्ता देशहरू छन् जहाँ बलात्कारीलाई फाँसी दिँदा पनि बलात्कार कम भएको छैन । साउदी अरब जस्ता देशमा बलात्कारीको सार्वजनिक स्थलमा टाउको काटिन्छ ।

ब्रिटेन जस्तो देशमा जन्मकैद भुक्तान गर्नुपर्छ । भारतमा भर्खर १२ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई फाँसी दिने कानुन पारित भएको छ । नेपालमा भने बलात्कार संस्कृतिको रुपमा विकास भइरहेको छ । डर लाग्छ यो कतै भोलिको पिँढीमा हस्तान्तरण हुदै जाने पो हो की ?

सन् २०१६ मा ‘नेपाल डेमोग्रफिक एण्ड हेल्थ सर्भे’ ले निकालेको आँकडामा १५ देखि ४९ वर्षका महिलाहरूमा कम्तिमा सात प्रतिशतले यौन हिंसा अनुभव गरेका छन् भन्ने देखिएको छ ।

विभिन्न अध्ययन अनुसार नेपालमा हुने गरेका बलात्कारको अत्यन्त न्युन प्रतिशतमात्र प्रहरीमा उजुरी पुग्ने गर्छ । हरेक महिना कमसेकम ७८ महिला र बालिका बलात्कार हुने गरेको भन्ने लेख ‘माइ रिपब्लीका’ पत्रिकामा छापिएको थियो ।

प्रहरीमा पुगेका कतिपय उजुरी अदालतमा नपुगेका डरलाग्दा उदाहरणहरू ‘दरबारमार्ग काण्ड’ ले पनि प्रमाणित गरेको छ । नेपालमा कति बलात्कार हुने गरेका छन्, कति रिर्पोट हुन्छन् र कतिले न्याय पाउँछन् भन्ने कुराको यकिन तथ्यांक आईसकेको छैन ।

यस विषयमा कुनै अध्ययन अनुसन्धान नहुनु अर्को दुखद् पक्ष हो । सरकारको यसमा कुनै ध्यान गएको छैन । महिला तथा बालबालिका अन्तर्गतको मन्त्रालय, महिला विभाग वा कुनै पनि राजनीतिक दलका महिला संगठनहरू यस अध्ययनमा अग्रसर देखिएका छैनन् ।

साना साना नानीहरूमाथी हुने बीभत्स बलात्कारको तथ्यांक झनै बढिरहेको छ । अझै त्यसमा ‘ग्याङ रेप’ का घटनाहरू कम छैनन् । यसमा पनि छुट्टै कानुन ल्याउनै पर्ने देखिन्छ ।

फौजदारी कानुनको एउटा सिद्धान्त के हो भने, सजायले केवल अपराधीको अन्त्य गर्न सक्छ, अपराधको अन्त्य हुदैन । यसको अर्थ के हो भने कुनै पनि अपराधीलाई मृत्युदण्ड दियो भने केवल त्यस अपराधीको अन्त्य हुने हो, अपराधको होईन ।

तर आधुनिक कल्याणकारी सरकारले त्यस्तो विधि अपनाउनु पर्छ जसले अपराध पनि अन्त्य गरोस् । यसमा कानुनलाई मात्र समाजशास्त्रीय मान्यताले सघाउन सक्छ । समाज नै त्यो मुख्य कारक हो जसले अपराध गर्न उक्साईरहेको हुन्छ ।

आर्थिक, सामाजिक र सांस्कृतिक कारणहरू नै अपराधी बनाउने मुल कारण हुन् । यसमा मनोवादलाई जोड्ने हो भने मानसिकता पनि थपिन्छ । बलात्कार गर्न सबैभन्दा ठूलो भूमिका मानसिकता नै हो । दरिद्र र अपराधिक मानसिकताबाट नै हुन्छ बलात्कार ।

अब कुरा गरौ हाम्रो देशमा बलात्कारीलाई मृत्युदण्ड दिनु पर्छ भन्ने सन्र्दभमा । भारतको काश्मीरमा एक सानी नानीमाथी भएको अपहरण, बलात्कार र हत्या पछि भारत सरकार बाध्य भयो बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर्न ।

यो भन्दा पनि बीभत्स बलात्कारका समाचार हामीले नेपालमा सुनेका छौं । तर बलात्कारीलाई अपराध अनुसारको सजाय दिलाएको कुनै पनि उदाहरण छैन । त्यसमा सबैभन्दा ठूलो बाधक हाम्रो देशको संविधान नै हो ।

नेपालको संविधानको मौलिक हक यति बलियो छ जसले जस्तासुकै अपराधीलाई पनि सम्मानपूर्वक बाँच्न हौसला प्रदान गर्छ । संविधानले भन्छ, कुनै पनि व्यक्तिलाई ज्यानै जाने गरेर कुनै पनि सजाय तोकिने छैन । यस्तो अहम् विषय संविधानमै सुरक्षित गरिएपछि कसरी बलात्कारीलाई मृतयुदण्ड माग गर्न सक्छौ ?

संविधान संशोधन नगरी यो विषयमा प्रवेश गर्नु कतै पनि उचित छैन । ती सबै महिला, महिलाका निम्ति काम गर्ने महिला र संघ संस्थाहरूले यस विषयमा संगठित हुन जरुरी छ । विचार, विर्मश गर्न जरुरी छ यदि नेपालमा पनि बलात्कारीलाई कडा भन्दा कडा सजाय दिलाउनु छ भने । किनभने कार्य विधि कानुनको प्रमुख उद्देश्य सजायको परिणाम देखेर अपराध गर्नबाट रोक्नु पनि हो ।

बलात्कारका घटना हुनुमा पूर्वीय चिन्तन अर्को प्रमुख कारण हो । ‘महिलाहरू आफै बलात्कृत हुन चाहन्छन्’ भन्ने उखानको रुपमा प्रयोग भएको छ पूर्वीय दर्शनमा । यही दर्शनले स्त्रीलाई सम्मान र पुजा गर्नुपर्छ भनेर मनुस्मृतीमा लेख्न सक्छ र यही समाजमा बलात्कार गर्नुपर्छ किनभने स्त्रीहरू बलात्कृत हुन चाहन्छन् भन्ने मान्यतालाई अदालतमा समेत उचालेका उदाहरण छन् । ती वहसकर्ताहरूलाई मेरो प्रश्न के ललितपुरकी पाँच वर्षकी बालिका बलात्कार होस् भन्ने चाहन्थिन् ?

बलात्कार केवल व्यक्ति विरुद्ध अपराध होईन । यो त समाज विरुद्धको अपराध हो र यसको दायरा विश्वभर फैलदै गएको छ । बलात्कार विस्तारै संस्कृतिको रुपमा विकास भइरहेको छ । यस्तो संस्कृति जसले दिनहुँ दर्जनौ महिला र बालबालिकाहरूलाई नरकको जीन्दगी बाँच्न विवश बनाएको छ ।

समाजशास्त्रका केही पुस्तक अध्ययन गर्दा पपुवा न्युगीनीमा कुनै कुनै समुदायमा महिलालाई सजाय दिनुपर्दा सार्वजनिक स्थलमा ‘ग्याङ रेप’ गर्ने प्रचलन छ । यस्तै कूसंस्कृतिको विकास कालान्तरमा नहोला भन्न नसकिने अवस्था छैन ।
यहाँ एउटा भिड छ जो भारतमा भएका बलात्कारका घटनाका लागि फेसबुकमा दुख देखाउने । अर्को भिड छ, महिलाहरूलाई जथाभावी कमेन्ट गर्ने । यो भिडले सम्मानित राष्ट्रपतिलाई पनि अछुतो राखेन ।

अर्को भिड छ गोबिन्द केसी कहिले अनसनमा बस्छन् र माइतिघर मण्डलामा समर्थन गर्न जाउला भनेर पर्खिरहने । तर कसैले पनि दिनहुँ नेपालमा भइरहेका बलात्कार, सामूहिक बलात्कार र यौन हिंसाका लागि मृत्युदण्ड वा यस्तै पर्याप्त सजाय हुनुपर्छ भनेर आवाज उठाउन सकेको छैन ।

नेपालमा परिवर्तनको आवश्यकता छ । बलात्कृत होइन, बलात्कारीको शिर निहुरिनु पर्छ । प्रहरीले बलात्कारका घटनालाई घरघरबाट ल्याएर अदालतमा पुर्याउनु पर्छ । परिवारले अपराधीलाई सजाय नदिलाउञ्जेल हरेश खानु हुँदैन । समाजले त्यस्ता दुशकर्म गर्नेलाई बहिष्कार गर्नुपर्छ ।

महिलाहरूले आत्मरक्षाका लागि तालिम गर्नु पर्छ । बालबालिकाहरूको संरक्षण गर्नु सबैको दायित्व हुनुपर्छ । अदालतले बलात्कारीलाई शंंकाको सुविधा दिनु हुँदैन ।

अन्यथा बलात्कार बढिरहन्छ, हामी मूकदर्शक मात्र हुन्छौ । समाज पतन उन्मुख हुन्छ । समाज केवल दरिद्र मानसिकता बोकेका पुरुषहरूको मात्र हुन्छ । र सबै भन्दा महत्वपूर्ण कुरा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आन्दोलनको स्थापना गर्न सकारात्मक पुरुषहरूको समेत साथ जरुरी छ । महिला खबर बाट  साभार गरिएकाे ।

(सर्वाधिकार लेखकमा) 

 

 





Leave a comment

Your email address will not be published.


*