कुलतमा युवा,अभिभावकको दायित्व

        सजना सुनार   |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ १, २०७५     ::: 112 पटक पढिएको   |  

‘मेरो मनमा के चलिरहेको छ म आफैलाई थाहा छैन । मेरो परिवारबाट टाढा जाउँ जस्तै लागिरहेको छ । घर परिवार साथीभाईहरु देखि केहि दिन भएपनि टाढा भएर बसौ जस्तो लाग्छ । म जन्मीएको, हुर्किएको, पढेको र बसिरहेको ठाउँबाट केहि पर गएर एक्लै अनी नयाँ वातावरण, नयाँ मान्छेसंग होस या एक्लै बस्ने मन छ’ यो कुनै सामान्य विचार वा भनाई नभएर आज भोलीका युवायुवतीहरुको वास्तविक पिडा हो ।

सजना सुनार

यस्तै सोचिरहेका हुन्छन्, आज भोलीका प्राय युवा युवतीहरु, आज भोलीका युवा युवतीहरुको लागि यस्तो हुन सामान्य जस्तै भइसक्यो । यसैबाट घटनाक्रम सुरु हुन्छ, त्यसमा कुनै पनि अभिभावक, समाज लगाएत सबै पक्ष अनविज्ञ रहन्छ । बढ्दै गएको डिप्रेसनको समस्या कहाँनिर, कसको गल्तीले सुरुवात भएको हो भनेर ठम्याउनै मुस्किल भइरहेको छ । कुन ठाउँमा के भइरहेको छ भन्ने कुरा नै छुट्याउन मुस्किल पर्छ ।
नेपालका कयौ युवा युवतीहरुले आफ्नो क्षमता गुमाइरहेका छन् भन्दै हिड्ने धेरै भेन्छिन् । नचाहिदो काममा फसेका वा नचाहिदो काममा समय खर्चिएका छन् भन्नेहरुको जमात पनि उत्तीकै छ । तर ति युवा युवतीहरु किन त्यस्तो बाटोमा लागेका छन् भनी वास्तविक कारण पत्ता लगाउने तर्फ कसैको पनि ध्यान जान सकेको छैन् । आजको युवाहरुको अवस्था देख्दा साच्चीकै दया जागेर आउँछ । पसिना बगाउने उमेरमा धुँवा उडाइरहेका देख्छु, विना काममा महंगो महंगो मोटरसाइकल गुडाइरहेको देख्छु, यति मात्र नभएर इन्टरनेटको दुनियाँमा आफ्नो महत्वपूर्ण समय खर्चिरहेको देख्छु । यस्ता कुराहरुका कारण समाजमा बस्ने कतिपय मान्छेहरुलाई पिडित बनाएको छ । यति हुँदा हुँदै पनि यस्ता गतिविधी रोक्न तर्फ कसैको ध्यान जान सकेको छैन् । सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका छन् । एक कानले सुन्ने, अर्को कानले उडाउने जस्तै गरि ।
साच्चिकै भनौ भने मान्छे डिप्रेसनमा प¥यो भने धेरै असजिलो परिस्थती सृजना हुन्छ । तर कतिपय युवाहरुलाई यस्तो कुराहरु थाहा नै नभए जस्तै गरिरहेका छन् । आफु कुन अवस्थामा छु र मलाई के कुरा आवश्यकता छ भन्ने कुरा थाहा नभएको जस्तो गरिरहेका छन् । त्यस्तो समस्याबाट युवा आफैमा पिडित भइरहेको हुन्छ, अर्को तर्फ घर परिवारको चिन्ताको विषय बनेको हुन्छ । हाम्रो छोरा छोरी गलत बाटोमा लागेका छन्, अब उनिहरुलाई सहि बाटोमा ल्याउन सकिदैन की भन्ने अभिभावकहरुलाई चिन्ताको विषय बनिरहेको हुन्छ । त्यस कुरामा अभिभावकहरुको चासो पनि उत्तीकै हुन्छ तर समस्याले अभैm विकराल रुप लिदै गइरहेको हुन्छ ।
मलाई अझै पनि याद छ, यहि विरेन्द्रनगर र आसपासका बाटोहरुमा एक्लै हिड्दै गर्दा देखिएका दृष्यहरु, भर्खरका युवाहरु हातमा फोहोरका कट्टा लिएर अस्तव्यस्त अवस्थामा एक्लै हाँस्दै हिडेको त्यो दिन, मलाई पत्याउनै गाह्रो परेको त्यो दृष्य, उ साच्चीकै पागल हो या होइन् । एक पछि अर्को गर्दै सडकमा फालिएका बदामका खाली खोस्टाहरु मुखमा हालेको अनी कुनै कुनै बेला उसको अनुहार हिंस्रक जस्तै देखिने त्यो दृष्य अहिले पनि मेरो मानसपटलमा घुमिनै रहेको छ । यो एउटा उदारहरण मात्र हो, यो सहर अनी गल्ली गल्लीहरुमा यस्तो अवस्थामा भेटिएका युवाहरुको जमात गनी नसक्नु छ ।
आज सडकका गल्ली गल्लीमा गाँजा, ड्रस, मदिरा होस या अन्य लागु औषध, किनेर होस या चोरेरै भएपनि महंगो रक्सीमा मातिएका युवाहरुको जमातले मननै झंसग भएर आँउछ ।

आजको युवा यति सम्म अचेत भइसक्यो की, आफ्नै शरिरलाई चुरोटको धुँवाले पोलिरहेको समेत पत्तो छैन् । आफुले आफैलाई दाग बत्ती दिइरहेको उनिहरुलाई अत्तो पत्तो छैन् । यि सबै हर्कत गरेर भएपनि उनिहरुलाई अझै सन्तुष्टि भने छैन् । आत्महत्याका घटनाहरुमा कमी आउने त कुरै भएन । दिनुहुँ आत्महत्याका घटनाहरु बढे भन्ने समाचार सुन्नु पर्छ ।
कर्णाली प्रदेशका हरेक स्कुलहरुमा हेर्ने हो भने पढ्दा पढ्दै विचैमा छाडेर पैसा कमाउनकै लागि छिमेकी देश भारतमा जाने किशोरहरुको संख्यामा पनि कमी छैन् । यति मात्र नभएर सानै उमेरमा विवाह गर्नेको संख्यामा कमी आउने त कुरै भएन् । दिनानुदिन बाल विवाह गर्नेको संख्यामा उत्तीकै बृद्धि भइरहेको छ । आत्महत्या, लागुऔषध सेवन जस्ता विषय हामी सबैलाई थाहा भएकै कुरा हो । हुँनत बदलिदो समयमा अभिभावकहरुलाई आफनै छोरा छोरीको आवश्यकता परिपुर्ती गर्नेका लागि धौ धौ छ । आजको युवा डिप्रेसनमा जानुको मुख्य समस्याको जड अभिभावक नै हुन् । यो कुरामा कसैको दुई मत छै्रन् । युवा अवस्थामा आइसकेपनि अभिभावकहरुले सानो बच्चालाई जस्तो व्यवहार गर्नु थाल्नु हुन्छ, उनिहरुको हरेक कुरा नराम्रो भन्न थाल्नु हुन्छ, उनिहरुको माग अस्विकार गर्न थाल्नु हुन्छ, अझै भनौ त हरेक पटक तँ काम नलाग्ने मान्छे, केहि गर्न सक्दैनस् र गर्दैनस पनि, जस्ता तुच्छ बचन लगाउनु हुन्छ, तब जो सुकै युवा युवतीहरुलाई एक्लोपनको महसुस हुन थाल्छ । आफ्नो अस्तित्व नै समाप्त भएको महसुस हुन्छ । त्यसपछि उ घर परिवार, समाज अनी साथीभाईहरुको हुल बाट टाढा बस्न चाहान्छ । एक्लो पनको महसुसले उसलाई एक्लै बस्नका लागि प्ररित गर्छ ।
विस्तारै उ सबैतिरबाट एक्लो भएको महसुस गर्छ । अन्तत उ जुनसुकै नराम्रा कामहरु गर्न पछि पर्दैन् । चाहे आफैलाई असर गरोस या अरु कसैलाई । प्रत्येक अभिभावकहरुले बुझनै पर्ने कुरा यदि, त्यो व्यक्तिलाई आफ्नो अभिभावकहरुको सम्मान छैन्, परिवार संग खुल्न र रम्न सकेको छैन् भने उ जत्ती नै प्रतिभावान, क्षमतावान भएपनि बाहिर गएर खुल्न गाह्रो हुन्छ ।
अरु कसैको अगाडी आफ्ना कुराहरु राख्न सक्दैन् । अझ भनौ त कहि गएर पनि म बेकामको छु भन्ने भावनाले ग्रसित गराउँछ । झनै लज्जीत र आत्मगलानी हुन जान्छ । त्यसैले प्रत्येक अभिभावकहरुले आफ्नो छोरा छोरीको विषयमा चिन्तित हुन जरुरी देखिएको छ । आफ्ना छोरा छोरीहरुलाई गाली नै नगर्ने, सम्झाउदै नसम्झाँउने भन्ने होइन सबै कुरा बुझेर सम्मानको साथमा राम्रो कुराहरु बुझेर सम्झाउन सक्नु पर्छ । यदि प्रत्येक अभिभावक र आफन्तहरुले छोरा छोरीको आत्मसम्मान गर्न सकेको भए आवश्यक सल्लाह सुझाव दिन सकेको भए हरेक दिन बाल विवाहका घटना घट्ने थिएन होला । साच्चिकै अभिभावकहरुले चासो देखाएको भए अहिले हजारौ किशोरहरु भारतमा काम गर्न जानु पर्दैनथ्यो होला ।

यहि त्यो हुँदैनथ्यो भने उनिहरुका भविष्य बर्बाद हुने थिएन होला । केही गर्छन भन्ने उमेरमा आफै नसामा झुल्नु पर्ने थिएन होला । अझ भनौ त आत्महत्या जस्तो घटनाहरु घट्ने नै थिएनन् होला र बाल विवाह पनि कम हुने थियो । साच्चिकै भन्ने हो भने युवा आफैमा डिप्रेसनको समस्या बाट पिडित छन् । तर पनि उनिहरुलाई राम्रो परामर्शको बारेमा थाहा छैन । त्यस्तो अवस्थामा परामर्शको कुरा त टाढा नै छ । अहिले संचार माध्ययमहरुमा विभिन्न खालका चेतनामुलक कार्यक्रमहरु आउने गर्छ तर युवाहरु के कति संख्यामा पिडित छन् भन्ने कुरा कहिल्यै बाहिर आउन सकेन् ।

हरेक युवाहरुलाई फरक फरक खालको समस्या रहेको छ तर कहाँ गएर कोसंग सल्लाह लिने भन्ने कुरा थाहा छैन् । केहि ठाउँहरुमा मनोविमर्श परामर्श केन्द्र भएता पनि त्यहाँ किन जाने भन्ने कुरा पनि प्रष्ट छैन् । त्यस कारण युवाहरु दिनानुदिन समस्यामा जुधिरहेका छन् । यस्ता विषयहरुमा अभिभावकहरुको मात्रै चासोको विषय होइन्, युवाको सबै सरोकारवाला निकायहरुको हो । सरकारी, गैरसरकारी संघ संस्थाहरुले त्यस तर्फ ध्यान दिन सके समृद्ध देश निर्माणका लागि सहयोग पुग्ने देखिएको छ ।
अभिभावकहरुलाई आफ्ना छोरा छोरीसंग कस्तो व्यवहार गर्ने विषयमा ज्ञान हुन जरुरी छ । विद्यालयमा शिक्षकहरुले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा प्रष्ट हुन जरुरी छ । व्यक्ति हेरेर अन्दाज होइन् त्यसको बास्तविक कारण पत्ता लगाइ समस्या समाधान गर्नुपर्छ । सरकारी र गैरसरकारी निकायहरुले मनोविमर्श परामर्श केन्द्रको व्यवस्था गरिदिनु पर्छ । डिप्रेसन र काउन्सेलिङ को बारेमा युवालाई मात्र थाहा भएर हुँदैन्, सबै पक्षलाई चेतना फैलाउन सक्नुपर्छ । जब प्रत्येक व्यक्ति सहि बाटोमा हिड्न जान्छ तब मात्र गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै सिंगो मुलुकनै सहिबाटोमा हिड्न सक्छ र विकास र समृद्धीको मार्गहरु प्रशस्त भेटिन्छन् ।
लेखक सुर्खेतकी सामाजिक अभियान्ता हुन् ।





Leave a comment

Your email address will not be published.


*