एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५     ::: 72 पटक पढिएको   |  

काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् । वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ-आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

त्यसपछि एकीकृत पार्टीको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो र त्यहाँ केन्द्रीय सदस्यहरुले नयाँ पार्टीको सदस्यको रुपमा सपथ पत्रमा हस्ताक्षर गरेपछि सपथ ग्रहण गरे । बैठकले पार्टी एकतालाई ऐतिहासिक भनेको छ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीको अनुसाशन र मर्यादाभित्र बस्न केन्द्रीय सदस्यलाई निर्देशन दिए। बैठकले पार्टी दर्ताको जिम्मेवारी सुवास नेम्बाङ र देव गुरुङलाई दिएको छ। दुवै पार्टीको नाममा रहेको सम्पत्ति र दायित्व अब नेपाल कम्युनिस्ट पार्टीको हुने निर्णय गरेको छ।
बालुवाटारको बैठकपछि निर्वाचन आयोगलाई औपचारिक रुपमा पार्टी एकताको जानकारी गराउन नेताहरु जानेछन्। त्यसपछि एकताको औपचारिक घोषणा गर्न राष्ट्रिय सभागृहमा मञ्च तयार भइसकेको छ।
के के भयो सहमति?
  • एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने। दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली
  • नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्। पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्।
  • सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने
  • केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।
  • मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।
संघर्ष पछि एकता
कम्युनिष्टपार्टीको व्यानरमा फरक धारको राजनीति गर्दै आएका एमाले र माओवादी केन्द्र एक भएका छन्। कुनै समय एक अर्कालाई सिध्याउने सम्मको टकरावमा रहेका दुई दल पछिल्लो चुनावी गठबन्धनबाट पार्टी नै एक हुने विन्दुमा पुगेका हुन्।
शान्तिपूर्ण राजनीतिक धारबाट उदाएको एमाले र हतियारसहितको संघर्षले बलियो बनेको माओवादी दुवै एक अर्काको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा एउटै बाटोमा हिड्न तयार भए।
२००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि दर्जनौं पटक कम्युनिष्ट आन्दोलनमा फुट आयो र ससाना समूहहरुबीच एकता पनि भयो। तर बिहीबारको एकता भने विगतको भन्दा केही पृथक छ। किनभने चुनावी परिणामबाटै बलियो उपस्थिति जनाएका दुई ठूला कम्युनिष्टहरुबीचको एकता हो।
अब कम्युनिष्ट पार्टीका नाममा झिनामसिना हाँगा मात्र बाँकी छन्। मूलत: नेपाली राजनीतिमा कम्युनिष्ट जनमतको सबैभन्दा बढी पकड राख्ने दुई दल एक भएका हुन्।
एमाले र माओवादी केन्द्र दुवै अब नेपाल कम्युनिष्ट पार्टीको व्यानर रहनेछन्। उनीहरुले संयुक्त नेतृत्व गर्ने अभ्यास थालनी गरेका छन्। दुवैमा अब सिद्धान्तको टकराव रहेन। एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको विल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी।
यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले गुजारे र एकले अर्कालाई सकेसम्म सिध्याउने रणनीति अख्तियार गरे। भोट बैंक एउटै भएकाले एउटाले अर्कालाई नसिध्याउँदा म्म आफ्नो अस्तित्व नरहने बुझाई दुवै पार्टीमा रह्यो।
त्यसैले कम्युनिष्ट इत्तर शक्तिसंँग मिलेर दुवै दलले एक अर्कालाई कमजोर पार्ने रणनीति बनाए। तर पछिल्लो समय दुवैले राजनीतिक शक्ति हासिल गर्न एक अर्काको आवश्यकतालाई महसुस गरे। शक्तिशाली कम्युनिष्ट पार्टी गठन गरे।

नेकपाको सचिवालय ९ सदस्यीय, श्रेष्ठ प्रबक्ता र पौडेल महासचिव

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय बन्ने भएको छ । बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरे अनुसार सचिवालयमा केपी ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहने छन्।

श्रेष्ठलाई प्रबक्ता र पौडेललाई महासचिवको जिम्म्वारी दिइएको पनि त्यसमा उल्लेख छ। उनले ४५ जनाको स्थायी समिति बन्ने पनि उल्लेख गरेका छन्।
kantipur.





Leave a comment

Your email address will not be published.


*