दैलेख सदरमूकामको इतिहास नामेट हुँदै, किन ?

        कवीराज खत्री (झवी)   |   प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५     ::: 70 पटक पढिएको   |  

कवीराज खत्री (झवी)

माल पाएर पनि चाल नपाए पछि, छुद्र सामाजिक भावना चरम चुलिमा पुगे पछि अस्तित्वमा रहेका मानिसहरु, वस्तुहरु, सम्पदाहरु र भौतिक संरचनाहरु अस्तित्व विहिन बन्न पुग्दछन । यति मात्र होईन, कालन्तरमा ती भूगोल, संरचनाहरु मानवविहिन समेत बन्न पुग्दछन । ठीक यसै प्रकारले दैलेख सदरमूकामको लामो इतिहास नामेट हुने अवस्थामा पुगेको छ । यो कुरा सतप्रतिसत सत्य कुरा हो । राणा शासन हुँदै पंचायती शासन, पंचायती शासन हुँदै वहुदलिय शासन र अहिले गणतन्त्रात्मक शासन अर्थात सुधारवादी कम्युनिष्ट शासनको पालामा आएर दैलेख जिल्लाको सदरमूकामको जुन अस्तित्व थियो, त्यो अस्तित्व र महत्व पूर्ण रुपमा नष्ट हुने प्रकृयाको थालनी भएको छ । यो कुरा आम दैलेखीका लागि दुर्भाग्य हो । दैलेखी कै भविश्य खतरामा पर्ने संभावना हो ।

हुन त दैलेख सदरमूकामको प्राचीन महत्वको बारेमा धेरै चर्चा गर्नु पर्ने आवश्यकता छैन । दैलेख सदरमूकाम जिल्लाको सदरमूकाम भएर मात्र अस्तित्वमा थिएन र छैन पनि । यो विषयमा सिंगो नेपाललाई नै जानकारी छ । तथापी माल पाएर पनि सदरमूकामका स्थायी वासीहरुले चाल पाउन सकेनन । विचारमा संक्रिणता हट्न सकेन । अस्तित्व रक्षाको संगठित आवाज उठान कसैले गर्न सकेनन । अझँ त्यो भन्दा माथि उठेर हेर्ने हो भने नवनिर्वाचित जनप्रतिनिधिहरुले यस बारे ठोस रुपमा नीति, कार्यक्रम र बजेट ल्याउन सकेनन । फलत आज नेपाल कै अब्बल सामरिक महत्व बोकेको दैलेख सदरमूकामको अस्तित्व समाप्तीको दिशामा छ । ब्लड क्यान्सरले खाएको खोक्रो शरीरको जस्तो आकार ग्रहण गरेको छ । इतिहासको कालखण्डमा दैलेखीका लागि यो नै दुःखद क्षण हो ।

दैलेख सदरमूकामको के छ महत्व ?

हामी दैलेखीका लागि दैलेख सदरमूकाम पहिलाका पचहत्तर जिल्लाको र अहिलेका सतहत्तर जिल्लाको एउटा सदरमूकाम मात्र हो भन्ने लागेको छ । तर सारमा कुरा त्यसो होइन । यो सदरमूकाम सामरिक महत्व, ऐतिहासिक पृष्ठभूमी बोकेको, पुरातात्वीक, धार्मिक, सामाजिक, साँस्कृतिक धरोहर बोकेको सदरमूकाम हो ।

क) गढीः

दैलेख सदरमूकामा भएको गढी नेपालको मात्र होइन, विश्वमा नै यस्तो संरचना छैन । यो दावाका साथ भन्न सकिन्छ ।

ख) भूर्तीका पंचदेवलः

यो सम्पदा पनि विश्वको अम्बल र दुर्लभ सम्पदा हो । विश्व सम्पदाको सूचीमा सूचिकृत हुने अवस्थामा रहेको छ ।

ग) विलासपुर मन्दिर,

नारायण मन्दिर, वटुभैरव मन्दिरः यी मन्दिरहरुको चर्चा नै नगरौं किनभने आफैमा ऐतिहासिक छन ।

घ) गौडा (प्रशासन कार्यालय)

यो भवन पनि विश्वको नमूना र ऐतिहासिक मध्येको एक हो ।

यी सम्पदाहरुका दृष्टिकोणले दैलेख सदरमूकाम प्राचीन मानव सभ्यतासंग जोडिएकाछन । त्यस कारण दैलेख सदरमूकामको ऐतिहासिक महत्व रहेको छ । यदि दैलेख सदरमूकामका यी सम्पदाको संरक्षण, प्रर्वद्धन गर्न सकेको खण्डमा विश्वका मानवहरु दैलेख सदरमूकाममा ओइरो लाग्ने कुरामा दुई मत देखिन्न ।

तर राज्य पुनः संरचना संगै यो सदरमूकामलाई काम नलाग्ने र स्याल बास्ने डाँडोको रुपमा रुपान्तर गर्न खोजिएको छ । किनभने यसका पनि केही कारणहरु रहेकाछन । अन्य जिल्लाको संरचना हेर्ने हो भने पहिला सदरमूकाम अनाई अनेत्र जान पाईदैन । तर यातायातका दृष्टिले अब सदरमूकामवासी बाहेक अरु कोही दैलेख सदरमूकाम आउनै पर्दैन । मध्य पहाडि चुप्रा भएर जानु, त्रीदेशिय सडक डुङ्गेश्वर भएर जानु, नौमूले सडक चुप्रा–लोहरे हुँदै जानु, दुल्लु क्षेत्रका लागि तल्लो डुङ्गेश्वर, माथिल्लो डुङ्गेश्वर, चुप्रा भएर जानु निकै दुर्भाग्यपूर्ण कुरा हो ।

जुनसुकै ठाउँको विकासको गति र संरचना हेर्दा सदरमूकाम बलियो नभए, सदरमूकामका लागि यातायात प्रणाली ब्यवस्थित नभए ती सदरमूकाहरु मानवविहिन हुने र समग्र जिल्लाको विकासमा अवरोध हुने गर्दछ । त्यस कारण जिल्लाको विकास सदरमूकाम हुँदै गाउँ तहसम्म पुग्नु पर्दछ । यो विषयमा दैलेख सदरमूकामवासी कानमा तेल हालेर बस्नु पर्ने किन ?
कसले पहल गर्ने यसको ?

यो गम्भीर विषय हो । सदरमूकामलाई वजनशील बनाउनका लागि पहिलो दायित्व नारायण नगरपालिकाका जनप्रतिनिधिहरुले लिनु पर्दछ । तर विडम्बना नारायण नगरपालिकाका जनप्रतिनिधिहरुले कुनै चासो दिएको देखिदैन । हजारौं टुक्रे योजनाहरु बनाएर कार्यकर्ता पालनमूखी कार्य गरिरहेको नगरपालिकाले दैलेखको गढी, डुडिखेल आदिलाई आफ्नो मातहतमा लिएर अन्तरारष्ट्रिय पर्यटन गन्तब्य बनाउन कुनै पहल गर्न सकेको छैन । मेघा प्रोजेक्टका रुपमा यी सम्पदाहरुको संरक्षण, प्रर्वद्धन गर्न सकेको छैन र गर्दैन होला पनि ।

दोस्रो जिम्मेवारी जिल्लाका सांसदहरुको हो । जिल्लाका सांसदहरु तेरो क्षेत्रबाट कि मेरो क्षेत्रबाट भनि मतान्तर अवस्थामा बाँडिएकाछन । यद्धपी निर्वाचन क्षेत्र नं. २ का सबै सांसदहरुले जहिले पनि भेगिय नारा नगाएर सबै थोक आफुतिर तान्ने र समग्र जिल्लाको विकासका लागि साझा दुर दृष्टि नबनाउने संक्रिण सोचबाट अघि बढने रोग पुरानै हो ।

तेस्रो जिम्मेवारी स्थायी सदरमूकाम निवासीको हो । तर स्थायी सदरमूकान निवासीहरु बाहिरबाट कोही मानिसहरु उद्यम ब्यवशाय गर्न आएको खण्डमा उसलाई हेप्ने, तर्साउने, भेडाबाख्रा चराउनेहरु, गवाँर भनेर हेप्ने र कालन्तरमा सदरमूकाममा बस्ने वातावरण नै नदिने प्रचलन हिजो देखी आजसम्म यथावत नै छ । यसको अलावा सदरमूकामलाई ब्यवस्थित, प्रविधियुक्त, उद्यमयुक्त, लगानीमैत्री वातावरणयुक्र बनाउनु पर्दछ । यसका लािग हामी स्थायी वासिन्दाहरुले पहल गर्नु पर्दछ भन्ने सोच अहिले पनि आएको छैन । अनि कसरी सदरमूकामको प्रगती हुन्छ । सारमा धेरै वा थोरै रुपमा दैलेख सदरमूकामलाई मानव विहिन र अर्थ विहिन बनाउन हामी सबैको भूमीका रहेको छ र यो हाम्रो भूमीकालाई बदल्न जरुरी छ ।

अब कसले के गर्ने ?

यदि दैलेख सदरमूकामको अस्तित्व बचाई राख्ने हो भने नारायण नगरपालिकाले नै यसको अगुवाई गर्नु पर्दछ । नारायण नगरपालिकाको समग्र विकास गर्छु भन्ने जनप्रतिनिधिहरुको ब्यवहार जनमैत्री र साझा हुन आवश्यक छ । यो भन्नुको मतलब साझा छैन भन्न खोजिएको हो । छैन पनि । यसको एउटा मात्र उदाहरण दिदाँ काफी होला । दैलेख सदरमूकामको चल्ली डाँडामा नारायण नगरपालिकाको नाममा रहेको करिब २६ सय वर्ग मिटिर जग्गाहमा औद्योगि ग्राम स्थापना र संचालन गर्नका लागि तत्कालीन जिल्ला विकास समितिको उद्यम विकास समितिले त्यो ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । तत्पश्चात नारायण नगरपालिकाले जग्गा दिने भनेर निर्णय मात्र गरेन लालपूर्जाको फोटोकपी समेत उपलब्ध गराएको थियो ।

वडा नंं १ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठको अगुवाईमा डिटेल स्टमेट बनाउका लागि नापजाँच प्रकृया पनि अघि बढेको थियो तर उद्योग वाणिज्य संघको चुनावमा अर्को विचार राख्नेले जित्यो, अब यिनीहरुलाई राम्रो काम गर्ने वातावरण दिनुहुन्न भन्ने मनसायले त्यो ठाउँमा सिटीहल बनाउने बाहाना बनाई कार्य अघि बढाउन नारायण नगरपालिकाले दिएन । यो घटनाले के पुष्टि गर्दछ भने अब नारायण नगरपालिका समृद्ध बन्दैनन र बनाउने वातावरण पनि हुँदैन । होइन भने सिटी हल निर्माण आवश्यक हो या त्यो ठाउँमा औद्योगिक ग्राम स्थापना गरेर १० वटा साना उद्यम संचालन गर्ने, दर्जनौं जनालाई रोजगारी दिने र हजारौं जनालाई आत्मनिर्भर बनाउने कुरा प्रथामिकतामा हो । हो यिनै र यस्तै कारणले गर्दा आज दैलख सदरमूकामको अस्तित्व धरापमा परेको छ ।

त्यस कारण हामी सबैले आ–आफ्ना अहंकार त्याग गर्नु पर्दछ । नीति, बजेट, कार्यक्रम जनपक्षिय हुनु पर्दछ । आवश्यकतालाई पहिचान गरी वर्गिकरण गरेर बजेट विनियोजन गर्नु पर्दछ । जनप्रतिनिधिहरुले आफ्ना पार्टीका कार्यकतामूखी बजेट बनाउने प्रचलनको अन्त्य हुनु पर्दछ । बजेटलाई कनिका छराई गरेर दुरुपयोग गर्ने वातावरण बनाउनुको साटो ठूला र मेघा प्रोजेक्टमा लगानी गर्नु पर्दछ ।  यसको अलवाा माथि उल्लेख गरेका सामरिक महत्वका सम्पादहरुलाई जगर्ने गर्ने, ती सम्पदाहरु नारायण नगरपालिकाको मातहतमा ल्याउने । सदरमूकामलाई स्वच्छ, सफा बनाउने, हाम्रा संक्रिण ब्यवहार बदलेर बाहिरबाट आउनेहरुलाई अस्थायी वा स्थायी रुपमा स्वतन्त्र र सम्मानपूर्वक बस्ने वातावरण बनाउने कार्य गर्नु पर्दछ ।

दैलेखको सदरमूकामको अस्तित्व बचाउन के गर्ने ?

क)  नारायाण नगरपालिकाले तत्काल गढी, टुडिखेल, बारुदखाना आफनो मातहतमा लिएर गढीलाई भ्यु टावर सहितको हरित वगान बनउनु पर्दछ । टुडिखेललाई अगाडिको भागमा ब्यापारिक भवन निर्माण गरी पछाडिको भागको जग्गा खरिद गरि प्याराफिट सहतिको फिल्ड र पुरानो भवनलाई या त पुस्तकालय या त संग्राहलय बनाउनु पर्दछ ।

ख) भूर्तीका पंचदेवल, किमुगाउँका पंचदेवलहरुको संरक्षण गर्न आसपासका जग्गाको मुअब्जा दिई ठूला पार्कहरु सहितको संरक्षण गर्नु पर्दछ ।

ग)  विलासपुर मन्दिरलाई मनमोहक वातावरण सहितको ब्यस्थापन, नारायण मन्दिरका आसमासका जग्गाको मुअब्जा सहित फराकिलो क्षेत्र निर्माण गर्नु पर्दछ । गणेशस्थान मन्दिको उचित ब्यवस्थापन गर्नु पर्दछ ।

घ)  खाद्य सामाग्री भवनलाई मातहतमा ल्याई स्थायी हाटबजारको ब्यवस्थापन गर्नु पर्दछ ।

ङ)  पुरानो कारागारलाई सिटी हलका रुपमा रुपान्तरण गर्नु पर्दछ ।

च)  बारुदखानाको जग्गाहलाई मतहतमा ल्याई ठूल्ठूला कार्यक्रम संचालन गर्न र मेला महोत्सव संचालन गर्नका लागि चौर निर्माण गर्नु पर्दछ ।

छ)  चल्लि डाँडामा रहेको जग्गाह र आसपासको जग्गाह मुअब्जा दिई औद्योगि ग्राम स्थापना गर्नु पर्दछ ।

ज) नारायण नगरपालिकाको पश्चिमको जग्गालाई नमूना वस्ति विकासको खाका तयार पारेर आवाशिय क्षेत्र बनाउनु पर्दछ । किमुगाउँमा आधुनिक र सुविधासम्पन्न होटेल, कटेजहरुको निर्माण गर्नका लागि लगानीमैत्री वातावरण बनाउनु पर्दछ ।

झ)  काँडाचौर र पुरानो वसपार्कलाई आधुनिक वसपार्क बनाउनु पर्दछ ।

ञ)  नारायण नगरपालिकामा कृषि क्याम्पस स्थापना गर्नु पर्दछ ।

यी त नमूनाका लागि मात्र उल्लेख गरिएका विषयहरु हुन । यी र यस्ता काम गर्नलाई नारायण नगरपालिकासित बजेटको अभाव छैन, कर्मचारीको अभाव छैन । बढिमा ३ वर्षभित्र यी कार्यहरु सम्पादन गर्न सकिन्छ । नारायण नगरपालिकाले अगुवाई गरेर उच्च मनोवल, समदुरी दृष्टिकोण, कार्य योजना सहित अघि बढेको खण्डमा नेपाल कै नमूमा सदरमूकाम दैलेख बन्न सक्दछ । यी कार्य गर्ने वा दैलेख सदरमूकामलाई मानव विहिन, ब्लड क्यान्सर लागेको वस्ति बनाउने जिम्मा नारायण नगरपालिकाको छ । यसका लागि नीजि क्षेत्र, विभिन्न संघ, संस्था, नागरिक समाज सबै तहले सहयोग गर्न प्रतिवद्ध छन । हेरौं आर्थिक वर्ष २०७५काँडाचौर र पुरानो वसपार्कलाई आधुनिक वसपार्क बनाउनु पर्दछ ।

यी त नमूनाका लागि मात्र उल्लेख गरिएका विषयहरु हुन । यी र यस्ता काम गर्नलाई नारायण नगरपालिकासित बजेटको अभाव छैन, कर्मचारीको अभाव छैन । बढिमा ३ वर्षभित्र यी कार्यहरु सम्पादन गर्न सकिन्छ । नारायण नगरपालिकाले अगुवाई गरेर उच्च मनोवल, समदुरी दृष्टिकोण, कार्य योजना सहित अघि बढेको खण्डमा नेपाल कै नमूमा सदरमूकाम दैलेख बन्न सक्दछ । यी कार्य गर्ने वा दैलेख सदरमूकामलाई मानव विहिन, ब्लड क्यान्सर लागेको वस्ति बनाउने जिम्मा नारायण नगरपालिकाको छ । यसका लागि नीजि क्षेत्र, विभिन्न संघ, संस्था, नागरिक समाज सबै तहले सहयोग गर्न प्रतिवद्ध छन ।

हेरौं आर्थिक वर्ष २०७५÷०७६ का लागि नारायण नगरपालिकाले यस अनुसारको बजेट, नीति तथा कार्यक्रम ल्याउँछ वा ल्याउँदैन ? अर्को कुरा अहिलेसम्म नारायण नगरपालिकाले विभिन्न दक्ष जनशक्ति र सरोकारवालाहरुको सुझाव, राय लिन कन्जुस्याँई गरिरहेको छ । अबका दिनमा यो काम गर्छ वा गर्दैन ? पर्ख र हेरको अवस्थामा जनता रहेकाछन । अन्त्यमा नारायण नगरपालिकासित एउटा अनुरोध छ अर्को चुनावमा गरिव, रोगी, ब्याधि, बेसाहारा मानिसले मात्र मतदान गर्ने स्थल बनाउने वा अहिलेका सबै मानिसले मतदान गर्ने, अँझ थप सक्षम जनशिक्तले मतदान गर्ने ठाउँ बनाउने ? यसको गुण दोष नारायण नगरपालिकाको कार्य सम्पादनले नै फैसला गर्नेछ ।

लेखक कवीराज खत्री (झवी)  दैलेख उद्योग वाणिज्य संघ, दैलेखका वरिष्ट उपाध्यक्ष हुन ।





Leave a comment

Your email address will not be published.


*