‘रजश्वला-निधारको टीको’

        सुनिता बस्नेत   |   प्रकाशित मितिः आइतवार, जेष्ठ १३, २०७५     ::: 732 पटक पढिएको   |  

-सुनिता बस्नेत-

हतार हतार दौडिएर गइ ऐना हेर्छु। केहि देख्दिन निधारमा ! ऑखा च्याति च्याति हेर्छु। ऐनालाई झ्लाल नजिक ल्याएर हेर्छु। मरे काटे देख्दिन निधारमा टीको ! हैन टीको लाग्न पर्ने होइन र मेरो निधारमा ?  मेरी हजुरआमाले त त्यसै भन्नु भएको थियो। ‘नछुनी’ हुने बित्तिकै निधारमा टीको लाग्छ।

खोई त टीको ? १०/११ बर्षकि म पहिलो पल्ट ‘पर’ सर्दा ममीलाई भन्न भन्दा पनि पहिला दौडिदै बुइगलमा गएको थिए, निधारमा ज़िन्दगी भरि लाग्ने टीका हेर्न ! म उत्साहित थिए। कस्तो टीको लाग्ने होला भनि अनेक अड्कलबाजी गरेकि थिए  । निक्कै सानो उमेर देखि नै ममी, हजुरआमा, फुपु, सानिमाको मुखबाट सुनेको कुरो, नछुनी हुने बित्तिकै निधारमा टीको लाग्छ। कहिले पनि नजाने गरि। मेरो बाल मस्तिष्कमा सधैं मडारिइ रहने कौतुहलता थियो। यो महिनाबारीको टीको।

मैले ममीलाई म पर सरेको कुरो पहिले नै भने देखि मैले ऐना हेर्ने अबशर पाउन्न थिए। त्मसैले म दगुरेको थिएं ऐना हेर्न ! मेरो निधारमा लाग्ने टीको हेर्न ! निधारमा टीको नदेखे पछि म नेयाउरो हुँदै ममी भए ठाउँ गएर सोधेँ। खोइ त मेरो निधारमा टीको ?  मेरो फ्रकमा रातो टाटा देखियो रे। रीताले भनेको तर मेरो निधारमा टीको छैन नि ममी ! म नछुनी नै भएको हो र ? त्यो बाल्य अबश्थामा नछुनी हुँदा के हुन्छ भन्ने पनि थाहा थिएन मलाई। सुनेको कुरो र मेरो साथीले भनेको कुरो भनें मैले ममीलाई। मेरो कुरो सुनेर ममी छॉगाबाट झरे जस्तो हुनु भो ! के के न आपदै लागे जस्तो ! लौ अब के गर्ने होला भन्दै हतार हतार दिदीलाई बोलाउनु भयाे । लौ बहिनी पर सरिछ अब यस्लाई कहॉ लुकाउने ! ‘लुकाउने’ मेरो बाल मस्तिषकमा चस्स भो ! किन लुकाउने ? मैले के विराएं र ? मलाई लुकाउने !

म बिग्रिएं र ? मेरो तन्द्रा भंग हुन नपाउँदै दिदी मेरो लुगाको पोको बोकेर तयार भइ सक्नु भएछ। मेरो गाउँको घरमा लुकाएर राख्न। म दिदीको पछि पछि लागेर गएँ । मेरा पाइला अघि सरि रहेका थिए तर मेरो मन भने मेरो पढ़ाइ अनि स्कुलमा अल्झि रहेको थियो। मेरो बार्षिक परिक्षा नजिकिंदै थियो। तापनि म चुपचाप यन्त्रवत अघि बड़ी रहें। लुक्नको लागि। मलाई त्यहि थाहा थियो पर सरे पछि ड्याडि, दाइ, भाइ र अन्य पुरुषहरुलाई हेर्न हुन्न। बोलेको सुन्न पनि हुन्न। ११ दिन अंध्यारो कोठा भित्र नै बस्न पर्थ्यो। मैले घाम हेर्न हुंदैन थियो रे। मेरो मन न्यास्रिन्थयो परिवार संग बस्न। मलाई थाहा पनि थिएन आफ्नो शरिरमा भएको अनौठो परिवर्तनलाई कसरि ब्यवस्थित गर्ने ? अनायासै बगेको रगतलाई कसरि जोगाउने ? किन यस्तो भई राखेको छ, कुनै चोट पटकै विना ? आदि इत्यादि। अझै नछुनी चोख्याउने बेलामा आफ्नै सहपाठी पुरोहित भएर आउंदा लाज र सरमले टाउकोसम्म उठाउन सकेको थिइन।

स्त्री भएर जन्मिनुमा आफैंलाई सरम लागेको थियो।भलै निधारमा देखिने गरि टिको नलागे पनि अद्रिष्य टिको लागि सकेको महसुस भो जव धेरै दिन पछि स्कुल फर्कें।सहपाठी एवं गुरुहरुको ऑखाले भन्थ्यो। ‘ए नछुनी भइछ!’ यसरि नै बिते प्रत्यक महिना कहिले ‘पर सरें’ कहिले ‘नछुनी भएं’ त कहिले ‘छुन नहुने’ भएं। त्यो नदेखिएको निधारको टिकोले कहिले छोडेन,कति दशैं रोकिए। तिहार फिका भए। मन्दिरमा पाइला छिरेन।

श्राद्ध अनि पूजा–आजामा बिटुलो हुन्थें।विशेष गरि चाडबाड थुन्दा लाग्थ्यो मेरो नछुनी थुनिए हुन्थ्यो बरु ! एक दिन नभन्दै थुनियो मेरो नछुनी ! म आफु भित्र अनौठौ अनुभुति भइ राखेको थियो। म भित्र एउटा जिवन सल्वलाउंदा।मेरो नछुनी विना म भित्र मान्छेको सिर्जना गर्न के सम्भव थियो र ? त्यो अनुभब नछुनी नहुने कस्ले पाउन सक्छ र  ? आफु भित्र मान्छे नै वनाउन नचाहनेले पनि आफ्नो शरिर भित्रै प्रक्रितिको बिबिध उपहार संगालेर महिनै पिच्छे हुने रक्तश्राबको टिको लागेको देखें निधारमा। प्रक्रितिको उपहार महिला पहिचानको टिको ! स्वाभिमानको टिको! मलाई स्विकार छ। यो टिको जसले मलाई बिशेष बनाएको छ।





1 Comment on ‘रजश्वला-निधारको टीको’

  1. Hira Singh Thapa // May 28, 2018 at 12:43 am // Reply

    स्वस्थ महिनावारी दिवशको सन्दर्भमा सान्दर्भिक लेख, धन्यवाद सुनिता जीलाई विदेशमा रहेर पनि स्वदेशमा भईरहेको कु प्रथा अन्त्यको लागि अभियानमा सहयोग गरेकोमा

Leave a comment

Your email address will not be published.


*