आज विश्व रक्तदाता दिवस

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ ३१, २०७५     ::: 69 पटक पढिएको   |  

जेठ ३१, २०७५ काठमाडौं :

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ। मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो।

यसवर्ष  ‘अरुका लागि पनि सेवाभाव जगाऊँ रक्तदान गरौँ जीवन बाडौँ’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदैछ। रगत मानव शरीरका लगि अत्यावश्यक रातो तरल पदार्थ हो। यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ। यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिडलगायतका पोषक तत्वहरुसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्‍याउने काम गर्दछ। यस्तै, कार्वनडाइक्साइड, युरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निकाल्नसमेत सहयोग गर्छ। मानव शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ। शरीरको वजनको करिब सात प्रतिशत भाग रगत रहेको हुन्छ।

रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलब ७ प्रतिशत रहेको हुन्छ। सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानीनोक्सान नहुने चिकित्सकहरु बताउँछन्। सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्। रक्तदानलाई ‘जीवन दान’ भन्ने गरिन्छ। एउटा स्वस्थ मानिसले ९० दिनको अन्तरालमा रक्तदान गर्न सक्छन्।

तर, रक्तदान गरेमा शरीर कमजोर हुन्छ भन्ने भ्रम रहेको पाइन्छ। रक्तदान गर्ने व्यक्तिको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ। त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोबिन १२ ग्रामभन्दा माथि हुनु पर्दछ। यतिमात्र नभएर रक्तदान गर्ने व्यक्तिमा कुनै किसिमको दीर्घरोग हुनुहुँदैन। महिलाहरुले भने महिनावारी भएको अवस्थामा, गर्भवती भएको अवस्था र बच्चाले दूध खाने अवस्थाबाहेक अन्य समयमा रक्तदान गर्न सक्छन्।





Leave a comment

Your email address will not be published.


*