दैलेख समृद्धिका मुख्य आधारः पेट्रोलको खानी,पर्यटनको भण्डार

        हिक्मत नेपाली   |   प्रकाशित मितिः शुक्रबार, असार १, २०७५     ::: 131 पटक पढिएको   |  

 

दैलेख- दैलेखको विकास र समृद्धिका लागि थुप्रै योजनाहरु बने । भौत्तिक विकासका लागि धेरै नक्साहरु कोरिए कागजमा । तर पर्याप्त स्रोत र सम्भावनाहरु हुँदाहुँदै पनि दैलेखमा विकासको गति अपेक्षाकृत हुन सकेन । अहिले पनि जिल्लाको भौत्तिक विकास र सामाजिक रुपान्तरणको गति सुस्त छ ।

जिल्लाको समृद्धिका लागि आवाज नउठेका पनि होइनन् । तर ति आवाजलाई सिंहदरबारसम्म पु¥याउने नेतृत्वको अभाव, लगानीको वातावरण निर्माण नहुनु, जिल्लाको समग्र विकासको गुरुयोजना नहुनु, संचालनमा रहेका विकास आयोजनाहरुमा राजनीतिक स्वार्थ बाँझिनु र जनस्तरबाट पनि समृद्धिका लागि सामुहिक पहल नहुँदा दैलेखले सम्भावना अनुसारको विकास लक्ष्य हासिल गर्न नसकेको देखिन्छ ।

चार नगरपालिका र सात वटा गाउँपालिका रहेको दैलेखको क्षेत्रफल १५०४ वर्ग किलोमिटर रहेको छ । कर्णाली प्रदेशकै सबैभन्दा धेरै ११ वटा स्थानीय तह रहेको जिल्ला दैलेखलाई ९० वटा वडामा विभाजन गरिएको छ । प्रयाप्त भौतिक पूर्वाधार व्यवस्थापन हुन नसके पनि दैलेखको पंचकोशी तिर्थस्थलले जिल्लाको पहिचान बनाएको छ । ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरुले जिल्लालाई समृद्धिको मार्गमा डो¥याउने चेस्टा गरिरहेका छन् ।

 

धार्मिक पर्यटकहरु लोभ्याउने पञ्चकोशी क्षेत्रको विकास, पेट्रोलियम खानीको उत्खनन्, सुन्तलाको व्यवसायीक खेती र जलविद्युत उत्पादनमा लगानी गर्न सकेको खण्डमा मात्र दैलेखको समृद्धिका लागि कसैसँग गहाुर माग्नुपर्ने अवस्था छैन । तर स्रोत र साधनको सही परिचालन नहुँदा जिल्लाले अभाव भोगिरहेको छ । गाउँमै सम्भावनाहरु भए पनि युवाहरु रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ । जिल्ल्लालाई समृद्धिको मार्गमा लैजान र यहाँको गरिबी, अभाव र पूर्वाधार विकासका लागि शिक्षा, सडक, जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकता दिन जरुरी छ । यी नै जिल्लाको समृद्धिका मुख्य आधारहरु हुन् ।

उच्च शिक्षामा पहुँच

दैलेखलाई साक्षर जिल्ला घोषणा गरिसकिएको छ । तर अहिले पनि जिल्लाका अधिकांश ग्रामीण जनाता निरक्षर नै छन् । उनीहरुलाई साक्षर बनाउने मुख्य चुनौती छ । अर्कोतर्फ अहिले पनि आर्थिक अभावका कारण थुप्रै बालबालिकाहरु विद्यालयबाहिर नै छन् । यस्तो अवस्थामा शिक्षा सबैका लागि भन्ने राज्यको नारालाई जिल्लामा पनि कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।

माध्यमिक तह उत्तीर्ण गर्नेमध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्र माथिल्लो तहको शिक्षा लिन पुग्छन् । बाँकी ५० प्रतिशतले बीचैमा विद्यालय छोड्ने गरेको सरकारी तथ्यांक छ । विद्यालय छोड्नेमा विषेशगरी दलित तथा न्यून आय स्रोत भएका समुदायका बालबालीकाहरु नै पर्दछन । यस्तो अवस्थामा अब जिल्लाको विकास नेतृत्वले उच्च शिक्षाको सपना बुन्न आवश्यक छ । जिल्लामै प्राविधिक शिक्षाका लागि शिक्षालयहरु स्थापना गर्दै उच्च शिक्षाका लागि पनि पहल गर्न आवश्यक छ ।

भरपर्दो स्वास्थ्य सेवाको उपलब्धता

स्वास्थ्य संस्थाहरूको संख्या र कार्यरत स्वास्थ्यकर्मीको संख्या अहिले पनि जिल्लाको जनसंख्या अनुपातसँग मेल खाँदैन । जसको परिणाम जनता प्राथमिक स्वास्थ्य उपचारबाटसमेत बञ्चित छन् । स्वास्थ्य संस्थाहरुको पहुँच पुगेको स्थानमा पनि पयाप्त औषधी उपलब्ध हुँदैन् । जिल्ला सदरमुकाममा रहेको जिल्ला स्वास्थ्य कार्यालयमै प्रयाप्त औषधी पाइदैन् ।

जिल्लामा दुई ठुला अस्पताल भए पनि उपचारको लागी भारतको लखनउ, काठमाण्डौं, नेपालगंज, धनगढी र सुर्खेत जानुपर्ने बाध्यता छ । यही अवस्थामा जिल्लाको समृद्धिका लागि बनाएको योजना अधुरै रहन्छ ।

यसका लागि अब जिल्लामा सहज र भरपर्दो उपचार सेवाको उपलब्धता हुनु पर्दछ । त्यसका लागि जिल्लामै सुविधा सम्पन्न अस्पताल स्थापना गर्दै विशेषज्ञ सेवा विस्तार गर्नेतर्फ ध्यान जान जरुरी छ । तत्कालका लागि जिल्ला अस्पताललाई नै विस्तार गरेर विरामीको उपचारलाई सहज बनाउने आँट जिल्लाले गर्न सक्नुपर्दछ ।

जलविद्युत र सडकमा प्राथमिकता

तत्काल समृद्धिको यात्रा सफल बनाउने मुख्य आधार जलविद्युत नै हो । दैलेखलाई ऊर्जा (विद्युत) युक्त जिल्ला बनाउन सकिन्छ । वास्तवमा जलविद्युत नै दैलेख समृद्धिको प्रमुख आधार बन्न सक्छ । दैलेखको नौमूलेमा मात्रै तीन वटा जलविद्युत आयोजना निर्माणका क्रममा छन् । तीन दशमलव ७३ मेगावाट क्षमताको द्वारीखोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरिसकेको छ ।

२१ किलोवाट क्षमताको लोहोर खोलाबाट लघु जलविद्युत योजना पाँच वर्षदेखि सञ्चालनमा छ भने ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना यही जिल्लामा पर्दछ । त्यसबाहेक जिल्लाभित्र रहेका विभिन्न खोलाहरुमा लघुजलविद्युतको उत्तिकै सम्भावनना छ । व्यवायिक सम्भावनाको पहिलो शर्त ऊर्जा नै हो भने दोस्रो शर्त वा आवश्यकता सडक हो । यसतर्फ जिल्लाको बजेट विनियोजन र योजना कार्यान्व्यनमा पहिलो प्रथामिकता दिएर कार्य सम्पादन गर्न आवश्यक छ ।

वर्षेनी सडक विस्तारको लागी लाखौ रकम विनियोजन गरिन्छ । तर त्यो विनियोजन गरेको रकम कुन ठाउँमा सही तरिकाले खर्च गरियो त्यो कुरा थाहा हुदैन । जिल्लाको चौतर्फी सडकको सञ्जाल फैलाउन खोजिएको लक्ष्य रहेको देखिए पनि अझै त्यो हुन सकिरहेको छैन । जिल्लाका सबै वडाका केन्द्रमा सडक संजाल जोडिएको भए पनि बाह्रै महिना यातायात संचालन हुन सकेका छैनन् । समृद्धिको यात्रा सुरु गर्दा पहिला त जिल्लामा सडक निर्माण र सुधारलाई प्राथमिकता दिइनु पर्दछ । यसो भएको खण्डमा समृद्ध दैलेखको सपना पूरा हुन समय धेरै लाग्दैन ।

साना र मझौला उद्योग स्थापना

जिल्लामा साना र मझौला उद्योगको सम्भावना छ । तर सम्भावनाहरूलाई सूचीकृत गर्ने र प्राथमिकीकरण गरेर सोही अनुसार कदम अघि बढाउने कार्य भएको छैन । यसतर्फ अब स्थानीय सरकारले पहल थाल्नु पर्दछ । प्रदेश सरकार र केन्द्र सरकारलाई जिल्लाले सामुहिक प्रयासबाट यसमा लगानी गर्न बाध्य बनाउन सक्नुपर्छ ।

“एक गाउँपालिका÷नगरपालिका एक ठुला उद्योग” संचालन गर्न स्थानीय प्रदेश र केन्द्र सरकारले पहल थाल्नु पर्छ । दैलेखमा प्रचुर सम्भावना रहेको अल्लोको कपडा उत्पादन, जडिबुटी प्रशोधन, उन्नत तरकारी व्यवसाय तथा बाख्रापालन हो ।

यस्तै नेपाली हाते कागज प्रशोधन उद्योग, सिस्नो प्रशोधन उद्योग, जडिबुटी प्रशोधन उद्योग, पडाहका ढुङ्गा कुँदेर इट्टा वा टायल बनाउने उद्योग, कर्णाली नदीमा ¥याफटिङ्ग, प्याराग्लाइडिङ्ग, दुना टपरी उद्योग, विदेशमा बजारीकरण गर्नका लागि मसला उद्योग, सस उद्योग, कपडा उद्योग र पानी उद्योगमा लगानी हुुन आवश्यक छ । यसले स्थानीयको आय बृद्धि भइ जिल्लाको समृद्धिमा टेपा पुग्न सक्छ ।

कृषि र पर्यटनमा पर्याप्त लगानी

दैलेखमा धार्मिक तथा सांस्कृतिक पर्यटनको उर्वर भुमीको रुपमा विकास गर्न सकिने पर्याप्त सम्भावना र अवसरहरु छन् । पंञ्चकोशी तिर्थस्थल अन्तर्गत शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर र पादुका गरी जम्मा पाँच तिर्थ स्थलहरुको दर्शनलाई उच्च महत्वको रुपमा हेर्ने गरिन्छ । त्यसबाहेक बेलाशपूर मन्दिर, भूर्तिका देवलहरु, दैलेख गढी (कोत किल्ला), महावु (शिवजी) प्रमुख पर्यटकीय क्षेत्रहरु हुन् । यसमा लगानी गरेर ठूलो संख्यामा पर्यटकहरु भित्राउन सकिन्छ । जसले जिल्लाको आयआर्जनमा टेवा पुग्नेछ ।

पंञ्चकोशीका सवै धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन विकासको राष्ट्रिय नीतिमा समावेश गरि एकिकृत योजना निर्माण गरिनुपर्दछ । पञ्चकोशी क्षेत्रको दृश्यावलोकन गर्नको लागि दैलेख बाजार भएर जाने रेखाकिंत सडकहरुको स्तरोन्नति गर्ने र यसका लागि स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ । दैलेख वजारदेखि माहावु सम्म नयाँ रुटको सञ्चालन गर्ने यसका लागि नेपाल सरकार र स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ । मध्यपहाडि लोकमार्ग निर्माणलाई तिव्रता दिने र दैलेख सदरमुकाम हुँदै कालिकोट सम्मको मार्ग सञ्चालन गर्ने यसका लागि नेपाल सरकारको भुमिका महत्वपुर्ण रहने छ ।कृषि क्षेत्रलाई हेर्दा कृषि योग्य जमीन ज्यादै थोरै भएको हुनाले खाद्यन्न उत्पादनको मात्रासमेत ज्यादै नगन्य हुनु स्वभाविकै हो । त्यसमा पनि भीर, पाखो जग्गाको बाहुल्यता छ । अझै पछिल्लो समयमा खाद्यान्न उतपादनमा कमी आएकै कारण जग्गा बाझो छोड्ने प्रचलन बढ्दै गएको छ । दैलेख सुन्तला खेतीको योग्य भूमि हो । फलफुल तथा तरकारी खेतीको लागि पकेट क्षेत्र निर्धारण गरि कृषिलाई बढोत्तरी दिनुपर्छ । सुन्तला र तरकारीको पकेट क्षेत्र घोषणा गरेर जिल्लालाई आत्मनिर्भर बनाउन सक्ने सम्भावना बलियो छ ।

 

पेट्रोलियम उत्खनन् मुख्य सपना

मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट परेकाबेला २०७२ मंसिर २१ गते दैलेखमा आएका तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डे काठमाण्डौं फर्केको तीन महिनापछि चीनको बिशेषज्ञ टोली अनुसंन्धानका लागि दैलेख पठाए । उक्त बिशेषज्ञ टोलीले एक सातासम्म दैलेखको पेट्रोलियम पदार्थको अध्ययन अनुसंन्धान ग¥र्यो, अनुसंन्धान पश्चात उत्खनन्का कामहरु सुरु हुन्छन् भनेर ढुक्क भएका दैलेखका नागरिकको सपना पुरा हुन सकेको छैन् ।

सरकारले दैलेखको शिरिस्थानबाट नेपालमा भएका खानीहरुको औपचारिक उत्खनन् सुरु गरेको थियो । शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वर लगायत पंचकोशी क्षेत्रमा सयौ बर्षदेखि ज्वाला बलिरहेको छ । गत २०७४ बैशाखमा आएको चिनियाँ विशेषज्ञ टोली दैलेखको शिरिस्थान र नाभिस्थान मन्दिर परिषरमा एक सातासम्म अध्ययन गरेर फर्केको थियो ।

अन्यत्रभन्दा दैलेखमा राम्रो ग्यास, पेट्रोल भएको निष्कर्श सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा टोलिले बुझाएको छ । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो परिणाम भएको भनिए पनि अहिलेसम्म सरकारले थप काम अगाडी बढाउन सकेको छै् । यसकारण दैलेखले अब मुख्य सपनाको रुपमा पेट्रोलियम पदार्थको उत्खनन्लाई लिनु पर्दछ । यसमा लगानी गर्न अग्रसर हुनुपर्दछ ।

विमानस्थलको खोजी

जिल्लामा हालसम्म पनि विमानस्थल छैन । कर्णालीका विकट जिल्लाहरुमा विमानस्थल भएको अवस्थामा यहाँ एउटा पनि विमानस्थल नहुनु समृद्धिको पाइला अगाडी नसर्नु नै हो । त्यसकारण अब जिल्लाका लागि एउटा गतिलो विकास एजेण्डा विमानस्थल निर्माण हो । यसका लागि अब उपयुक्त स्थानको खोजी गर्नेतर्फ सबैको सामुहिक प्रयास अनिवार्य छ ।

यस्तै स्थानीय कला र संस्कृतिको संरक्षण, सवै पर्यटकीय क्षेत्रहरुको सूचना प्राप्त हुने गरी दैलेख पर्यटन सूचना केन्द्रको स्थापना, पञ्चकोशी स्थानहरुको पैदल मार्गको सञ्जाल निर्माण, विदेशि तथा स्वदेशि पाहुनाहरु का लागि पर्याप्त आवास गृहहरु (होटल रिसोर्टहरु) निर्माण गर्ने, दैलेख बजारको स्तरउन्नोती गर्ने, राष्ट्रियस्तरका कार्यक्रमहरु सञ्चालन क्षमताका सभाहलहरु निर्माण गरी सञ्चालनमा ल्याउनका लागि नेपाल सरकार स्थानीय निकायहरु तथा स्थानीय लगानीकर्ताको महत्वपुर्ण भुमिका रहन्छ । जिल्लाको समृद्धि तथा निरन्तर सक्रियताका लागि स्थानीय अगुवा तथा सम्बद्ध निकाहरुको संलग्नतामा एक पर्यटन विकास सञ्जाल निर्माण गरी योजनावद्ध पमा अगाडी बढ्न आवश्यक छ ।

लगानीमैत्री वातावरण

जति धेरै समस्याहरूका विषयमा छलफल गरे पनि एउटै निश्कर्ष के हो भने आर्थिक विकासका लागि व्यवसायिक सम्भाव्यताको अध्ययन र प्राथमिकीकरण हुनुपर्दछ । लक्ष्य निर्धारण गर्नुपर्दछ र सोही अनुसारको बजेट तथा नीति बनाएर लागू गर्नुपर्दछ । योजना भएर मात्र पुग्दैन, त्यसका लागि बजेट र लगानी चाहिन्छ । जिल्लामै उपलब्ध स्रोतले विकास आयोजनाहरु संचालन हुने सक्ने अवस्था छैन

यसकारण पनि बाहिरको लगानी भित्राउनु पर्ने बाध्यता छ । लगानीमैत्री वातावरण निर्माण गरेर जिल्लामा लगानी आकर्षण गर्ने नीति तया हुनुपर्दछ । विकास संख्यात्मक होइन, गुणात्मक हुनुपर्दछ । युवाहरूलाई अब विदेश पलायन हुनबाट रोक्ने ठूलो प्रयास गर्नुपर्दछ । सरकारी–निजी–सहकारीका माध्यमबाट हामी सबै एकद्वार प्रणालीका आधारमा आर्थिक विकास र त्यो विकासबाट समृद्धिको आधारशीला तय गर्नुपर्दछ ।





Leave a comment

Your email address will not be published.


*