मेट्न नसकिएको ‘दलित’ र ‘दलितनी’ शब्द !

          |   प्रकाशित मितिः शनिबार, असार २, २०७५     ::: 256 पटक पढिएको   |  


ए ‘दलितनी’, दलितनी जस्तो के नाच हेर्न थालेको । अर्की महिला सांगितिक कार्यक्रम भएको सभा हल तिर दौडिदै थिइन् । भर्खरै १८ बर्ष पुगे जस्तै देखिने अर्की किशोरी उनै महिलाको पछि पछि लागेर भन्दै थिइन् “कस्तो दलितनी जस्तो व्यवहार देखाएको, दलितनीहरुले जस्तो के नाच हेर्न लागेको ।” महिलाले भने किशोरीले भनेका शव्दहरुलाई वास्ता नै नगरी आफ्नै सुरमा अगाडी बढिरहेकी थिइन् । वरपर भएका साना बालबालिकाहरु खित्का छोडेर हासिरहेका थिए । त्यो दृष्यलाई मेरो कार्यकक्षकको झ्यालबाट प्रस्टै देखिन्थ्यो । म नियालीरहेको थिए । निरिह जस्तै बनेर । आफ्नै आँखा अगाडी यि र यस्ता शव्दहरु प्रयोग हुँदा समेत म केहि बोल्न सकिरहेको थिइन् । एकोहोरी नियाली मात्र रहेको थिए । मनमा आगो सल्कीएको जस्तै भइरहेको थियो । माथी उल्लेखित पात्र र घटना यो काल्पनीक नभई बास्तविक घटना हो ।
यी माथि जसजसले जे जे उपमा दिएर शब्दहरू ओकले, रिस पोखे वा गाली गरे ती सबै हाम्रो समाजका कथित तल्ला जाति, पानी नचल्ने “अछुत” बनाइएका जातिहरू थिए । संयोग पनि त्यस्तै परेको थियो । शनिवारको दिन म आफ्नै कार्यालयको कार्यकक्षमा काममा व्यस्त थिए । सायद सरकारी कर्मचारीहरु विदा मनाइरहेका थिए होला । हामी पत्रकारहरुका लागि के को शनिवार, के को विदा !
दिउँसको झण्डै ४ बज्नै लागेको थियो । केहि समाचारहरु लेखे र आफुले काम गर्दै आएको पत्रिकामा पठाइसकेको थिए । मेरो कार्यालयको कार्यकक्ष नजिकै एउटा होटलको हल छ । संयोगले त्यो दिन कुनै संगठनको कार्यक्रम त्यहि हलमा रहेछ । उहाँहरुको भाषण मेरो मानसपटलमा जस्ताको तस्तै गुन्जिरहेको थियो । बेला बेला झ्यालबाट नियालेर हेर्दै आफ्नै काममा तल्लीन थिए । कार्यक्रममा सहभागी भएका मान्छेहरुको ओहोर दोहोर प्रस्टै देखिन्थो । कार्यक्रम झण्डै ३ घण्डा चल्यो । उहाँहरुको कार्यक्रम सकिएको जस्तै लाग्यो । सबै एकाएक गरि बाहिर निस्कनु भयो । मलाई लाग्यो कार्यक्रम सकिएको होला भनेर । कार्यक्रम सकिएको भएपनि त्यहि हलमा सांगितिक कार्यक्रमको बन्दोबस्त गरिएको रहेछ । म झ्यालबाट नियालीरहेको थिए ।
मेरो कानमा एक्कासी यस्तो शब्द गुञ्जाएमान भयो की ? सायद त्यस्तो शब्द आज सम्म मैले सुनेकै पनि थिइन् होला । म आफै पनि एउटा दलित समुदायमा जन्मीएको पुरुष हुँ । मलाई थाहा थियो र सुन्दै पनि आइरहेको थिए । त्यो शव्द थियो “दलित” । अरुले भन्दै आएको शब्द “दलितनी” मेरै अगाडी भनेको र मैले सुनेको भने पहिलो पटक नै थियो होला ।
दलित जातिलाई होच्याउने गरी शब्दहरू जताततै अभिव्यक्त गरिन्छन् । माथिको घटना समाजमा दुई कुराको प्रतिनिधित्व गरेका छन्– एक दलितलाई हेर्ने दृष्टिकोण र अर्को हो दलितको परम्परागत पेशा र श्रमप्रतिको अपार घृणा । उनीहरू हाम्रो समाजका श्रमजीवी वर्ग हुन् । उनीहरूले विश्वमा र नेपालमा उद्योगधन्दा कलकारखानाको विकास नभएको समयमा पनि आफ्नो ज्ञान, बुद्धि, विवेकले समाजमा सबैलाई आवश्यक पर्ने गाँस, बाँस र कपासको आपूर्तिका साधनहरू निर्माण गर्ने र धर्तीलाई हराभरा बनाउने मान्छेहरू हुन् । यो ज्ञान माथिल्लो जातको दर्जा पाएका व्यक्तिहरुले पाउन सकेको भए मैले यो घटनालाई लेख्नु पर्नेनै थिएन होला ।
कामीहरूले सुन, फलाम, तामा, पितल, चाँदी लगायतका धातुहरूबाट हँसिया, कुटो, कोदालो फाली भाँडाकुंडा श्रृंगारका सामग्री गरगहना सबै बनाउँथे । अहिले यो पेशामा केही कमी आएपनि जारी नै छ । ती सबै आरनबाट नै उत्पादन हुन्छन् । कामीको आरनबाट उत्पादित सामग्री सबैलाई जाति भयो । उसको श्रम र सीप नभएको भए कसरी जीवन निर्वाह हुने थियो ? त्यतिबेला उद्योग धन्दाको, यातायातको विकास थिएन । स्थानीय आवश्यकता त्यही पूरा गर्नुपर्ने हुन्थ्यो । त्यसको आपूर्ति तिनै कामीहरूले गरे । निस्वार्थ ढंगले समाजसेवा गरे पनि पसिना बगाएपनि उचित पारिश्रमिक पाएनन् । मानसम्मान पाउनु कता हो कता उल्टै गालीका शब्दहरू पाए । हेपिए अछुत नै रहे । अहिले पनि त्यो जारी छ ।
त्यस्तै दमाईले सबैको आङ, लाज ढाक्ने लुगा सिलाउने, ओढ्ने, ओछ्याउने बनाउने गर्थे । अहिले पन उनीहरुको पेशा चलिरहेकै छ । अहिले कपडा सिलाउने पेशा स्थानान्तरण भएका छन् । गाउँ देखि सहर सम्म सिलाई कटाई व्यवसाय गर्ने दलित र दलितनीहरु मात्र नभई “ दलित र दलितनी भनेर हेप्दै आएका समुदायले पनि पेशा अगांलेका छन् ।
रेडिमेट कपडा आउँदैनथे, पेशा अहिले जस्तो अरू जातिमा पनि स्थानान्तरण भएको थिएन । त्यस समयमा कुनै विदेशी बाजा नेपालको संस्कृतिमा भित्रिएको थिएन । त्यस समयमा विवाह ब्रतबन्ध जस्ता शुभकार्यमा बाजा बजाउने रमाइलो गर्ने गर्थे । उनका परिश्रम “गीत संगीत” सबै राम्रा भए तर दमाई नराम्रो भयो । पहिला त्यहि संगितलाई मन पराउने र रमाइलो गर्ने मान्छेहरुले अहिले आएर दलित र दलितनीको उपमा दिएका छन् ।
सार्कीहरूको पनि यहि समाजमा कयौ योगदानहरु छन् । उनीहरूका हातले मरेका जन्तुका छाला जुन सडेर जाने थियो, त्यसबाट टलक्क टल्कने शिरदेखि पाउसम्मका लागि आवश्यक सामग्री बनेर बनाउँथे । यी सबैका लागि जाति भयो । अहिले तिनैलाई सार्की, चमार भन्दै गाली गरिन्छ । जातिगत रूपमा जुन हेला गरियो यसले हेला सहेकाहरु असह्य पिडा सहेर बाच्न बाध्य छन् । त्यसकै कारण कतिपय स्थानमा आफ्नै जात लुकाएर हिड्न र बाँच्न बाध्य छन् ।
एक जना किशोरीले अर्की महिलालाई दलितनीको संज्ञा दिंदै गाली गर्दा हाम्रो समाजमा दलित प्रति अपनाइने व्यवहार प्रस्टै झल्किन्छ । उनीहरू समाजमा अछुत बनाइएका जाति हुन् । एउटी किशोरीले अर्की महिलालाई दलितनीको संज्ञा दिएर गाली गर्दा होस् या दलितनीको व्यवहार देखाएको भन्दै होच्च्याउनु कत्तिको जायज होला ? यो पश्न कहाँ र कसलाई सोध्ने ? राज्य या माथ्ल्लिो जात भनाउदाहरुलाई ?
माथीको घटना बास्तवीकता माथी रहेर लेखिरहँदा हाम्रै समाजमा महिलाले महिलालाई “बदिनी“ भन्ने शब्दले गाली गर्ने गरेको पनि हामीले सुनिरहेका हुन्छौ । एउटी महिलाले अर्की महिलालाई दमिनी, कमीनी होस या सर्किनी शव्दले हेपेको शव्दहरु जताजतै सुनिरहेका हुन्छौ । के त्यो जायज होला र ?
वास्तविक रूपमा दलित जातिको समाज विकासमा अमूल्य योगदान छ । चाहे नेपाल एकीकरणका समयमा होस् चाहे प्रजातान्त्रिक आन्दोलनमा, चाहे निःशुल्क सेवा गर्नु होस् चाहे राजनैतिक पार्टीका नेताहरूलाई भोट दिएर जिताउन होस् जुनसुकै समयमा दलित नभई भएन, दलित चाहियो भन्नेहरुले यिनै शव्दावलीहरु बोल्दा पिडा भोग्ने समुदायलाई कस्तो असर पर्ला, आज सम्म कहि कसैले ध्यान दिएन् ।
यहि घटनाले पनि समाजमा उसलाई कुन प्रकारको व्यवहार अपनाइन्छ, उसलाई हेर्ने समाजको दृष्टिकोण कस्तो छ ? भन्ने प्रतिविम्ब माथि अभिव्यक्त भनाईहरूमा देखिन्छ । कसैले राम्रो काम गरेमा ठूला जातिको संज्ञा दिइन्छ । ठूलो गर्व गरिन्छ । नराम्रो, तल्ला स्तरका काम गर्दा, कामी, सार्की, दमै, बादी, या कमीनी, सर्कीनी, दमिनी, बदिनीको उपमा दिइन्छ वा “जस्तै छ” भनेर दाजिन्छ । के यस किसिमको प्रवृत्ति ठीक होला र ? के यी दलितहरू सधै नराम्रा काम मात्रै गर्छन् ?
होइन, एउटा दुईटा प्रतिनिधि पात्रलाई आधार बनाएर सबैलाई हेप्न जायज होला र ? दलितका राम्रा कामको परिश्रमको अवमूल्यन भैरहेका छन् भन्ने कुरा माथिका शब्दले प्रष्ट पार्छन् । अहिले पनि दलितलाई नराम्रो आँखाले हेर्ने गरेको कुरा माथिका बास्तवीक घटनाबाट प्रष्ट भएको छ ।
हाम्रो समाजमा छुवाछूत प्रथा कायम रहनुमा दलित सधै दलित हुन्, उनीहरू यस धर्तीमा तल्ला जाती नै हुन्छन् भन्ने किसिमको सोचको कारण हो । यो सोचलाई कहिले हटाउने र कसरी हटाउने ? यि कामी, सार्की, दमै, बादी, या कमीनी, सर्कीनी, दमिनी, बदिनीको उपनामहरु परिवारमा आफ्नो अभिभावकबाट नै बच्चाले सिक्दै आएका हुन्छन् । यो प्रवृत्ति विकासमा पुस्तामा आधारित प्रशिक्षण नै हो । यदि अभिभावकले “मान्छे मान्छे सबै बराबर हुन” उ पनि मान्छे हो, “सँगै बसेर खाँदा व्यवहार गर्दा केही हुँदैन” भन्ने खालका सकारात्मक प्रशिक्षण दिइदैन तब सम्म सस्कार परिवर्तनको आश नगर्दा पनि हुन्छ । “दलित र दलितनी” शब्द दिमागमा झै विकास हुँदै जाने हो भो छुवाछूत जस्तो अमानवीय र घृणित व्यवहारले निरन्तरता पाइरहन्छ । कतिपय अभिभावकहरुले नै आफ्ना छोराछोरीहरुलाई समाजमा दलित र दलितनी शव्दलाई हेर्ने दृष्टिकोण निर्माण गरिदिएका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण माथिको घटना हो । माथीको घटनालाई आधार मान्नेहो भने ति किशोरीले तिनै शव्दहरु प्रयोग गर्दा वरिपरि रहेका बालबालिकाहरु खिच्ता छोडेर हासेका थिए, उनिहरुले त्यहि कुरा सिके । त्यति मात्रै सिके “दलित र दलितनी” । तिनै बालबालिकाहरुको मानस पटलबाट दलित र दलितनी शब्द कहिल्यै मेटिदैन । मैले आज भन्दा ३ बर्ष अगाडी लेखेको लेखको शिर्षक अहिले आएर सम्झाना आयो । मैले लेखेको थिए “ जातिय विभेद हटाउन जात नै हटाउनुपर्छ । यो लेख मार्फत फेरी त्यहि विषय सम्झाउन चाहान्छु, जब सम्म दलित र दलितनीको शब्द मेटाउन सकिदैन, तब सम्म जातिय विभेद अन्त्य हुने कल्पना गर्नु बालुवामा पानी हाले जस्तै हो ।

लेखक क्रियाशिल पत्रकार मञ्च नेपाल, दैलेख शाखाका अध्यक्ष हुन् ।





Leave a comment

Your email address will not be published.


*