रात रोएको बेला

          |   प्रकाशित मितिः आइतवार, असार २४, २०७५     ::: 132 पटक पढिएको   |  

यशोदा अधिकारी

आजकल रातो रुमालले
पुछ्दैन मेरो पसिना
श्रम
महिनावारीको निख्खार रगतजस्तै
छाउगोठको मतानबाट
चुहिँदैछ तप्प तप्प ।

थरी थरीका कामुक हातहरूले
सुम्सुम्याएर शिथिल बनेको
मेरो कौमार्य शरीर
सर्पको आलिंगनमा बेरिएर
गर्लम्म ढलेपछि
खुसी भए होलान् तिम्रो कुलदेवता
कैली गाईले ढुंग्राभरी दूध दियो होला
माथहरूमा गाथ लागे होलान्
पलपल मरेर बाँच्नुभन्दा
एक पल म मरेँ त के भयो रु
तिम्रो रातो रुमाल उस्तै छ
टन्टलापुर घाममा सुकाएर
रुमाल फिर्ता लान सक्छौ तिमी ।

तिम्रो बहादुर आँगन पनि कस्तो निष्ठुरी
फुकिरहन्छ एकोहोरो शंख
तिम्रो पवित्र घर कतिसम्म स्थीर
हल्लिरहन्छ बारम्बार
धैर्यताको अमृत बगुन्जेल
बलिरहला परम्पराको दियो
विभेदको तराजुले जोखिरहला
आधुनिक समाजको तौल
संस्कारको इन्चीटेपले नापिरहला
संस्कृतिको उँचाइ
तातो झर्ना मेरै छातीबाट बगेसम्म
भित्रिरहलान् पर्यटकहरू
चियाएर मेरो
कौमार्य गुमाएको मुर्दा शरीर
बगाउलान् दुई थोपा आँसु
कोरी देलान् श्रद्धाञ्जली शब्द
टहलिदेलान् मुर्दाघरमा एकै क्षण
भत्काइन सक्छन्
मेरो प्रिय छाउगोठ
यी त सबै रंगमञ्चका मधुर प्रकारले
तिरमिराएका छाया मात्रै हुन्
कहाँ छन् सुत्राधारहरू रु

जाबो पसिना नपुछ्ने रातो रुमालबाट
मेटिएपछि रगतका टाटाहरू
नष्ट हुनेछ म ढलेको प्रमाण
मुर्दाघर नपुर्याइँदै
बन्नेछन् फेरि
गाउँगाउँमा छाउघर
छाउ धारा
र छाउपडी हिँड्ने बाटाहरू पनि ।





Leave a comment

Your email address will not be published.


*