भत्किदै बालविवाहको सामाजिक संरचना, झाङ्गिदै ‘लिभिङ टुगेदर’ !

          |   प्रकाशित मितिः आइतवार, असार २४, २०७५     ::: 299 पटक पढिएको   |  

निर्मल अधिकारी
nadhikari73@gmail.com

नेपाली समाजमा बालविवाह गर्ने प्रचलन एका एक परिवर्तन हुँदै आएको छ । हाम्रो सामाजिक परम्परा र रितिरिवाज अनुसार घरमा छोरा छोरी युवा अवस्थामा प्रवेश गर्ने वित्तिकै परिवार र छिमेकमा विवाहको हल्ला चल्ने गथ्र्याे । केटातिरका अभिभावक केटीको घरमा बुहारी खोज्दै मागनी गर्ने र त्यसको केही समय पछि दुवै परिवारको सहमतीमा हिन्दु संस्कार अनुसार कर्मकाण्ड गरी दुई फरक परिवारका विपरित लिङ्गबिच विवाह भएको औपचारिक मान्यता दिइन्थ्यो । ति दुई जोडी बिच न त विवाह पूर्व परिचय हुन्थ्यो नत माया प्रेममा बाधिएका हुन्थे । अभिभावकको सहमतीमा गरिएको विवाहलाई स्विकार गरी त्यो विवाहित जोडी जीवन जीउन तयार हुन्थ्यो ।
कानुनी रुपमा कुनै आधार नभए पनि सामाजिक र धार्मिक रुपमा त्यो भन्दा बलियो औपचारिक मान्यता अरु कुनै हुन्थेन् ।

कलिलो उमेरमै विहे गर्दा छोरा छोरी छिटै जन्मिने, पारिवारिक बन्धनमा बाधिएपछि पढाई विचमै रोकिने र उमेर बढ्दै गएपछि सम्बन्ध विच्छेद लगायत परिवारीक जीवनमा असहमती लगायतका समस्याहरु सिर्जना हुने गर्दथे । तर अहिले आफ्नो धार्मिक रितिरिवाज अनुसार विवाह गर्ने सामाजिक संरचना पूर्णरुपमा भत्किएको छ । नत केटा पक्षका बुहारी खोज्दै मागनी गर्छन् नत धार्मिक प्रचलन अनुसार विवाहनै हुन्छ । त्यो सामाजिक संस्कारको विवाह अहिले केटा केटीबिच माया प्रेम हँुदै लिभिङ्ग टुगेदरका रुपमा झाङ्गिदै गएको छ ।
बालबालिकाले सामान्यतया १६ वर्ष उमेर पुरा गरेपछि युवाअवस्थामा प्रवेश गर्छन् । आफ्नो बालबालिकाले विस्तारै युवाअवस्थामा प्रवेश गरेको जानकारी नै नपाएका अभिभावकलाई उनीहरुको विवाहका बारेमा खासै चासो हुदैन्। सबै अभिभावकले सोचेका हुन्छ् आफ्नो बच्चा बढेर ठुलो मान्छे बनोस । तर त्यो नभई ग्रामिण क्षेत्रका अधिकाँस बालबालिका अभिभावकलाई जानकारीनै नहुने गरी विपरित लिङ्गप्रतिको माया जालमा फसिरहेका देखिन्छन् ।

युवाअवस्थामा प्रवेश गरेका बालबालिकालाई विद्यालय र घर परिवारमा समेत त्यही अनुसारको यौन शिक्षा, परिवार र विवाहका बारेमा शिक्षित गराउन आवश्यक छ । हिन्दु समाज र संस्कारले यौन शिक्षालाई अहिले पनि खुल्ला रुपमा पचाउन सकिरहेको छैन् । युवाअवस्थामा प्रवेश गरिसकेपछि हरेक व्यक्ति भित्र उत्पन्न हुने यौन उत्तेजनालाई सामान्य रुपमा लिन नसकिने हाम्रो समाज भित्र रहेको बन्द संस्कारका कारण पनि बालविवाहले प्रश्रय पाईरहेको छ भने अर्काेतिर यौन हिंसाका घट्नाहरु पनि बढदै गईरहेका छन् ।

 

आधारभूत तहको शिक्षा प्राप्त नभएकै अवस्थामा एक अर्काप्रति छुटिनै नसकिने गरी लाएको माया र असुरक्षित अवस्थामा गरिएको शारीरिक सम्बन्धले उनीहरुलाई विवाहको बन्धनमा जोडिन बाध्य बनाउछ । २० वर्षमुनीको विवाहलाई राज्यले ग्रैह्र कानुनी विवाहको दर्जामा राखेका कारण औपचारिक रुपमा उनीहरुले विवाह नगरी लिभिङ्ग टुगेदरकै रुपमा जीवन निर्वाह गर्दै आएका देखिन्छन् ।
ग्रैह्र सरकारी संस्थाहरुको एक तथ्याँक अनुसार गत वर्षमात्रै जिल्लामा झण्डै ७ सय ५० भन्दा बढी बालविवाह रोकिए । टोल फ्रि नम्बरमा आएको सूचनाका आधारमा प्रहरीको सहयोगले दुवैपक्षका अभिभावकको रोहबरमा केटा केटीलाई सम्झाई बुझाई विवाह रोकिने गरेको छ । त्यस्ता जोडीले प्रहरी समक्ष उमेर २० वर्ष नपुगुन्जेल सँगै नबस्ने प्रतिवद्धता पनि जनाउछन् । सम्झौता गरी घर फर्कि सकेपछि बैधानिक रुपमा विवाह नगरी सँगै बस्नेहरुको जमात भने निकै ठुलो संख्यामा रहेको छ ।

लिभिङ्ग टुगेदरकै कारण केही कानुनी जटिलताहरु थपिएका छन् । २० वर्ष उमेर नपुगी विवाह दर्ता गर्न नमिल्ने र अर्काेतिर त्यही अवस्थामा जन्मिएका बच्चाको जन्मदर्ता गर्नुपर्ने । राज्यबाट उपलब्ध गराईने सेवा सुविधा प्राप्तिका लागि बच्चाको जन्मदर्ता अनिवार्य गरिएको छ भने अर्काेतिर बच्चा जन्मिना वित्तिकै उसको नाम र जन्मदर्ताको हक बालबालिकाको नैसर्गिक अधिकार भित्र पर्छ । बच्चाको जन्मदर्ता हुन्छ तर बाबु आमाको विवाह दर्ता हुदैन् । विवाह दर्ता नभए केटीको नागरिकता बन्दैन् । कानुनी मान्यताविनाको त्यस्तो विवाहले महिलाहरुमा थप समस्याको सिर्जना गरिदिएको छ ।

हाम्रो सामाजिक संस्कारका कारण विवाह रोकिएका बालक भन्दा बालिकाले समाजमा थप चुनौती झेल्नु परेको छ । एक अर्काप्रति माया बस्छ । विवाह गर्ने, संगै जीउने र संगै मर्ने निधो गरेका हुन्छ् । त्यही अवधिमा विवाह पूर्वनै उनीहरु बीच शारीरिक सम्बन्ध पनि भई सकेको हुन्छ । विवाहले औपचारिक मान्यता नपाउदै जब उनीहरुको सम्बन्ध रोकिन्छ त्यसपछि बालिकाले समाजमा विभिन्न तिरस्कारहरु भोगिरहेका हुन्छन् ।

केटाले जति वटा विहे गरी पनि समाजले पचाउछ । तर केटिको कसैसँग सम्बन्ध भएको हल्ला चल्ने वित्तिकै पुनःउसको अर्काे केटा सँग विवाह हुने सम्भावना घटेर जान्छ । एकातिर पढाई विचमै रोकिने र अर्काेतिर सामाजिक प्रतिष्ठामा आघात पुगी जीवन वर्वाद सम्म हुने सम्भावना भएका कारण विवाह रोकेर गरिएको पुनर्मिलन पश्चात पनि उनीहरु अलग अलग बस्न रुचाउदैनन् ।

सबै भन्दा बढी बालविवाह निम्न मध्यम वर्गिय परिवारमा

तथ्याँक हेर्दा सबै भन्दा बढी बालविवाह निम्न मध्यम वर्गिय परिवारमा हुने गरेको देखिन्छ । जो आर्थिक तथा सामाजिक रुपमा वहिस्कृत छन् । जस्ले आधारभूत शिक्षा हासिल गर्न सक्दैन्न । माध्यामिक शिक्षा पनि राम्रोसँग अध्ययन गर्न नसक्ने र माथिल्लो शिक्षा अध्ययनका लागि कुनै टुङ्गो नलागेका त्यस्ता जोडीले वालविवाह गर्ने गरेका छन् । अर्काेतिर आर्थिक अभाव र गरिवीले पनि बालबालिकालाई विवाह गर्न बाध्य बनाएको देखिन्छ । घरमा दैनिक गुजरा गर्ने माध्यम केही नभएपछि उनीहरुको रोजाई विवाह परेको हो । अभिभावकमा शिक्षाको अभाव, बालबालिकाप्रति हेरचाहको कमी, बढ्दो आधुनिक प्रविधि र जिवन निर्वाहको विकल्पका रुपमा बालविवाह रोज्ने गरेको देखिन्छ ।

अधिकारी लामो समय देखि दैलेख जिल्लामा बाल अधिकारको क्षेत्रमा कार्यरत छन् ।





Leave a comment

Your email address will not be published.


*