विपन्नताले पुछिएको सिन्दूर

          |   प्रकाशित मितिः शुक्रबार, असार २९, २०७५     ::: 59 पटक पढिएको   |  

रोल्पा – लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए । पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे गरेकी २१ वर्षीया लीला रोकाको यतिबेला सिन्दूर पुछिएको छ । गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा उनका २३ वर्षीय पति राष्ट्रे रोका मारिएपछि उनका लागि संसार अँध्यारो बनेको छ । पाँच वर्षीय छोरा साथमा लिएर टोलाइरहेकी छन् लीला।

‘म १५ वर्षकी थिएँ, उहाँ १७ वर्षका हुनुहुन्थ्यो । पढ्दापढ्दै बिहे गरियो । एक वर्षमा छोरो जन्मियो । आयस्रोत केही नाइँ । बुवा, आमा, भाइ, म अनि छोरो पाल्ने सोचमा उहाँ विदेश जानुभो । मलेसिया गएको तीन वर्षमा फर्कनुभो’, लीलाले विगत सुनाइन्, ‘ऋण गरेर विदेश कमाउन गएको उतै बिरामी पर्नु भएछ । पैसा नकमाएरै फर्किनुभो ।’ दुर्घटनामा पतिसहित जेठाजु, देवर र आमाजू गुमाएकी लीलाको काँधमा अब सासूससुरा र पाँच वर्षको छोराको जिम्मेवारी थपिएको छ ।

मजदुरी गरेर कमाएको पैसाले छोरा पढाउने आशा बोकेर मुस्ताङ पुगेका राष्ट्रेले गत वैशाखमा पत्नी लीला र छोरा मौसमलाई दाङ लालमटिया पठाएका थिए । ‘छोरो पढाउने भन्दै वैशाखमा दाङ झर्यौं । लालमटियासिथत बोर्डिङमा भर्ना गरेका थियौं । मजदुरी गरेर पैसा कमाउँछु र आफूले नपढे पनि छोरालाई पढाउँछु भन्नुहुन्थ्यो,’ भक्कानिँदै लीलाले सुनाइन् । उनका अनुसार मलेसिया जाँदा लिएको ऋण तिर्नै बाँकी छ ।पतिको लास लुंग्री किनारमा जल्दै गर्दा अर्धचेत् बनेकी लीला अहिले न खुलेर रुन सक्छिन् न त आँसु लुकाएर बस्न सक्छिन् । सासूससुरा र छोरालाई सम्हाल्न आँसुसमेत लुकेर झार्नुपर्ने बाध्यता छ उनलाई । पलपल तड्पिरहेकी लीला आफ्नो भन्दा पनि छोराको भविष्यबारे चिन्तामा छिन् ।

दाङबाट पतिको लास खोज्दै जिल्ला अस्पताल रोल्पा पुगेकी उनले सासूससुरा र आफन्तको सहयोगमा विधिपूर्वक अन्त्येष्टि गरिन् । ‘छोरा लगेर उवा जान्छु, सासूससुरालाई पनि हेर्नुपर्यो । छोरालाई राम्ररी पढाउँला भन्ने थियौ, सबै सकियो । यो पनि हामीजस्तै हुने भो,’ उनले भनिन् । छोरालाई पढाउनुभन्दा उसलाई कसरी पाल्ने र पतिले लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता उनलाई छ ।

उनले भनिन्, ‘बिहानबेलुका के खाने भन्ने चिन्ता छ, उसलाई कसरी पढाउनु रु एकदुई लाख ऋण तिर्नै बाँकी छ । म कमाएर तिर्छु भन्नुहुन्थ्यो । उहाँ नै नरहेपछि कसरी चल्ने हो रु’गाउँको जमिनमा जति मेहनत गरे पनि तीन महिनाभन्दा बढी खान नपुग्ने उनले बताइन् । ‘बिरामी हुँदा औषधि गर्न कहाँबाट पैसा ल्याउनु रु मजदुरी गरौं भने गाउँमा काम भेटिँदैन’, उनले भनिन् । तीन छोरा र एक छोरी गुमाएपछि उनकी सासू झन् शोकमा छिन् । सासूको सहारा पनि लीला नै हुन् । लीलाले भनिन्, ‘अब उहाँको मबाहेक को छ र रु उहाँलाई एक्लै छोडेर म मजदुरी गर्न कसरी बाहिर जानु रु’ लीला पतिको काजकिरिया गर्न सासूससुरा र छोरालाई लिएर थवाङ ५ उवातर्फ लागेकी छन् । साभारः नागरिकबाट





Leave a comment

Your email address will not be published.


*