निशुल्क औषधि सधैं अभाव

          |   प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५     ::: 71 पटक पढिएको   |  

अधिकांश स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइँदैन । बिरामी महँगोमा निजी मेडिकलबाट किनेर खान्न बाध्य छन् ।

कर्णाली — कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा सधैं औषधि अभाव हुने गरेको छ । स्वास्थ्यकर्मीसमेत नियमित बस्दैनन् । स्थानीय बासिन्दा सदरमुकाम र नजिकका मेडिकलमा उपचार गराउन बाध्य छन् । जिल्ला अस्पतालमा पनि निस्शुल्क औषधि पाइँदैन ।

पेट दुखेपछि कालिकोट, पलाता–६ खिननेटाको स्वास्थ्यचौकी पुगेकी २५ वर्षीया तारा धामीलाई अहेब भीमबहादुर शाहीले औषधि सकिएको भन्दै ३ ट्याब्लेट इसिलक्स दिए । उनको सल्लाह थियो, ‘मेडिकलमा पाइन्छ भने किनेर खानुहोला, यता सकिएको छ ।’ तीन सन्तानकी आमा ताराको घरायसी अवस्था नाजुक छ । निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउन सक्ने सामथ्र्य छैन ।

स्थानीय तहले स्वास्थ्य संस्था जिम्मा लिएपछि विगतको तुलनामा औषधि आउने गरे पनि पर्याप्त नहुने स्वास्थ्यकर्मी बताउँछन् । निस्शुल्क दिनुपर्ने ३५ प्रकारका औषधिको माग फाराम भरेर कार्यालय सहयोगीलाई पठाइएकोमा ९ प्रकारको मात्र आएको स्वास्थ्यचौकी इन्चार्ज धनबहादुर खत्रीले बताए । ‘औषधि त पुर्‍याउनै कठिन छ,’ उनले भने ।

धौलागोह स्वास्थ्यचौकीमा ४० प्रकारका निस्शुल्क औषधिमध्ये २५ प्रकारका मात्र रहेको स्वास्थ्यकर्मी कालुराम थारूले बताए । दुखाइ कम गर्ने बु्रफेन, बमिटिङ रोक्ने प्रमिठाजिन, घाउमा लगाउने मलमलगायत नभएको उनले जनाए । स्वास्थ्यचौकीमा ४०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निस्शुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । कुनै पनि स्वास्थ्य संस्थाले निस्शुल्क उपलब्ध गराउनुपर्ने औषधिको सूची सार्वजनिक नगरेको नागरिक समाजका अगुुवा लीलाराम न्यौपानेले बताए । ‘सरकारले दिने भनेको कुन–कुन औषधि हो, नागरिकलाई थाहै छैन,’ उनले भने, ‘औषधिका नाम नेपालीमा लेखेर फ्लेक्स पिन्टमा राख्न सके धेरैलाई राहत हुने थियो ।’

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी पनि छैनन् । केही स्थानीय तहले स्वास्थ्यकर्मीको नाममा करार सेवामा आफन्तलाई जागिर दिएका छन् । नरहरिनाथस्थित कुमालगाउँ प्राथमिक उपचार केन्द्र स्वीकृत भएको १४ वर्ष भयो । एक मेडिकल अधिकृतसहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी छ ।

रेकर्डमा दरबन्दीअनुसार स्टाफ नर्सबाहेकका सबै स्वास्थ्यकर्मी छन् । तर, सेवामा छैनन् । डा। सुवास शर्मा एक वर्षअघिदेखि खाडाचक्र नगरपालिकामा स्वास्थ्य संयोजकको रूपमा काजमा छन् । सरकारले बीचमा डा। अमित परियारलाई कुमालगाउँ पठाए पनि उनी ३ महिनाअघि सरुवा मिलाएर गइसकेका छन् । २५ हजार ४ सय ५० जनसंख्या रहेको नरहरिनाथमा दक्ष जनशक्ति नहुँदा समस्या भएको अध्यक्ष धीरबहादुर विष्टको गुनासो छ । खानेपानी, भवन, शौचालयसहित एक्सरे मेसिनको सुविधा भए पनि डाक्टर नहुँदा उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘औषधि पनि खरिद गरेका छौं,’ अध्यक्ष विष्टले भने ‘डाक्टर नहुँदा समस्या परेको छ ।’

जिल्ला अस्पतालमै भरपर्दो स्वास्थ्य सेवा नभएको स्थानीयको गुनासो छ । विद्युतको लाइन थ्रिफेजको नहुँदा यहाँ एक्सरे चल्दैन । एक्सरे मेसिन पुरानो भएकाले काम नगर्ने स्वास्थ्यकर्मी बताउँछन् । डाक्टर नै बिरामीलाई एक्सरे गराउन मान्म बजारको तिला कर्णाली मेडिकल पठाउने गर्छन् । एम्बुलेन्स पनि बिग्रिरहन्छ । सामान्य बिरामीलाई समेत सुर्खेत, नेपालगन्ज लगायतका अस्पतालमा रेफर गर्ने गरिएको छ । भौगोलिक विकटताले थुप्रै गर्भवतीको प्रसूति गराउन स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै मृत्यु हुने गरेको छ । गत वर्ष मात्र कालिकोटमा बच्चा जन्माउन नसकेर ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

एक जिल्ला अस्पताल, एक प्राथमिक उपचार केन्द्र, २८ वटा स्वास्थ्यचौकी रहेको कालिकोटका ग्रामीण भेगमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् । स्थानीय सरकारले केही ठाउँमा करारमा नियुक्ति गरे पनि विशेषज्ञ सेवा छैन । जिल्ला अस्पतालमा नवौं तहको डाक्टरको दरबन्दी भए पनि हालसम्म आएका छैनन् ।

न स्वास्थ्यकर्मी न औषधि
मुगुका खत्याड, सोरु र मुगुमकार्मारोङ गाउँपालिकाका स्वास्थ्यचौकीमा सधैं औषधि अभाव हुने गरेको छ । क्षेत्रीय मेडिकल स्टोर र जिल्ला स्वास्थ्य कार्यालयले खरिद गरेको औषधि सदरमुकाममै सकिन्छ । अधिकांश स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् ।

दुर्गमका स्वास्थ्य संस्थामा सिटामोलसमेत पाउन मुस्किल हुने गरेको छ । औषधि किन्न निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । मुगमकार्मारोङ गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा सिटामोलसम्म पाइँदैन । स्थानीयले उपचार गर्न दुई दिन हिँडेर सदरमुकाम आउनुपरेको गुनासो गरे । मुगु, पुलु, माग्री, किम्री र डोल्फु स्वास्थ्य केन्द्रमा सधैं औषधि अभाव हुने गरेको छ । ‘बिरामी ज्यान हिँडेर सदरमुकाम पुग्दा सास्ती हुन्छ,’ किम्री गाउँका कार्मा तामाङले भने, ‘गाउँको स्वास्थ्यचौकीमा औषधि र राम्रो उपचार पाइँदैन ।’ औषधि अभावकै कारण अधिकांश स्वास्थ्यकर्मी सदरमुकाममै बस्ने गरेका छन् । भौगोलिक विकटताका कारण गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पुर्‍याउन कठिनाइ हुने गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट ढुवानी नहुने र गाउँपालिकाले न्यून बजेट विनियोजन गरेकाले औषधि अभाव भएको हो । ‘यहाँका सरकारी स्वास्थ्य केन्द्र नाम मात्रका छन्, कुनै पनि औषधि पाइँदैन,’ पुलु गाउँका छिरिङतोर्चे लामाले भने, ‘स्वास्थ्यकर्मी पनि नियमित नबस्दा उपचार सेवा प्रभावकारी हुन सकेको छैन ।’

सोरु गाउँपालिकाका थर्पु, भिई, धैनकोट र फोतु स्वास्थ्य केन्द्र पनि औषधिविहीन छन् । फोतुमा तीन वर्षदेखि औषधि छैन । बिरामी चार घण्टा हिँडेर सोरुकोट र नार्थपु पुग्ने गरेका छन् । ‘संघीय संरचनामा गएपछि झन् समस्या भयो,’ स्थानीय अंगबहादुर शाहीले भने, ‘न स्वास्थ्यकर्मी छन् न औषधि ।’ स्थानीय तहले जिल्ला स्वास्थ्य कार्यालयको औषधि ताक्ने गरेकाले समस्या भएको उनको भनाइ छ । १० लाख मूल्यको औषधि खरिद भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्ञानेश्वर श्रेष्ठले बताए । केही औषधि खत्याड गाउँपालिकाको स्वास्थ्य केन्द्रमा पठाइएको उनले जनाए । श्रेष्ठका अनुसार सोरु र मुगमकार्मारोङ गाउँपालिकामा औषधि पठाउन बाँकी छ । ढुवानी रकम अभाव रहेको उनले बताए ।

खरिदमा लापरबाही
हुम्लाका अधिकांश स्वास्थ्यचौकीमा सिटामोलसमेत पाइँदैन । स्थानीय तहले औषधि खरिदमा लापरबाही गरेकाले अभाव चुलिएको हो । जिल्लाभरका स्वास्थ्यचौकीमा औषधि नभएको पूर्व जिविस सभापति वीरजंग शाहीले बताए । जिल्ला अस्पतालमै सबै प्रकारका निस्शुल्क औषधि नरहेको उनले जानकारी दिए । ‘गाउँमा सिटामोल मात्रै पाइन्छ, अरू सबै औषधि अभाव छ,’ सर्केघाटका श्यामजोर ऐडीले भने, ‘गाउँपालिकाले आफैं औषधि खरिद गर्ने अधिकार पाएपछि झनै भद्रगोल भएको छ ।’

चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा लामो समयदेखि औषधि अभाव छ । सरकारी विवरणमा स्वास्थ्यचौकी भए पनि स्वास्थ्यकर्मी कहिल्यै नपुग्ने लिमी तिलका छेवाङदोर्जे लामाले बताए । ‘स्वास्थ्यकर्मी कहिल्यै जाँदैननन्, औषधि कसरी पुग्नु रु’ उनले भने, ‘उपचार अभावमा स्थानीयले अकालमा ज्यान गुमाउँदै आएका छन् ।’

हुम्लाबाट जयबहादुर रोकाया, कालिकोटबाट तुलाराम पाण्डे र मुगुबाट राजबहादुर शाहीको रिपोर्ट ।

कान्तिपुरबाट ।





Leave a comment

Your email address will not be published.


*