समृद्ध गाउँपालिका बनाउन कृषि, पर्यटन, केवलकार देखि र्याफ्टिङ संचालन गर्ने योजना अघि सारेको छु -गुरासँ गाउँपालिका अध्यक्ष खेमराज वली

          |   प्रकाशित मितिः मङ्लबार, साउन २९, २०७५     ::: 81 पटक पढिएको   |  

मूलुक संघिय संरचनामा गएको १ वर्ष पुरा भईसक्यो । गाउँ गाउँमा सिहंदरबार भनेझै गाउँको सिहंदरबारले जनतालाई प्रत्यक्ष लाभ दिन सक्यो वा सकेन । जनप्रतिनिधिहरुले जनभाव बुझ्न सके कि सकेनन् । यस्तै विविध प्रश्नहरुमा आधारित गुँरास गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वलीसँग सुवर्ण शाहीले लिएको अन्तरवार्ताको सम्पादित अंश :
निर्वाचित भएको एक आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्षमा प्रवेश गरिसक्नु भएको छ । यो अवधिमा गुँरास गाउँपालिकाका जनतालाई प्रत्यक्ष लाभ हुने खालको कार्यहरु के गर्नुभयो ?
विशेष गरि गुँरास सम्वृद्धिमा हामीले पूर्वाधार क्षेत्रलाई अगाडी बढाउनुर्छ, जसमध्ये विशेष गरि सडक, विद्युतीकरण लगायतका विभिन्न विषयवस्तुको आधारमा बजेटहरु विनियोजित गरेका थियौं । र यी विकास बजेटबाट जनताले प्रत्यक्ष रुपमा सहजै लाभ पुगेको छ । भन्ने महसुस हामी जनप्रतिनिधिहरुले गरेका छौं ।
जनताको घरदैलोमा पुगेर हामीले गुँरास सम्वृद्धिका लागि व्यवसायिक कृषि अभियानबाट मात्र हामी अघि बढ्न सक्छौं भनेर जुन योजनागत ढंगले गाउँपालिकाबाट सूचना सम्प्रेषण ग¥यौं । त्यसपश्चात अहिले गुँरासमा भएका धेरै किसानहरु व्यवसायिक किसानप्रति उन्मूख हुनु भएको छ । जसबाट प्रत्यक्ष किसानहरुले लाभ पाइरहेको अवस्था छ । कृषिमा मात्र हैन स्वास्थ्य शिविर सञ्चालन पनि ग¥यौं । त्यसमा गाउँपालिकाका करिव २३ सय जनताहरुले प्राथमिक स्वास्थ्य उपचारको रुपमा शिविरबाट लाभ लिनुभएको छ । यसको अलवा गाउँपालिकाको सम्वृद्धि र जनताहरुलाई प्रत्यक्ष लाभ लिनको लागि तमाम कार्यक्रमहरु अगाडी सारिएको थियो । जसबाट जनताले प्रत्यक्ष लाभ लिएको महसुस भएको छ ।

चालु आर्थिक वर्ष ०७५/०७६ मा कस्ता योजना प्राथमिकतामा छन् ?

अहिलेको अवस्थामा हाम्रो नेपाली भूमी, हाम्रो गुँरासको भूमी विकसित रुपमा अघि बढ्न सकेको छैन । हामी धेरै पछि परेका छौं । यसको प्रमुख कारण भनेको पूर्वाधारको कमी हो । हामीले पूर्वाधारको विकास गर्न सक्यौं भनेमात्र समाजको विकास हुन सक्छ । समाजको विकास गर्न र जनताको पँहुचमा सेवा पु¥याउनको निम्ति पहिलो कुरा पूर्वाधारलाई ध्यान केन्द्रित गरिनुपर्छ । त्यसका लागि गाउँपालिकाको तर्फबाट नीतिगत रुपमा नै हाम्रो योजनाहरु तयार गरिएको छ ।
अहिले हामीले प्रमुख प्राथमिकतामा सडक विकासको कुरा, विद्युतीकरण विस्तारदेखि गाउँ–गाउँमा भएका वडा कार्यालय विस्तार, स्वास्थ्य सेन्टरको लागि पूर्वाधारको कमी लगायत विभिन्न भौतिक पूर्वाधारका विकासमा हामीले प्रमुख प्राथमिकताका साथ अगााडी बढाएका छौं ।
गुँरास सम्वृद्धिमा हामीले ५ वटा कुरालाई अलि व्यवस्थित गरेर जानुपर्छ भनेर गुणस्तरीय शिक्षा, जनताको पँहुचमा स्वास्थ्य, व्यवसायिक कृषि, पर्यटन र दिगो पूर्वाधार, गुँरास सम्वृद्धिको ५ आधार भन्ने जुन मूलनाराका साथ हामी अघि बढेका छौं । यही नारालाई आधार मानि चालु आर्थिक वर्ष ०७५÷०७६ मा विकास बजेटहरु विनियोजित गरेका छौं ।

नीति कार्यक्रम र बजेट हेर्दा शिक्षा, स्वास्थ्य, सडक, खोनपानी, कृषि जस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राख्नु भएको छ । यी व्यक्तिका आधारभुत आवश्यकता पनि हुन् । तर यो क्षेत्रमा सुधार कहिले आउछ ?

हामी जनप्रतिनिधी हुनु अगावै हरेक विषयवस्तुमा अव्यवस्थित थियो । किनभने शिक्षाको गुणस्तरीयताका विषयमा मापन गर्ने एउटा विधि छैन, विकासलाई दिगो विकास कसरि गर्ने भन्ने कुरामा कसैको नेतृतव छैन यस्तै अलिकति छाडा प्रवृत्तिका विकास क्रमहरु र समाजलाई नेतृत्व गर्ने कदमहरु बढेको थियो । यसलाई सुधार गर्न समय लाग्छ । तर यो समय जति लाग्ला धेरै लाग्ने समयलाई पनि छोट्याएर जसरि हुन्छ छिटो भन्दा छिटो शिक्षाको गुणस्तरलाई व्यवस्थित गर्न पर्छ भनेर लाग्यौं । यसरि लागेपश्चात मलाई लाग्छ गत वर्षको तुलनामा आजको अवस्थामा गुँरास गाउँपालिकाको शिक्षा गुणस्तर केही वृद्धि भएको छ । यहाँको भौतिक पूर्वाधार, पठनपाठन, शिक्षकको नियमितता, अभिभावकको चाँसो, जस्ता यावत कुरामा हिजोका दिनको भन्दा केही सुधार भएको छ ।
केहिवर्ष अगााडीका दिनसम्म कृषकहरुले सेन्टरहरुबाट विषादीहरु पाउनुभएको थिएन, ज्ञानसिपको कमी थियो, जीविकोपार्जनको लागि मात्र खेती किसानी गर्नुभएको थियो तर एक वर्षको बिचमा गाउँपालिकाले एक प्रकारका अभियान सञ्चालन गरेर कृषि हव बनाउनको लागि नीतिगत रुपमा कार्यक्रम अगाडी बढाएको छ । व्यवसायिक कृषि बनाउनु पर्छ भनेर ३ सय जना किसानलाई व्यवसायिक किसानको रुपमा अगाडि बढाएका छौं ।

३ सय व्यवसायिक किसानमध्ये १ सय ५ जनालाई अनुदान, ऋण जमानत लगायतका कुरामा किसानलाई सहयोग गरेका छौं । सडक, पूर्वाधार र भनव निर्माणका कुरमा आउटपुट आउने गरि काम भइसकेको छ । हिजो कुनै सडक २ किलोमिटर थिए भने आज नयाँ सडकहरु ४/६ किलोमिटर भएका छन् । तर सडकको क्षेत्रमा दिगो विकास हुन सकेको छैन । यो वर्षदेखि सडकलाई पनि दिगो पूर्वाधारको हिसावले अगाडी बढाईदैछ । हिजोका दिनमा अव्यवस्थित खोलिएका सडकहरु अब व्यवस्थित बनाउनुपर्छ भनेर अघि बढेका छौं । जनताको अपेक्षा थुप्रै छन् । एक वर्षभित्र तत्काल समाधान गर्न नसकौंला, कोही पनि सरकारले जनताको अपेक्षा तत्काल पुरा गर्न सक्दैन तर मलाई लाग्छ छोटो समयमा भएपनि जनतालाई सन्तुष्ट बनाएर उनिहरुकै अपेक्षा बमोजिम कार्य गर्न सफल भएको महसुस गरेका छौं ।

वेरोजगार यूवालाई रोजगार दिने उद्देश्यले यूवा स्वरोजगार मेला आयोजना गर्नुभएको थियो । उक्त मेलाले कति सार्थकता पायो ?

वेरोजगार यूवाको लागि मेलाको आयोजना ग¥यौं । स्वरोजगार मेलाको उद्देश्य भन्ने वित्तिकै सबै वेरोजगार साथिहरुलाई आफ्नो श्रम विक्रि गर्नको निम्ति यूवाहरुको श्रम के–कति छ । दक्षता, क्षमता र सिप के छ । योजना के छन् । के गर्न चाहानुहुन्छ । कुन किसिमको वेरोजगार हुनुहुन्छ भनेर तथ्याकं संकलन गर्नको निम्ति मेला लगाईएको हो । तथ्यांक पनि संकलन भयो ।
यसको विषयमा पहिलो कुरा अध्यय्न गर्नको लागि यूवाहरु वेरोजगार त हुनुहुन्छ । आयोजना पश्चात स्वरोजगारमूखी निजी, सरकारि क्षेत्रहरुमा उँहाहरुको ईच्छा र चाहना अनुरुप २ प्रतिसत जति मान्छेहरुलाई सूचना प्रवाह गरेर रोजगारीमा आवद्ध हुने वातावरण सिर्जना ग¥यौं ।
हाम्रो समाजको बुझाई के छ भने रोजगार भनेको सरकारी जागिर वा सरकारी तहको तलव भत्ता पाउने व्यक्तिमात्र रोजगारी हो भन्ने रहेको छ । त्यसैले यूवाहरुको चाहना अनुरुप गाउँपालिका सँग समन्वय गरेपछि उहाँहरुको क्षमता, दक्षताको आधारमा रोजगार दिन र सिप नभएकाहरुलाई सिप दिन, आर्थिक स्थिति कमजोर भएकाहरुलाई अर्थिक सहयोग गर्नको लागि मेला लगाइएको हो । तर यो मेलाको प्रतिफल तत्काल देखिएको छैन । मेलाको समयमा फारम भर्दा १४ सय यूवाहरु वेरोजगारको लिस्टमा पर्नुभएको छ । अबको २ वर्ष्भित्र ५० प्रतिशत वेरोजगार यूवाहरुलाई रोजगार वा स्वरोजगारको वातावरणमा आवद्ध गराउछौं ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोडिएको गुँरास गाउँपालिकाको आफ्नै अस्तित्व रहेको छ । पर्यटन हिसावले पनि उत्तिकै महत्वपूर्ण मानिएको छ । तर गाउँपालिकाको पर्यटन प्रवद्र्धनको हिसाबले गाउँपालिकाको छुट्टै योजना के छ ?

गुँरास सम्वृद्धिको पहिलो एजेण्डाभित्र व्यवसायिक किसान, कृषि हव र पर्यटन हवको रुपमा सम्वृद्ध गराउँछौं भनेर हामीले अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार बजेटपनि प्रस्तुत ग¥यौं र कार्यान्वयन पनि भयो । सम्वृद्धिका लागि पर्यटकहरु जति भित्राउन सक्छौं त्यसपछि मात्र रोजगारी सिर्जना हुने हो । व्यापारिहरुको आर्थिक स्थिति बलियो बन्ने हो ।
गुराँसको पहिचान महत्वपूर्ण कुरा पनि पर्यटन हो । यो पहिचानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमात्र आफ्नो पहिचान बन्न सक्छ भनेर सोच बनाएका छौं । गाउँपालिकाभित्र रहेका ठूला–ठूला अग्ला डाँडाहरु छन् जहाँबाट देशकै ५५ वटा जिल्ला र भारतको लखनऊ यरियासम्म देख्न सकिने डाँडाहरु छन् । उत्तरतर्फ चाइनाको हिमालहरु देख्न सकिन्छ । नेपालकै पनि सिस्ने हिमालदेखि थुप्रै हिमालहरु देखिने भु–भागहरु यस गाउँपालिकाभित्र पर्दछ । यी भु–भागहरुमा आरमदायी बास, मनोरञ्जन, त्यहाँ पुग्नको लागि बाटो, हेर्ने ठाउँको लागि भ्यू टावर निर्माणको लागि हामीले प्रक्रिया अगााडी बढाएका छौं ।
मठमन्दिरहरुमा वडा नम्बर ७ मा पञ्चदेवी मन्दिर रहेको छ । यो एक प्रख्यात मन्दिर पनि हो । यसको पूर्वाधार विकासको लागि केहि बजेट विनियोजन गरिएको छ । मालिका मन्दिरमा पदमार्ग, गुफाहरु संरक्षण लगायत विभिन्न पर्यटकको क्षेत्रमा बजेट छुटाएका थियौं । गाउँपालिकाभित्र जनजातिहरुको आफ्नै रितिरिवाज छ । यो रितिरिवाजलाई पर्यटकहरुले देख्न सक्ने वातावरण सिर्जना गर्नको निम्ति होमस्टेको विस्तारको लागि वडा नम्बर १ को बेरु गाउँ, वडा नम्बर २ को दुवेडी र वडा नम्बर ७ को ओख्रेनीमा पूर्वाधार विकासका कार्यक्रमहरु अगाडि बढाएका छौं । वडानम्बर ४ मा दैलेख जानेबाटोमा रहेको सुवा पोखरी ताल र धरमपोखरामा रहेको पुरानो पोखरीहरुको संरक्षण गरेका छौं । हामिसँग भएको सम्पदालाई संरक्षण गर्न सकियो भने गुँरासमा पर्यटकीय क्षेत्र बन्न सक्छ भनेर गतवर्ष करिव ९० लाख रुपैयाँ पर्यटन क्षेत्रमा विनियोजन गरेका थियौं ।
हामीले नेपालकै सम्पत्तिको रुपमा रहेको लोपोन्मुख राउटे जातिलाई गाउँपालिकाको स्थानीय नागरिक बनाएका छौं । राउटे समुदायलाई स्थानीय नागरिक बनाईसके पश्चात उनिहरुको जुन पहिचान, संस्कृति, रितिरिवाज नेपाली भूमीमात्र हैन विश्वको कुनैपनि भूमीमा यस्तो प्रकारको समुदाय छैन होला । यो पनि पर्यटन पूर्वाधारको मुख्य अंगको रुपमा हामी लिन सक्छौं ।
वडा नम्बर ६ मा रहेको बिउँचूलामा विमानस्थल पूर्वाधार तथा अध्यय्न अनुसन्धानको लागि सामान्यतया बजेट विनियोजन गरिएको छ । वडा नम्बर ४ मा चर्चित गुँरासे बजार छ । त्यहाँ पुराना मन्दिरहरु संरक्षण गर्ने क्रममा छौं ।तल्लो डुङ्गेश्वरबाट गुँरासे बजारसम्म केवुलकार सञ्चालनको लागि अध्यय्न अनुसन्धान गर्न बजेट छुट्टाएका छौं ।गुँरास गाउँपालिकाको सेरोफेरोमा बग्ने कर्णाली नदी जुन हाम्रो पनि सम्पत्ति हो । यहाँ ¥याप्टिङ सञ्चालनको लागि बजेटमा राखेका छौं ।
यसरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई लिपिवद्ध बनाए बजेटको माध्यमबाट होस या प्रचार प्रसारको माध्यमबाट होस् । अव गुँरास सम्वृद्धिको प्रमुख आधार भनेकै कृषि हो र दोश्रो आधार भनेको पर्यटन हो भनेर हामी त्यसतर्फ लागेका छौं । यस विषयमा सबै संचारकर्मी साथिहरु जुट्नको लागि अनुरोध पनि गर्न चाहान्छु ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
सबैभन्दा पहिला यस द्रोणाञ्चल मिडिया प्रा.लिको साक्षात्कर कक्ष तपाईले मलाई आमन्त्रण गरेर आफ्ना कुरा, गाउँपालिकाका र प्रदेश नम्बर ६ भित्रका सम्भावनाका कुराहरु राख्ने मौका दिनुभयो यसको लागि धन्यवाद दिन चाहान्छु ।
हाम्रो यो प्रदेश गरिवीको रेखामुनी रहेको प्रदेश, तमाम वेरोजगारी भएको प्रदेश, अभावै अभावको प्रदेश भएकोले हामी निराश हुनु भन्दा पनि निराशालाई आशामा परिणत गर्नको निम्ति आफ्नो जोस जाँगरका साथ आफ्नो सबै जिम्मेवारीहरु पुरा गर्ने गरि चिन्तन, मनन् र धैर्यताको जरुरी छ ।अन्त्यमा समग्र कर्णालीवासि जनताहरुलाई उत्पादनमा लागौं, परनिर्भरमुखी हुन आवश्यक छैन, पर्यटन विकासको लागि नयाँ उत्पादनमूलक कार्यक्रमहरु लगानी गर्न आग्रह गर्दछ् । आफ्नो भूमिमा के चिजले महत्व राख्न सक्दछ, आफ्नो भूमीमा के उर्वर शक्ति रहेको छ त्यही कुराको सहि सदुपयोग हुने गरि उत्पादनमा जोड दिऔं भने हरेक मान्छे व्यवसायिक बन्न थाल्यौं भने हामी कुनैपनि कारणले पछि पर्न सक्दैनौं । त्यसैले हरेक मान्छे कर्तव्यनिष्ठ, जिम्मेवारी बनेर हामीबाट कसैले आशा गरुन तर हामीले कसैको आशा गर्नु नपर्ने वातावरणको सिर्जना हरेक नेपाली नागरिकले गर्नु पर्छ । भन्न चाहान्छु ।
धन्यवाद !





Leave a comment

Your email address will not be published.


*