राउटे समुदायको फेरिदो जीवनशैली

        हिक्मत बहादुर नेपाली   |   प्रकाशित मितिः आइतवार, भदौ ३, २०७५     ::: 320 पटक पढिएको   |  

 दैलेख– गत विहिवार मध्यान्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सुर्यनारायण शाहीले भनि हाले ‘गाउँपालिकाको अध्यक्ष मेरो मित हुन, उनिसंग कुरा गर्नुछ, फोन लगाइदिनुस् ।’ टोली संगै गएका अधिकारकर्मी हीरासिंह थापाले हतार हतार गरि गाउँपालिका अध्यक्षलाई फोन डाएल गरे । खाली खुट्टा, पिठ्युँमा गादो, शिरमा फेटामा सजिएका मुखिया शाहीले गुरासँ गाउँपालिकाका अध्यक्ष संगै फोनमा गफिए । उनले भने ‘अध्यक्ष (मित) ज्यू, हाम्रो भत्ता कहिले आउछँ ।’ गाउँपालिकाका अध्यक्षले फोनबाटै अबको केहि दिन भित्र्रै भत्ता लिएर आउने जानकारी गराए ।

समुदायका मुखिया सुर्यनारायणले फेरी भने ‘केहि दिन अगाडी हामी बसेको ठाउँमा ५-६ जना नचिनेको मान्छे आएको थियो, हामीलाई ठगेर गयो, त्यो कुरा हामीलाई मन परेको छैन्, अब देखि यसरी बाहिरका मान्छेहरुलाई हामीहरुको बस्तीमा आउन नदिनुहोला, उनले आग्रह गरे । उनको जवाफमा गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अब देखि बाहिरका मान्छेलाई विना स्विकृती आउन नदिने बताए ।
केहि समय अगाडी समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिदैनथ्यो,तर पछिल्लो समय समुदायमा पुग्ने अधिकारकर्मीहरु मार्फत गाउँपालिकाका अध्यक्ष, प्रदेश स्तरका मन्त्री देखि प्रधानमन्त्रीसंग फोनमा कुरा गराइदिन आग्रह गर्ने गरेका छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति जिल्लाको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएका छन् । आफूलाई वनको राजा भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन् ।
कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहीन छन् । नेपालको नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन । फिरन्ते जाति राउटे समुदायहरुको उत्थानका लागि सरकारले हदै सम्म प्रयास पनि गरिरहेको छ । उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहेपनि उनिहरु एकै ठाउँ बस्न अस्विकार गर्दै आएका छन् । राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गरेको छ । समुदायको महाशत्रु हुन, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफ्नो परम्परामा कडा देखिएता पनि आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको छ । अहिले उनिहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् ।

स्थायी ठेगाना भएको परिचय–पत्र

फिरन्ते रुपमा जिवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिहरुलाई गुरासँ गाउँपालिकाले गत असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गरिसकेको छ । दैलेखको गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिएको हो । २०७५ जेठ ३१ गते नेपाल सरकारको मन्त्री स्तरिय निणर्य अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नाम थर र ठेगाना खुल्ने गरि परिचयपत्र वितरण गर्न गत असार ३ गते गरेको परिपत्र अनुसार राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका कायम भएको छ । राउटेको नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र प्रदान गरिएको हो ।

राउटे जाति परिवर्तन तर्फ उन्मुख

लापोन्मुख, घुुमन्ते राउटे जातिको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपियाँ, पैसा, आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा चार्डपर्व जनिकिदै गर्दा बाख्रा र कुखुरा पाल्ने गरेका छन् । वनजंगल विनास हुँदै जानु र उनीहरुको मुख्य आहार गुना, बाँदर पाइन छोडेपछि राउटेहरुले बाख्रा र कुखुरा पालेर मासुको रुपमा प्रयोग गर्न थालेका हुन् । हाम्रो मुख्य सिकार बाँदर र गुना जंगलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले पनि बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौ, राउटे पूर्व मुखिया मान बहादुर शाहीले भने ।
राउटे जाति पहिले नयाँ व्यक्ति देख्दा डराउने बोल्न नचाहने, फोटो खिच्न नदिने, महिलाहरुलाई सँगै नहिंडाउने मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर, पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन् । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन, महिला प्रतिनिधिलाईसँगै हिडाउँछन । ‘युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ । उनीहरु आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन् । राउटेहरु सामाजिकरण तर्फ उन्मुख भैरहेका छन् । स्थायी रुपमा बस्न नचाहने, वन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटेको प्रमुख बास स्थान प्रदेश नं. ५,७ र कर्णाली प्रदेशका जिल्ला हो ।

औषधी उपचारमा विश्वास

बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्य कर्मीहरुबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्दथे । टाउको दुखे झारपात खान्थे । घस्नुपर्दा खरानी घस्थे । झरफुक पनि त्यतीकै गर्थे । विरामी परेमा स्वास्थ्य उपचार भन्दापनि उनीहरु थामी भाँत्रि बसालेर ग्रह काटने, भुतको भाग फाल्ने समुदायमा स्वास्थ्य संस्था सम्म नपुगेपनि औषधी उपचारमा विस्वास गर्न थालेको राउटे समुदायमा खटिएका स्वास्थ्यकर्मी (अहेव) विनोद कुमार विसीले बताए । उनिहरुले साना तिना घाउ चोट पटक लाग्दा पनि औषधी उपचार गर्ने र मल्हमपट्टी बाध्ने गरेको अहेव विसीले बताए ।

राउटे समुदायको भेषभुषा

जुत्ता, चप्पल समेत लगाउँन हिचकिचाउँने राउटे जाति अहिले परिवर्तन तर्फ उन्मुख भएको छ । उनीहरु खुट्टाको सुरक्षाका लागि भन्दै जुत्ता, चप्पल लगाउन थालेका छन् । आफैले स्थानीय स्तरमा उत्पादन हुने कपडाको मात्रै प्रयोग गने उनीहरुले आजभोली बजारमा पाइने आधुनिक कपडाको प्रयोग तर्फ आकर्षित हुन थालेका छन् । राउटेका लोग्ने मानिसहरुले लगाउने पोसाक पिठ्युँमा गादो, शिरमा टोपी या फेटा र लँगौटी मात्र हो भने महिलाहरु बुट्टा भएको खस्रो कपडाको घुँडाघुँडाको फरिया र छोटो चोलो लगाउँछन् । जोडोको सयममा ठेटुवाका रुमाल ओडने गछर्न । राउटे युवा प्रकाश शाहीले भने ‘हामीले कोट पनि राखेका छौ, अब विस्तारै कोट पनि लगाउछौ ।’

राउटे युवतीमा श्रृगार मोह

अन्य जातिका महिलाहरुमा सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाई महत्व दिईदैन् । धेरै मूल्य पर्ने भएर होइन पहिले देखिने सुनको प्रयोगलाइ राम्रो नमान्ने संस्कारका कारण सुनको प्रयोग नभएको हो । गरगहनामा राउटेहरुमा फलाम, पित्तल, आल्मुनियम बाट बनेका गहना कान, घाँटी र नारीमा लगाउँछन् । राउटे युवतीहरुमा पछिल्लो समय चुरा पोते लगाएतका श्रृगारका सामग्रीहरु प्रयोग गर्न थालेका छन् । समुदायमा पुग्ने अन्य समुदायका महिलाहरुको सौन्दर्यताको सिको गर्दै राउटे युवतीहरु पनि चुरा पोते जस्ता श्रृगारिक सामग्रीहरु लगाउन थालेको राउटे समुदायमा पुगेकी दैलेखकी महिला नेतृ सिता रानाले बताइन् ।

सरसफाईमा ध्यान

सरसफाईमा खासै ख्याल नराख्ने राउटे जाति अहिले सरसफाईमा ध्यान दिन थालेका छन् । शारिरीक सरसफाईमा खासै ख्याल नराख्ने उनीहरु पछिल्लो समयमा सावुनको प्रयोग गरेर नुहाउने, दाह्री, जुँगा काटने र सरसफाईलाई महत्वका साथ गने गरेका छन् । बसिरहेको स्थानमा बनाइएका छाप्रो वरिपरि सरसफाई गर्ने, दिनहुँ नुहाउने गरेका छन् । यिनीहरुको शरीरको बनोट होचो कद, चोडा छाती छोटा हात खुट्टा बाटीएका पिडौला । पातला दाह्री जुगां, खस्रा केश, शरीरमा कम रौं राउटेको शारिरीक पहिचान हो ।

राउटे परियोजना संचालन

एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा गुरासँ गाउँपालिका र सोसेक दैलेख मार्फत राउटे परियोजना संचालन भएको छ । परियोजनाले सन २०२० सम्म तिन वर्षे अवधिमा १ करोड २७ लाख लगानी गर्न लागेको सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । उनिहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको सुरुवात यसै आर्थिक बर्षबाट सुरु गरिएको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । त्यसका लागि तिन जना कर्मचारी समेत नियुक्त गरिसकिएको अध्यक्ष ओलीले बताए । तिन जना कर्मचारीमध्ये एकजना अहेवले राउटेको स्वास्थ्य क्षेत्र हेरेका छन् भने अन्य दुई जनाको जोडी कर्मचारीले उनिहरुलाई आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गर्न सुरु गरेका छन् ’ अध्यक्ष ओलीले भने ‘राउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनिहरुले गर्नेछन, भने रातीमा प्रोजेक्टरको माध्ययमबाट समुदायका बालबालिकालाई सन्देशमुलक भिडियोहरु देखाउने, तथा पढ्न सिकाउने छन् ।’

राउटे सामग्री संकलन र बिक्री कक्ष

दैलेखको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएका राउटे समुदायले निर्माण गर्ने काठका सामग्रीहरु संकलन र विक्री कक्ष स्थापना गरिएको छ । जंगलमा पाइने कुकाठबाट बनाइएका कोसी, मधुश, आरी र खाट जस्ता काठका सामग्रीहरु विक्री गर्ने राउटे आफुले बनाएका सामग्रीहरु विभिन्न गाउँ तथा बजारहरुमा पुगेर अन्नसंग सामान साट्ने उनिहरुको दैनिकी थियो । राउटे समुदायले निकै मेहनत गरि निर्माण गरेको सामग्री बोकर गाउँ गाउँ डुल्ने पर्ने बाध्यता भने अब हटेर गएको छ ।

जिल्लाको गुरासँ गाउँपालिकाले गत असार ३० गते स्थायी परिचय पत्र वितरण गरे संगै उनिहरुले बनाइएका सामग्रीहरु विक्रीका लागि सहजता ल्याउन विक्री कक्ष निमार्ण गरेको छ ।अब राउटे समुदायले निर्माण गरेका सामग्री एउटै छानामुनीबाट विक्री गरिने गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । समुदायले निर्माण गरेका काठका सामग्रीहरु विक्रीका लागि सहजता ल्याउन गाउँपालिकाको ८ को धरमपोखरा बजारमा विक्री कक्षा निर्माण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । राउटे समुदायले निर्माण गरेका सामग्रीहरु कर्णाली प्रदेशको राजधानी विरेन्द्रनर सुर्खेत र काठमाण्डौमा समेत संकलन र बिक्री कक्ष बनाउने योजना अघि सारिएको अध्यक्ष ओलीले जानकारी दिए ।





Leave a comment

Your email address will not be published.


*