लडाई रक्षाबन्धनकाे हाेइन, रोग र भोगबाट मुक्तिका लागि आवश्यक !

        निर्मल अधिकारी   |   प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५     ::: 426 पटक पढिएको   |  

निर्मल अधिकारी
nadhikari73@gmail.com

विकसित देशहरुले अन्तरिक्षमा वस्ति वसाल्नको लागि खोजी गरिरहेका छन् । विज्ञान र प्रविधिले उच्चतम फड्को मारिरहेको छ । सामाजिक संरचनाहरु परिवर्तन हुदैछन् ।धार्मिक रुपमा अभ्यास गरिरहेका कतिपय मूल्य मान्यतालाई अन्धविश्वासका रुपमा नयाँ पुस्ताले त्याग्दै छ । पश्चिमा संस्कृतिको प्रभाव र विश्वव्यापिकरणले गर्दा मेरो धर्म, मेरो संस्कार, मेरो रितिरिवाजमा आमूल रुपमा परिवर्तन भएको प्रष्टसँग देख्न सकिन्छ ।
हिन्दु धार्मिक संस्कार भित्रका कतिपय अन्धविश्वासहरु हराउदै गएका छन् र अझ धेरै त्याग्न पनि आवश्यक छ । यस्ता संस्कारले मानिस मानिस विचको विभेदका साथै सामाजिक रुपमा अनावश्यक बोझ थप्दै गएको देखिन्छ ।

म ब्राह्मणवादी परिवारमा जन्मिदा पहिलो पटक जनै हालिसके पछि धेरै वर्ष सम्मा सेतो कपडा फेरेर खाना खान्थे । केही समयपछि भोज भतेर र सामाजिक कार्यमा मात्रै कपडा फेर्ने गरे । एक पटक कपडा नफेरेर भोजमा खाएको देख्दा मेरो ठुलोबुबाले गाली गर्नु भएको थियो । अहिले मेरो लागि त्यो सामान्य जस्तै लाग्छ । म प्राय जनै लगाउदिन, रक्षा बन्धनको बेला हातमा डोरी बाधदिन, मन्दिर गएर कहिलै पुजा गर्दिन् ।

मेरो लागि आस्थाको मन्दिर मन भित्रै छ । भगवान मन्दिर वा मस्जिदमा होइन सेवा गर्ने हातहरु र दयालु भावनामा हुन्छन् भन्ने मलाई विश्वास लाग्छ । भगवानका नाममा बाहिर खडा गरिएका सबै भौतिक संरचनाहरु लोभी पापीहरुको मनलाई शान्त गर्ने आस्थाका केन्द्रबाहेक केही पनि होइनन् । अहिले ति मन्दिरहरु धर्मका पुजारीको लागि भन्दा पनि युवायुवतीहरुले मनोरन्जन गर्ने र क्रिडास्थलको रुपमा प्रयोग गर्ने गरेको देख्न सकिन्छ ।
रक्षा बन्धनको समयमा बाहुनले दलित समुदायका व्यक्तिलाई डोरी नबाधेको खबरले जिल्ला तथा राष्ट्रियस्तरमा राम्रै चर्चा पायो । यस्तै हल्लाले दैलेख बेला बेला चर्चामा आउने गरेको छ ।

कहिले मन्दिर प्रवेशमा रोक त कहिले सार्वजनिक स्थलमा हुने विभेद र रक्षा बन्धनको डोरी । यी सबै एउटै धार्मिक सम्प्रदाय भित्र एउटा जाती र अर्काे जाति भित्रको लडाई हो । हामी जातिय र धार्मिक नाममा यती धेरै लडाई किन लडिरहेका छौं ?हातमा डोरी बाधेर के हुन्छ ?नबाधेर के हुन्छ ?हामी किन छुट्याउन सक्दैनौ ? डोरी बाध्ने र डोरी नबाध्नेमा म कुनै अन्तर देख्दिन् । नत डोरी बाध्नेले ठुलै मान प्रतिष्ठा र पदवि पाएको छ नत नबाध्नेलेनै पाएको छ । क्षमता, विश्वास र लगनशिलतामा प्रतिवद्धहरुनै सफल भएका देखिन्छन् ।
हिन्दु धार्मिक सम्प्रदाय भित्रै पनि विभिन्न जातजाति र भौगोलिक क्षेत्र अनुसार सामाजिक संस्कारमा भिन्नता छ । म जाजरकोटमा रहदा त्यहाका केही स्थानहरुमा परिवारमा मान्छेको मृत्यु भएपछि दश दिनमै काजक्रिया सक्ने प्रचलन देखेको छु । त्यही काजक्रिया दैलेख जिल्लामा एघार दिनमा गर्ने गरिन्छ । अझ कतै ब्राम्हणहरुले बाह््रौ दिनमा काम सक्ने गर्दछन् ।

अछाममा त्यही काजक्रियामा जो कपडा फेरेको कर्ता हुन्छ उ बाहेक परिवारको अरुले कपाल मुण्ड्याउने र नुन खाने गर्छन् भने हाम्रो समुदायमा सबै सन्तानले अन्तिम दिन सम्म नुन बार्ने चलन रहेको छ । यही काजक्रिया दलित समुदायमा कसैले पाँच दिन, कसैले सात दिन त कसैले नौं दिनमा सक्ने गर्दछन । हिन्दु धर्मभित्रका कट्टर अनुयायीका रुपमा मानिने दशनामी समुदायका सदस्यहरुले मान्छे मर्दा मन्दिर बनाएर गाड्ने गर्छन् त्यही हिन्दु धर्म भित्रका अन्यको जलाउने संस्कार छ ।

पूर्वेली ब्राम्हण र पश्चिमी ब्राह्मणहरुले गर्ने कर्मकाण्डमा पनि आकाश पातलकै फरक देखिन्छ ।  विहेवारी पनि स्थान अनुसार फरक फरक छ । जाजरकोटमै हेर्दा ब्राह्मण क्षेत्रीले आफ्नै मामाको छोरी विहे गर्नुलाई नराम्रो मानिदैन् । तर हामी बहिनी मानेर टिका लगाउछौं । दलित समुदायमा पनि मामाको छोरी विहे गर्नु सामान्य रुपमा लिने गरिन्छ । हाम्रै समुदाय र छिमेकमा रहेका मंगोलियन समुदायका व्यक्तिहरुको पनि धार्मिक संस्कारमा परिवर्तन हुदैछ ।

उनीहरुले आफ्नो संस्कार र संस्कृति विर्सदै आर्यहरुले मनाउदै आएका धार्मिक संस्कार र संस्कृतिमा अभ्यस्त हुदैछन् ।यसरी हिन्दु धर्म भित्रै पनि जातजाती र भौगोलिक क्षेत्र अनुसार फरक फरक भिन्नताहरु रहेका छन् ।
हाम्रा कतिपय धार्मिक संस्कारहरु रुढीबादी परम्परा हुन भन्ने जान्दा जान्दै त्यही गर्न नपाएको भनी गुनासो गर्ने यो अवस्था होइन जस्तो मलाई लाग्दछ । जस्ले जे गर्दछ आफ्नो परम्परा र संस्कृति अनुसार गर्दछ । अबको नयाँ पुस्ताले त्यो त्याग्दै जानेछन् । र हामीले पनि परिवर्तन गर्दै जानु पर्छ । कसैले नचाहेर पनि एघार दिन सम्म जुठो बारेर काजक्रिया गर्ने फुर्सद अवको पुस्तालाई हुने छैन् । मूल्यवान समय र आर्थिक लाभ बुझेको ब्राह्मणले आगामी दिनमा नत रक्षाबन्धन बाध्दै घर दैलो चहार्नेछ नत कर्मकाण्ड नै गर्नेछ ।

अहिलेको पुस्तासँग नत धैर्यता छ नत समयनै छ । त्यसैले एघारौं दिनको अन्त्यष्टिलाई अब सात दिन वा नौं दिनमा झार्न आवश्यक देखिन्छ । हातमा डोरी बाधेर नत भोको पेट भरिन्छ नत औषधी गर्न नसकेर मृत्यु पर्खिरहेकाहरुले शान्ति पाउछन् । नत बालबालिकालाई शिक्षा प्राप्त हुन्छ । त्यसैले अब डोरी बाध्न नपाएको लडाई होइन् त्यस्ता विपन्न समुदायको लागि रोग र भोकबाट मुक्तिका लागि लडाई लड्न आवश्यक छ ।
यो लेख कुनै जातजातिप्रति आक्षेप लगाउने उद्धेश्यले लेखिएको होइन् । सामाजिक विकृतिका विरुद्ध लेखकका नीजि विचार हुन ।





2 Comments on लडाई रक्षाबन्धनकाे हाेइन, रोग र भोगबाट मुक्तिका लागि आवश्यक !

  1. निर्मलजी र रक्षाबन्धन रोक्न चाहनेहरु,
    दलितहरुले रक्षाबन्धन धागो बाँधेर साम्प्रदायिकता भड्किने होइन, यसले दलितहरुले समेत समानता र आत्मसम्मान दिलाउछ ।
    मानिसहरुको व्यस्तताले धार्मिक कार्य गर्न छोडिएको कुरा धार्मिक शिक्षाको अभावमा हो । बिश्वकै बिकसित मुलुक अमेरिकामा क्रिश्चियनहरुको बाहुल्यता छ , त्यहाँ जति नै व्यस्त वा धनी भए पनि हप्तामा एक दिन चर्चामा जान्छन् । बिकासोन्मुख देश अरबमा सबैजसो मुस्लिम छन्, उनीहरु जुलाईमा एक महिना रमाजान मनाउन बिदा बस्छन् ।
    धर्म संस्कृति छोडेर मात्र विकास हुने होइन । नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दू धर्मालम्वीहरु छन् । हिन्दूहरुलाई मात्र महिनामा एक दिन बेद र पुराणका ज्ञान, महाभारतको रणनीति र गीताको नैतिक शिक्षा पढाइयो भने मानवता शिक्षा फैलाउन सकिन्छ । हत्या, हिंसा र बलात्कार जस्ता ठूला अपराधमा कमी आउनेछ ।
    दलितहरुले रक्षा बन्धन धागो बाँध्ने इच्छा चाहिं यति दूरदृष्टी राखिएको छ । समाजमा सधैं भाँडभैलो गराउन चाहनेहरु सामाजिक सद्भाव विगार्न दलितहरुलाई विभेद गर्ने, धर्म सँस्कारका नाममा शोषण गर्नेहरुले दलितलाई रक्षा बन्धन बाँध्न नचाहेका हुन् ।

  2. Nirmal Adhikari // August 30, 2018 at 5:53 am // Reply

    अमर सर सुझावको लागि यहाँलाई धन्यवाद ।

    म यहाँलाई जानकारी गराउन चाहान्छु कि म कुनै धार्मिक संस्थाको नत अनुयायी हु नत रक्षाबन्धन रोक्न वा बाधिरहन चाहाने हु । यहाँलाई अस्पष्टता लाग्छ भने पुनः अध्ययन गर्न पनि म अनुरोध गर्दछु । पाठकहरुले कसरी अध्ययन गर्नु भयो वा बुझ्ेर विश्लेषण गर्नु भयो त्यो उहाहरुकै जिम्माम छ । हिन्दु धर्म भित्रका कतिपय मूल्य मान्यता र संस्कारहरु हटाउनु पर्छ भन्ने मेरो मान्यता हो । एउटै धार्मिक सम्प्रदाय भित्र पनि भौगोलिक क्षेत्र र जातजाति अनुसारका संस्कारहरु भिन्न रहेको कुरा यो आलेखमा प्रष्ट पार्न खोजिएको छ । अर्काेतिर धर्मले हाम्रो समाजमा रहेको बर्गिय विभेद र मानविय धर्मको रक्षा गर्न सक्दैन् । जब सम्म वर्गिय विभेदको खाडल अन्त्य हुदैन तब सम्म रक्षाबन्धनमा बाधिएको डोरी, मन्दिरमा बजाइएको घन्टी वा मुखले बोलेको “राम राम” को कुनै अर्थ नहुने हाम्रा समाजमा घटिरहेका घटनाहरुले पनि प्रष्ट पार्दछन् ।
    सरले भने अनुसार बेद, पुराण, महाभारत र गिताको अध्ययनले मात्रै मानवता शिक्षा फैलाउन सहयोग गरी हत्या, हिंसा र बलात्कारजन्य अपराधमा कमी आउछ भन्नुलाई म स्विकार गर्न सक्दिन किन भने गेरु बस्त्रधारी बाबाले नपढेको कुन हिन्दु धर्मशास्त्र होला जो सबै भन्दा बढी यौन दुराचारमा सहभागी भएका छन् । नेपालमै बलात्कारीको आरोपमा जेल सजाय काटिरहेका रामरहिम हुन वा भारतका यौन दुराचारी धार्मिक गुरु आशाराम बाप्पुले हिन्दु धर्मकै व्यईज्जत हुने गरी यौनजन्य क्रियाकलापमा सहभागी भएको तपाई हामी सबैलाई जानकारीनै छ ।

Leave a comment

Your email address will not be published.


*