पर्यटक पर्खिरहेको महाबु

        हिक्मत बहादुर नेपाली   |   प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०७५     ::: 97 पटक पढिएको   |  

हिक्मत बहादुर नेपाली

चारैतिर अग्ला र अध्याँरा लेकहरू । नजिकैको सुन्दर पाटनको बीचमा विशाल ढुङ्गा । त्यसमाथि पूजा आराधनाका लागि शिवलिङ्गको मूर्ति । सुन्दर पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अँध्यारो बनाइदिन्छ, कहिले सिमसिमे पानीसँगै हावाको वेगले फूलहरू हल्लिरहँदा त्यहाँ पुग्ने जो कोही पनि स्वर्गै पुगेको अनुभूति गर्छन् । छिनभरमै मौसम परिवर्तन भइरहने महावु पुग्ने जो कोही पनि आनन्दको अनुभूति गर्छन् । लेकमै रहेको पोखरी र आसपासमा ढकमक्क फुलेका बुकिका फूलले अझ आनन्दित तुल्याउँछ ।
बिहानीपख सुर्योदयसँगै घामका किरण परे पनि छिनभरमै हुस्सु र कुहिरोले पाटनलाई ढाक्छ । रक्षा बन्धनका दिन महावुधाममा विशेष पूजा गरिन्छ । छिन–छिनमै घाम र कुहिरोको लुकामारीसँग आफ्नो मनोकांक्षा लिएर गएका महावुधाममा पूजा गर्न पुगेका हजारौं भक्तजनहरू आनन्द लिने गर्छन् । अधिकांश भक्तजनहरू आफ्नो मोबाइल वा क्यामरा लिएर कुहिरो र घामको लुकामारी कैद गर्छन् । कुहिरो र हुस्सुलाई घामले हटाएपछि महाबु पाटनबाट तराईका बर्दिया टिकापुर र नेपालगन्जका सुन्दर फाँटको दृश्य हेर्न सकिन्छ । पाटनका बीच–बीचमा स–साना ताल, नजिकै केही गाइगोठ, वरपर चौरमा भेडाबख्रा चर्नाले महाबुको महिमा बेग्लै देखिन्छ । यी दृष्यहरू हेर्दा कसैले शान्तिभूमिको संज्ञा दिन्छन् भने कसैले शिव र पार्वतीले तपश्या गरेको हुनसक्ने अड्कल काट्छन् ।


हावाको सिरेटोसँग फूल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ पाटनमा । चारैतिरसम्म परेका फाँट, बीच–बीचमा साना–साना ताल, वरिपरि हरियो घनाजंगलले गर्दा झनै शालिन स्वभावको देखिन्छ महावु । चारैतिर सेताम्य बुकी फूलसँगै अन्य रंगीविरंगीले फूलले महावु क्षेत्र विवाहको मण्डप सिगाँरिएको जस्तै देखिन्छ । अर्कोतिर हरियो घाँसपात र भेडाबाख्रा, गाइ गोरुले चरन चर्दै गरेको दृश्यले जो कोहीको मनै लोभ्याउँछ । कुहिरो र बादलले तराईका फाँट, पहाडका हिमश्रङ्गखलाको दृश्यले देख्न पाईने हुँदा त्यहाँ पुग्ने पर्यटकले धरहराको संज्ञा समेत दिने गर्छन् । सुन्दर पाटन हेर्न चाहने र धार्मिक आस्था भएका पर्यटकको धरोहरका रूपमा रहेको महावुधामको महिना साँच्चिकै गज्जबको छ !

यसरी भयो महावुधामको उत्पत्ति


दैलेख भूर्तिका ब्राम्हणका छोरा चलु आचार्य आवाज विहिन थिए । महावुधाममा ढुंगाबाट उत्पन्न शिवलिङ्ग सबैभन्दा पहिले आवाजविहीन आचार्यले भेटाएको किंबदन्ती छ । उनले धेरै गाइ पालेका थिए । उनको एउटा गाईले दूध दिन छाडेपछि दूध किन दिएन भनेर चियो गर्दा अहिले शिवलिङ्ग रहेको स्थानमा गाइले सधैं दूध चढाउने गरेको देखे । यो देखेर उनले त्यो ठाउँमा के रहेछ भनि हँसियाको टुप्पोले कोट्याएर हेर्दा शिवलिङ्ग देखे । त्यसपछि महादेव प्रकट भएर उनलाई भने, ‘तिमीले मलाई सधैं दुध चढाउने गर्नु र यहाँ शिवलिङ्ग देखेको कसैलाई पनि नभन्नु, यसो गरे तिमी बोल्न सक्ने हुनेछौं ।’ त्यसपछि महादेव अन्तध्र्यान भएको किंवदन्ती छ । महादेवले भने अनुसार गरेकाले उनी बोल्न र वेद सररर पढेर पूजा गर्नसक्ने भएका थिए ।
यस्तो छ, धार्मिक विश्वास
हिन्दुहरूको महान पर्व जनैपूर्णिमाका अवसरमा लाग्ने महावुधाम (गाथ) मेला दुई दिनदेखि पाँच दिनसम्म चल्छ । चुर्तुदर्शीका दिन विशेष पूजापाठ गरिन्छ । मेलममा हजारौ धर्मावलम्वीहरूले पूजा अर्चना गरी मनाउने गर्दछन् । यो मेला जनैपूर्णिमाको अघिल्लो दिन भगवान शिवको पूजाआजा गरी जनैपूर्णिमाको दिन श्रद्धालुहरू घर फर्किने गर्दछन् । पाँच दिनसम्म लाग्ने मेलामा हजारौं भक्तजनहरूले पूजापाठ गर्छन् । दैलेख भूर्ति र खुर्सानी बारीका गर्गगोत्रीय आचार्य ब्राम्हणले भैंसीको काँचो दुध चढाएपछि मात्र कालिकोट र दैलेखका अन्य ब्राम्हणद्वारा पूजापाठ सुरु गर्छन् । महावुधाममा पूजा गर्दा अभिलेखसहितका चाँदीका तीनवटा आशागुर्जा, काठका प्रतिकात्मक मूर्ति, गरुडसहितको चाँदीको पञ्चबाला तथा अन्य बहुमूल्य वस्तु विशेष पूजाका बेला मात्र निकालिन्छ । वर्षभर अन्न अभाव हटाउन, गाईवस्तु र अकालमा मृत्यु हुनबाट बचाउन अहिले पनि शिवलिङ्ग पुज्ने चलन छ । महाबुमा पुगेर मागेको बरदान पूरा हुने किंबदन्ती रहेको छ । विवाह गरेको धेरै वर्षसम्म सन्तान नभएकाले वर मागे पूरा हुने धार्मिक विश्वास कायमै छ । पूजापाठका भक्तजनले मुख्य मन्दिरको करिब चार सय मिटर टाढैदेखि बुकी फूलसहित मुखमा घाँस च्याप्ने चलन अहिले पनि कायमै छ । दाम्लो बाँधेकै स्थानमा मरेका पशु चौपायाको मोक्ष प्राप्तीका लागि किसानले घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन छ । नबोलेरै शिवलिङ्ग भएको स्थानलाई तीर्थयात्रीले सात पटकसम्म परिक्रमा गर्छन् । महावु नजिकैको ‘दमौडा’ मा महावै ‘महाभय” र जगन्नाथको भव्य पूजा हुने गर्दछ ।
प्रत्येक वर्ष पूर्णिमा पूजामा दूध धारासँगै पूजापाठ गरेपछि मात्र देशभरका अन्य स्थानमा रहेका देवीदेवताको पूजा हुने प्रचलन छ । दैलेख र कालिकोट जिल्लाको सीमानामा रहेको पवित्र महावु लेखमा लाग्ने मेलामा दैलेख, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, काठमाडौं लगायत भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । पहिले–पहिले महावुधाममा महिला गए ‘अनिष्ट हुन्छ’ भन्ने थियो । अहिले भने महिलाहरूलाई महाबु दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । ‘मनोकांक्षा पूरा होस्’ भनेर महादेवलाई त्रिशूल चढाउँछन्, भक्तजन ।
पर्यटकको पर्खाइमा महावु
कर्णाली प्रदेशको सबै भन्दा उच्च स्थानमा रहेको धार्मिक तथा पर्यटकीय महाबु मेला लाग्ने भएकोले यो ठाउँ उत्तिकै रमरणीय छ । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको महावुधाममा प्रत्येक वर्ष जनैपूर्णिमाको दिनमा पूजा गर्ने परम्परा रहेको छ । कर्णाली प्रदेशका जनताले ‘सुनको शिरानीमा सुतेर नुनको खोजी गर्दै हिँड्ने’ समाजसेवामा लागेका जिल्ला र केन्द्रस्तरका नेतालाई कम्ती गिज्याएको छैन महाबु गाथले । भनिरहेको छ, म प्रकृतिले दिएको उपहारलाई समाजसेवी, विवेकशील मानिसले किन चिन्न सकेनन् ? अधिकाँश नेता र बुद्धिजीवी, कर्मचारीको घरको एक कोठमा भारतीय र नेपाली नायक, नायिकको तस्वीरले कोठा सजिएका छन् तर म प्रकृतिको उपहारलाई किन हेला गरेको यस्तै–यस्तै प्रश्न उत्तर मागिरहेको छ महाबु गाथ र पाटनले ।
जिल्ला सदरमुकाम दैलेखदेखि ४५ किलोमिटर सवारी साधनको यात्रा र ६ घण्टाजति पैदल यात्रा सकिए मात्र भेटिन्छ महाबु गाथ । अहिले महावु जाने सडक नै जोखिमपूर्ण बनेको छ । निकै अग्लो भू–भागमा रहेको रमणीय पाटन क्षेत्रमा एकै छिनमा पानी पर्ने अनि पुनः बादलले ढाक्ने हुँदा पनि पर्यटक आकर्षित हुने गरेका छन् । तर महाबुको बारे जति सुकै प्रचार–प्रसार भए पनि अहिलेसम्म आन्तरिक पर्यटक बाहेक बाह्य पर्यटककले पाइलासमेत टेकेका छैनन् । त्यसभेगतिर सधैंजसो आवत–जावत गर्ने व्यक्तिले सजिलैसँग लिस्ने उकालो पार गरे पनि तराई र अन्य ठाउँबाट आएका भक्तजनलाई हम्मे–हम्मे पर्दछ । पहाडको चट्टान सिधा ठाडो उकालो लिस्नो (भ¥याङ) जस्तै भएकोले त्यसको नाम लिस्ने नामाकरण गरिएको बुढापाकाको भनाइ रहेको छ । जिल्लामा पर्यटन प्रवद्र्धन गर्न र पर्यटकीय स्थललाई चिनाउन आधा दर्जन महोत्सवहरू सञ्चालन भए पनि महावुधाम मेलाको प्रवद्र्धन गर्न कुनै निकायले चासो दिएको छैन । जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक क्षेत्रको मर्मत गर्नु पहिलो आवश्यकता हो ।
मनोरम दृश्य, लेकाली परिवेश !


काँधमा त्रिशुल बोकेर शिव महिमा गाउँदै जीप, मोटरसाइकलमा र कोही पैदल यात्रा गरी महावुधाम पुग्छन् । मुलुककै प्रसिद्ध धामका रूपमा परिचित भएकै कारण प्रत्येक वर्ष धार्मिक तीर्थालु बढ्दै गएका छन् । महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख तथा जाजरकोटका गाउँ सहजै हेर्न सकिन्छ । भैंसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानवबस्ती रहेको उनीपाटा बास बसेर भोलिपल्ट बिहान दुईदेखि तीन घण्टा पैदल यात्रापछि पाटन पुगिन्छ । मनोरम दृश्य, लेकाली परिवेश, विविध प्रजाति र वेशभूषा अवलोकन गर्दै पैदल यात्रा गर्दा थकानकै अनुभूति हुँदैन । पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटक साउन र भदौमा बढी हुन्छन् । हिउँदमा टम्म हिउँ पर्ने भएकाले पनि पाटन पुग्न मुस्किल हुन्छ । त्यहाँ पुग्नेहरूले पाटनमै बगेको खोलामा नुहाएर ठाडो लेकमा शिवलिङ्ग पूजा समेत गर्दछन् । शिवलिङ्ग पूजा गर्नुअघि पाटनमा रहेका देवल महावु पाटन उक्लिएपछि चारैति आएको चिसो हावाले शरीर काम्न थान्छ । ठूल्ठूला ढुङ्गा काखमा रहेको शिवलिङ्ग दर्शन गर्दै पाटनका सुन्दर दृश्यसमेत निहाल्छन् पर्यटक । पाटनमा फुलेका बुकीका रंगीविरंगी फूलले यात्रा अवधिभरको थकानै मेटाउँछ । सात महिना बढी हिउँ पर्ने महावु दैलेखकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ ।
कर्णालीको प्रवेशद्वार
यो पाटन कर्णाली प्रदेश छिर्ने प्रवेशद्वार पनि हो । महावु अर्को विशेषता विगतको कर्णाली अञ्चल प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग हो । महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्छ । भविष्यलाई हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरू यहाँ रोक्न विशेष योजनाहरू ल्याउनुपर्छ । त्यसो गर्न सके कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटकहरू बढ्नेछन् । प्रचार–प्रसार अभावमा मनोरम दृश्यहरू भएको महावुधाम अझै ओझेलमा परेको छ ।

 

 





Leave a comment

Your email address will not be published.


*