कर्णालीका पर्यटकीय गन्तव्य : पूर्वाधार निर्माणमा बेवास्ता

          |   प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५     ::: 75 पटक पढिएको   |  

मुलुककै प्रमुख पर्यटकीय गन्तव्य मानिएका रारा ताल, से–फोक्सुन्डो ताल, काँक्रेविहार, बुलबुले ताल, पञ्चकोसी, छायानाथ तीर्थस्थल, स्यार्पु ताल, सिंजा उपत्यका, कुपिन्डे ताललगायत पर्यटकीय गन्तव्य अझै ओझेलमा

आश्विन १५, काठमाडौँ 

कर्णाली प्रदेश सरकारले २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ को रूपमा मनाउने घोषणा गरे पनि पूर्वाधार अभावमा यहाँका प्रमुख पर्यटकीय गन्तव्य पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । मुलुककै प्रमुख पर्यटकीय गन्तव्य मानिएका राराताल, से–फोक्सुन्डो ताल, काँक्रेविहार, बुलबुलेताल , पञ्चकोसी, छायानाथ तीर्थस्थल, स्यार्पुताल, सिंजा उपत्यका, कुपिन्डेताललगायत पर्यटकीय गन्तव्य अझै ओझेलमा छन् ।

सडक, होटल, विद्युत्, खानेपानी, सञ्चारलगायत असुविधाका कारण कर्णालीका प्राकृतिक तथा सांस्कृतिक सम्पदा ओझेलमा परेका छन् । अधिकांश पर्यटकीय स्थलको गुरुयोजना नबन्दा पूर्वाधार निर्माणका अधिकांश काम अधुरै छन् । पर्यटकलाई आकर्षित गर्ने कुनै प्याकेज नहुँदा र सडक यातायातको भरपर्दो व्यवस्था नहुँदा पर्यटकीय स्थलमा बाह्य पर्यटकको आगमन शून्य छ । प्रदेश सरकारले वर्षभरि ५ लाख पर्यटक भित्र्याउने दाबी गरेको छ, तर अधिकांशमा आधारभूत सुविधासमेत छैनन् ।

रारा यात्रा कष्टपूर्ण
पूर्वाधार अभावका कारण रारा पुग्ने पर्यटक स्तरीय होटलको अभावमा चौरमा टेन्ट राखेर रात बिताउनुपर्ने बाध्यता छ । रारा किनारमा डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्ट दुई होटल सञ्चालनमा छन् । दुवैको क्षमता एक सय बढी पर्यटक अटाउन सक्ने छैन । रारा हुटुदेखि १५ मिनेट टाढाको माझघट्टमा होमस्टेको व्यवस्था गरिए पनि अधिकांश पर्यटक त्यहाँ जान रुचाउँदैनन् ।

गुरुयोजना नबन्दा पर्यटकको संख्या न्यून भएको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । उनले सडक र हवाई यातायातको समस्याका कारण रारा अझै पर्यटकको रोजाइमा नपरेको बताए । विद्युत्, इन्टरनेट र सञ्चार असुविधाका कारण पनि पर्यटक धेरै दिन रारामा टिक्न सकेको छैनन् ।

नाग्म–गमगढी सडकको लामो समयदेखि स्तरोन्नति हुन नसक्दा पर्यटकलाई आउजाउमा समस्या हुने गरेको छ । कच्ची सडक भएकाले सधैं हिलाम्मे र धूलाम्मे हुने गरेको छ । हवाई मार्गबाट आउने पर्यटकको संख्या करिब शून्यजस्तै छ । नेपाल वायुसेवा निगमले रारामा सातामा एक उडान भर्ने गरेको छ, त्यो पनि नियमित नभएको पर्यटन विकास समितिका अध्यक्ष रोकायाले बताए ।

निजी हवाई कम्पनीले पनि उडान गर्न नमान्ने गरेको उनले जनाए । ‘दैनिक एक सय जना पर्यटक जहाजमार्फत रारा जान्छु भन्दा जान पाउँदैनन्,’ रोकायाले भने, ‘सरकारले फ्युलमा केही अनुदान दिए हवाई मार्गबाट विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ रारामा भदौदेखि मंसिरसम्म पर्यटक घुम्नका लागि राम्रो सिजन मानिन्छ । सिजनको बेला दैनिक दुई हजारसम्म पर्यटक रारामा आउने गरेका छन् ।

सरकारी स्तरबाट राराको विकासका लागि लगानी न्यून भए पनि स्थानीयवासीको सक्रियतामा रारामा दुई सुविधासम्पन्न होटेल स्थापना गरिएको छ । त्यस्तै माझघट्टमा १२ होटल सञ्चालनमा छन् । सबैमा दैनिक चार सय जनालाई एक दिनमा खान बस्ने सुविधा छ । एक सय बढी घोडामार्फत आसपासका गाउँमा घुम्ने व्यवस्थासमेत स्थानीयकै सक्रियतामा भएका छन् । त्यस्तै दुई डुंगामार्फत पर्यटकलाई तालमा घुम्ने व्यवस्था मिलाइएको छ ।

काँक्रेविहारको पुनर्निर्माण अधुरै
काँक्रेविहार पुनर्निर्माण सुरु भएको डेढ दशक बिते पनि अझैसम्म काम अधुरै छ । जंगलमा यत्रतत्र छरिएर रहेका कलात्मक ढुंगा, मूर्तिलगायतका भग्नावशेषलाई जोडेर २१ दशमलव ५ मिटर अग्लो मन्दिर निर्माण गर्न थालिएको छ ।

बौद्ध संस्कृतिका अध्येता जीवनकुमार शाक्यले काँक्रेविहार लुम्बिनीपछिकै ऐतिहासिक, पुरातात्त्विक पर्यटकीय स्थल रहेको दाबी गरे । ‘यहाँ ठूलाठूला ढुंगामा कुँदिएका कलात्मक शैलीका तमाम मूर्तिहरू छन्, अब पुरानै शैलीमा मन्दिर बन्दै छ,’ उनले भने, ‘यसले गर्दा काँक्रेविहारको मात्र नभई समग्र सुर्खेतकै सान बढाउँछ ।’ तर, पूर्वाधार अभावका कारण काँक्रेविहार ओझेलमा परेको उनले बताए ।विभागले २०५७ सालमा उत्खनन् सुरु गरेको थियो । उत्खननलगत्तै मन्दिर पुनर्निर्माण थालिएको थियो । अग्लो डाँडामा निर्माण हुन लागेको शिखर शैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थानहरूको दृश्यावलोकन गर्न सकिनेछ ।

शिवविहार पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरले काँक्रेबिहारको पुनर्निर्माणसँगै मध्यपश्चिमको पहिलो पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे । हाल काँक्रेविहारमा दैनिक ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । मन्दिरको अनुमानित लागत ९ करोड ६५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

बुलबुले गुरुयोजनामै सीमित
प्रदेश राजधानी वीरेन्द्रनगरको अर्को पर्यटकीय गन्तव्य बुलबुले ताल पनि ओझेलमै छ । आसपासका जिल्लाका आन्तरिक पर्यटकले मात्र धानिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले चार महिनाअघि बुलबुले विकासको गुरुयोजना बनाइएको बताए ।

बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थलसहित एउटा डुंगा सञ्चालनमा छन् । ‘धेरै पूर्वाधार निर्माणका काम गर्न बाँकी छ, गुरुयोजना निर्माण गरिएको छ,’ कोइरालाले भने, ‘प्रदेश सरकारसँगको समन्वयमा बुलबुलेलाई प्रदेशकै नमुना धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।’

बुलबुलेको साढे ३१ बिघा क्षेत्रलाई घेर्ने गरी कम्पाउन्डको काम ९ महिनादेखि सुरु भए पनि ढिलाइ भइरहेको कोइरालाले बताए । उनका अनुसार खुला क्षेत्र भएकाले साढे चार करोड लगानीमा कम्पाउन्डिङको काम भइरहेको हो । जगको काम भइसके पनि अन्य कामले गति लिन सकेको छैन । बुलबुले प्रवेश गर्नेबाट प्रतिव्यक्ति १० रुपैयाँ रकम व्यवस्थापन समितिले संकलन गरिरहेको छ । गत आर्थिक वर्षमा एक लाख ९० हजार पर्यटक बुलबुलेमा प्रवेश गरेको समितिले जनाएको छ ।

गुरुयोजनाअनुसार ३१ करोड ६५ लाखको पूर्वाधार निर्माणको योजना छ । कर्णाली प्रदेशका सबै पर्यटकीय स्थलको सूचना केन्द्र, स्विमिङ पुल, ओभरहेड ट्याङ्की बनाएर खानेपानी वितरण, गायत्री शक्तिपीठ रहेको क्षेत्रलाई धार्मिकस्थल बनाउनेलगायत योजना गुरुयोजनामा समावेश गरिएको छ ।

त्यस्तै १० धारा भएको स्थानलाई बुलबुले प्लाजा बनाउने, त्यसभन्दा तल गार्डेन, ताललाई तीन गुणा ठूलो बनाउने, इत्राम खोलाभन्दा पारिको स्थानलाई पिकनिक स्पट बनाउने योजना रहेको कोइरालाले जनाए । ‘यस वर्ष प्रदेश सरकारको समन्वयमा पाँच करोडको पूर्वाधार निर्माण गर्ने योजना छ,’ कोइरालाले भने, ‘चिल्ड्रेन पार्क बनाउन आवश्यक बजेटको व्यवस्था भइसकेको छ ।’

अन्यौलमा स्पार्पु र फोक्सुन्डो
पश्चिम रुकुमस्थित बाँफिकोट गाउँपालिका ३ र ५ नम्बर वडामा फैलिएको स्यार्पुतालमा बिहीबारदेखि दोस्रो पर्यटन महोत्सव आयोजना गरिएको छ । यसअघि २०६७ सालमा पहिलोपल्ट महोत्सव आयोजना गरिएको थियो । महोत्सवको बेला स्यार्पु आसपासका क्षेत्रमा स्थानीयले पाहुना राख्ने र स्थानीय खानाको परिकार पर्यटकलाई खुवाउने गरे पनि अरू बेला आएका पर्यटक समस्यामा पर्ने गरेका छन् ।

सडक सुविधा भए पनि उपयुक्त बसोबासको व्यवस्था नहुँदा स्यार्पु जाने पर्यटक एक दिन टिक्न सक्दैनन् । महोत्सव मूलआयोजक समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले पर्यटकलाई भित्र्याउन कार्यक्रम आयोजना गरिएको दाबी गरे पनि बस्ने र खाने व्यवस्था नहुँदा समस्या हुने गरेको आन्तरिक पर्यटकको गुनासो छ ।

दुई दशमलव ६ किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पुतालसम्म सडक सुविधा भए पनि बाह्रै महिना गाडी चल्दैनन् । स्यार्पुको विकासका लागि गुरुयोजनाबिनै विभिन्न काम भइरहेका छन् । स्यार्पुको चारैतिरबाट सडक निर्माण गरिएको छ, जसले पर्यावरणमा असर पारिरहेको संरक्षणकर्मीको भनाइ छ ।

कर्णालीको महत्त्वपूर्ण पर्यटकीय सम्पदा मानिएको से–फोक्सुन्डोमा सडक असुविधाका कारण घुम्न जाने पर्यटकको संख्या औंलामा गन्न सकिने अवस्थामा छ । उचित बासस्थान अभाव, सञ्चार, विद्युत्लगायत असुविधाका कारण विभिन्न विकासका काममा सदरमुकाम गएका केही आन्तरिक पर्यटक मात्र से–फोक्सुन्डो जाने गरेका छन् ।

फोकसुन्डोको जलाधार क्षेत्रबारे भर्खरै मात्र अध्ययन सुरु गरिएको सामुदायिक वन उपभोक्ता महासंघ डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । उनका अनुसार से–फोक्सुन्डोमा रहेका ३४ जलाधार क्षेत्रबारे अध्ययन थालिएको हो । ‘अहिलेसम्म कुनै स्पष्ट अध्ययन–अनुसन्धान र पूर्वाधार निर्माणका काम हुन सकेका छैनन्,’ उनले भने, ‘अध्ययनपछि फोक्सुन्डोको दिगो विकास र पर्यावरण संरक्षणका काम गर्न सरकारी तथा अन्य निकायलाई सहयोग पुग्नेछ ।’

पञ्चकोसीको बेवास्ता
एक हजारभन्दा बढी विभिन्न प्राचीन महत्त्वका सम्पदा रहेको दैलेखमा पूर्वाधार विकास हुन नसक्दा पर्यटकीय चहलपहल न्यून छ । दैलेखका नाभिस्थान, ज्वाला, पञ्चदेवल र पञ्चकोसीलगायत पर्यटकीय गन्तव्य वर्षैभरि सुनसान देखिन्छन् ।

दैलेखका ११ स्थानीय तहले गत आर्थक वर्षमा करिब ४३ करोड लगानीमा सडक निर्माण गरे पनि दुई महिना नबित्दै अधिकांश अवरुद्ध बनेका छन् । सडकको राम्रो सुविधा नहुँदा पर्यटकको आवागमन सन्तोषजनक हुन सकेको छैन । बरु विभिन्न मानवीय क्रियाकलापका कारण पर्यटकीय सम्पदा जोखिममा पर्दै गएका छन् । जथाभावी उत्खननका कारण दैलेखको पहिचान बोकेको श्रीस्थानको ज्वाला सानो बन्दै गएको मन्दिरका पुजारीको भनाइ छ ।

नेपाली भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट भएको मानिए पनि त्यसको लिपिबद्ध गरिएको इतिहास दैलेखमा छ । नेपालीभाषा लिपिबद्ध गरिएको सबैभन्दा पुरानो भाषालिपि दुल्लुमा छ । शिलालेखमा लेखिएको ‘क’ र ‘ॐ’ शब्दको अस्थित्व अहिले संकटमा परेको स्थानीय अगुवा बताउँछन् ।

खस मल्लकालीन साम्राज्यकालमा जुम्लाको सिंजा हाटमा ग्रीष्मकालीन र दैलेखको दुल्लुमा शीतकालीन राजधानी थियो । संरक्षण अभावमा दैलेखका विभिन्न स्थानमा रहेका एक हजार बढी सम्पदाको अवस्था विजोग छ ।

दुल्लु नगरपालिकाको चौबाटो अवस्थित शिलालेखसमेत संरक्षणविहीन अवस्थामा छ । दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीले विवादका कारण पुरातात्त्विक सम्पदा संरक्षणमा समस्या भएको बताए । गत वर्ष पुरातत्त्व विभागबाट आएको सात लाख रकम विवादका कारण खर्च हुन सकेन । यस वर्ष चार लाख रकम विनियोजन भएको छ ।

दुल्लु बजारमा नेपाली भाषा लिपिबद्ध गरिएका तीन शिलालेख छन् । भाषाको दृष्टिले मात्र नभएर ती सम्पदा ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व रहेको स्थानीयको भनाइ छ । अधिकांश सम्पदा भग्नावशेषमा परिणत हुन थालेकोमा स्थानीयको गुनासो छ । दैलेख विभिन्न ३२ वटा जातजातिको उद्गमथलो भएकाले पनि जिल्लाले महत्त्वपूर्ण पहिचान बनाएको छ ।

पञ्चकोसी क्षेत्रमा पर्ने श्रीस्थान, कोटीला, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवीलगायत पञ्चकोसी क्षेत्रमा महत्त्व बोकेका पुराना मूर्ति र घन्टहरू अहिले चोरी भइसकेका छन् । जिल्लाका ४० सम्पदा खानी तथा भूगर्भ विभागमा सूचीकृत भएका छन् तर सबैमा पूर्वाधार विकास शून्यजस्तै छ ।

सदरमुकाम दैलेख बजार नजिकै रहेका ९ सय वर्षअघिका भुर्तीस्थित पञ्चदेवललगायत मन्दिर टुत्रिँmदै र फुट्दै गएका छन् । तीनवटाको जीर्णोद्धारको काम भए पनि प्रचारप्रसार र व्यवस्थित नहुँदा ओझेलमा पर्दै गएका छन् । सदरमुकामको मध्यभागमा कोतगढी निर्माण गरिएको छ । बाइसे र चौबीसे शासनकालमा बनेका कोतगढी नेपाली सेनाको सुरक्षामा छन् । पर्यटकले गढीको अवलोकन गर्न खोजे पनि सुरक्षाको कारण भन्दै वञ्चित गराइँदै आइएको छ ।

स्थानीय अगुवा खड्गराज सिजापतिले पुरातात्त्विक महत्त्वका सम्पदा धेरै भए पनि संरक्षण र पूर्वाधार निर्माणको अभावका कारण पर्यटकको रुचिमा पर्न नसकेको बताए । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खडाले पर्यटकीय महत्त्वका सम्पदाको संरक्षण गरी पर्यटकीय गतिविधि बढाउने गरी नगरपालिकाले योजना निर्माण गरिरहेको बताए ।

कालिकोटका पर्यटकीय स्थलको प्रवद्र्धनमा सडकलगायत पूर्वाधार प्रमुख समस्या हुन् । यद्यपि, कर्णाली सरकारले अछामको रामारोशन हुँदै बडिमालिकाको त्रिवेणी पाटन र रास्कोटको सिप्टी जोड्ने पर्यटकीय सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । कान्तिपुरबाट





Leave a comment

Your email address will not be published.


*