महिलाको ज्यान लिँदै छाउपडी प्रथा

          |   प्रकाशित मितिः बुधबार, अशोज २४, २०७५     ::: 135 पटक पढिएको   |  

हिक्मत बहादुर नेपाली, दैलेख ।

एक बर्षअघि चामुण्डाविन्द्रासैनी नगरपालिका ४ की २४ बर्षिया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो । महिनावारी भएको समयमा गोठमा बसेकै बेला २०७४ जेठ ८ गते विकले अकालमै ज्यान गुमाउनु प¥यो ।

त्यसको दुई महिना नबित्दै सोही नगरपालिका की तुल्सी शाहीको पनि छाउगोठमै ज्यान गयो । लैनचौरकी २१ बर्षिया तुल्सी शाहीको २०७४ असार २२ गते राती सर्पले टोकेको थियो । सर्पले टोकेर घाइते भएकी तुल्सीलाई अस्पताल पुर्याउनुको साटो धामीझाँक्रीको भर पर्दा असार २३ गते उनले पनि ज्यान गुमाइन् । यी त केही उदाहरण मात्रै हुन् । जिल्लामा हरेक वर्ष छाउगोठमा कुनै न कुनै महिलाले ज्यान गुमाइरहेका छन् । कतिपय घटना सार्वजनिक हुन्छन् भने कतिपय घटना बाहिर नै आउँदैनन् ।

धार्मिक अन्धविश्वास प्रमुख कारण

प्राचीन कालदेखि नै चलिआएको कर्णाली प्रदेश लगाएतका पहाडी भेगहरुमा अझै पनि ज्वलन्त रहेको प्रर्था हिन्दु धर्म मान्ने धेरै समुदायहरूमा अहिले पनि मानिन्छ । रजश्वला तथा सुत्केरी भएका बेला छाई–छुई गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने धार्मिक अन्धविश्वास छाउपडी प्रर्थाको प्रमुख कारण मानिन्छ । कर्णाली प्रदेशको छाउपडी प्रथा धेरै मानिने जिल्ला मध्ये दैलेख पनि एक हो । छाउगोठमा बसेका बेला सर्पले डसेर किशोरीको ज्यान गएका बेला दैलेखको निकै चर्चा पनि भएको थियो । संघिय संसद्मा समेत यसको चर्चा चलेको थियो ।

छाउपडी प्रथालाई न्युनिकरण गर्न दैलेखमा अभ्यास नभएका पनि होइन तर, जे जति लगानी गरियो त्यस अनुसारको प्रतिफल भने प्राप्त हुन सकेको छैन । छाउपडी प्रथा न्यूनिकरणका लागि थुप्रै योजनाहरु पनि बने ।

छाउपडी प्रर्था न्यूनिकरण गर्न थुप्रै नक्साहरु कोरिए तर अपेक्षाकृत हुन सकेन् । कोरिएका नक्सा र योजनाहरु कागजमै सिमित भए । जिल्लामा छाउपडी प्रर्था न्यूनिकरण गर्नुपर्छ भन्ने आवाज नउठेका पनि होइनन् । ति आवाजहरु होटलका सभाहल र खुलामञ्चका ठुल्ठुला कार्यक्रमहरुमा सिमित भए ।

प्रथालाई न्यूनिकरण गर्ने भन्दै जिल्लामा महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गैरसरकारी संघसंस्थाले थुप्रै कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । तर आज सम्म छाउपडी प्रथा न्यूनिकरण गर्नको लागि कति बजेट खर्च भयो ? कुन–कुन ठाउँमा खर्च भयो ? कत्तिको प्रभावकारी रह्यो ? यसको लेखाजोखा न सरकारी कार्यालयहरुले गरे न त गैर–सरकारी कार्यालयहरुले राखेका छन् ।

छाउगोठको पुर्नबहाली

दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकाका विभिन्न वडाहरुमा अहिले पनि छाउपडी प्रथाले जरो गाडेर बसेको छ । त्यस मध्येको वडा नं. ६ को खड्कागडेन स्थित दलित बस्ती पनि छाउपडि प्रर्थाबाट अछुतो छैन् । तत्कालिन जनयुद्धताका गाउँमा महिलाहरु लुकेर छाउ बस्ने गर्थे, तर अहिले त्यो चलन फेरिएको छ ।

उनीहरु घर भन्दा अलग्गे बनाईएको गोठमा चाहेर, नचाहेर बस्न बाध्य छन् । ‘हामीले छाउ गोठमा बस्न नचाहेपनि परिवारका अरुले घरमा बस्न दिँदैनन्, खड्कागडेन स्थित जमुना वि.क.ले भन्नुभयो, ‘गोठमा बस्दा सर्पको डर हुन्छ ।’ विकका अनुसार उक्त दलित बस्तीमा करिब १ सय घर धुरी रहेका छन् ।

ती हरेक घरमा अलग्गै छाउगोठ छन् । विकले बस्तीका छाउगोठ निकै साँघुरो र अव्यवस्थित भएको बताउनु भयो । उनले भनिन, ‘गोठ शौचालय भन्दा नराम्रा छन् ।’ दलित अगुवा दयाराम विकले समाजमा अहिले कुिरति थप बढेको बताउनु भयो । ‘हामीले त भन्दै आएका छौं, घरमै बस्न भनेर तर परम्परादेखि चलिएको भन्दै मानिसहरुले यसलाई स्वीकार गर्न सकिरहेका छैनन’ उनले भने ।

धर्म र देउता लाग्ने भन्दै पहिलेदेखि नै छाउ वार्ने गरिएको दैलेखमा पुरातनवादी सोचमा परिवर्तन आउन नसकेको उनको भनाई छ । तत्कालीन शसस्त्र संघर्षमा राजनीतिक दबाबका कारण स्थानीयले छाउ बार्न छोडेपनि अहिले भने सबैले बार्ने गरेका छन् । उनले भने, त्यो परम्परालाई तोड्न पहल गर्न आवश्यक छ ।

धार्मिक अन्धविश्वास प्रमुख कारण

स्थानीय युवा बलबहादुर थापाले आफूले घरमै बसाल्ने गरेको बताउनु भयो । ‘हामीले त उहीलेदेखि नै महिनावारी भएको बेला छाउगोठमा राख्ने प्रचलन हटाएका छौं’ उनले भने, हाम्रो टोलमा केही बुढा पुराना महिलाहरुले मात्रै छाउ वार्ने गरेका छन्, ती महिलाहरु पनि घरकै तल्लो तलामा बस्ने गरेका छन् ।

आठबीस नगरपालिका वडा नं. ६ का अध्यक्ष धीरबहादुर शाहीले समाजमा रहेको छाउपडीलाई उन्मुलन गर्ने गरी कार्यक्रम ल्याइने बताउनु भयो । कसैलाई जर्बजवस्ती घरमा राख्न सकिँदैन । उनले भने, तर विस्तारै जनचेतनामुलक कार्यक्रमहरु गरेर नगरपालिका यस्ता बेथिति हटाउन प्रयास गर्नेछ । उहाँले अभियान नै सञ्चालन गरेर छाउगोठहरु भत्काउने बताउनु भयो ।

जिल्लाभर ४ सय छाउगोठ

जिल्ला समन्वय समिति दैलेखले गत बर्ष गरेको सर्वेक्षण अनुसार जिल्लाभर अझै ३ सय ७६ छाउगोठ रहेका छन् । जिल्ला समन्यव समितिले २०७४ मा जिल्लाभर साविकका ४९ वटा गाउँविकास समितिमा छाउगोठको तथ्यांक संकलन गरेको थियो । त्यसबेला गरिएको तथ्यांक अनुसार जिल्लाको बासीमा ९० वटा छाउगोठ छन् । यस्तै राकमकर्णालीमा २९, विशालामा ७, तिलेपाटामा ४, सात्तलामा १९, सिगौडीमा १२,सिंहासैनमा १२ र पिपलकोटमा १ वटा छाउगोठ रहेको तथ्यांक छ ।

त्यसैगरी डाडापराजुलमा २, लाँलीकाँडामा ५, पिलाडीमा १५, गोगनपानीमा ५२ र कालभैरव १७ वटा छाउगोठ रहेको तग्यांक छ । यस्तै कुसापानीमा १, जम्बुकाँधमा ४, लयाटिविन्द्रासैनीाम २३, सल्लेरीमा ६१, चौराठामा २० र तोलीमा २ वटा छाउगोठ रहेको तथ्यांक छ । त्यसयता जिल्लाका कुनै पनि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले तथ्यांक संकलन गरेका छैनन् ।

‘देउता लाग्ने’ डर
आठवीस नगरपालिका वडा नं. ४ की मिना बोहोरा पनि हरेकपटक महिनावारी हुँदा घरभन्दा टाढा बनाइएको गोठमा बस्छिन् । गोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ । तर त्यो भन्दा बढी डर उनलाई देउताको लाग्छ । देउताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा रहेको छाउगोठमा बस्ने गरेकी हुन् । उनी भन्छिन्, ‘हामी महिलाहरु जहाँ बसे पनि डरकै भागेदार बनेका छौं ।’

मिना बोहोराले जस्तै यहाँका सबै महिलाले महिनावारी हुँदा यसैगरी छाउगोठ वा सडक किनारमा एक्लै रात बिताउनु पर्ने बाध्यतामा हुनुहुन्छ । यहाँका महिलाहरु महिनावारी भएका बेला घरभित्र पस्न पाउँदैनन् ।

उनीहरुका लागि छाउगोठ जानु सामान्यजस्तै भइसकेको छ । ‘म मात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो’ मिनाले भनिन्, ‘महिनावारी हुँदा यहाँका सबै महिलाहरु छाउगोठमै बस्छन ।’ दैलेख जिल्लाका हरेक गाउँपालिका र नगरपालिकामा महिला र युवतीहरुले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् ।

‘छुई हुँदा घरभित्रै बस्यो भने त देउता रिसाउँछन्, अनेक समस्या आइलाग्छन’ छाउगोठ जानुको कारण बारे मिनाले भनिन्, ‘देउता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्यो भन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।’ ‘देउता लाग्ने’ डरकै कारण यहाँका महिलाहरु छाउपडी बार्न बाध्य छन् । संस्कारको रुपमा स्थापित भएको कुसंस्कार छाउपडी प्रथालाई त्याग्न नसक्दा यहाँका महिलाहरुको ज्यान नै जोखिममा परेको छ ।

मिना भन्छिन् ‘बाहिर बस्दा सर्पको डर हुन्छ, घर भित्र बस्दा देउताको डर ।’ दैलेख जिल्लाका विभिन्न भू–भागका महिलाहरुमा अहिले पनि महिनावारीको समयमा र सुत्केरी हुँदा घरमा बसे देवता रिसाउछन् भन्ने डर यथावत नै छ ।

जोखिममा ज्यान
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ कि रमिता विक भन्छिन्, ‘जस्तोसुकै अवस्था आए पनि महिनावारी हुँदा छाउगोठमा नबसी सुख छैन ।’ महिनावारी हुँदा छाउगोठको बसाईमा सर्पले डस्ने डर त छदैछ, त्यसमाथी शारिरिक अवस्था पनि कमजोर बन्दै जान्छ ।

छाउपडी र बालविवाहको विषयमा स्थानीय समुदायलाई जागरुक बनाउदै हिडेंकी रमिता भन्छिन्, ‘यहाँका किशोरी र महिला कुसंस्कारको सिकार बन्दै आएका छन्, ज्यान जोखिममै राखेर महिलाहरु छाउगोठमा बस्ने गरेका छन् ।’

किशोरीहरुका लागि काम गर्दै आएकी निर्मला थापा भन्छिन् ‘सुरुमा हामी आफैबाट परिवर्तनको सुरुवात गरेमात्रै यस्ता कुप्रर्थाहरु हटेर जान्छ ।’ ‘पूरुषहरुले छाउगोठमा बस्नुपर्छ भनेर दवाव दिएको भेटिएको छैन्, महिलाहरुनै परम्परागत मान्यतालाई स्विकार्दै छाउगोठमा बस्न खोज्छन्, उनि भन्छिन् ।’

बदल्न नसकिएको अन्धविश्वास

गाउँका सबै महिला र युवतीहरु महिनावारी हुँदा छाउगोठमै बस्ने गरेको ठाँटीकाँध गाउँपालिका वडा नं. ५ की अस्मिता शाहीले बताइन् । जिल्लाका दुर्गम गाउँपालिकाका वडाहरुमा बसोबास गर्दै आएका सबैजसो महिलाहरुको बाध्यता बनेको छ, छाउगोठ ।

महिनावारी हुँदा सात दिन र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाहरुले विभिन्न किसिमका समस्याहरु झेल्नु परेको चामुण्डाका सुरेन्द्र देवकोेटाले बताउनु भयो । तर यहाँका नागरिकले यसलाई संस्कारकै रुपमा स्वीकार गरेको उहाँ बताउनु हन्छ ।

पुरानो पुस्ताका बुढापाकाहरुको जिद्दी र नयाँ पुस्ताले पनि त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको देवकोटाको भनाइ छ । गाउँमा बालक्लब र विभिन्न सामाजिक संघ संस्थाहरुले छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविस्वास हो भनेर जतिपटक जानकारी गराएको भए पनि यो भ्रमबाट मुक्त हुन नसकेको जिल्ला बाल संजाल दैलेखका सचिवसमेत रहेका सुरेन्द्र देवकोटाले बताउनु भयो । पुर्खादेखि नै चल्दै आएको चलन भएकाले छाउपडी प्रथाको छाप मेटाउन नसकिएको गुराँस गाउँपालिकाका यामलाल विकले बताउनु भयो ।

किशोरीको पढाईमा बाधा

महावु गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालयमा अध्ययनरत मनिषा विष्ट विद्यालयमा महिनावारी हुँने वित्तीकै घर फर्किन्छिन् । उनी मात्र होइन विद्यालयका अन्य किशोरीहरु पनि विद्यालयको समयमा महिनावारी हुँदा भर फर्किने गरेका छन् । महिनावारी भएको पाँच दिन पछि मात्रै विद्यालय जाने गरेको मनिषाले बताइन् ।

छाउपडी प्रथाकै कारण विद्यालयमा अध्यनरत किशोरीहरु महिनावारी हुँदा विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छोड्ने गरेको उनले बताइन् । महिनावारीबारे जनचेतना जगाउन नसक्दा र छाउपडी प्रथाकै कारण यस्तो समस्या देखिएको उनको भनाइ छ । यस्तो अवस्थामा घर बाहिर बस्नु पर्दा कलिला बालिकाहरुमा मानसिक समस्यापनि निम्तीएको मनिषाको भनाई छ ।

छाउगोठमै फर्किए महिला

पाँच बर्षअघि दैलेख जिल्लाका साविकका गाउँविकास समितिलाई छाउपडी मुक्तगाउँ घोषणा गरिएको थियो । २०६९ साल असार यता दैलेख जिल्लाका राकमकर्णाली, तिलेपाटा, पिपलकोट लगाएतका गाउँलाई छाउगोठ मुक्त घोषणा गरियो । त्यतिबेला छोउगोठ मुक्त घोषणा गरिएका साविकका गाउँविकास समितिहरुमा अहिले छाउगोठ बनि सकेका छन् ।

छाउगोठमुक्त घोषणाा गरिएका स्थानमा नै महिलाहरु पुनः छाउगोठमै फर्किएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाएको छ भन्नेबारे सबैलाई थाहा नभएको पनि होइन । तर परम्परागत संस्कारलाई उनीहरुले त्याग्न भने सकेका छैनन् । भैरवी गाउँपालिकावडा नं. १ रावतकोटकी कुस्मा विष्ट भन्नुहुन्छ, ‘छाउपडी प्रथा गलत हो भन्ने पनि सबैलाई थाहा छ, तर देउताको डरबाट भने यहाँका महिलाहरु उम्किन सकेका छैनन् ।’

पहिलेदेखि चलि आएको चलनलाई नकार्न निकै गाह्रो भएको स्थानीय महिलाहरु बताउनु हुन्छ । ‘महिनावारी हुँदा गोठमा घरभित्र बसे आगलागी हुन्छ’ आठवीस नगरपालिकाकी मिना बोहोराले भन्नुभयो ‘देउता रिसाए भने हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?’

छाउपडी कानुन कार्यान्वयनमा कठिन

२०७५ भदौ १ गतेबाट लागू भएको अपराध संंहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको छ । मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ । अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ र त्यसै अनुसार सजाय पनि हुनेछ । नयाँ कानुनमा छाउपडीलाई अपराध मानेपनि व्यवहारमा भने लागू हन सकिरहेको छैन् ।

पीडितले जुनसुकै प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्नेछन् । प्रहरीले उजुरी लिन आनाकानी गरेमा वा उजुरी नलिएमा जिल्ला प्रशासन कार्यालय वा त्यो भन्दा माथिल्लो निकायमा पनि उजुरी दिन सक्ने व्यवस्था छ ।

अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलालाई महिनावारीका समयमा विभेद गर्न नहुने लेखिएको छ । तर, यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिए तापनि हालसम्म छाउगोठमा बस्ने चलनमा भने कमी भएको छैन् । छाउगोठमै महिलाले ज्यान गुमाउनुपरेका कारण आएको कानुनलाई कार्यान्वयन गर्न चुुनौती देखिन थालेको छ ।

छाउगोठमा बस्नुलाई अपराध मानिए तापनि हालसम्म स्थानीय न्यायिक समितिमा उजुरी नै नआएको आठवीस नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले बताउनु हुन्छ । ‘घरमा को बस्छ, कसको अवस्था के छ भनेर अहिलेसम्म अनुगमन गर्न सकेका छैनौ, सामान्य जानकार भएका महिलाहरु छाउगोठमा बस्नु हुँदैन्, चेतनाको कमी भएका वर्ग र समुदायमा यो समस्या व्याप्त छ, उहाँले भन्नु भयो ।

जिल्लामा जरै गाडेर बसेको छाउपडी प्रथा न्यूनिकरणका लागि भदौ १ गते देखि लागु भएको नयाँ कानुनलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने अधिवक्ता गोपाल विराजी नेपाली बताउनु हुन्छ । कानुनको प्रभावकारी कार्यान्वयनसंगै कानुन बारे स्थानीयस्तरमा जानकारी गराउनु आवश्यक छ, उहाँ भन्नुहुन्छ ‘अहिलेका स्थानीय तहहरुले पनि भौतिक विकासमात्रै नभई सामाजिक विकासका लागि पनि विभिन्न कार्यक्रमहरु बनाउनुपर्छ ।’

जिल्लामा महिला र किशारीको अधिकार र पैरवीको क्षेत्रमा काम गर्दै आउनुभएकी निर्मला बिसीले कानुनी रूपमै अपराध मानिएको छाउपडी प्रर्था न्यूनिकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन संगै जिल्लामा रहेका स्थानीय तहहरुले चेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “जिल्लामा परम्परागत रुपमा धार्मीक अन्धविश्वासले छाउपडी प्रर्था कायमै छ, त्यसलाई हटाउनुपर्छ, त्यसो गर्न सके मात्र प्रर्थालाई जरै देखि हटाउन सकिन्छ ।”





Leave a comment

Your email address will not be published.


*