कर्णालीका २१ पर्यटकीय गन्तव्य : कुन ठाउँमा कसरी पुग्‍ने ?

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १८, २०७५     ::: 11 पटक पढिएको   |  

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, जुम्लाको सिञ्जा उपत्यका, मुगुको राता ताल, दैलेखको पञ्चकोसी धार्मिक पर्यटन विकास ९पञ्चकोसी ज्वाला क्षेत्र० र सुर्खेतको काँक्रेविहार, देउतीबज्यै र मदन आश्रित पार्क प्रमुख पर्यटकीय क्षेत्र हुन्।

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/Sebhoksundo.jpg

सुर्खेत- कर्णाली प्रदेश भौगोलिक रूपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ। धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले पनि विशिष्ट छ कर्णाली। कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो। यही संग्रहालयबाट सरकारले हालै सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीबका २१ वटा पर्यटकीय क्षेत्र समावेश गरिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छनोटमा कर्णालीका १० जिल्लाबाट २१ वटा पर्यटकीय गन्तव्य समावेश छन्। कर्णालीका पाँच जिल्लाका सात वटा पर्यटकीय गन्तव्य स्थापित तथा प्रवद्र्धन गरिनुपर्नेमा समेटिका छन्। त्यस्तै दस जिल्लाका १४ नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यका रूपमा गन्तव्य छनोटमा परेका छन्।

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, जुम्लाको सिञ्जा उपत्यका, मुगुको राता ताल, दैलेखको पञ्चकोसी धार्मिक पर्यटन विकास (पञ्चकोसी ज्वाला क्षेत्र) र सुर्खेतको काँक्रेविहार, देउतीबज्यै र मदन आश्रित पार्क स्थापित तथा प्रवद्र्धन गरिने गन्तव्य हुन्।

सल्यानको कुपिन्डे दह, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगुको रारा-शे-फोक्सुन्डो ट्रेकिङमार्ग, कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु पर्यटकीय विकास क्षेत्र, सुर्खेतको जाजुरा दह, गुप्ती ताल, भादले गुफा, शिव गुफा, गिद्देडाँडा र रुकुम पश्चिम वोतामकोट चित्री पाटन साहसिक पदमार्ग नयाँ तथा विकास गरिने गन्तव्यका रुपमा छनोटमा परेका छन्। १४ वटा नयाँ तथा विकास गरिने पर्यटकीय गन्तव्यमध्ये अधिकाँश कम चर्चामा आएका पर्यटकीय स्थल हुन्।

भौगोलिक विकटता र मानव विकास सूचांकमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौन्दर्यले भरिएको छ। कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ। स्वर्गकी अप्सरा उपनाले चिनिने रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।

कुन पर्यटकीय क्षेत्रमा कसरी पुग्ने ?

रारा ताल

सरकारले सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय क्षेत्रमध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य हो। रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो। प्रदेशको राजधानी सुर्खेतबाट निजी सवारीसाधनको प्रयोग गरेर करिब डेढ दिनमा रारामा पुग्न सकिन्छ। यात्राका लागि स्कारपिओ, सुमो, र बाइक निकै उपयोगी हुन्छ। सुर्खेत, नेपालगन्ज, दैलेख, कालिकोट हुँदै मुगुको रारामा पुग्न सकिन्छ। कालिकोटको नाग्मादेखि रारातालसम्म पूरै बाटो कच्ची छ। त्यसैले यात्राका लागि ह्याभी सवारीसाधन उपयुक्त हुन सक्छ।

रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ। एक सय ६७ मिटर गहिरो ताल वरिपरि जंगलले घेरिएको छ। त्यहाँ रारा राष्ट्रिय निकुञ्जसमेत अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट १० हजार फिट उचाइमा रारा ताल रहेको छ।

राराको स्वच्छ पानीमा आकाशको छायाका कारण गाढा नीलो देखिन्छ। ताल वरिपरि घुम्नका लागि ट्रेकिङ रुट छ। सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण अनुपम देखिन्छ। ताल वरिपरिका विभिन्न फूलको मगमग बासना र सौन्दर्यले जोकोहीलाई पनि मोहित तुल्याउनेछ। दिनभर तालको किनार–किनारै घुमेर साँझपख भुलबुलेमा बास बस्ने गरी राराबाट फर्कन सकिन्छ।

कुपिन्डे दह

कर्णालीका २१ गन्तव्यमध्ये कुपिन्डे दह अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य हो। सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह प्रदेश राजधानी सुर्खेतसँग जोडिएको छ। सुर्खेतदेखि करिब तीन घन्टा गाडीको यात्रापछि दहमा पुग्न सकिन्छ। छोटो दुरी, प्रकृतिको अनुपम सुन्दरता र कम खर्चिलो भएका कारण कुपिन्डे दह धेरैको पहिलो रोजाइ बन्न सक्छ। सुर्खेत र सल्यान दुवै ठाउँबाट दहमा पुग्न सकिन्छ।


जिल्ला सदरमुकाम खलंगादेखि करिव २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ। पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिन्डे दहले सबैलाई मोहित पार्दछ। वरिपरि अग्ला पहाड, हरियाली जंगल र बीचमा नीलो आकाशझैं दक्षिणतिर फैलिएको मनै लोभ्याउने कुपिन्डे दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल हो।

२३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको दहको लम्बाइ ८ सय ३४, चौडाइ ५ सय ३, गहिराइ ३४ मिटर छ। समुद्री सतहबाट १ हजार १ सय २० मिटर उचाइमा अवस्थित दहमा ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर पानी छ।

देउती बज्यै र काँक्रेविहार

सुर्खेतबाट सबैभन्दा पर्यटकीय गन्तव्य छनोटमा परेका छन्। देउती बज्यै र काँक्रेविहार चर्चित पर्यटकीय क्षेत्र हुन् भने मदन–आश्रित पार्क, गिद्धेडाँडा, जाजुरा दह, गुप्ती मादले गुफा र शिव गुफा नयाँ पर्यटकीय स्थल हुन्। दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेविहार वीरेन्द्रनगरदेखि करिब दुई किलोमिटर टाढा रहेको छ। त्यस्तै वीरेन्द्रनगरको प्रवेशद्वार नजिकै देउती बज्यैको मन्दिर छ। अन्य क्षेत्र भने पश्चिम क्षेत्रमा पर्दछन्।

धार्मिक सम्पदाको क्षेत्र पञ्चकोसी ज्वाला क्षेत्र

दैलेखको बहुचर्चित पञ्चकोसी ज्वाला क्षेत्र र कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु क्षेत्र सरकारी छनोटमा परेका पर्यटकीय क्षेत्र हुन्। पञ्चकोसी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको मानिन्छ। दैलेख धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले दैलेख महत्वपूर्ण जिल्ला हो।

सुर्खेतदेखि बस यात्रामा साढे तीन घन्टामा दैलखेको रानीमत्ता गुराँसेलेक हुँदै सदरमुकाम पुग्न सकिन्छ। दैलेख बजार पुगेपछि कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु र पञ्चकोसी धार्मिक पर्यटन विकास (पञ्चकोसी ज्वाला क्षेत्र) छनोट गर्न सकिन्छ।

जुम्लाको सिञ्जा सभ्यता

सिञ्जा उपत्यका नेपालकै एक ऐतिहासिक र महत्त्वपूर्ण पर्यटकीय स्थल हो। जुम्लाको सिञ्जा सभ्यता सरकारले छनोट गरेका नयाँ एक सय गन्तव्यमा पर्न सफल भएका पर्यटकीय गन्तव्य हो। सिञ्जा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिञ्जा राज्यले समेत परिचित क्षेत्र क्षेत्र हो। बाइसे र चौबिसे राज्यको समयमा सिञ्जा एक बलियो राज्यका रुपमा रहेको थियो। सदरमुकामबाट करिब तीन घन्टा पैदलयात्रामा सिञ्जा क्षेत्र पुग्न सकिन्छ। डुडुल चैत्य यहाँको नयाँ पर्यटकीय गन्तव्य हो।

पचाल झरना

सरकारले नयाँ पर्यटकीय गन्तव्यमा कालिकोटको पचाल झरना छनोटमा परेको छ। पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ। ३ सय ८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ। तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुमस्थित ह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाको रुपमा परिचित छ। कालिकोट सदरमुकामदेखि करिब १६ घन्टाको पैदल यात्रापछि पचाल झरनामा पुग्न सकिन्छ।

रारादेखि शे-फोक्सुन्डो र त्रिपुरासुन्दरी

राष्ट्रिय सडक सञ्जालले नछोएको डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो। तर डोल्पाबाट शे–फोक्सुन्डो र त्रिपुरासुन्दरी पर्यटन क्षेत्र मात्रै पर्यटकीय गन्तव्यका रुपमा छनोटमा परेका छन्। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने शे–फोक्सुन्डो ताल राराबाट सीधै त्यहाँ पुग्नका लागि छनोट गरिएको क्षेत्र हो।

जुन क्षेत्र कर्णालीकै दोस्रो महत्त्वपूर्ण पर्यटकीय स्थलसमेत मानिन्छ। तर त्यहाँ पुग्न खर्चका हिसाबले निकै महँगो पर्न जान्छ। सुर्खेत र नेपालगन्जबाट हवाई यात्रा गरेर मात्रै शे–फोक्सुन्डो पुग्न सकिन्छ। समुद्री सतहबाट ११ हजार ८ सय फिट उचाइमा रहेको शे-फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यसको गहिराइ ६ सय ५० मटिर छ। काठमाडौं-नेपालगन्ज-जुफालको हवाइयात्रा हुँदै शे-फोक्सुन्डो पुग्न सक्न सकिन्छ। जुफालसम्मको हवाई यात्रापछि करिब १० किलोमिटरसम्म गाडी वा मोटरसाइकलसम्म यात्रा गर्न सकिन्छ। त्यसपछि भेरी र फोक्सुन्डो नदीको दोभान–सुलिगार्ड सांगटा, नाउर हुँदै करिब ३ दिनमा शे–फोक्सुन्डो ताल र राष्ट्रिय निकुञ्जमा पुग्न सक्न सकिन्छ।

त्रिपुरासुन्दरी नगरपालिका १ स्थित टाँके डाँडामा रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवती मन्दिरलाई प्रसिद्ध शक्तिपीठ मानिन्छ। भगवतीको मन्दिरमा हरेक दसँैमा फूलपाती भिœयाउने चलन छ। उच्च हिमाली भेग, माथिल्लो डोल्पाका फाँटहरु सधैंका लागि पर्यटक लोभ्याउने स्थान हुन्। माथिल्लो डोल्पा छुट्टै संसार जस्तो ठाउँ छ। डोल्पाका सबै क्षेत्रमा पुग्नबित्तिकै स्वर्गीय आनन्द प्राप्त हुन्छ।

लिमी उपत्यका क्षेत्र

हुम्लाको ‘लिमी उपत्यका’ सरकारले छनोट गरेको नयाँ पर्यटकीय क्षेत्र हो। जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पैदल यात्रापछि लिमी उपत्यकामा पुग्न सकिन्छ। ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्रविन्दु हुन्।

खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन्। लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो। महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन्। पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायतका वस्तु अति नै लोभ लाग्दा छन्।

जाजरकोट दरबार

जाजरकोटको खलंगा दरबार क्षेत्र अर्को पर्यटकीय स्थल हो। २ सय ५० वर्ष बनेको जाजरकोट दरबार निकै कलात्मक एवम् ऐतिहासिक महत्त्वको छ। कला, संस्कृति तथा ऐतिहासिक दृष्टिकोणले यो दरबार महत्त्वपूर्ण मानिन्छ। विसं १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबार तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए।  जिल्ला सदरमुकाम खलंगाको आडैमा जाजरकोट दरबार क्षेत्र रहेको छ।  नेपाल समय





Leave a comment

Your email address will not be published.


*