प्रवद्र्धनको पर्खाइमा रारा

        नानीराम नेपाल   |   प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५     ::: 45 पटक पढिएको   |  

काफल खान्या कुइँया मर्यो ला जुनकिरी सिसाकी गोलीले’

दैलेखको तल्लो डुंगेस्वर। झिसमिसेमै स्कुले बालबालिकाहरू गीत गाउँदै आए। मौलिक भाषा शैली र शब्दमा उनीहरूले दर्जनबढी भाका सुनाउँदा लाग्थ्यो, उनीहरू गीतमार्फत ‘कर्णालीका कथा’ सुनाइरहेका छन्। मुटु नै काँप्ने जाडोमा पुराना र मैला कपडाभित्र बेरिएर झिसमिसेमै सडकमा गीत गाइरहेका दैलेखी बालबालिकाका मुहारमा अभावको खाडल प्रष्टै देखिन्थ्यो र सँगै ‘सय–पचास’ कसैले दिन्छन् कि भन्ने आशा पनि झल्किन्थो उनीहरूका मुहारमा।

स्कुले बालबालिकाले गीत गाउँदै पर्यटकहरूसँग पैसा मागिरहँदा कर्णालीबासीका वास्तविक अवस्था आँखैअगाडि घुम्न थाल्यो। स्थानीय अगुवाहरूका अनुसार डुंगेस्वरका होटल र लजमा नयाँ पाहुना आउनासाथ उनीहरू यसै गरी गीतमार्फत यसभेगको दुःखको कथा सुनाउँछन्। ‘काफल खान्या कुइँया, मर्यो ला जुनकिरी सिसाकी गोलीले’ यही गीतबाट उनीहरूको दैनिकी शुरू हुन्छ। रारा रुटका यी स्कुले बालबालिकाको दैनिकी नै गीत गाएरै बित्दोरहेछ। ‘पाहुना बढ्या हुन् त स्कुल जान्नौं’, गाउनेमध्येका एक बालकले सुनाए। गीतका माध्यमबाट स्वागत सत्कार गरेबापत रारा घुम्न जाने पर्यटकहरूले उनीहरूलाई पैसा दिने गरेका छन्।
आहा ! रारा ः स्वर्गकी अप्सरा !

काठमाडौंबाट ८ सय ५५ किलोमिटर सडक छिचोलेपछि कर्णालीको मुटुु अर्थात् मुगुको हुटुस्थित रारा तालमा पुगिन्छ। रारामा पहिलो नजर पुग्दा आकाश नै जमिनमा सुतिरहेझैं आभास हुन्छ। चारैतिर हरियाली जंगलका बीच फैलिएको राराको एकछेउबाट पल्लोछेउको भेउ पाउनै सकिँदैन। जानकारहरूका अनुसार रारालाई राजा महेन्द्रले कुनैबेला ‘स्वर्गकी अप्सरा’ को संज्ञा दिएर कविता लेखेका थिए। उच्च हिमाली भेग, पहाडका चौघेरामा फैलिएको स्वच्छ, निर्मल ताल।

कर्णाली प्रदेशको मुगु जिल्लास्थित हुटुमा रहेको रारा तालले त्यहाँ पुग्ने जो कसैको पनि मन लोभ्याइदिन्छ। भनिन्छ पानीको रङ हुँदैन, तर राराको पानीले छिनछिनमै रङ बदल्दो रहेछ। ५ दशमलव १ किलोमिटर लम्बाइ र २ दशमलव ७ किलोमिटरको चौडाइमा फैलिएको यो ताल विभिन्न फरक प्रजातिका सर्प, भ्यागुता र चराचुरुंगीको आश्रयस्थल पनि हो।

देशकै ठूलो ताल काखैमा भएर पनि मुगुको हुटुले राराबाट अपेक्षित लाभ लिन सकेको छैन। राराछेउका दुई होटलले प्रत्यक्षरूपमा तालबाट लाभ लिइरहँदा यसभेगका ९० प्रतिशतभन्दा बढी जनतालाई राराले छुन सकेको छैन। ताल आसपासकै क्षेत्रका जनताले लाभ लिन नपाइरहँदा सडक रुटका बजारकेन्द्रले भने राराको प्रत्यक्ष लाभ लिइरहेका छन्। रारा घुम्न जाने र फर्कनेहरूको ‘ट्रान्जिट’ मानिने दैलेखको डुंगेस्वर, कालिकोटको मान्मा, नाग्मा, र जुम्लाको सिंजा, गोठी ज्युलालगायतका बजारलाई राराले उठाइरहेको देखियो। पछिल्लो दुई वर्षयता रारामा पर्यटकहरूको घुइँचो लाग्न थालेपछि सडक रुटमा व्यापार बढिरहेको होटल तथा होमस्टे सञ्चालकहरू बताउँछन्।

घोडाले पालेका मान्छे !

मान्छेले घोडा पाल्छन्– यो आम बुझाइ हो। तर मुगु हुटुस्थित रारा तालको आसपासमा पुग्दा भान हुन्छ, घोडाले मान्छे पनि पाल्दोरहेछ। रारा क्षेत्रमा यतिबेला घोडाको संख्या २ सय पुगेको छ। रारा घुम्न आउने पर्यटकहरूलाई घोडा सयर गराएर घोडा व्यवसायीहरूले परिवार धानेका मात्र छैनन्, राम्रो आम्दानी पनि गरिरहेका छन्। पर्यटकको रारा आगमन बढेसँगै घोडा व्यवसायीहरूले दैनिक ५ हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन्।

सिजनका बेला घोडाले दैनिक १५ हजारसम्म कमाइ गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन्। ‘तालमा पर्याप्त डुंगा छैनन्, सल्लेदेखि हिँडेरै जान डेढ घण्टा लाग्छ’, घोडा डोर्याउँदै पर्यटकलाई पर्खिरहेका एक बालक भन्दै थिए– ‘आउन्याहरू घोडा चढ्छन्, हामी हजार लिन्छम्।’ सल्लेदेखि मुर्माटपसम्म घोडामा सयर गर्दा उनीहरूले ५ हजारसम्म पनि लिने गरेका रहेछन्। ‘सिजनका बेला दिनमै १५ हजारसम्म कमाउँछ’ –एक घोडा व्यवसायी भन्दै थिए।

पूर्वाधार अभावमा रारा

पछिल्ला केही वर्षयता सडकको सुविधा पुगेपछि राराक्षेत्रको जनजीवन तुलनात्मकरूपमा फेरिएको छ। तर कर्णालीको यो भुगोलका जनताले विकासको खास अनुभूति गर्न सकेका छैनन्। हुन त कर्णालीका नाममा सरकारी तथा गैरसरकारी संस्थाहरूले ‘खेती’ गरिरहेकै छन्। कर्णालीबासीका अभाव र दुःख देखाएर कमाउनेहरूको संख्या पनि उत्तिकै छ। तर कर्णालीबासीका जीवन आजपनि अभावमै छ। रारा राष्ट्रिय निकुञ्जको अधिनमा रहेको रारा तालका किनारमा सल्लाका रुखहरू बग्रेल्ती ढलिरहेका छन्।

ताल किनारमा ‘ड्राइफुड’ का प्याकेट र रक्सीका बोतलहरू पनि असरल्ल भेटिन्छन्। केही घण्टा लगाएर रारा नियाल्दा संरक्षणको अभाव प्रष्ट देख्न सकिन्छ। निश्चय पनि राजा महेन्द्रको ‘स्वर्गकी अप्सरा’ राराले सिंगो कर्णलीको मुहार बदल्ने सम्भावना बोकेको छ। तर पूर्वाधार अभावमा राराको सम्बद्र्धन र प्रवद्र्धन हुन सकिरहेको छैन। राराले सडक सञ्जालमा पहुँच राखे पनि अन्य भौतिक पूर्वाधार विकासको पर्खाइमै देखियो। रारा क्षेत्रमा न त बास बस्ने व्यवस्थित होटलहरू छन्, न त मनोरञ्जनका अन्य कुनै साधनहरू नै छन्। देशकै ठूलो तालमा दुईवटा मात्र डुंगा सञ्चालनमा छन्। विद्युत्को सहज सुविधा छैन, रारा घुम्न आउने कोही पर्यटक बिरामी परे नजिकमा स्वास्थ्यसंस्था नै छैनन्। सञ्चारको सुविधाबाट राराक्षेत्र वञ्चित नै छ।

सुर्खेत उँभोको सभ्यता

राराका लागि सुर्खेतबाट उक्लँदै गर्दा वीरेन्द्रनगरमा एकजना ट्राफिक प्रहरी अधिकृतले गाडी रोके। सडकमा सवारीसाधनहरू रोकेर वीरेन्द्रनगरमा ट्राफिक प्रहरीले सवारी नियमबारे सचेतना अभियान नै चलाएको रहेछ। ‘साइड लिँदा दायाँ बाल्ने, साइड दिँदा बायाँ बाल्ने’, सचेतनामा खटिएका ट्राफिक प्रहरीले सिकाउँदै थिए– ‘ओभरटेक गरिसकेपछि बायाँतर्फको संकेत दिएर मात्र लेनमा आउनुहोला।’ वीरेन्द्रनगरबाट झण्डै २० किलोमिटर सडक छिचोलेपछि हामी बड्डीचौर पुग्यौं। बड्डीचौरको प्रहरी पोस्टमा पनि एकजना ट्राफिक जवानले सवारीचालकलाई रोक्दै, अगाडिको सडक जोखिमपूर्ण रहेको भन्दै सचेत गराइरहेका थिए। विशेष गरी यस रुटमा पहिलोपटक जाने चालकहरूलाई ट्राफिक प्रहरीले सचेत गराउँदो रहेछ। ‘साँघुरो बाटो, घुम्ती र मोडहरू धेरै छन्, सुरक्षितसाथ जानुहोला, शुभयात्रा’, सुर्खेतबाट उँभो लागेपछि प्रहरी पोस्टहरूमा यसै गरी सभ्यता झल्किरह्याे।
(राराबाट फर्किएपछि)

 





Leave a comment

Your email address will not be published.


*