पत्रकार आचारसंहिता पालनामा जोड

          |   प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     ::: 31 पटक पढिएको   |  

दैलेख मंसिर १३ ।
प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी प्रसाद ओझाले संचारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको संयोजनमा आज दैलेख सदरमुकाममा आयोजित पत्रकार आचारसंहिताको कार्यान्वयन विषयक मिडिया संवादमा मन्तव्य राख्नु हुँदै उहाँले पत्रकार आचारसंहिता पालनामा जोड दिनुभएको हो । समाचारको विश्वसनियता बढाउन संहितामा जोड दिनुपर्ने सदस्य ओझाको भनाई छ । संचारकर्मीहरुले सबै भन्दा पहिला आफुले पालना गर्नुपर्ने आचारसंहितामा ख्याल गर्नुहोस्, सदस्य ओझाले भन्नुभयो, ‘संचारगृहलाई व्यवस्थित बनाउनु अहिलेको आवश्यकता हो ।’

प्रेस काउन्सिल नेपालका अर्का सदस्य खिल बहादुर भण्डारीले सत्य र तथ्य समाचार प्रकाशन प्रशारण गर्न आग्रह गर्नुहुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष पुरा गर्न संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पत्रकारहरुको आस्था र विचार जुनसुकै राजनीतिक पार्टीसंग भएपनि समाचारमा राजनीतिक रंग नल्याउन आग्रह समेत गर्नुभयो । दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बासकोटाले कुनै पनि व्यक्ति पत्रकारिता पेशामा प्रवेश गर्नुपूर्व सामान्य भएपनि परिक्षा लिनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला समन्वय अधिकारी भक्त बहादुर कार्कीले दैलेखमा संचारकर्मीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताउदै समाचारको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउदै पत्रकारिताको सिमारेखा भित्र रहेर पत्रकारिता गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले पत्रकारहरुलाई भ्रष्टाचार, समाजमा व्याप्त कुरिति र कुसंस्कार विरुद्ध कलम चलाउन आग्रह गर्नुहुँदै पत्रकारहरुको समस्या समाधानका लागि महासंघले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । मिडिया संवादमा काउन्सिलका उप–प्रशासकिय अधिकृत रामशरण बोहोराले नेपालमा पत्रकार आचारसंहिता कार्यान्वयनबारे प्रष्ट पार्नुभएको थियो । उहाँका अनुसार यस आर्थीक बर्षको कात्तिक महिनासम्म नेपालका विद्युतिय संचार माध्ययम विरुद्ध १८५ मुद्धा परेकोमा १३७ वटा मुद्धा काउन्सिलले फछ्यौट गरिसकेको छ ।

यस्तै छापा संचार माध्ययममा परेका ९३ उजुरी मध्ये ६४ मुद्धा फछ्यौट भइसकेको छ । उप–प्रशासकिय अधिकृत बोहाराका अनुसार यस अवधीमा कर्णाली प्रदेशका ३ वटा मुद्धा परेकामा ३ वटै मुद्धा फछ्यौट भइसकेको छ । कार्यक्रममा दैलेखमा कार्यरत पत्रकारहरुले गैर पत्रकारहरुले पनि पत्रकार आचारसंहिता अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।





Leave a comment

Your email address will not be published.


*