पुरूष मित्रहरू ! ‘स्वास्नी’ लाई हेप्न छाड्नु भो त ?

        राधा पोखरेल   |   प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५     ::: 128 पटक पढिएको   |  

 

राधा पोखरेल
लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान भोलि सम्पन्न हुँदैछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति- ब्यक्तित्वहरूले मनाइरहेका छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो । यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोंचमा के परिवर्तन आयो ? अभियानले के सन्देश दियो ? उत्साहपूर्वक अभियानमा सहभागी पुरूष मित्रहरूले महिलाहरूमाथि गर्दै आएको ब्यबहारमा के परिबर्तन गर्नु भयो ?

अभियानमा सहभागी हामी महिलाहरूले के परिवर्तन गर्यौं ? दिनभरि समानता र अधिकारको चर्को भाषण गर्ने अनि बेलुका घर गएर तरकारीमा नुन चर्को भयो भनेर स्वास्नी त कुट्दै छैनौं ? साँच्चै पुरूष मित्रहरू ! यस अभियानबाट स्वास्नीलाई हेप्न छाड्नु भो त ? मलाई लाग्छ, अभियान चलाउनु र दिवस मनाउनु मात्र ठूलो कुरा होइन । त्यस्ता अभियान र दिवसले दिने सन्देश अनि दैनिक जीवनमा गरिने ब्यबहार चाहिँ मुख्य कुरा हो ।

यस अभियानमा लैंगिक हिंसाबारे शहरकेन्द्रित केही बहस अवश्य आरम्भ भएको छ । तर जहाँ बहस हुनु पर्ने हो र ब्यवहारमै परिबर्तन ल्याउनु पर्ने हो त्यहाँ खास केही हुन सकेको छैन । लैंगिक हिंसाको मापन गर्ने हो भने शहरमा भन्दा ग्रामीण इलाकामा साथै शिक्षित,सम्पन्न परिवारमाभन्दा अशिक्षित, बिपन्न परिवार र खासगरी दलित समुदायमा बढी हुने गरेको छ ।

अधिकांश महिला अधिकारकर्मी अभियन्ताहरू शहरका तारे होटलहरूमा गोष्टी, सेमिनार गरेर समय बिताइरहेका छन् । मेरो अनुरोध छ- जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीँ गएर खोजौं । अन्यथा, परिणाम टाउको दुखेको औषधि नाइटोमा दले बराबर हुनेछ ।

हामी २१ औं शदीको दोश्रो दशकमा छौं । विज्ञान प्रविधि र सूचना सन्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोंच र बानिब्यहोरामा समेत ठूलो परिवर्तन ल्याइरहेको छ । हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ ।

समान लिंगमा हुने हिंसाको एउटा मुख्य कारण पुस्तान्तरणले ल्याएको समस्या हो । आमा-छोरी र सासू-बुहारीको बीचमा घरघरमा समस्या बढिरहेको छ । सासूको खुट्टा किन ढोग्ने, बुहारी भनेकी नोकर्नी हो, छोरीलाई जस्तो माया किन गर्ने रु जस्ता सोच कतिपय सासू-बुहारीमा देखिन्छ । विगतमा संस्कारका नाममा कतिपय विभेदकारी चलनमाथि गौरव गरिन्थ्यो, आज ती चलनलाई हिंसाको रूपमा परिभाषित गरिएको छ । यसको अर्थ विगतका सबै संस्कारहरू खराब थिए भन्ने पक्कै होइन । समाजमा आएको परिवर्तन सँगसँगै कतिपय संस्कार समस्याको रूपमा देखिन थाल्छ, त्यस्ता संस्कारलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्दछ ।

पतिव्रताको नाममा प्रत्येक दिन बिहान उठेर लोग्नेको गोडाको पानी खानु, लोग्नेले नखाई स्वास्नीले खानु हुन्न भनेर दिन दिनभरि भोकै बस्नु, लोग्ने, घरपरिवार र समाजको डरले अन्याय सहेर बस्नु वास्तवमा संस्कारका नाममा गरिने हिंसा नै हो । तर, आफ्ना अग्रज अभिभावकहरूलाई आदर गर्नु, सेवा र सम्मान गर्नु सबैको कर्तब्य हो । आदरपूर्वक छोराले आमाबाबुको, बुहारीले सासूको गोडा ढोग्नु हाम्रो नेपाली सभ्यताको परिचय हो । अर्थात् आफ्ना अग्रज अभिभावकहरूप्रति आदर र सम्मान ब्यक्त गर्नु मानव सभ्यताकै परिचय हो।

सम्मान ब्यक्त गर्ने शैली आ-आफ्नो संस्कार अनुसार अलग अलग हुन्छन् । मान्छे चेतनशील सामाजिक प्राणी हुनाको नाताले अग्रजलाई आदर र सानालाई प्यार गर्नु उसको कर्तब्य हो ।हाम्रो समाजमा महिलाले महिलामाथि गर्ने हिंसा पनि डरलाग्दो छ । समान लिंगमा हुने हिंसाको एउटा मुख्य कारण पुस्तान्तरणले ल्याएको समस्या हो । आमा-छोरी र सासू-बुहारीको बीचमा घरघरमा समस्या बढिरहेको छ । सासूको खुट्टा किन ढोग्ने, बुहारी भनेकी नोकर्नी हो, छोरीलाई जस्तो माया किन गर्ने रु जस्ता सोच कतिपय सासू-बुहारीमा देखिन्छ । यो खासमा पुरातन सोच राख्ने सासू र आधुनिक सोच राख्ने बुहारीबीचको अन्तरबिरोध हो ।

आधुनिकताका नाममा सासूलाई केही नबुझेकी गँवार ठान्ने र हेप्ने प्रवृत्ति बुहारीहरूले र परम्पराका नाममा अलिकति छोटो लुगा लगाएकी बुहारीहरूलाई वाईफाले भन्दै बदनाम गर्ने संकीर्ण सोच सासूहरूले त्याग्नु पर्छ । सासूले बुहारीलाई छोरीको माया दिने र बुहारीले सासूलाई आमाको सम्मान गर्ने गर्नुपर्दछ । एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन ।

हाम्रो समाजका कतिपय संस्कार, परम्परा रूढिवादी मात्र होइन, लैंगिक रूपमा असाध्यै विभेदकारी पनि छ । रजस्वला भएकी नारीलाई छुन हुन्न, छोएको खानु हुन्न, अपवित्र हुन्छे भनेर पशुवत ब्यवहार गर्ने, लोग्नेको दीर्घायुका निम्ति स्वास्नीले निराहार व्रत बसिदिनु पर्ने तर स्वास्नी बिरामी भएको बेलामा लोग्नेले पानीसम्म तताएर नदिने, खुट्टा भए जुत्ता कति कति भन्दै लोग्नेले स्वास्नी थुपार्दै हिँड्ने, स्वास्नी कोही परपरूषसँग राम्रै नियतले बोली भने पनि रण्डी, बेश्याको बात लाग्ने, लोग्ने आफ्नै कालगतिले मर्दा पनि स्वास्नीमाथि पोइ टोकुवीको आरोप लाग्ने, आजिवन लोग्नेको नाममा विधवा जीवन बिताउनुपर्ने, स्वास्नी मरी भने बिभिन्न बहानामा ३ महिना नबित्दै अर्की स्वास्नी भित्र्याउने, स्वास्नी जति नै विदुषी भए पनि लोग्नेले बोलेपछि बोल्न नहुने, बोलिहाले पोथी बास्यो भनेर आरोप लाग्ने जस्ता कुसंस्कार अझै पनि हाम्रो समाजमा छँदैछ ।

हामी नारीहरू पछि पर्नुका दुई कारण छन् स् पहिलो पितृसत्तावादी सोच अर्थात हीन भावना र दोश्रो समानताको नाममा निरपेक्ष समानता खोज्ने विकृत मानसिकता संस्कार, परम्परा, धर्म, रीतिरिवाजको नाममा यस्ता रूढिवादी र विभेदकारी चलनलाई मान्नु हुन्न । यस्तो कुरा हिंसा त हुँदै हो, यसले समाज विकासमा पनि ठूलो अवरोध सिर्जना गर्दछ । जुन समाजमा ब्यवहारिकरूपमै नारी-पुरूष समान हुन्छन् त्यस समाजको विकासको गति निकै तीब्र हुन्छ । संविधानमा लेखिने शब्दमा मात्रै समान भनेर पुग्दैन,ब्यबहारमै विभेद अन्त्य गरिने कुरा लेख्नु पर्छ र विभेद अन्त्य हुनु पनि पर्छ ।

स्वीटजरलैंण्ड जस्तो विकसित देशमा समेत नारी-पुरूष समानता ब्यबहारमै हुनुपर्ने कुरा संविधानमा लेखिएको छ । शब्द र कर्मको साम्यता आजको सबभन्दा ठूलो समस्या हो ।हामी नारीहरू पछि पर्नुका दुई कारण छन्स् पहिलो पितृसत्तावादी सोच अर्थात हीन भावना र दोश्रो समानताको नाममा निरपेक्ष समानता खोज्ने विकृत मानसिकता ।

विगतका संस्कार र रूढिवादी सोच सबै ठीक थिए, तसर्थ सबै लागू गर्नुपर्छ भन्ने भ्रम पनि हामीसँग छ । त्यस्तै आधुनिक हुने नाममा विगतका विज्ञानलाई पनि अस्वीकार गर्ने प्रवृत्ति पनि छ हामीसँग । माथि ब्याख्या गरिएका कुसंस्कारहरू अपनाएर वा विज्ञानलाई अस्वीकार गरेर हामी कहीँ पुग्दैनौं ।

नारी(पुरूष समानता लागु गर्न मुख्यतस् अंश र वंशमा नारीको अधिकार ब्यबहारिक रूपमा स्थापित हुन जरूरी छ । हुनत अंश दिने परम्पराले सन्तानमा परनिर्भरता बढाउने विकृति पनि देखिएको छ । मेरो निजी विचारको कुरा गर्ने हो भने अबको युगमा सन्तानलाई अंश होइन, असल संस्कार र जीवनोपयोगी शिक्षा दिनुपर्छ । मैले यहाँ भन्न खोजेको कुरा मात्रै के हो भने, अधिकारमै लैंगिक विविधता भयो भने कहिल्यै पनि लैंगिक समानता हुन सक्दैन ।

समानताका नाममा असंभव कुरा माग गर्ने विकृत मानसिकता पनि हामी केही आधुनिक नारीहरूमा मौलाउँदै गइरहेको छ । जस्तै आमा बन्ने अधिकार प्रकृतिले हामी महिलालाई मात्र दिएको छ । यसमा महिलाले गर्व गर्नुपर्छ न कि पुरूषसँग समानताका नाममा बच्चा जन्माउने कुराको माग गर्नु ।

बच्चा हुर्काउने जिम्मेवारी आमा र बाबु दुवैको बराबर हुँदाहुँदै पनि स्तनपान गराउने अधिकार प्रकृतिले आमालाई मात्र दिएको हुँदा स्वाभाविक रूपमा बच्चा हुर्काउने जिम्मा बाबुकोभन्दा आमाकै बढी हुन्छ ।

समानता सापेक्ष हुन्छ । अप्राकृतिक रूपमा समानता खोज्नु र प्राकृत कुरामा समानता नदिनु विकृत मानसिकता हो । यी दुबै विकृत मानसिकताबाट नारी(पुरूष मुक्त हुनु पर्दछ । एक अर्काले एक अर्काको अस्तित्व समान रूपमा स्वीकार गर्ने, अवसरहरू समान रूपमा उपलब्ध गराउने, अझ केही समयसम्म महिलालाई बिशेषाधिकारसहित हरेक क्षेत्रमा विशेष अवसर दिने, ब्यवहारिकरूपमै बराबर अधिकार सुनिश्चित गर्ने, संस्कार र परम्पराको नाममा रूढिवाद र कुसंस्कार त्याग्ने, हिंसा गर्नेलाई कानुनको दायराभित्र ल्याउने, गर्न सके मात्रै लैंगिक विभेद र हिंसा ब्यवहारमै अन्त्य हुनेछ । Online khabar.





Leave a comment

Your email address will not be published.


*