चिसो र जाडोको जोखिम

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर २८, २०७५     ::: 51 पटक पढिएको   |  

डा. प्रकाश बुढाथोकी

केही सातादेखि पहाड र हिमालमा हिमपात भई जाडो ह्वात्तै बढेको छ । तराईमा बाक्लो हुस्सुले चिसो बढाएको छ । जाडोले बिरामी पर्ने समाचारहरू सञ्चार माध्यममा आईरहेकै छन् । चिसो शुरु भएसँगै कोठा न्यानो बनाउन खोज्दा रोगी हुने र जटिलता हुनेको सङ्ख्या पनि बढेको छ । छाऊगोठमा समेत धँुवाले निस्सासिएर किशोरीहरू बिरामी भएका छन् ।
चिसोले झाडापखाला, निमोनिया, टाउको, छाती दुख्ने, औँला रातो हुने, चिलाउने, सुनिने र कहिलेकाहीँ घाउ हुने, रुघाखोकी, दम, दाद, दाग, ओठ, हातखुट्टा फुट्ने, चिलाउने, सुख्खा हुने, फुस्रो हुने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोगहरू पनि त्यत्तिकै निम्त्याएकाले अस्पतालमा यस्ता बिरामीहरूको भिड छ । मुटु, स्वासप्रस्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई आक्रान्त पारेकाले उनीहरूकै भिड बढी छ । मौसम भोजभतेरको पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्याष्ट्राईटीस, झाडाबान्ता, पखाला र जण्डिस, टाईफाईड पनि प्रशस्त पाइन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगहरू बढी गम्भीर बन्छन् ।
जाडोको मौसममा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, स्वासप्रस्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको सङ्क्रमण, भाईरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुनिने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्दछ । मुटु, जोर्नी, स्वासप्रस्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न सङ्क्रमण र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ ।
शहरबजारमा ‘मर्निङ वाल्क’ र गाऊँघरमा कामका लागि एकाबिहानै घर बाहिर निस्कँदा कम तापक्रम, चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुने वा रक्तनली खुम्चने तब रक्तसञ्चार कमी भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परिश्रमले मुटुमा असर परी हृदयाघातको सम्भावना बढाउँछ । त्यस्तै रक्तप्रवाहको कमीले स्ट्रोक, मांशपेसी र जोर्नीको पीडा, स्वासनली खुम्चिएर दम, निमोनिया ६० वर्षभन्दा बढी उमेरमा हाड खिइने, एलर्जी, टन्सिल, हातखुट्टा सुनिने, नीलो हुने गर्दछ । सामान्य रक्तचाप भएकामा बढ्ने, नियन्त्रणमा रहेकोमा अनियन्त्रित हुने र पहिलेदेखि नै अनियन्त्रित भएकोमा अचानक बढेर आकस्मिक उपचारमा जाने अवस्था आउँछ । जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्न सक्छ, सेतो, रातो र प्लेटलेटको सङ्ख्यामा १० प्रतिशत जति वृद्धि हुन्छ । रगतको गाढापनामा २० प्रतिशत बढ्छ ।
शरीरको भित्री तापक्रम ३० डिग्री सेल्सीयसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी सङ्कुचन हुने र रक्तचाप मुटुको चाल र स्वासप्रस्वास घट्दै जान्छ । जब शरीरको तापक्रम २६ डिग्री सेल्सीयसभन्दा कम हुन्छ, बिरामी बेहोस हुन्छ, सुनिन्छ, आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने टेण्डन रिफलेक्स हराएर जान्छ । जब गुदद्वारको तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम हुन्छ तब व्यक्तिको मृत्यु हुन्छ ।
अत्यधिक चिसोका कारण शारीरिक रूपले कमजोर वृद्ध र बालकहरू बढी प्रभावित हुन्छन् । किनभने या त चिसोको अनुभूति गर्न सक्दैनन् वा त्यसको शिकायत गर्न सक्दैनन् वा चिसोबाट बच्न कुनै उपाय अपनाउन सक्दैनन् । तर युवा तथा प्रौढहरूले जाडो मौसममा आफ्नो शरीर न्यानो पार्न, इनरकोटको रूपमा अत्यधिक रक्सी सेवनले होस हराएर लामो समय चिसोमै बेवारिसे भइरहनाले तथा धेरै मद्यपानका कारण शरीरका रक्तनलीहरू फुलेर ताप नोक्सान भई अकालमा ज्यान जान्छ । जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् । तत्काल न्यानो अनुभूति भए पनि त्यो भ्रम मात्र भएकाले शरीर तातो नभई चिसो हुने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
गर्मीमा औषधिले नियन्त्रित हुने उच्च रक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर त्यसैमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल, स्वासप्रसवास समस्या भएकाहरूका लागि झनै खतरनाक हुन्छ जाडोयाम । चिसोले रगत बाक्लो बनाउँछ, पातला रक्तनली साँघुरिन्छन् तब रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्टेरोल जम्छ, धमनी साँघुरो र असमतल हुन्छ र रक्तआपूर्ति अपुग भई छाती वा मुटु दुख्छ । रक्तधमनी साँघुरिएर मस्तिष्कमा आघात भए पक्षघात, अङ्गहरूमा भए अङ्गघात हुन्छ ।
चिसोबाट बच्न
तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्दछ । चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुँवा, चिसो र सङ्क्रमणबाट बच्न मास्क लगाउनु पर्दछ । खानपानका वस्तुहरूमा पोषणयुक्त र सन्तुलित खाना खाने, तातो र झोलयुक्त खाद्य पदार्थको बढी उपयोग गर्ने, मौसमी फलफूल लिने र सागसब्जी प्रसस्त खानुपर्छ । खुल्ला ठाउँमा नजाने, वातावरणलाई न्यानो बनाउने र आफैँ सचेत भएर बस्नुपर्छ । भिटामिन सी युक्त फलफूल सुन्तला, कागती, अमला र अम्बा सेवनमा जोड दिनुपर्दछ । स्वास्थ्य तथा सरसफाइमा बढी ध्यान दिनुपर्छ । न्यानोयुक्त लत्ता कपडा लगाउने तर पसिना आउने गरी लुगा लगाएमा लुगा परिवर्तन गर्दा एक्कासि चिसोले भेट्न सक्छ । एउटै बाक्लो कपडाको सट्टा दुई तीनवटा पातलो लुगा लगाउने, कम्मल ओढ्ने गर्नुपर्दछ । रोग लागेका व्यक्तिबाट टाढै बस्ने दम निमोनिया, ब्रोङकाइटिस र मुटुसम्बन्धी रोगको उपचार गराउनु पर्दछ ।
पूरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल तथा ग्याँसयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिइदिने, अक्सिजनको मात्रा कम हुँदै जाने समस्या हुन्छ । शरीरमा वा रगतमा सी।ओ।को मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सी।ओ।को मात्रा ६० प्रतिशत हुँुदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मृत्यु हुन्छ ।
जाडोमा छिटो पच्ने र भोक लाग्ने भएकाले जथाभावी जे पायो त्यही खानपान गर्नु हँुदैन । शरीर तातो राख्ने र झोलिलो पदार्थ बढी सेवन गर्नुपर्दछ । मर्निङवाल्क बिहानै नभई वातावरण तातेपछि अर्थात घाम लागेपछि गर्नुपर्छ । धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ । गाेरखापत्र





Leave a comment

Your email address will not be published.


*