राउटे बालबालिकाको सामाजिकीकरण !

          |   प्रकाशित मितिः आइतवार, पुस १, २०७५     ::: 106 पटक पढिएको   |  

काठसँग रमाउन जानेका राउटे बालबालिका कागजसँग रमाउँदै

हिक्मत बहादुर नेपाली, दैलेख ।
लोपोन्मुख जातीको नाममा सुचीकृत राउटे नेपालको एक मात्र भ्रमणशील समुदाय हो । फिरन्ते र भ्रमणशील जाती राउटेको परम्परामा कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने चलन छ । त्यो ठाउँ आफ्नो जातिलाई नफापेको ठानी मरेको भोलिपल्टै ठाउँ छोड्ने संस्कारले गर्दा फिरन्ते भएको हुन सक्ने कतिपयको अड्कल छ ।

कतिपयले त एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि सकिने, काठबाट बनाइएका कोसी, मधुश, आरी र खाटले बजार नपाउने हुँदा राउटे एक ठाउँ हँुदै अर्को ठाउँ सर्ने गरेको आँकलन गर्दछन् । नेपालका अन्तिम घुमन्ते जाति मध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलहरुमा बसोबास गर्ने गर्छन् । राउटे समुदायका बालबालिकाहरु आफ्ना आमाबाबासंगै जंगलमै आफ्नो परम्परा अनुसार नै हुर्कने गर्दछन् । राउटे बालबालिका बस्तीमा खेलेर दिन बिताउने गर्थे । राउटेले पढ्न नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा अझै यो बस्तीमा पुग्न सकेको छैन ।

पोसिलो खानेकुरा नहुँदा बच्चामा कुपोषणको खतरा उत्तिकै छ । अचेल आफ्ना अभिभावकले सूर्ती र रक्सी खाने भएपछि राउटे बच्चा पनि त्यसको लतमा परेका छन् । पछिल्लो समय उनीहरु महिना दिनमै बस्ती परिवर्तन गरिरहने भएपनि गाउँ आसपासमा सर्ने गर्छन् । विगतमा घना जंगलबीचमा बस्ने उनीहरु अहिले गाउँनजिक बसेर आफ्नो जीविका चलाउँछन् । जगलमा पाइने खानेकुरा खाएर जीविकोपर्जन गर्ने उनीहरु आजभोली बजारमा पाइने खानेकुरा किनेर खान्छन् । सरकारले उनीहरुलाई प्रतिव्यक्ति जन्मेदेखि दुई हजार मासिक भत्ता दिंदै आएको छ । यस्ता गतिवीधिहरुले राउटेहरु धेरै परिवर्तनशील भएको देखिन्छ ।

राउटे बालबालिकाको सामाजिकीकरण !

यो समुदायले तीनवटा कुरा महाशत्रु ठानेको छ । ती हुन्, स्थायी बसोबास, खेतीपाती, लेखपढ । समय परिवर्तनसँगै राउटेले अन्य कुरालाई स्वीकार गरेका छन् । तर यी तीन कुरा भने आफ्नो संस्कार विरुद्ध नै हुन् भनेर ठकुवा गर्दछन् यो समुदायका अगुवा । खेतीपाती लेखपढ स्थायी बसोबास गर्नाले धेरै दुःख हुने त्यो समुदायको बुझाई छ । स्थायी बसोबास, खेतीपाती, लेखपढ मध्ये समुदायका साना बालबालिकाहरु पढ्न चाहान्छन् । आफ्ना अभिभावकको देखासिकीमा काठका भाँडा बनाउने गरेका राउटे बालबालिका दिनभर बस्तीमै खेलेर बिताउँथे तर अहिले आफ्ना अभिभावकहरु बिना पनि सहर बजार सम्म पुगेर हप्ता दिन सम्म बस्ने गरेका छन् । समयको पविर्तन सँगै बस्ती भन्दा बाहिरी वातावरण मा रमाउँदा खुसी हुने राउटे बालबालिका विस्तारै साजाजिकीकरण हुन थालेका छन् ।

दैलेखको गुरासँ गाउँपालिकाले राउटेलाई स्थानीय बासिन्दाको परिचयपत्र दिएसँगै निरन्तर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । एक साता अघि सामाजिक सुरक्षा भत्ता दिन सुर्खेतको लेकबेसी नगरपालिका–१ मा पुगेको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओली र सामाजिक अभियान्ता एंवम सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापासँगै दैलेख आएका ६ जना राउटे बालकहरुले दैलेख सदरमुकाममा झण्डै एक साता बिताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति र सोसेक दैलेखद्धारा दैलेखमा संचालित बाल हेल्पलाइन तथा महिला र बालबालिका केन्द्रमा झण्डै छ दिन बिताएका बालकहरुलाई त्यहाँ रहँदा सोसेकका सहायक अभिलेखिकरण अधिकृत सजना सुनारले विभिन्न क्रियाकलाप गर्न सिकाइन् ।

अधिकृत सुनारका अनुसार राउटे बालकहरुले कागजमा चित्र बनाउँदा खुसी भएका थिए । काठको सोलीसँग रमाउने जानेका राउटे बालबालिकाहरु कागजको सोलीसँगै रमाउन थालेको सुनारको भनाई छ । सुनारका अनुसार राउटे बालकहरुले कागजबाट पुतली, माछा, तारा, घर लगाएतका खेलौनाहरु रंग भर्न र जानी नजानी आफ्नो नाम लेख्न प्रयास गरेका थिए । एक साता सम्म राउटे बालकहरुलाई कक्षा दिएका सुनारले भनिन ‘उनिहरुलाई सिधै लेख्न र पढ्न लगाएमा मान्दैनन््, सुरु सुरुमा कापी कलम राउटेले समात्दैन भनेर च्यातेर फालेको पनि मैले पाए, विभिन्न खेलको माध्ययम तथा कागजको खेलौनामा रंग भर्नबाट सुरु गरेपछि विस्तारै आफ्नो नाम कोर्न राजी भए ।’ उनको बुझाईमा समुदायका ठुला बालबालिका भन्दा सानो उमेरका बालबालिकाहरु परिवर्तन चाहेको छन् । उनिहरुले पढ्न पनि चाहाना पनि राखेका छन् ।

‘सुरुमा बालकहरुलाई नमस्कार गर्दा नमस्कार नफर्काउदा अचम्म परेकी थिए, म्याउ म्याउ विरालो यता तिर आउ जस्ता गितहरु गाएर बालकहरुलाई खेल खेलाउन सुरु गरे, राउटे बालकहरुसँगै सेल्टरमा रहेका अन्य बालबालिकाहरुलाई पनि खेल खेलाएँ, त्यसपछि राउटे बालकहरु पनि खेल खेल्न, गीत गाउन र जानी नजानी आफ्नो नाम लेख्न तथा चित्रहरु कोर्न सक्ने भए ।’

पछिल्लो समय समुदायका बालबालिकाहरु बस्ती भन्दा बाहिर दिन बिताउने गरिरहेका छन् । यस अघि पनि सुर्खेत तथा काठमाण्डौ सम्म पुगेर राउटे बालकहरु महिनौ दिन सम्म बस्ने गरेका थिए । समुदायसँग घुलमिल हुँदै गएको बालबालिकाहरु विस्तारै सामाजिकीकरण हुँदै गएका छन् । समुदायको सँस्कृति र परम्परा जोगाउँदै उनिलाई शिक्षा, स्वास्थ्य लगाएतका सवालमा परिवर्तन ल्याउनका लागि अहिले राउटे परियोजनाले काम गरिरहेको छ ।

परियोजनाबाट राउटे बस्तीमा खटिएका कर्मचारीहरुले स्वास्थ्य, सरसफाई र उनिहरुको आनीवानीमा परिवर्तन ल्याउन काम गरिरहेका छन् । कुनै बेला चोटपटक लाग्दा जंगलकै जडिबुटीबाट उपचार गर्ने राउटे समुदाय अहिले चोट पटक लाग्ने वित्तिकै स्वास्थ्य संस्थाको औषधीहरु प्रयोग गर्ने गरेको समुदायमा खटिएका अहेव विनोद कुमार विसीले बताए ।





1 Comment on राउटे बालबालिकाको सामाजिकीकरण !

  1. भयको भुत
    कुनै दिन केही राउटेमा काम गर्ने एनजिओले कुनै दिन राउटेलार्ई हलो जोत्न लगाएर राउटे खेती किसानमा लागे भनेर समाचार नआउला भन्न सकिदैनन ।

Leave a comment

Your email address will not be published.


*