धर्म, कर्म र इलममा दैलेखका कैदीबन्दी

          |   प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     ::: 58 पटक पढिएको   |  

अमर सुनार
दैलेख –काँडेतारले घेरिएको ३ हजार वर्गमिटर क्षेत्रफल ओगटेको सुरक्षा घेराभित्रको दैलेख कारागार जिल्ला सदरमुकामको बाइरोडको बाटो छेउमा छ । जिल्ला प्रशासन कार्यालय र कारागारबीचको मूल सडक हुँदै दिनहुँ सयौँ यातायातका साधनहरु ओहोरदोहोर गर्छन् । यात्रुहरु सबैजसोले कारागार भवन देख्छन् ।यो नयाँ कारागार भवनमा २०७१ कात्तिकमा कैदीबन्दी सारिएको थियो । पूर्वी मोहडामा फर्किएकोले अचेल हिउँदको बेला विहान सातै बजे पारिलो घाम लाग्ने भएकोले दैलेखका कारागारका कैदीबन्दीहरुलाई स्वास्थ्यलाई राम्रो भइरहेको छ ।

क्षमताका हिसाबले ८० जना मात्र राख्न सकिने भए पनि कारागार व्यवस्थापनको मित्रवत व्यवहार र सक्दो सुविधा उपलब्ध गराउने प्रयत्नले एक–तिहाई बढी अर्थात १ सय २२ जना कैदीबन्दी हुँदा पनि बस्न खान सहज नै बन्न पुगेको छ ।कारागार प्रशासन र कैदीबन्दीहरुको आफ्नै तत्परताले पनि वातावरण सहज बनेको हो । कैदीबन्दीहरुकै अग्रसरतामा कारागारभित्र शान्ति सुव्यवस्था र मीत्रभाव विकासका लागि बिहानै योगा अभ्यास, धार्मिक पूजाआजा, दिउँसो कामकाज र सीप इलममा व्यस्त गराउन थालिएको छ ।

अशक्त र बिरामी बाहेक सबै जना बिहान ५ बजे नै पुस्तकालय कक्षमा जम्मा भएर योगा गर्छन् । एक–डेढ घण्टा योगा चल्छ । त्यसपछि झिसमिसे उज्यालो हुँदै गरेको हुन्छ, घण्ट बज्छन् पूजाआजा चल्छन् । अनि बिहान झण्डै साढे सात बजे चौरमा घाम लाग्नेबित्तिकै घाम ताप्दै गफिन थाल्छन् ।

घाम ताप्दै गर्दा पालो तोकिएकाहरुले खाना तयार पारिसकेका हुन्छन्, आफैँले पकाउनेहरु पनि घाम ताप्न बाहिर निस्कने अनि भित्र भान्सामा पुग्दै जिउ तातिसकेको हुन्छ । बिहान ९–१० बजे खाना खाइवरी ११ बजेदेखि इलम जानेहरु आफ्नै धुनीपानीमा लाग्छन् ।अचेल कारागारभित्रको चौरलाई चौडा गराउने काम चलिरहेको छ, यो काम गरेर ज्याला पाइने त होइन तर आफैलाई खेल्न सजिलो हुन्छ भनेर स्वतःस्फूर्त तरिकाले युुवाहरु ढुङ्गामाटोमा धसिएका हुन्छन् । दिउँसो त्यति काम सकेपछि इच्छुक युवा भलिबल खेल्छन्, अरुले हुटिङ्ग गर्दै रमाउँछन् ।

सीप इलम जान्नेहरु दिउँसोको समयमा ढाका बुनाई, मुडाबुन्ने, सिलाइकटाई, सुइटरलगायतका ऊनबाट बनाइने कपडा बुन्न जुटेका हुन्छन् । यो बेला कोही बुद्धिचाल, क्यारेमबोर्डलगायतका खेल खेल्दै हुन्छन् त कोही पुस्तकालयमा पुस्तक पढ्दै हुन्छन् ।नयाँ भनवमा सरेलगत्तै सुरु भएको यो पुस्तकालय कोठा ठूलो हल भएको कारण बिहान गरिने योगा अभ्यास, बेलाबेला गरिने तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु पनि यही सभाहलमा हुन्छन् । पुस्तकालयका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, सोसेक लगायतका संस्था र विभिन्न निकायबाट पुस्तकहरु प्राप्त भएका हुन् ।

यहाँ दैलेख उद्योग वाणिज्य संघले उपलब्ध गराएको ३२ इञ्चको ठूलो टेलिभिजन सेट पनि राखिएको छ । बुढापाकाहरु टेलिभिजन हेर्न रुचाउँछन् । देश विदेशमा भएका घटना–दुर्घटना, मानव अभिरुची विषयबस्तु, मनोरञ्जन र ज्ञानगुनका कुरा सिक्न कैदीबन्दीहरुलाई टेलिभिजनले सजिलो पारेको छ ।

कारागारमा थुनिएका कैदीबन्दीहरुलाई सकारात्मक हुन, संयमित हुन र असल चालचलनको विकास गर्न उनीहरुलाई भावनात्मक हिसावले तयार पार्न मित्रवत व्यवहार र सक्दो सुविधा उपलब्ध गराउन जेलर जितबहादुर खत्रीको क्रियाशीलताले सबै क्षेत्रका सहयोग जुटाउनु भएको छ ।जेलर खत्रीले कारागार सुरक्षा चुनौती कम गर्न, उद्यम र उत्पादनशील क्रियाकलापमा सक्रिय रहन बानी पार्नको लागि कैदीबन्दीहरुलाई योगा, धार्मिक क्रियाकलापलगायतका काममा लगाइएको बताउनुभयो ।

परिवन्द वा परिवेशले कुनै घटना भएर थुनामा परेका कैदीबन्दीहरुलाई सधैँ अपराध मात्र गर्छन् होला भन्ने समाजको बुझाई चिर्दै सकारात्मक भावनाको विकास, रचनात्मक कामको सिकाइ र कैद सकिएपछि समाजमा पुनस्र्थापन हुन सहजताका लागि कारागारभित्र सरस्वतीको मन्दिर बनाउन लागिएको कैदी नाइके कृष्ण खत्रीले सुनाउनुभयो ।

कारागार हातामा बनाउन लागिको सरस्वती मन्दिरको नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले हालै शिलान्यास गर्नुभएको छ । धार्मिक शिक्षा लिन चाहने कैदीबन्दीहरुको रुचीप्रति खुशी व्यक्त गर्दै मन्दिर निर्माणमा नगरपालिकाले सहयोग गर्ने उपमेयर मल्लले वचन दिनुभएको छ ।

जेलर खत्रीकै आग्रहमा पतञ्जली योग समितिका शंकर थापा, नरेश्वर जैसीलगायतका योग शिक्षकले निःशुल्क सहयोगमा योगा अभ्यास गराइदिनुभएपछि अभ्यासकै क्रममा सिकेर अहिले कैदी नाइके मानबहादुर नेपालीले योगा सिकाइरहनु भएको छ ।यी धेरै सकारात्मक प्रयासहरु पुस्तकालय, मन्दिर बनाउने काम पुरुष बन्दी गृहतर्फ मात्र गरिएका छन् । महिला र पुरुषसंगै राख्न नमिल्ने भएकोले त्यहाँ भइरहेका क्रियाकलाप महिला कैदीबन्दीहरु सहभागी हुन पाएका छैनन् । नयाँ कारागारमा महिला र पुरुष फरक–फरक भवनमा राखिएको कारण देखभेट समेत हुँदैन ।

अनुगमन तथा निरीक्षणमा आउनेहरु कोही महिला बन्दी गृहमा गए मात्र भेट हुन्छ । ‘तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरु हुँदा पनि महिलाहरुका लागि भनी छुट्टै कार्यक्रम भए मात्र महिलाले अवसर पाउँछन्, नत्र यो सुविधा आएका छ भन्ने सुनेर बस्नु परेको छ’, महिला नाइके गोमा पुलामी मगरले गुनासो गर्नुभयो ।

दैलेख कारागारमा अहिले ८९ कैदी, १९ जना मुद्दा किनारा नभइसकेका बन्दीहरु समेत १ सय ८ जना पुरुषहरु छन् । अनि १२ कैदी र २ जना थुनुवा समेत १४ जना महिला बन्दी जीवन बिताइरहेका छन् । कैदीबन्दी महिलाहरुमध्ये २ जना ३ वर्ष मुनिका आश्रित बालक पनि संरक्षणमा छन् ।





Leave a comment

Your email address will not be published.


*