दैलेखका क्यान्सर पीडित गणेशलाई उपचारमा समस्या, सहयोगको अपिल

          |   प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     ::: 31 पटक पढिएको   |  

काठमाडौं । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा बिरामी भएर थला परेपछि कसलाई पो पीडा हुँदैन र ? अहिले त्यस्तै भएको छ दैलेख भैरवी गाउँपालिका वडानम्बर ५ निवासी गणेशबहादुर शाहीलाई । अहिले उनी मात्र २१ बर्षका भए । सुरुमा सामान्य रोग होला भन्ने सोँचेका उनले त्यति बेला उनी झाँगाबाट खसेझैं भए, जब उनले सुर्खेतमा आएर चेकजाँच गरे । डाक्टरले उनलाई क्यान्सर भएको पुष्टी गरे र काठमाडौंको सिभिल हस्पिटलमा रिफर गरियो । सुर्खेतमा उनले गतबर्ष २०७४ साल फागुन २२ गते चेकजाँच गरेका थिए ।

त्यसपछि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा फागुन २५ गते भर्ना भएका उनको १ सय ५९ दिन अस्पतालमै उपचार भयो । डाक्टरले २०७५ को भदौमा डिस्चार्ज गरे ।झण्डै २० लाख खर्च गरेर रोग ठिक भयो भन्दै घर फर्केका उनको अकस्मात यही बर्षको पुसमा फेरि रोग बल्झिएको छ । अहिले उनी फेरि सिभिल अस्पतालको बेडमा थला परेका छन् । गत पुस १२ गते भर्ना भएका उनको अहिलेसम्म ३ लाख बढी रकम खर्च भइसकेको छ ।
डाक्टरहरुले अहिले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनिरहेका छन्, तर त्यसका लागि रकम अभाव भएको गणेशका दाई नेमबहादुरले बताए । उनका अनुसार बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख रकम आबश्यकता पर्छ ।

आवश्यक रकम कसरी जुटाएर भाईको उपचार गर्ने भन्ने चिन्ता छ,नेमबहादुरलाई । स्वास्थ्य र गृहमन्त्रालयमा भाईको उपचारका लागि फाइल समेत पेश गरेका उनले त्यहाँ कसैले पनि सुनुवाई नगरेको गुनासो गरे ।आफ्नो सानो जागीरले भाईलाई २० लाख जति खर्च गर्न सकेपनि अब आफुसँग कुनै श्रोत नभएको नेमबहादुर बताउँछन् । “सरकारले नेताहरुका लागि करोडौं रकम खर्च गर्छ तर गरिब, दुःखीहरुको लागि केही पनि नगर्ने रहे” नेमबहादुरले भने । रकम अभावमा गणेशलाई ब्लड दिनपनि मुस्किल परेको छ ।

गणेशलाई अघिल्लो पटक ८० पोका रगत दिनु परेको थियो । अहिले ८ पोका रगत दिइसकेको र अब थप ब्लडको पनि आबश्यकता पर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर, भएको सबै धन सम्पती सकिएकोले थप उपचार गर्न नसकिएको नेमबहादुर बताए । उनले सहयोगको लागि सबैसँग आग्रह समेत गरेका छन् ।आर्थिक सहयोग गर्न चाहनेहरुले मोबाइल नम्बर ९८५८०५१०४४ मा सम्पर्क गर्न सकिने छ । साथै क्यान्सर पीडित गणेशबहादुर शाहीको नाममा राष्ट्रिय बाणिज्य बैंक मैतीदेवी शाखा काठमाडौमा रहेको खाता नम्बर १५५००१७२९३१० मा सहयोग गर्न सकिने छ ।





Leave a comment

Your email address will not be published.


*