पुरुषले भाँडा माझ्दा आयु घट्दैन

          |   प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     ::: 37 पटक पढिएको   |  

रीता लम्साल

पछिल्लो समय महिला हिंसा सम्बन्धी घटनाका समाचार बाक्लै आइरहेका छन् । यस सन्दर्भमा सामाजिक अपराध अर्थात महिला हिंसा र बलात्कारको जरो हाम्रो संस्कार, परम्परा एवं पितृसत्तात्मक सोच हो कि शिक्षा प्रणाली भन्ने सम्बन्धमा बहस गर्न जरुरी छ ।

नेपाली समाज पितृसत्तात्मक छ अर्थात परिवारमा पुरुषको श्रेष्ठता छ । घर भित्रको काम महिलाको र बाहिरको पुरुषको भनी छुट्याइन्छ । परिवार जति शिक्षित र आधुनिक भए पनि घरभित्रको चुलोचौका र सरसफाइको काममा महिला संलग्न भएको देख्छौं । पछिल्लो चरणमा शिक्षाको बढ्दो प्रभाव, गाउँघरमा गैरसरकारी संस्थाहरूको सक्रियता र पश्चिमा संस्कृति भित्रिएसँगै धेरैजसो महिला घर बाहिरको काममा संलग्न हुँदा आइरहेका छन् । महिला समूहको निर्माण, किशोरी शिक्षा, आत्मनिर्भरता सम्बन्धी तालिम र अन्य विभिन्न माध्यमबाट नारीहरूले आफ्नो आवाज बुलन्द पार्न थालेका छन् ।

एउटै घरमा जन्मेका दिदीभाइले आमालाई भान्सामा र बाबुलाई पत्रिका पढेर बसेको देख्छन् । उनीहरूको कलिलो बालमस्तिष्कले महिला भान्साको कामका लागि हो भन्ने बुझ्छ । तसर्थ विद्यालयमा महिला र पुरुष बराबरीको रट लगाएर मात्र हुँदैन । घरको दैनिक कामकाजमा बाबुआमाले सँगै मिलेर गरेको देखाउन सक्नुपर्छ ।

संस्कार वा परम्परा परिवर्तन सामान्य कुरा होइन । निरन्तर प्रयासका बाबजुद पनि लामो समय लाग्छ । सरकारी नीति नियमका अलावा व्यक्तिगत प्रयास अत्यावश्यक हुन्छ । हरेक परिवारमा प्रत्येक सदस्यबाट यस सम्बन्धमा शिक्षा, संस्कार र व्यवहार विकास गर्न जरुरी हुन्छ । विद्यालयका पुस्तकका कतिपय विषय परम्परा केन्द्रित देखिन्छन् । उदाहरणका लागि, काठमाडौंको एउटा निजी विद्यालयको २ कक्षाको पाठ्य–पुस्तकमा आमालाई फूल टिपेर र तरकारी केलाएर तथा बाबालाई अफिसबाट घर आउँदा ढोका खोलेर सहयोग गर्न सकिन्छ भनी लेखिएको छ । यसबाट बच्चाले आमा पनि अफिस जान्छिन् र बाबुले पनि भान्साको काम गर्छन् भन्ने सिकाउँदैन ।

गाउँघरमा केटामान्छेले भाँडा माझ्यो, कुचो लगायो भने आयु घट्छ भनिन्छ । कुनै पुरुषले यसो गरे गाली गर्ने, केटीजस्तो मान्छे भनी होच्याउने प्रवृत्ति छ । यस्तो परम्परा र प्रवृत्तिमा हुर्केका हामीलाई नारी–पुरुष बराबरी हुन्, एकअर्काको काममा सघाउनुपर्छ र कुनै पनि काम एउटाले गर्न हुने र अर्कोले गर्न नहुने भन्ने हुँदैन भन्ने शिक्षा दिँदा तत्काल प्रभाव पर्दैन । तर निरन्तर प्रयास गरे विस्तारै समाज, सामाजिक सोच र परम्परा परिवर्तन हुन्छ ।

यौन हिंसाका सम्बन्धमा प्रत्येक नारीलाई आवाज उठाउन सक्ने बनाउनुपर्छ । बच्चैदेखि अन्यायको विरोध गर्न सिकाए, चित्त नबुझेको कुरा व्यक्त गर्नुपर्छ भन्ने शिक्षा दिए कमसेकम कुनै नारीको पीडा लुक्दैनथ्यो र पीडक बेफिक्री भएर समाजमा हिँड्न सक्दैनथ्यो । पुरुषलाई पनि सानैदेखि नारीको सम्मान गर्न सिकाउनुपर्छ । घरमै छोरीलाई तल्लो दर्जाका रूपमा फरक व्यवहार गरेको देख्ने पुरुषले ठूलो भएपछि त्यही व्यवहार दोहोर्‍याउँछ । घरमै एकअर्काको सहयोग र सम्मान गरेको देखेको पुरुषले हिंसा नगर्न सक्छ ।

हामीकहाँ बलात्कार एवं घरेलु हिंसालाई सामाजिक इज्जत र प्रतिष्ठासँग जोड्ने गरिन्छ । त्यसैले तुरुन्त सार्वजनिक गर्न हिच्किचाउने प्रवृत्ति छ । सकेसम्म गोप्य रूपमा मिलेमतोमा टुंग्याइन्छ । कुनै पीडित पक्षले हिम्मत गरे पनि कतिपय अवस्थामा शारीरिक कमजोरी र पीडाका कारण तत्काल उजुरी हाल्न जान नसक्ने पनि हुनसक्छ । कतिपयमा शिक्षित हुँदै जाँदा हिंसा लुकाउनु हुँदैन भन्ने ज्ञान आउँदै जान्छ र तबमात्र उजुरी पर्छ । तसर्थ यौन हिंसाको उजुरी हाल्ने म्याद तोकिनु हुँदैन ।

उजुरी दिए न्याय पाउन सकिन्छ भन्ने विश्वास सरकारप्रति नागरिकको हुनुपर्छ । निर्मला हत्याकाण्डको जस्तो छानबिन भए सरकारप्रति पीडित व्यक्तिले विश्वास कसरी गर्ने रु यौन हिंसा र महिला हिंसाको सम्बन्धमा छानबिन निष्पक्ष हुनुपर्छ ।अन्त्यमा, नारी भएकै कारण एक्लै बाहिर हिँड्न डराउनुपर्ने वातावरण अन्त्य हुनुपर्छ । यसमा नारी–पुरुष सबैको समान भूमिका रहन्छ । नारी–पुरुष एकअर्कालाई दोषारोपण गर्ने होइन, हरेक सम्बन्धमा सम्मानको भावना निर्माण गर्नुपर्छ ।





Leave a comment

Your email address will not be published.


*