‘प्याड वुमन’ बनिन् मदन पुरस्कार विजेता राधा

          |   प्रकाशित मितिः आइतवार, माघ २०, २०७५     ::: 61 पटक पढिएको   |  
खलंगामा हमला’ का लागि मदन पुरस्कार विजेता राधा पौडेल चितवनमा आफ्नै सक्रियतामा उत्पादित ‘मितेरी जैविक स्यानिटरी प्याड’ देखाउँदै। तस्बिर सौजन्यः राधा पौडेल

लेखक तथा स्वास्थ्यकर्मी राधा पौडेललाई सानो छँदा महिनाका ती ४ दिनको व्यग्र प्रतिक्षा हुन्थ्यो। आमा ‘पन्छिएको’ बेला बुवाले खाना पकाउँथे। उनी थाल चाटीचाटी खान्थिन्। आमालाई खिसी गर्दै भन्थिन्, ‘आमा तपाईं सधैं पन्छिनुस् न। भात त बाले पकाएकै मिठो।’

त्यो बेला अवोध राधालाई महिनावारी र त्यसको पीडा के थाहा! १४ वर्षको उमेरमा उनको आफ्नै महिनावारी भयो। बल्ल उनले त्यसको पीडा महशुस गरिन्।

‘शारीरिक पीडा आफ्नै ठाउँमा छ। घरमा बस्न नहुने, बार्नु पर्ने लगायत अन्य थप समस्या,’ राधाले भनिन्, ‘आमाले कसरी सहनुहुन्थ्यो कुन्नि? म भने त्यो सहनै सक्दिनथेँ।’उनलाई महिनावारी बेला ठूलो समस्या ‘प्याड’ को हुन्थ्यो। घरमा भएका कपडा च्यातेर बनाइएका प्याडले महिनावारीको श्राव छेक्न कम्ता मुश्किल पर्थेन। ‘म र मेरा साथीहरू साधारण कपडाको प्याड लगाएर स्कुल जान्थ्यौं। लगाउन नजानेर कहिले खस्थ्यो पनि,’ उनले भनिन्, ‘यी सब डरले शौचालय पनि नगइ बस्थ्यौं।’

बजारमा पाइने प्याडबारे भने पछि नर्सिङ अध्ययन गर्दा मात्र थाहा पाएको उनले बताइन्।त्यो पनि कहाँ सहज थियो र? गाउँघरमा अझै पाउन मुश्किल छ। पाइहाले पनि महँगो। जोकसैलाई महिनैपिच्छे दुई/तीन सय खर्चेर गतिलो प्याड लगाउन पुग्दैन। कतिपय ठाउँमा जेनतेन प्रयोग गर्नेले पनि कहाँ फाल्ने भन्ने अझै सोच्नुपर्छ। 

यी सबै समस्यासँग झेल्दै आएकी राधाले आफ्नो पढाइमा यसको समाधान खोजिन्। नर्सिङमा स्नातक पढ्दाताका प्याडमै अध्ययन–अनुसन्धान गरिन्। गाउँ-गाउँमा महिलाहरूले प्रयोग गर्ने प्याडबारे सोधिन्।’ओहो, मलाई थाहै थिएन, हाम्रा धेरै दिदीबहिनीले फोहोर कपडा लगाउनु हुनेरैछ,’ उनले भनिन्, ‘बजारमा पाइने प्याड त परको कुरा, सफा कपडाधरि हुने रहेनछ।’

उनले सक्दो जनचेतना फैलाउने काम गरिन्। जानकारी र चेतनाले मात्र समस्या कहाँ सल्टिन्थ्यो र!समाधानतिरै होमिइन्।

राधा पौडेल

अध्ययन क्रममा राधाको भेट ताइवानकी एक महिलासँग भयो। ती महिलाले घरेलु प्याड कसरी बनाउने भन्ने तालिम दिँदै आएकी रहिछन्। ढुंगा खोज्दा देउता भेटे झैं। राधाले आफूसँगै अरू साथीलाई पनि तालिममा सहभागी गराइन्।धुन मिल्ने, लामो समय टिक्ने प्याड उनीहरूले बनाउन सिके।‘त्यो त निकै सजिलो प्रविधि रहेछ। पैसा पनि धेरै नलाग्ने,’ उनले भनिन्, ‘राम्रो, सजिलो र सफा घरेलु प्याड बनाउन समस्या नै होइन रहेछ। महिलालाई महिनावारी हुँदा प्याड लगाउन पर्छ भन्ने बुझाउन बरु गाह्रो काम रहेछ।’

त्यो अनुभव उनले बिक्रम सम्वत् २०७० मा जुम्ला र कालिकोट पुग्दा थाहा पाइन्।उनले त्यहाँका महिलालाई प्याड बनाउन सिकाइन्। प्रयोग गर्न पनि सिकाइन्।‘त्यो प्याडलाई कसैले मन पराए, कसैले पराएनन्,’ उनले भनिन्, ‘अझै हाम्रा धेरै दिदीबहिनी पेन्टी पनि लगाउँदैनन्। प्याड त परको कुरा। उनीहरूलाई प्याड लगाउने बानी पार्न कहाँ सजिलो थियो र?’

त्यसमाथि लजाउने बानी र चिसो ठाउँ अर्को समस्या। ‘महिनावारी हुँदा लगाएको कपडा जहीँतहीँ धुन नपाइने। कसैले नदेख्ने गरी सुकाउनु पर्ने। कुनाकाप्चामा वा अरू कपडाले छोपेर सुकाउने। चिसो ठाउँ भएकाले धोएका कपडा सुक्नै समय लाग्थ्यो,’ उनले जुम्ला-कालिकोटको अनुभव सुनाइन्, ‘यी सब झमेला मानेर उनीहरू केही नलगाउने। महिनावारी भएका बेला बरु बाहिर कतै जानै खोज्थेनन्।’

सबै महिलाले आफैं प्याड बनाएर लगाउन नसक्ने संकेत उनले पाइन्।अनि उनले आफैं बनाएर उपलब्ध गराउने सोच बनाइन्। फ्याँक्न मिल्ने तर कुहिने प्याड बनाउन चाहन्थिन्। ‘यसो हुँदा कहाँ फाल्ने भन्ने चिन्ता कम हुन्थ्यो,’ उनले भनिन्, ‘कुहिने भएपछि त वातावरणमा पनि असर गर्दैन नि।’

उनको प्याड बनाउने खोज जारी रह्यो। विभिन्न सभा-सेमिनारमा पुगिन्। थुप्रै मानिस भेटिन्।भारतका अरुणाचलन मुरुगनानथमसँग पनि उनले सम्पर्क गरिन्। अरुणाचलन भारतका ग्रामिण भेगका महिलाका निम्ति सस्ता र राम्रा प्याड बनाएर प्रसिद्ध भएका व्यक्ति हुन्। अक्षयकुमार अभिनित हिन्दी फिल्म ‘प्याडम्यान’ अरुणाचलनकै जीवनमा आधारित हो। 

राधाले उनीसँग बारम्बार सम्पर्क गरिन्। सल्लाह-सुझाव लिइन्।दुई वर्षपछि उनी बल्ल प्याड बनाउने प्रक्रिया नजिक पुगिन्। ‘दिल्लीबाट बैंगलोर जाने क्रममा मैले नितिन सिसोद्धा नामका मान्छे भेटेकी थिएँ। उहाँ मेरो कुरा सुनेर निकै प्रभावित हुनभयो,’ राधाले भनिन्, ‘उनैले प्याड बनाउने कम्पनी आकार इनोभेसनका साथीसँग सम्पर्क गराउने बाचा गर्नुभयो। सम्पर्क त भयो तर समस्या सल्टिएन। उनीहरूका उपकरण र कच्चा पदार्थ निकै महँगो थियो।’

तै उनले हरेश खाइनन्। त्यही कम्पनीसँग निरन्तर सम्पर्क गरिन्। कम्पनीले कतिपटक त वास्तै गरेन। उनले पछ्याउन पनि छाडिनन्।यता उनी ती उपकरण किन्ने पैसा जोरजाम गर्न लागि परिन्। बैंकहरू, गैरसरकारी संस्था र सहयोग हुन सक्ने अरू धेरै ठाउँ भौंतारिन्।उनले थोरै राहत पाइन्।

‘जर्मन दूतावासका सचिवले मेरो बारेमा थाहा पाएका रहेछन्। उनैले सहयोग गर्ने प्रतिबद्दता जनाए। त्यसका लागि प्रस्ताव लेखेर पठाउन भने,’ राधाले सुनाइन् ‘करिब १० लाख रूपैयाँ आयो। तर उपकरण किन्न मात्र ३० लाख लाग्थ्यो। केही नहुनुभन्दा थोरै भएको राम्रो नि।’ 

अरू पैसा जुटाउन उनले अर्को जुक्ति लाइन्। उनले आफ्नो मदन पुरस्कार विजेता किताब ‘खलंगामा हमला’ बाट आएको रोयल्टी सामाजिक कार्यमा खर्चिरहेकी थिइन्। पछि त्यही पैसा ‘राधा पौडेल फाउन्डेसन’ खोलेर जम्मा गर्न थालिन्। त्यस्तै, साथीभाइले दिएको थोरै–थोरै पैसा पनि जम्मा गरिन्। अनि किस्ताबन्दीमा पैसा तिर्ने गरी कम्पनीसँग सम्झौता गरेर उपकरण र कच्चा पदार्थ मगाइन्।उनले प्याड बनाउन देखेको सपना चार वर्षमा बल्ल पूरा भयो।केही समयअघि मात्र उनले मगाएको प्याड बनाउने उपकरण आइपुग्यो। 

प्याड बनाउने उपकरण। तस्बिर सौजन्यः राधा पौडेल

उपकरण आएसँगै उनले नेपालमै सस्तो प्याड उत्पादन गर्ने ‘मितेरी जैविक स्यानिटरी प्याड’ कम्पनी खोलिन्। ‘महिलाहरूले प्याड प्रयोग गर्न नसकेकोमा सधैं चिन्तित हुन्थेँ। यहीँ सस्तो प्याड उत्पादन गर्न सके त प्रयोग गर्न पाउँथे होलान् भन्ने भइरहन्थ्यो,’ उनले भनिन्, ‘नेपालमै प्याड बनाउन सकिन्छ भन्ने उदाहरण दिन पनि कम्पनी खोलेकी हुँ।’ 
‘कस्तो हुन्छ त तपाईंले भनेको जैविक र वातावरणमैत्री प्याड,’ हामीले जान्न चाह्यौं।उनले सबभन्दा पहिले बजारमा पाइने प्याडका नकारात्मक पक्षबारे प्रस्ट्याइन्। 

उनका अनुसार अहिले बजारमा पाइने प्याड जहीँतहीँ फालिन्छन्। यी प्याड माटोमा पनि वर्षौंसम्म कुहिँदैनन्। दुई सयदेखि १ हजार वर्ष लाग्न।’यसरी नकुहिने प्याड थुप्रिँदै जाने हो भने हाम्रो वातावरणमा निकै असर पुग्छ। यसले स्वास्थ्यमा समेत असर गर्छ,’ उनले भनिन्, ‘योसँगै बजारमा पाइने प्याडमा गम टाँसेको हुन्छ। त्यसमा रसायनिक र सुगन्धित सेन्ट पनि हालिएको हुन्छ। यस्ता रसायनले क्यान्सर जोखिम बढाउने, एलर्जी, बाँझोपन हुने लगायत समस्या आउनसक्ने अनुसन्धानले देखाएको छ।’ 

बजारका प्याडका यिनै समस्या पन्छाएर आफूहरूले बनाएको उनको दावी छ।’हामीले बनाएका प्याड कुहिने र वातावरण मैत्री भएकाले त्यस्ता समस्या हुँदैन,’ उनले भनिन्, ‘नकुहिने केही चिज प्रयोग गरिन्न।’उनका अनुसार मितेरी कम्पनीले सल्लाको बोक्राको कागजबाट प्याड बनाउँछ। त्यसलाई च्यातेर धुजा बनाएपछि मेसिनमा हालिन्छ। यसबाट कपास आउँछ जसलाई मेसिनमा हालेर ‘कभर’ गरिन्छ। त्यसपछि साधारण गम लगाएर टाँसिन्छ। 

प्याड बनाउने यो कम्पनीलाई राधा पौडेल फाउन्डेसनले नै लगानी गरिरहेको छ। यसको उपकरण र ५ महिनाको लागि कच्चा पदार्थ फाउन्डेसनले नै ल्याएको छ। त्यो उपकरणले दैनिक १ मिनेटमा दुइटा र दिनमा २४ सय प्याड उत्पादन गर्ने जानकारी राधाले दिइन्।कम्पनीमार्फत ७/८ जाना महिलालाई रोजगारी दिइरहेको पनि उनले बताइन्। अझै धेरैलाई रोजगारी दिने उनको सपना छ।

‘कम्पनीबाट आएको नाफा नबाँड्ने ढाँचामा काम थालिएको छ। आएको नाफाले थप उत्पादन बढाउँछु। धेरैलाई रोजगारी दिन्छु,’ उनले भनिन्। उनका अनुसार गत कात्तिक २४ गतेबाट प्याड उत्पादन सुरु भइसक्यो। बजारमा कसरी लैजाने भन्ने कुरा भने ‘न्यायका लागि सक्रिय महिला’ मञ्चलाई जिम्मा दिइएको छ। यही संस्थामा कार्यरत महिलाले मितेरी कम्पनीमा सेयर पनि हालेका छन्।

‘हामीले ३० लाख खर्च गरेको मर्म अरूले नबुझ्न पनि सक्छन्। त्यत्तिकै छोड्यो भने कम्पनीप्रति माया नहुन पनि सक्छ,’ राधाले लगानीबारे भनिन्, ‘त्यसैले, प्रतिव्यक्ति २५ हजारको सेयर पनि हाल्नु भएकाे छ।’ राधाको यो कम्पनीले हाल चितवनको कृष्णपुरबाट उत्पादन गरिरहेको छ। प्याड परीक्षण क्रममा रहेकाले बजारमा तत्काल भने नजाने उनी बताउँछिन्।

मितेरीले उत्पादन गरेको जैविक प्याडको मूल्य पनि धेरै नपर्ने राधा बताउँछिन्। सामान्यतया बजारमा ४५ देखि १ सय ५० रुपैयाँसम्मका प्याड पाइन्छन्। मितेरीको प्याड भने ६० देखि ७० रुपैयाँसम्म पर्ने उनले बताइन्।उत्पादन नै सुरु भइसके पनि राधाले प्याडबारे अनुसन्धान गर्न छाडेकी छैनन्। उनी अहिले प्याडका कच्चा पदार्थ नेपालमै पाइन्छ कि भनेर खोज्दैछिन्।

‘संसारको इतिहास हेर्दा केराको बोट र पातबाट पनि प्याड बन्दो रहेछ। हामीकहाँ पनि त्यस्ता थुप्रै कच्चा पदार्थ छन्। कमी भनेको  तिनलाई प्रसोधन गर्ने पैसा हो,’ उनले भनिन्, ‘सरकारी निकायले ध्यान दिने हो भने त्यसमा अनुसन्धान हुन सक्थ्यो।’





Leave a comment

Your email address will not be published.


*