सिंजा राज्यको हिउँदे राजधानी, पर्यटनमा फड्को मार्दै

          |   प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     ::: 293 पटक पढिएको   |  

भक्तबहादुर शाही⁄दैलेख

दैलेख : बाइसे–चौबिसे पश्चिम नेपालको विशाल राज्य हो जुम्लाको सिंजा । दैलेखको दुल्लू त्यही राज्यको हिउँदे राजधानी हो । जुम्लामा हिउँ पर्नासाथ जाडो छल्न त्यहाँका राजामहाराज दुल्लूमा आएर बस्थे । जाडो मौसम भरि दुल्लूबाट विशाल सिंजा राज्यको प्रशासन चल्थ्यो । राजा, प्रशासकहरु र जाडो अवधिभर दुल्लू मै बस्थे । तत्कालिन समयको शक्तिशाली दुल्लू–२०४६को आन्दोनपछि गुमनाम भएपछि तत्कालिन द्वन्द्वको समयमा माओवादीको प्रतिकार गरेर सुर्वण अक्षरले नाम लेखायो । नेपाल गणतन्त्र हुदै संघीय राज्यमा प्रवेश गरेपछि भने ओझेलमा प¥यो । पछिल्लो समय सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन दबाबस्वरुप विद्रोह गरेर चर्चामा आयो, दुल्लू ।

ईतिहास, मौलिक कला–संस्कृति, पुरातात्विक र धार्मिक सम्पदाले धनी दुल्लू यतिबेला पर्यटन विकासको अभियानमा जुटेको छ । पर्यटनबाटै नगरको समृद्धि सम्भव देखेका छौं, पर्यटकलाई लोपोन्मुख संस्कृतिको जानकारी दिनका २ सय ५० बर्ष अघिका चिज,बस्तु संग्राहलयमा राखिएकोे नगरप्रमुख घनश्याम भण्डारी भन्छन् । हाम्रो आम्दानीको स्रोत यहाँका पर्यटकीय सम्पदा नै हुन् । हामीसंग थुप्रै मूर्त र अमूूर्त साँस्कृतिक सम्पदा छन् । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र स्थानीय कला संस्कृतिको जर्गेना गर्न नगरले गुरुयोजना बनाएको छ । 
सदियौं देखी निरन्तर बलिरहने नेपालकै चर्चित ज्वाला दुल्लू क्षेत्रमा पर्दछ । मुलुकका एकसय पर्यटकीय गन्तव्यमध्ये सरकारले पञ्चकोशी ज्वाला क्षेत्रलाई समावेश गरेको खुशी भएपनि महत्वपूर्ण पर्यटकीय एैतिहासिक कुरा छुटेकाले उत्तिकै दुःख छन् । तत्कालिन द्वन्द्वको बेला नेपाल सरकारले माओवादी जुनसुकै अप्रेशन गर्दा पनि सफल नभएको र जुम्ला सिंजा राज्यको हिउँदे राजधानी दुल्लूबाट माओवादी प्रतिकार गरेकोले दुल्लूलाई ‘दुल्लू विद्रोह ‘ पर्यटक क्षेत्र घोषणा गर्नूपर्ने स्थानीबासीको माग छ । पञ्चकोशीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने यहाँका बासिन्दाको वर्षौं पुरानो माग थियो जुन यसपटक पूरा भएको छ । प्रज्वलित ज्वालाहरू, नेपाली (खस) भाषाको सबैभन्दा पुरानो शिलालेख, गढी, प्राचीन दरबार (हाल भग्नावशेष), हिन्दु र बौद्ध धर्मावलम्बीको सहिष्णुताको प्रतीक पादुकास्थान, कलात्मक देवल, धर्मगद्दी, पात्थरनाउली, बालेश्वर मन्दिरलगायतका सम्पदाहरू छन् । ‘विगतमा दुल्लू जे–जति कारण पछाडि परे पनि अब हामी पर्यटनलाई मूल आधार बनाएर योजनाबद्ध विकासको खाका कोर्दैछौं’नगर प्रमुख भण्डारी थपे । ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र धार्मिक सम्पदाको प्रर्वद्धन, व्यवस्थापन तथा पूर्वाधार विकासमै केन्द्रित भएका छौं । 
दुल्लू बाईसे चौविसे कालबाट देखी प्राचीन खस साम्राज्यको चिनारी र माओवादी दुल्लू विद्रोहको रूपमा लिन सकिन्छ । दुल्लू राज्यका काजी जसपाउ थापाका पालामा बनेको दुईसय वर्ष पुरानो पौवाघरमा नगरपालिकाले सग्रालय स्थापना गरेको छ । पञ्चकोशी दर्शन गर्न आउने पर्यटकहरूको रोजाइमा सङ्ग्रहालय थपिएको छ । सङ्ग्रहालयमा २५० वर्ष पुरानो काठको बुट्टावाला गाता भएको हस्तलिखित स्वस्थानी किताब राखिएको छ । स्वस्थानी किताब कटुसको पातलाई पकाएर निगालोको कलमबाट लेखिएको हो । दुल्लू–७ काठेबडीका होमप्रसाद उपाध्यायको घरमा रहेको ऐतिहासिक स्वस्थानी पुस्तक सङग्राहलयको मुख्य आर्कषण मानिन्छ । ढुङ्गाको कचौरा, ढुङ्गाको कोल, तत्कालीन राजा र सैनिकले प्रयोग गर्ने तरबारहरू, त्यतिबेलाका महिलाहरूले प्रयोग गर्ने गहनाहरू, बाजालगायत १५७ ऐतिहासिक वस्तुहरू संग्रालयमा राखिएका छन् । 
संग्राहलय स्थापना हुनुअघि २५० वर्गमिटरमा क्षेत्रफलमा रहेको पौवाघर संरक्षणविहीन थियो । नगर प्रमुख घनश्याम भण्डारीले ‘साँस्कृतिक संग्राहलय सञ्चालन ऐन’ ल्याएर ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा लागेको बताए । ‘दुल्लूको मुख्य सम्पत्ति नै ईतिहास हो, रैथाने कला–संस्कृति हो, त्यही भएर अन्य ऐन ल्याउनुभन्दा अघि साँस्कृतिक सग्राहलय ऐन ल्याएका हौं ।‘

सग्राहलयबाट राम्रो आम्दानी गर्न सकिने नगरको अपेक्षा छ । नगर उपप्रमुख विष्णा थापाले संग्राहलयबाट पछिल्लो पुस्तालाई ईतिहास, लोक कला–संस्कृति जर्गेनामा जागरुक गराउन मद्दत पुग्ने विश्वास रहेको बताइन् । नगरभित्र अवस्थित विभिन्न ऐतिहासिक सम्पदाको संरक्षण र बजारीकरणलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको उहाँ बताउँछन् । नगरपालिकाका अनुसार कीर्तिखम्बको संरक्षणका लागि दामु–कीर्तिपार्क निर्माणका अतिरिक्त नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेखको संरक्षण गरिएको छ ।

शीरस्थान, नाभिस्थान, कोटिला, पादुका र धुलेश्वरलाई पञ्चकोशी तीर्थस्थल भन्ने गरिन्छ । सत्ययुगमा महादेवले पत्नी सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा कोख पतन भई कोटिला, शीर पतन भई शीरस्थान, नाभी पतन भई नाभीस्थान, पाउ पतन भई पादुका र बाँकी अंश पतन भई धुलेश्वर रहन गएको स्वस्थानी व्रतकथा र बैस्णानेश्वर पुराणमा उल्लेख छ । पञ्चकोशी तीर्थयात्रा पूरा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

शीरस्थान र नाभिस्थानमा पानीमाथि निरन्तर प्रज्वलीत ज्वाला दर्शन गर्न सकिन्छ । ढेड सय वर्ष पुरानो स्वामीको रुखले नाभीस्थानलाई अझ मनमोहक बनाएको छ । धुलेश्वर मन्दिरमा महादेव पार्वती र राधा कृष्णको प्रशन्न मुद्राको मूर्तीहरू छन् । यो नेपालको एक मात्र ज्वालामुखी चिन्ह भएको स्थान हो । हिन्दुको पवित्र तीर्थस्थल भए पनि पादुका मन्दिरमा बौद्ध विहारका अवशेषहरू भेटिन्छन् । पादुका मन्दिरमा पश्चिम नेपालका तत्कालीन शक्तिशाली शासक अशोक मल्लको पालाको २ मिटर अग्लो ४५ सेन्टिमिटर फराकिलो ढुङ्गाको स्तम्भमा एशियाकै दुर्लभ बुद्ध र चारहाते गणेशका मूर्ती छन् ।

दुल्लू क्षेत्रका सबै पर्यटकीय स्थलहरूसम्म पुग्ने मोटरबाटो छ । प्राथमिकताका आधारमा क्रमशः सडक कालोपत्रे गर्दै जाने नगरको योजना छ । प्रदेश सांसद सुशील थापा दुल्लू कर्णाली प्रदेशकै आर्कषक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्छन् । प्रदेश सरकारले यहाँको पर्यटन पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । पूर्वाधारमार्फत पर्यटनलाई उद्योगका रूपमा विकास गरि बेरोजगारी युवालाई रोजगारी दिन सकिने थापाको भनाई छ ।

यहाँका पर्यटकीय स्थलहरूमा पर्यटकको अभिलेख राख्न सुरु गरिएको छ । सुझावसहितको पर्यटकको विस्तृत विवरणले पर्यटन क्षेत्रको योजना निर्माणमा थप मद्दत पुग्ने विश्वास गरिन्छ । पञ्चकोशी नाभीस्थान क्षेत्र विकास समितिका अध्यक्ष नवीन योगीले नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतका पर्यटकहरू उल्लेख्य संख्यामा आउने गरेको बताए । पञ्चकोशी ज्वाला क्षेत्र धार्मिक पर्यटनको उपयुक्त गन्तव्य हो, त्यही भएर हिन्दु धर्मावलम्बी भारतीय पर्यटकहरूको ओइरो नै लाग्दछ । पर्यटकहरूबाट संकलित दान, भेटीको दुरुपयोग हुन नदिन पारदर्शी रूपमा अभिलेख राख्नाका साथै उक्त रकमलाई सम्बन्धित स्थलको विकासकै लागि खर्च गर्ने गरिएको अध्यक्ष योगीले सुनाए ।

दरबार भग्नावशेषमा परिणत
२०६० बैशाख ८ मा माओवादीले दरबारमा वम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार प्यागौडा परम्परागत शैलीमा निर्माण गरिएको थियो । दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखी भारतको गडुवालसम्म फैलिएको थियो । वाईसे, चौविसे राज्यमा यो राज्य सानो राज्यको रुपमा रह्यो । नेपालबाट अरनीको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुननिर्माण गरिएको थियो ।

तत्कालिन दुल्लुका राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाई जितेर ल्याएको सम्पत्तीबाट दरबारको पुननिर्माण गरेको ईतिहासका विद्यार्थी भुपाल विक्रम शाहले बताँउछन् । दरबारमा दुल्लूका अन्तिम राजा जंगबहादुर शाहले वीरशमशेर राणाकी नातिनी तेजशमशेरकी छोरीसँग विवाह गरेपछि दुल्लूमा राजकाज चलाएका थिए ।

देशमा जातजाती अनुसार संघीय राज्य बनाउने कुरा चलिरहेको बेला समग्र खस जातीको साझा सम्पत्तीको धरोहरमा रहेको यो दरबारको पुर्ननिर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने दुल्लू नगरपालिका–२ का खमबहादुर थापाले बताए । दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दीप्तप्रकाश शाहको नाममा भएकाले पुननिर्माणमा ढिलाई भएको पुरातात्विक विभागले जनाएको छ । यदि व्यक्तिले राज्यका नाममा नामसारी गरे छिटो पुनिर्माण गरिने एक कर्मचारी बताउँछन् । दुल्लूका अन्तिम राजाका छोरा जर्नेल शाह भने–‘दरबार दैलेखका जनताको मेरो नाममा भएपनि राज्यलाई दिन तयार रहेको टेलिफोन सम्र्पकमा जानकारी दिए । दुल्लूका अन्तिम राजाको चिनो हो, जनताको दरबार हो । नेपाल सरकारले दरबारलाई पुर्ननिर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने छु ।’ उनले थपे । 
खस राज्यको चिनो दुल्लू दरबार तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा क्षतीग्रस्त भयो । विष्फोटबाट पूरै ध्वस्त दरबारको हाल भग्नावशेष मात्र बाँकी छ । विष्फोटबाट दरबारका साथै त्यहाँ रहेका ११ वटा झारी कलश, भगवतीको मूर्ती, जहात, ३६ तोला सुन र चाँदीको आशागुर्जा, खुकुरी र तरबार, क्रस ढाल जलेर पूर्ण नष्ट भएको स्थानीयवासीको दाबी छ ।

स्थानीयवासी भूपालविक्रम शाहले राज्य रजौटा उन्मूलन ऐन लागू भैसकेपछि खस जातीका लागि जिउँदो ईतिहास बन्दै आएको यो दरबार भग्नावशेषमा परिणत हुनु दःुखद् भएको बताए । व्यक्तिका नाउँमा रहेको दरबारको जग्गालाई सरकारीकरण गरेर पुरानै शैलीमा पुर्ननिर्माण गर्नुपर्ने उनको सुझाव छ । उक्त दरबार शाह परिवारका ११ जना व्यक्तिका नाउँमा रहेको छ ।

तत्कालिन दुल्लू भारतको दिल्लीमा भएका मुगल सम्राटबिच दैत्य सम्बन्ध थियो । जसको उदाहरण रुपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परा, करुवा, हुक्का मुगलबाट सिकेर प्रयोग गरेको दुल्लू नगरपालिका गमौडीका पुर्णनाथ योगीले बताउँछन् । मुगल सम्राटसँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लू नगरपालिका वडा नं–१० मा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कार्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ । राजा दामोपालको पालादेखी सिंजा संगै दुल्लू क्षेत्रको विकास भएको देखिन्छ । जातीय आन्दोलन चलिरहेको बेला ठकुरी, ब्राहमण र क्षेत्रीको सहिष्णुतालाई सरकारले कमजोरी ठानेर पुर्ननिर्माणमा ढिलाई गरेको ठाटीकाँध गाउँपालिका १ का रक्षबहादुर शाहीले बताए ।

नेपाल एकिकरणको समयमा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ मा सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएपतापनि विक्रम संवत २०१९ मा यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम दुल्लू राज्य विघटन भई २०१९ मा दैलेखमा गाभिएको थियो । तत्कालिन समयमा दुल्लू दराका सबै दराहरुलाई बाँडेर गाउँ पञ्यात बनाइएको थियो ।

ओझेलमा न्याय दिने चौतारी 
दुल्लू दरबार नजिक रहेको छ । न्याय दिने चौतारी । तत्कालिन समयमा चौतारीबाट न्याय÷अन्याय छुट्टिन्थ्यो । राजाले झगडिया झिकाउँथे, दरबार नजिकै रहेकाले न्यायको निष्पक्ष छिनोफानो गरिदिन्थे । चौतारीमा बसेर झुट बोल्नुहुन्न भन्ने मान्यता थियो, त्यतिवेला । अड्डा अदालत नभएका बेला जनताले न्यायको उपभोग गर्ने यो चौतारो हाल ओझेलमा छ ।

दुल्लूबजार पटांगिनीस्थित धर्मगद्दी नामले चिनिने चौतारीमा पञ्चकोशी अर्थात कोटिला, शीरस्थान, नाभीस्थान, धुलेश्वर र पादुकास्थान घुमेर एक रात बास बसे पुण्य प्राप्त हुन्छ भन्ने पौराणीक विश्वास रहँदै आएको छ । पञ्चकोशी घुमेपछि प्रायजसो भक्तजनहरु बास बस्ने गर्दछन् त्यही चौतारीमा । चौतारीमा करिब ७ सय वर्ष पुरानो सिलंगीको रुख छ । रुखमूनी विभिन्न मुर्तीहरु छन् । स्थानीयका अनुसार राजा, बुद्ध र सिंहका बहुमुल्य मुर्ती चोरी भैसकेका छन् । अन्य मुर्तीहरु चोरी हुनबाट बचाउन कुटीभित्र राखिएको छ । धर्मगद्दीमा एकादशी र पुर्णीमाका दिन विशेष भजनकीर्तन लगाइन्छ ।

खस साम्राज्यका प्रमुख राजा पृथ्वी मल्लले सिलंगी रोपेर यहाँबाटै न्याय दिन थालेको ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ । उनीदेखि पछिका सबै राजाले यसलाई न्याय दिलाउने थलोका रुपमा प्रयोग गरेको पाइन्छ । सिलंगी हुर्केपछि चौतारो बनाइयो । ‘आफ्नो राज्यभित्रका जनतालाई अन्याय परेपछि राजाहरुले यहाँ बसेर न्याय दिन्थे । धर्मका सामुन्ने उसबेला धनी, बलिया मान्छेसमेत गल्दथे’ दुल्लूका स्थानीयबासी मन्त्रीजंग शाहले भने ‘हिजोआज पनि पुलिस, अड्डा अदालतभन्दा चौतारी छुन÷छुवाउन धेरै तयार हुन्छन् । एकाध स्थानीयमा यस्तो विश्वास अझैं कायमै छ । प्रहरी चौकीबाट न्याय नपाएपछि यहाँ आएर न्याय माग्छन् ।’ छरछिमेकमा हुने साना–तिना झगडा यसै थलोमा बसेर मिलाइन्छ । प्रहरी प्रशासनसंग बोलेपनि मानिसहरु धर्मगद्दीमा आएर झुटो कुरा बोल्न सक्दैनन् । झुटो बोले पाप लाग्छ भन्ने विश्वास गरिन्छ । गल्ती गर्ने मानिस चौतारो छुन डराउँछन् ।

सिलंगी वर्षमा दुई पटक फुल्छ । जबकी, जिल्लाका अन्य स्थानका सिलंगी एकैपटक फुल्छन् । सात सय वर्ष पुरानो भएकाले रुखभित्र टोड्को देखिन्छ । दमका रोगीहरुले यसको फल खोजी खोजी खाने गर्दछन् । खस साम्राज्य र बाइसे शासन कालमा न्याय निसाफ गर्ने थलो आधुनिक कालमा ओझेलमा परेको नेकपा दैलेखका युवा नेता रुद्रबहादु् शाहीले बताए । ‘व्यवस्था जति बदलिएपनि ईतिहास मेटिनु राम्रो होइन । प्राचिनकालमा केही राम्रा प्रचलन थिए । तीनलाई जर्गेना गर्न सकिन्छ । यस्ता सम्पदाको मिडियाबाट प्रचार–प्रसार गर्न जरुरी छ’ उनले भने । चौतारी भग्नावशेष दुल्लू दरबारबाट करिब दुई सय मिटर टाढा दक्षिणतर्फ पर्दछ । मूल सडक छेउमा भएपनि प्रचार–प्रसार कमीका कारण धेरैको नजरमा पर्न सक्दैन ।

(तस्बिर:भक्तबहादुर शाही⁄दैलेख)





Leave a comment

Your email address will not be published.


*