संसदीय पाठशालामा एक वर्ष

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन २२, २०७५     ::: 36 पटक पढिएको   |  

पार्वती विशुन्के
ठिक एक वर्ष अघि म प्रतिनिधिसभा भवनमा पसेकी थिएँ । फर्किएर हेर्दा एक वर्ष धेरै लामो पनि लाग्छ अनि असाध्यै छोटो पनि लाग्छ ।गत वर्ष आजकै दिन नयाँ वानेश्वर स्थित प्रतिनिधिसभा भवनको गेटमा पुगेकी थिएँ । कुन गेटबाट भित्र जाने भन्ने पनि त्यहिँ पुगेर थाहा पाएँ । गेटमा सुरक्षाकर्मीहरुले मलाई निकै कडाइ साथ जाँच गरे । अरु सांसदलाई सरासर जान दिए तर मलाइ चाहिँ जान दिएनन् ।

मैले आफ्नो परिचय दिएँ तर मानेनन् । उनीहरुले नम्रतापूर्वक मेरो परिचयपत्र मागे । मेरो फोटो नियालेर हेरे । सोधपुछ गरे । म नर्भस जस्तै भएँ । शायद मेरो होचो कद र कम उमेर देखेर विश्वाश गरेनन् ।

भित्र गएँ ।

सभा भवनमा पसें । सबै नेताहरु थिए । नयाँ संविधान बनेपछि निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक भएकोले होला, माहौल विशेष खालको थियो । चिनेका नेताहरु थोरै थिए तर उनीहरु कता थिए थाहा नै भएन ।

वैठक सुरु हुन समय लाग्यो, चुपचाप बसिरहें । मलाइ किन हो किन उकुसमुकुस भइरहेको थियो, अप्ठेरो लागिरहेको थियो । सांसदहरु कोही आपसमा कुराकानी गरिरहेका थिए, कोही चाहिँ एक्लै चुप लागेर बसेका थिए । मैले के अनुमान गरें भने चुपचाप बस्नेहरु चाहिँ म जस्तै नयाँ होलान् ।

सभाहलमा पुराना र स्थापित नेताहरुले के सोचिरहेका थिए भन्ने थाहा भएन तर म जस्तै नयाँ सांसदहरुले चाहिँ के सोचिरहेका होलान् भन्ने मनमा खुलदुली भयो । तर, सोध्ने कसलाई रु म चिन्दिनथें ।
मैले चाहिँ त्यो क्षणमा दैलेखी जनतालाई सम्झें । जनताले म बाट धेरै अपेक्षा गरेका छन् । यहाँका ठूलाठूला र अनुभवी नेताहरु बीच बसेर जनताको अपेक्षा पूरा गर्न सक्छु कि सक्दिन रु मैले आफैलाई प्रश्न गरें । चिन्ता लाग्यो ।

मसँग जवाफ थिएन ।

दैलेख र देश

सम्पूर्ण नेपालीको आशा र भरोसाको केन्द्र, विश्वाश र अपेक्षाको केन्द्र प्रतिनिधिसभामा म कान्छी सांसदले के गर्ने होला रु छटपटिमा थिएँ । क्रमश सांसदहरुसँग चिनजान हुन थाल्यो । आफ्नो पार्टीका सांसदहरु, अग्रजहरुसँग चिनजान भयो ।

प्रतिपक्षी नेपाली कांग्रेसका र अन्य दलका सांसदहरुसँग पनि चिनजान भयो । आत्मीयता भयो । अनुभवी सांसदहरुको कुरा सुन्न थालें । सांसदहरुले बोलेको ध्यान दिएर सुन्न थालें । म पनि बोल्न थालें । दिन बित्दै गयो । म माथिको भारी बढ्दै गयो ।

हो, भारी बढ्यो । प्रतिनिधिसभामा पहिलो दिन पस्दा म मेरो प्यारो दैलेख र दैलेखी जनता मात्र सोचिरहेको थिएँ । दिन बित्दै जाँदा दैलेख मात्र सोचेर नहुने रहेछ भन्ने थाहा भयो । दैलेखको जनप्रतिनिधि भए पनि जिम्मेवारीका दृष्टिले पूरै देश सोच्नुपर्ने रहेछ । यो एक वर्षलाई फर्किएर हेर्दा म के देख्छु भने म दैलेखबाट काठमाडौं आउँदा सिर्फ दैलेखका लागि काम गर्छु भनेर आएकी थिएँ । यहाँ आएपछि देशकै लागि काम गर्नुपर्ने बुझें । मलाई गर्व छ, एउटी दैलेखीले आफ्नो जिल्लाका लागि मात्र नभएर समग्र देशका लागि सोच्ने र काम गर्ने मौका पाएको छ ।

विश्वविधालयबाट पाठशालामा

यो एक वर्षमा जनप्रतिनिधि बन्नु असाध्यै चुनौतिपूर्ण काम रहेछ भन्ने थाहा पाएँ । चुनौति, चुनौति र चुनौति १ चुनौति बढ्दै गए । जिम्मेवारी र चुनौतिसँग भाग्ने मेरो बानी कहिल्यै भएन । जिम्मेवारी बहन गर्ने अनि चुनौति सामना गर्ने स्वभावलाई मैले झन मजवुत बनाएँ ।

प्रतिनिधिसभाको मर्यादा, तौरतरिका, राजनीतिक व्यवहार सबै नियाल्न थालें । सिक्न थालें । मलाइ के लाग्यो भने संसद भनेको पाठशाला हो, जनता भनेका विश्वविधालय हुन् । जनता विश्वविद्यालय पढेर आएकी मैले संसद भन्ने पाठशाला सजिलै पास गर्छु भन्ने विश्वाश जाग्न थाल्यो । जनतालाई केन्द्रमा राखेर सोच्ने र व्यवहार गर्ने हो भने जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सकिन्छ, जस्तोसुकै चुनौति पार गर्न सकिन्छ भन्ने आत्मविश्वाश बढ्यो ।

केही समयपछि प्रतिनिधि सभाका समितिहरु गठन भए । म सार्वजनिक लेखा समितिको सदस्य बने । प्रतिनिधिसभाको छलफल एक खालको हुने, समितिहरुको छलफल अर्को खालको हुने । दुवैबाट राज्य संरचना संचालनका विषयहरु सिक्न थालें ।

एकदिन दैलेखकै एकजना भाइसँगको कुराकानीमा मैले ‘सिक्दैछु’ भनें । भाइले ‘सांसद भएर पनि सिक्दैछु भन्ने हो रु सांसदले सबै कुरा स्वत जानेको हुनुपर्छ’ भने । भाइले नकारात्मक भएर भनेका थिएनन्, उनले इमानदारीसाथ भनेका थिए । सर्वसाधारण जनताको धारणा उनले बोलेका थिए । सांसदले जे पनि जानेको हुन्छ र जान्नुपर्छ भन्ने उनको धारणालाई मैले अन्यथा लिइन ।

तर, मैले के बुझें भने जनप्रतिनिधिले निरन्तर सिक्नुपर्ने रहेछ । सिक्ने, जान्ने र सुन्ने काम बन्द गरियो भने जिम्मेवारी निर्वाह गर्न सकिँदैन, जनताको भावना बुझ्न सकिँदैन ।

प्रतिनिधि सभामा आएपछि मैले के कुरा थाहा पाएँ भने सिकेको सिक्यै गरिरहनुपर्ने रहेछ, बुझेको बुझ्यै गरिरहनुपर्ने रहेछ । जनप्रतिनिधिले जानेको छु भन्ने होइन रहेछ, जनताले के भन्छन्, अरुले के भन्छन् त्यसबाट सिक्नुपर्ने रहेछ । कम्युनिष्ट पार्टीमा लाग्न थाल्दा एकजना अनुभवी नेताले ‘जनताबाट सिक्नुपर्छ’ भन्नुभएको याद आयो, वास्तवमै, संसदमा आएपछि जनताबाट सिक्नुपर्ने रहेछ भन्ने थाहा भयो ।

मैले धेरै कुरा सिकें । कसैले विरोध गर्छन् भने गरुन् तर सत्य बोल्न छाड्न नहुने रहेछ । आफ्नो विवेकले देखेको कुरा बोल्नुपर्छ, पछाडि हट्न हुँदैन भन्ने मेरो विचार झन दृढ बन्दै गयो ।

यो एक वर्षमा मेरो जिल्लाका साथीहरु र नेताहरुप्रतिको मेरो सम्मान झनै बढ्यो । उहाँहरु कति अनुभवी र परिपक्व हुनुहुँदो रहेछ भन्ने म सांसद बनेपछि मात्र थाहा पाएँ ।

संसदमा ज्ञान र विवेक

मैले विधेयक भनेको सुनेकी थिएँ तर त्यसबारे धेरै थाहा थिएन । सांसद बनेपछि देश चलाउन चाहिने सयौं कानुनहरुको बारेमा जान्नुपर्ने भयो, पढ्नुपर्ने भयो । स्कूल कजेज पढ्दाको बेलामा भन्दा धेरै पढ्नुपर्ने भयो ।

पढेर मात्र नहुने, कुन विधेयकमा कस्तो प्रावधान राख्दा देशलाई केकस्तो दिर्घकालीन लाभ हानी हुन्छ भन्ने पनि विचार गर्नुपर्ने भयो । अर्थात्, बुद्धिभन्दा विवेक धेरै चाहिने भयो ।

मेरा केही मान्यता र धारणा बदलिए । पहिले लाग्थ्यो, पढेलेखेका मानिसले नै सबैथोक गर्ने हो । प्रतिनिधिसभामा एक वर्ष बिताउँदा के लाग्यो भने पढाई ठूलो कुरा हो तर अनुभव र ज्ञान असाध्यै महत्वपूर्ण छ । पढाइले अनुभव हुन्छ भन्ने छैन, पढाइले प्रमाणपत्र बढ्ला तर ज्ञान र विवेक बढ्छ भन्ने छैन । ज्ञान र विवेक भनेको बेग्लै चिज रहेछ भन्ने लाग्यो ।

प्रतिनिधिसभामा म भन्दा थोरै पढेका सांसदहरु पनि हुनुहुन्छ, धेरै पढेका सांसदहरु पनि हुनुहुन्छ । अनुभवी सांसदहरु पनि हुनुहुन्छ, म जस्तै नयाँ सांसदहरु पनि हुनुहुन्छ । खासगरी अनुभवले खारिएका सांसदहरुको ज्ञान र विवेक देख्दा मलाइ ईष्र्या लाग्छ । देशको भविष्यका लागि चौतर्फी रुपमा सोच्ने काम विधेयकहरु उपरको छलफलमा हुँदो रहेछ । संसद भन्ने पाठशालामा ‘जनता र देशको भविष्य’ भन्ने विषयमा ज्ञान पाइँदो रहेछ ।

पिएचडी गरेकाहरुलाई पनि पढाउने–सिकाउने हैसियत राजनीतिक अनुभवले खारिएका मानिसहरुले राख्दा रहेछन् भन्ने कुरा मैले थाहा पाएँ, प्रत्यक्ष देखें ।

बल्ल दैलेख चिनें

यो एक वर्ष दैलेखमा संचालन भइरहेका र भविष्यमा संचालन हुन गइरहेका विभिन्न विकास आयोजनाका लागि मन्त्रालय, विभागहरुमा दौडधुप गरेर बित्यो । जिल्लामा डाक्टरको व्यवस्था गर्न कहिले स्वास्थ्य मन्त्रालय गइयो, कहिले विभाग गइयो । सबै मन्त्रालयमा दौडधुप गरियो । बसाइ छ काठमाडौंमा तर सबै काम दैलेखको गर्नुपर्ने । यहाँ बसिएको छ तर जिल्लामा कुन विकास योजना कसरी चलिरहेको छ, अब कुन विकास योजना लैजाने भनेर दौडधुप गर्नुपर्ने ।

म जन्मिएको, हुर्किएको दैलेख मैले राम्रोसँग चिनेकै रहेनछु, थाहा पाएको रहेनछु । विकास निर्माणको कामका लागि काठमाडौंमा मन्त्रालय र विभागहरु धाउन थालेपछि दैलेख अझ चिने । हाम्रो दैलेखमा विकास र प्रगतिको कति ठूलो सम्भावना छ भन्ने दैलेखमा बस्दा भन्दा काठमाडौंमा बस्दा धेरै थाहा पाएँ ।

समग्रमा भन्न पर्दा यो एक वर्षमा म धेरै समय काठमाडौं बसें । थोरै समय दैलेख बसे । तर, तन काठमाडौंमा हुँदा पनि मन मष्तिष्क र ह्रदयले भने दैलेख कहिल्यै छाडेन ।

गर्व छ मलाइ

नेकपाको सरकार एक वर्षको भएको छ, हाम्रो संसदको एक वर्ष भएको छ, प्रतिनिधिसभा एक वर्षको भएको छ । र, मेरो संसदीय अनुभव पनि एक वर्षको भएको छ ।

यो एक वर्षमा मैले थाहा पाएँ भने राजनीति भनेको साँच्चै नै महान चिज हो । कतिपय मानिसले राजनीति खराब चिज हो भन्छन्, तर होइन । राजनीतिमा खराब मानिस लागेका छन्, उनीहरुलाई हेरेर राजनीतिलाई खराब भन्न मिल्दैन ।

अर्को कुरा, राजनीतिमा लागेका मानिसहरुलाई बदनाम बनाउने प्रयास गरिँदो रहेछ । नेकपाकै कतिपय नेताहरु, कांग्रेस र अन्य पार्टीका कतिपय नेताहरुलाई मैले नजिकबाट चिन्ने र बुझ्ने मौका पाएँ । उनीहरुको त्याग, इमानदारी, समर्पण र निष्ठा देखेर म असाध्यै प्रभावित भएँ ।

यो एक वर्षमा धेरै काम गरियो, धेरै काम गर्न बाँकी छ । कस्तो हुँदो रहेछ भने गरेका कामहरु पनि योयो गरियो भनेर लेख्नु अहंकार गरेजस्तो हुने रहेछ ।

यो एक वर्षमा प्रतिनिधिसभाले, समग्र संसदले युगान्तकारी कामहरु गरेको छ । नेकपाको सरकारले युगान्तकारी काम गरेको छ । यस्ता कामको हिस्सा बन्न पाएकोमा म गर्व गर्छु । समस्त जनतालाई बधाई दिन्छु ।





Leave a comment

Your email address will not be published.


*