नारी प्रकृतिका प्रतीक

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५     ::: 12 पटक पढिएको   |  

अशोक शोकीनारी पुरुषमा भिन्नता भए तापनि भेद छैन । नारी पुरुषमा मात्र नभई सबै प्राणीमा आत्माको भिन्नता छ । हरेक नारीको रुपरङ्ग, हिँडाइ, बोलाइ, व्यवहार, विचार आदि फरक–फरक हुन्छ । संवेदनशील नारीले कुलाचारमा रहेर आफ्नो आदर्श भूमिका निभाई समाजमा प्रतिष्ठा राखेकी हुन्छिन् । सत् र शीलले नै ‘नारी’ शब्दको महिमा सुवासित हुन्छ । घरपरिवारको समृद्धिमा नारीको ठूलो भूमिका हुन्छ । नारीबिनाको घर पाटी जस्तो हुन्छ । पत्नीबिनाको घर जङ्गल जस्तै हुन्छ भनी महाभारतमा समेत बताइएको छ । नारीबिनाको घर दरबार जत्रै किन नहोस्, त्यो पूर्ण घर हुन सक्दैन । नारीले झुपडीभित्र पनि स्वर्गको अनुभूति गराउन सक्छिन् ।
विदुरनीतिमा भनिएको छ – स्त्री घरकी लक्ष्मी हुन् । उनी आदरयोग्य हुन्छिन् । उनी शैभाग्यशालिनी अर्थात् महालक्ष्मी समान हुन्छिन् । उनी घरको शोभा अर्थात् लक्षण बढाउनेमा गनिन्छन् ।
यसैले विशेष रूपले गृहिणीको रक्षा गर्नुपर्छ । जुन घरमा गृहिणीको अभाव हुन्छ त्यो घर स्मशानसमान हुन जान्छ । नारीमा यस्तो अद्भुत शक्ति हुन्छ, उनको मुस्कानले राक्षसको रिसलाई पनि साम्य बनाइदिन्छ । नारी पूmलबारीको पूmल हो, नारी प्रकृतिको प्रतीक हो । किनकि प्रकृति जति सुन्दर र शोभनीय हुन्छ, नारी पनि उत्तिकै शोभनीय हुन्छिन् ।
नारी सहनशीलताको सागर हो । कोमल हृदय हुनाले नारीमा क्षमाको मुहान हुन्छ । गृहस्थीको बोझ उठाउने धर्ती हुन् नारी । विश्वासको रूपमा हेर्दा नारी जीवनको सहयात्री हुन् । नारी बिना पुरुष शून्य हुनाले पुरुषको जीवनमा नारीको अत्यन्त महत्व छ । नारी छोरी भई शितलता, श्रीमती भई सम्मान, नारी पुरुषको गौरव, नारी पुरुषको अहङ्कार, नारी पुरुषको अभिमान पनि भएका छन् । दया, माया, क्षमाको रूपमा हेर्दा उनी आमा हुन् । वरदान र आशीर्वाद दिनेको रूपमा नारी भवानी हुन् भने पूजापाठ, तपको रूपमा पार्वती हुन् । ऐश्वर्यको रूपमा उनी लक्ष्मी हुन् । ज्ञानको रूपमा हेर्दा नारी सरस्वती हुन् र त्यागको रूपमा सीता हुन् । प्रतिशोधको रूपमा हेर्दा उनी उग्रचण्डी हुन् भने सबल र अबला पनि हुन्् ।
पुरुषको जीवन सङ्घर्षबाट शुरु हुन्छ भने नारीको जीवन समर्पणबाट शुरु हुन्छ, नारी र पुरुषमा भिन्नता नै यही छ । नारीको आँसुमा बल हुन्छ, सुन्दरतामा शक्ति हुन्छ । त्यस्तै पुरुषकोभन्दा स्त्रीको आहारा दुई गुणा, बुद्धि चार गुणा, साहस छ गुणा र काम आठ गुणा हुन्छ भनी चाणक्य नीतिमा बताइएको छ । नारीका यी लक्षण अर्थात् गुणहरूको सदुपयोग भएमा त्यो घर स्वर्गसमान हुन्छ । समाजको लागि सबैभन्दा खराब महिला हुन्छन् भने सबैभन्दा असल पनि महिला नै हुन्छन् । समाज एउटा रथ हो भने महिला–पुरूषको दाम्पत्य जीवन सो रथका दुई पाङ्ग्रा हुन् । रथ अगाडि बढाउन पाङ्ग्राको आवश्यकता पर्दछ । श्रीमतीको लागि श्रीमान् तप हो, श्रीमान्का लागि श्रीमती क्षमा हो । घर एवं समाज उज्ज्वल पार्न अन्य अनमोल सम्पत्तिभन्दा त्यस घरका दम्पतीको ठूलो हात हुन्छ ।
मानव भई जन्मनुको सफलता पनि हो यो । उत्कृष्ट एवं उदाहरणीय दम्पती हुन पाउनु घरपरिवार, समाज, देशकै सौन्दर्यको प्रतीक र मनमोहक सुगन्ध हो । पुरुषविहीन महिला वा महिलाविहीन पुरुषलाई समाजमा पनि नकारात्मक दृष्टिले हेर्ने गरिन्छ । पति परदेशी भएका कतिपय महिलाहरू व्यभिचारणी हुने गरेका पनि छन् । पति रोगी भएमा, आफू माइत बस्नु परेमा,आफ्नो स्थिति पतिले नबुझेमा, पतिले माया नगरेमा, दम्पतीको एक–आपसमा आत्मसन्तुष्टि नभएमा कतिपय स्त्रीहरू विरक्त भई चरित्र नष्ट गर्छन् । पुरुषमा पनि यस्तो अवस्था आउन सक्ने हुन्छ ।
महिला–पुरुष जो–कोहीको जान–अनजानमा चरित्र नष्ट हुन गएमा घोर पापको भागीदार हुनुपर्ने बौद्ध धर्मलगायत शिवपुराणमा समेत उल्लेख छ । शिवपुराणमा पतिव्रता धर्मसम्बन्धी उल्लेख गरिएको छ । पतिव्रताले टेकेको भूमि पनि पवित्र हुन्छ । मातापिताले समेत आफ्ना छोरीले गरेको दुष्कर्म र सत्कर्मको फल भोग्नुपर्ने बताइएको छ ।
शास्त्रको विधिअनुसार पतिव्रता धर्म पालना गर्ने सावित्री, लोपामुद्रा, अरुन्धती, शाण्डिली, शतरुपा, अनसुया, लक्ष्मी, स्वधा, सती, सङ्ज्ञा, श्रद्धा, मेना र स्वाहालाई ऋषिमुनिलगायत ब्रह्मा, विष्णु, महेश्वरले पनि मान्ने गरेका छन् । पतिव्रता धर्म चार प्रकारका छन्– उत्तमा, मध्यमा, निकृष्टा र अति निकृष्टा । यसमध्ये सबभन्दा उत्कृष्ट उत्तमा पतिव्रता धर्म मानिएको छ । कबिरले पनि भनेका छन्– ‘पतिव्रता स्त्री चाहे मैलोधैलो अनि कुरुप किन नहुन्, उनको पतिव्रता गुणमा सबै सुन्दरता गौण हुन्छ । ’ शुक्रनीतिमा भनिएको छ ः ‘यौवन, जीवन, धन, छाया, लक्ष्मी र प्रभुत्व – यी छ चीज चञ्चल छन् भन्ने जानेर आफ्नो धर्ममा रहन सक्नुपर्छ । ’
पुतलीको पखेटामा धेरै आँखा भएजस्तै नारीमा पनि समाजका गतिविधि थाहा पाउने धेरै कान हुन्छन् भनिन्छ । उनीहरूले ढिला बुझ्लान् तर पुरुषभन्दा धेरै बाठा हुन्छन् । उनीहरूको मन मौसमजस्तै बदलिरहन्छ । पुरुषभन्दा १० कदम अगाडि हुन्छन् । जसरी पूmल आँधी–हुरी शित ताप सहेर पनि हाँसेको हुन्छ त्यसरी नै नारी दुःख–पीडामा पनि मुस्कान दिई हाँसेका हुन्छन् । धैर्य र सहनशिलता भएकाले नारीलाई पूmलको रूपमा लिइन्छ । नारी माता हुन, बिना स्वार्थ कुनै आशा नराखी मायाकी खानी ममता र दयाकी सागर भएकीले महान कार्य पूरा गर्ने महानतालाई छोटो शब्दमा आमा, माता वा माँ भनिन्छ । आमा जति श्रद्धेय र पुजनीय शब्द संसारका कुनै सम्पदा, संस्कृति र इतिहासको पुस्तकमा प्राप्त हुन सकेका छैन ।

(लेखक साहित्यकार हुनुहुन्छ)





Leave a comment

Your email address will not be published.


*