‘फड्को’: कर्णालीको प्रतिविम्ब

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     ::: 25 पटक पढिएको   |  

सुर्खेत-कथाको शुरुमा कर्णालीको सिङ्जा सभ्यता र संस्कृतिसँग जोडिएको जन्तीसहितको विवाह आउँछ । जसले दर्शकलाई कर्णालीको परम्परागत एवं मौलिक संस्कृति, भाषा, वेषभूषा र रहनसहनको स्पष्ट बोध गराउँछ ।नाटकमा देखिएको विवाह खस भाषा, वेषभूषा र त्यहाँको जनजीविकाले एकैचोटी दर्शकको ध्यान तान्दछ । कण्ठ (घाँटी) मा लाटको माला, जीउमा डौठो ओढेर चोली गाबुन लगाएकी महिला, त्यस्तै शिरमा टोपी, ठेटुवाको भोटी (दौरा) जँगेलो (सुरुवाल), पाखाको कोट लगाएका पुरुषसहित नेपथ्याबाट मञ्चमा एक हुल जन्ती र डौडाको पहिरनमा दमाहा भिरेको बाजा टोली दमाहा, सहनाई, ट्याम्को, झ्याली बजाउँदै निस्कन्छ ।

त्यसले अवशेषका रुपमा रहेको विद्यमान एवं तत्कालीन कर्णालीको खस संस्कृति र सभ्यताको झल्को दिलाउँदछ । राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रहरी व्यायमशालामा आज मञ्चन गरिएको नाटक ‘फड्को’सँग सम्बन्धित रैथाने कलाकारको खसभाषी संवादले दर्शकदिर्घालाई अनौठो मात्र लागेन, उनीहरुको अभिनयले कथाको आवश्यक घडीमा प्रयोग गरिएको शब्द ‘आत्तु’ (ढोग गरेँ) र ‘ऐवात्तु’ (भाग्यमानी/चिरञ्जीवी हुनु) ले सबै क्षेत्रका दर्शकलाई दुवै शब्दको अर्थ बुझ्न उत्प्रेरित गरायो ।

विवाहमा जन्तीलाई स्वागत गर्दा गाइने मागल, रत्यौलीका रुपमा रातभरि महिलाले गाउने झोडा गीतले दर्शकलाई बुझ्न गाह्रो त भएकै थियो । यद्यपि त्यसले दुलाहा र दुलहीको दीर्घजीवन र प्रगतिको कामना गरिरहेको आशय उनीहरुले बुझिरहेका थिए । तत्कालीन सभ्यता र संस्कृतिसँग जोडिएको यो संस्कार साविकको कर्णालीमा अहिले पनि भेट्न सकिन्छ ।

कथाले अनमेल विवाहलाई पूर्ण निरुत्साहित र अन्तरजातीय विवाहलाई उत्साहित गरेको पाइन्छ । जहाँ बाहुन छोरा विकास रिजाल र मगरको छोरी पवित्रा मगरबीच विवाह हुन्छ । विवाहित पवित्राको नागरिकता माइतीमै बनिसकेकाले जिल्ला प्रशासन कार्यालय रारामा पुगेर उनी आफ्नो राष्ट्रिय परिचयपत्रमा पतिको थर कायम गर्न कुनै प्रमाणबिना नै सुब्बासाबलाई अनुरोध गर्छिन् ।

प्रमाणबिना थर कायम गर्न गाह्रो हुँदा सुब्बासाबले प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहअनुसार वडापालिकाको वेबसाइट हेरेर पवित्राको थर कायम गरिन्छ । पवित्रालगायत अर्को एकजनालाई सेवा प्रवाह गर्न ढिलो हुन्छ । सेवा प्रवाहमा ढिलो हुँदा उनीहरु दुवै सेवाग्राहीलाई प्रशासन प्रमुखले क्षतिपूर्ति दिएर पठाउनुहुन्छ ।

नाटकको मध्याह्नमा एकातिर अन्तरजातीय र अर्कोतिर उमेर पुगेका केटाकेटीबीचको विवाहलाई सन्दर्भ बनाएर कार्यालय समयमा दुई पात्र (कार्यालय सहयोगी रामप्रसाद र सुब्बासाब) बीचको एउटा संवाद हुन्छ । जसमा सुब्बासाब भन्नुहुन्छ, “हेर त रामप्रसाद १ अब हाम्मा ठौर हिँड्न नजानेको केटी र हिँड्न बिर्सेको बुढोबीच विवाह भएर यामराजले सम्बन्धविच्छेद गर्ने संस्कृतिको अन्त्य भएको छ ।”

नाटक काल्पनिकभन्दा यथार्थवादी धारमा मुखरित छ । यसले जमुना हिल्सा–द्रुतमार्ग, हिल्सा–रारा से–फोक्सुण्डो–मुस्ताङ हुँदै पूर्व ताप्लेजुङ जोड्ने हिमालयन ग्रेट ट्रेल, ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’को उद्देश्यलाई सङ्घ तथा प्रदेश सरकार प्रमुखले जवाफदेहिताका साथ पूरा गर्न नैतिक जिम्मेवारीको बोध गराएको छ भने अर्कोतर्फ सिंजामा खस संस्कृतिसँग सम्बन्धित विश्वविद्यालयको अपरिहार्यता देखाएको छ ।

जल, जङ्गल, जडीबुटी, कला, साहित्य, संस्कृति, भाषा, सभ्यता र मौलिकताले सम्पन्न कर्णाली अब त्यही स्थितिमा होइन, फड्को मारेर अघि बढ्ने होडमा रहेको नाटकले सन्देश दिन्छ । मुस्कानसहितको सेवा प्रवाह, सेवा प्रवाहमा ढिलाइ भए सेवाग्राहीलाई क्षतिपूर्ति, विद्युतीय हाजिरी, डिजिटल नागरिक बडापत्र, नागरिकलाई वडा तहबाटै वेबसाइटमा सूचना हेर्ने व्यवस्थाले वर्तमान कर्णालीको डिजिटल नीतिको प्रवद्र्धन गर्दछ ।

नाटकले तत्कालीन खस राज्यको वास्तविक इतिहास र आजको सूचना तथा प्रविधिलाई संयोजन गरेर उत्तर आधुनिककतातर्फ फड्को मार्ने जमर्को गरिरहेको वस्तुगत अवस्थालाई प्रतिविम्बित गर्दछ । मूलतः मुलुकले लिएको विकास नीति, लक्ष्य र निर्विवाद कर्णाली प्रदेशको मर्मलाई पक्रेको छ । यसले ‘जनमुखी प्रशासन, सन्तुलित विकास, मानव अधिकारमुखी न्याय, समृद्ध नेपाल, सुखी नेपाली’ नारा पूरा गर्ने परिकल्पना गरेको छ ।

तत्कालीन शक्तिशाली खस राज्य अहिले आएर अर्कैको मुख ताक्नुपर्ने बिडम्वनालाई नाटकले व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेको छ । नाटक महोत्सवमा नेपालका ख्यातिप्राप्त नाट्य तथा रङ्गकर्मी अभि सुवेदी, अनुप बराल, रमेशरञ्जन झा, राजन खतिवडा, प्रभाकर शर्मा, वीरेन्द्र हमालसहित रङ्गकर्मी सांसद तथा नाट्यविज्ञ प्राध्यापकको सहभागिता रहेको थियो । फागुन २३ गतेदेखि शुरु भएको रारा राष्ट्रिय नाटकको महाकुम्भमा हजारौँ दर्शकको भीड छ ।

फड्को नाटक अवलोकनकर्ता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कला र संस्कृतिको केन्द्र कर्णालीको निधारमा लेखिएको गरीबी र अभावसाथै यो प्रदेशको परिभाषा बदल्न नाटकले जोड दिएको बताउनुभयो । “मुलुक सम्पन्न गर्न यो प्रदेशको विशेष भूमिका छ”, कानूनमन्त्री भण्डारीले भन्नुभयो, “प्रदेश सरकार कर्णालीलाई नेपालको मोडल प्रदेश बनाउने होडमा छ ।”

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले भाषा, संस्कृति र प्रकृतिले सम्पन्न कर्णाली प्रदेशको वास्तविकतालाई नाटकले उजागर गरेको बताउनुभयो । उहाँले यहाँको सामाजिक यथार्थतालाई चित्रण गरी सकारात्मक सन्देश दिएको भन्दै फड्को नाटकका रङ्गकर्मीप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

कर्णाली खस संस्कृति मञ्च, जुम्लाका प्रतिनिधि दीपेन्द्र उपाध्यायले कर्णालीको भाषा, संस्कृति र पर्यटनलाई उजागर गर्ने मुख्य उद्देश्यले नाटक तयार गरिएको बताउनुभयो । थुप्रै अभावका बीचबाट तयार गरिएको नाटकमा विज्ञद्वारा औँल्याइएका रिक्ततालाई आगामी अवसरमा फूलबुट्टा भरेर दर्शकलाई पूर्ण सन्तुष्टि दिने उहाँको भनाइ थियो । अठार कलाकार सहभागी उक्त नाटकको निर्देशन रन्नीबहादुर घर्तीले गर्नुभएको थियो ।





Leave a comment

Your email address will not be published.


*