विप्लव समूहलाई हतियार बुझाउन ३५ दिने समयसीमा

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५     ::: 52 पटक पढिएको   |  

काठमाण्डौ – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा तोकेको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारको निर्णय सुनाएका हुन् ।

उनले समयसीमा तोके पनि सरकार वार्ता र छलफलका लागि सदैव तयार रहेको पनि बताए । सरकारले २८ फागुनमा आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै चन्द नेतृत्वको नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

“वार्ताका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो”, सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने । सरकार वार्ताका लागि पटक पटक तयार भएको तर उक्त समूह वार्तामै नआएको बाँस्कोटाले बताए ।

प्रमुख प्रतिपक्षी दलले पनि सरकारको यो निर्णयलाई स्वागत गरिसकेका अवस्थामा सत्तारुढ पार्टी्भित्र यसबारे छलफल भएको र यसबारे थप छलफल हुने पनि उनले बताए ।

“सिके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्‍यो । भोलि विप्लव समूह पनि आएमा सरकारले स्वागत गर्छ”, बाँस्कोटाको भनाइ थियो । विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको थियो ।

एक प्रश्नका जवाफमा मन्त्री बाँस्कोटाले सरकार र चन्द्रकान्त ९सिके० राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सहमतिमा उल्लिखित जनअभिमतको विधिको अर्थ निर्वाचनको जनमत भनिएको बताए ।





Leave a comment

Your email address will not be published.


*