होइन बुबा, म सुनारको छोरी !

          |   प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५     ::: 437 पटक पढिएको   |  

सजना सुनार
बाक्लो बस्ती पारी पट्टीको डुब्दै गरेको रातो घाम, ग्रामिण भेगको कच्ची सडक, झण्डै साँझ पर्नै लागेको भएर होला, चराचुरुङ्गीको चिरविर आवाज, सबै मेला लागी नौलो थिए । त्यो गाउँ र ठाउँको लागि पनि म नौलो थिए । एक्लै हिडिरहेको बेला ४० कटेका एक अधवैशे पुरुषले सोध्नुभयो ‘नानी कहाँ बाट आउनुभयो ? यो ठाउँमा नयाँ देख्दैछु । मैले जवाफ दिए ‘हो बुबा म यो ठाउँका लागि नयाँ हो, म सुर्खेतबाट आएको हुँ । प्रश्न यतिकैमा टुंगिदैन् ।
उहाँको दोस्रो पश्न थियो ‘तपाई कसको छोरी हो ? मैले पनि नहिच्कीचाई मेरो बुबाको पहिलो नाम भनिदिए ‘लालसिंह’ । उहाँ म माथी पश्न माथी पश्न थप्दै जानुभयो र फेरी सोध्नुभयो ‘थापाकी छोरी हुनुहुन्छ ?’ म चाहान्थे त अँ हो भन्न सक्थे, मलाई यो पनि थाहा थियो की यदि मेरो वास्तविक थर सुनिसक्नुभयो भने उहाँले म माथी हेर्ने दृष्टिकोण र विचार फरक हुनेछ । तर फेरी मैले सोचे मेरो थर त हैसियत होइन पहिचान हो, त्यसैले निर्धक्क भनिदिए ‘होइन बुबा म सुनारको छोरी !’
त्यसपश्चात उहाँको एकाएक फेरिँदै गएको अनुहारको रंग, मलाई सम्बोधन गर्ने शैली र हेराई सायदै म यो लेखका शव्दमा उतार्न नसकुला । किनकी त्यसपछिको उहाँको सम्बोधन तिमी किन आएको यता ? यो सम्बोधनले मलाई एकातर्फ निराश त बनायो, अर्कोतर्फ मलाई भित्र भित्रै उक्त व्यक्तिसँग धेरै भलाकुसारी गरिरहन उचित छैन भन्ने लाग्यो । यतिकैमा कानमा यरफोन राखी उहाँको पश्नको प्रत्युउत्तर नदिई उहाँलाई उछिन्दै दुई पाइला अगाडी बढे । म अगाडी बढेता पनि मेरो मनमा हजारौ कौतुहलता र पश्नहरु एका एक उब्जीएका थिए । जुन पश्नहरु उनै अधवैशे उमेरका बुबासँग जोडिएका थिए । तर मलाई उहाँसँग पश्नहरु गरिरहनुपर्छ भन्ने लागेन् । किनकी मैले महसुुस गरे उहाँको चेतनाको स्तर माथी उठिसकेको छैन् ।
आज मार्च २१ । विश्वभरी ५४ औँ अन्तराष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवस मनाईदैछ । ‘राष्ट्रवादी लोक रिझ्याइँ र जातिय अहंकारवादी विचारको अभिबृद्धिको कारण खोजौँ र प्रतिकार गरौँ’ भन्ने अन्तराष्ट्रिय नारा र सबै प्रकारका जातीय छुवाछुत तथा भेदभाव विरुद्ध प्रतिरोध गरौँ, सामाजिक न्याय सहितको समृद्ध र समावेशी नेपाल निर्माण गरौँ भन्ने राष्ट्रिय नारा सहित विभिन्न दिवसीय कार्यक्रमहरु गरिँदैछन् ।
मैले नबुझेको एउटा कुरा जब मान्छेहरुले मेरो प्रतिभा, मेरो कला, मेरो बोल्ने शैली र सिप तथा बौद्धिकतालाई देख्छन् तब मैले मेरो नाम र थर भन्नुभन्दा अगावै सुन्ने देख्नेले मेरो थरको अनुमान लगाउन थाल्छन् । अनुमान पनि कस्तो हेर्नुस् त थापाको छोरी, क्षेत्रीको छोरी नाक चुच्चो देख्नेले बाहुनकी छोरी यस्तै यस्तै । जब म सजना सुनार भन्छु, अझ मेरो थरमा उनिहरुले विश्वास गर्दैनन् । अनी भन्छन् ‘सुनुवार (नेवार) को छोरी ?’ अनी मलाई अचम्म लाग्छ यो कुरामा । के नेपाली समाजमा दलित समुदायको छोरा यो छोरी माथिल्लो तह सम्म जान सक्दैनन् भन्ने अन्धविश्वासले जडो गाडेको हो या दलित समुदायको छोरा छोरीपनि आफैमा प्रतिभावान छन् र केहि गर्न सक्छन् भन्ने अनुभुती हुँनै नसकेको या त चेतनाको स्तर अझै शुन्यमै छ ।
फेरी अर्को अचम्म लगाउने कुरा आखिर जातिय विभेद त हर दुई जातको विचमा छ । बाहुन र क्षेत्री, गुरुङ्ग र मगर, कामी र दमाई । यस्तै यस्तै । तर मेरो पश्न यहाँ नेर छ मगरले आफुमा परेको विभेद विरुद्ध किन बोल्दैन्, क्षेत्रीले आफुमाथी क्षेत्री भएकै कारण बाहुनबाट अवहेलित हुनुपरेको व्यथा सभा र सम्मेलनमा किन सुनाउँदैनन् ? के जाजिय विभेद विरुद्ध आवाज उठाउने र समानता र न्यायको लागि लड्ने र सभा सम्मेलन गर्ने, अन्तरक्रिया तथा ¥याली गर्ने ठेक्का दलितले लिएको हो र ? यो भनौ सरकारले जातिय विभेद अन्त्यका लागि दलित समुदायमात्रै लड्नु पर्छ भनेर पृथ्वीनारायण शाहले जस्तो काम विभाजन गरिदिएको छ र ? हरेक बर्ष आयोजना गरिने जातिय विभेद उन्मुलनका सभा सम्मेलन, अन्तरक्रिया, ¥याली, अन्तरसंवाद जस्ता कार्यक्रमहरुले हाम्रो आउँदो नयाँ पिढीलाई जातिय विभेद गर्नुपर्ने रहेछ, एउटै कक्षाकोठामा बस्ने सिता भन्दा रिताको जात ठुलो रहेछ, उमेश भन्दा रमेशको जात त सानो पो रहेछ, अनी त्यो पुजा दलित समुदायकी रहिछ भनेर दुई जात विचको फरक छुट्याउन सजिलो वातावरण सृजना त गरिरहेका छैनौ ।
आत्मसम्मान र मान प्रतिष्ठाका लागि आफ्नो वास्तविक पहिचान बोकेको थर लुकाई झुटो थर भनेर नयाँ पिढिले परिचय दिईरहँदा यसलाई सामान्य रुपमा लिनेकी । चार जात छत्तीस वर्णको फुलवारी भनेर चिनिने नेपालको पहिचान गुम्दैछ भनेर बुझ्ने ? कामी अंकलले अब आरन ठोक्न छाडे, सार्कीदाईले जुत्ता सिउन छाडे, दमाई काकाले कपडा सिउन छाडे, साँच्ची, नेपालको स्वरुप कस्तो होला ? त्यसैले अब सरकारले उनिहरुको पहिचान बोकिरहेको पेशा र जातलाई सम्मान स्वरुप स्विकार गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ की ।
कस्तो अनौठो कुरा, अहिलेको समयमा पहिलो दलित सिडियो भनेर पत्रपत्रिकामा फोटो सहितको समाचार आयो । आखिर अनौठो पनि किन नहोस्, अहिलेको संघिय संरचनामा विभाजित भईसकेको नेपाल भयता पनि दलित समुदायको जनसंख्याको बाहुल्यता जति छ, त्यतिकै अर्थपूर्ण र समान रुपमा दलित समुदायका व्यक्तिहरु निर्णायक तह सम्म पुग्न सकिरहेका छैनन् । आखिर नेपाली समाजमा अछुत भनिएकै एउटी चेली अमेरिका जस्तो मुलुकको मेयरको सल्लाहकार बन्न पुग्दा उनि जस्ता बौद्धिक र सृजनशिलताले भरिएका हजारौ दलित समुदायका युवालाई मुलुकले चिन्ने की नचिन्ने ?
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको ?पमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाइदै आइएको छ । नेपाललाई वि.स. २०६२/६३ को जनआन्दोलन पछि पुर्नस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

यसै दिवसको अबसरमा मलाई चिच्याई चिच्याई भनिरहन मन लाग्छ जातिय विभेदका बारेमा लडिरहँदा होस् या बोलिरहँदा म सबैलाई यहि अपिल गर्न चाहान्छु ‘दलित समुदाय होस् या अन्य समुदाय हाम्रो नामसँग जाडिएको थर हाम्रो पहिचान बनोस्, न की हाम्रो हैसियत । अनुहार कालो हुँदैमा दलितको छोरी भन्ने पहिचान नगरुन्, अनुहार मिलेको र राम्रो हुँदैमा थापाको छोरी भन्ने पहिचान नगरुन् । आफ्नो थरलाई गर्वका साथ पहिचान दिन सक्ने वातावरण सृजना होस्, दिवसको यहि शुभकामना सहित मलाई पटक–पटक गरिने पश्नहरुको एउटै जवाफ ‘होइन् बुबा म सुनारको छोरी !
लेखिका युवा अभियान्ता हुन् ।





1 Comment on होइन बुबा, म सुनारको छोरी !

  1. सुजन वि.क. // March 21, 2019 at 5:21 am // Reply

    धेरै राम्रो लेख

Leave a comment

Your email address will not be published.


*