पत्रकारिता र पत्रकार

          |   प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५     ::: 24 पटक पढिएको   |  

पत्रकारिता एक साँघुरो र पेसेवर व्यक्तिले अभ्यास गर्ने विधा हो । दैनिक जीवनमा भए गरेका घटनालाई समाचारजन्य शैलीमा रुचिकर तर कानुनी र नैतिक बन्धनभित्र बसेर सम्प्रेषण गरिने कार्य पत्रकारिता हो । सबै पत्रकार आमसञ्चारकर्मी हुन् तर सबै आमसञ्चारकर्मी पत्रकार होइनन् । यस सन्दर्भमा पत्रकारिता पेसा हो । पत्रकारिता सूचनाको संकलन, चयन, प्रशोधन, सत्यापन, सम्पादन र सम्प्रेषण हो । पत्रकारितामा एउटा प्रचलित भनाइ छ, ‘सरकारबिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिताबिनाको राज्यको कल्पना गर्न सकिन्न ।’ कुनै पनि समाज र मुलुकमा पत्रकारिता कति अपरिहार्य छ भन्ने दर्साउन यति एउटा भनाइ काफी छ ।

सूचना, सञ्चार र प्रविधिको विकासले उच्चकोटीका महलदेखि साँझ–बिहान छाक टार्न मुस्किल पर्ने कुटीसम्म टेलिभिजन र मोबाइलको प्रयोग बढ्दै गएका छन् । २०६२/६३ सालमा लोकतन्त्र प्राप्तिसँगै सामाजिक, आर्थिक, प्राविधिकलगायतका क्षेत्रमा परिवर्तनका ठूला अपेक्षा रहे । अपेक्षाअनुसार नै सूचना, सञ्चार र प्रविधिका क्षेत्रमा छोटो समयमा धेरै उपलब्धि हासिल भएको देखिन्छ । पत्रकारिताको अपरिहार्यता सिद्ध गर्न थुप्रै तर्क दिन सकिन्छ । एउटा समाजका लागि आधारभूत तत्वमध्ये पत्रकारिता अभिन्न अवयव हो । पत्रकारिताले प्रत्यक्षतः समाजका भत्केका बाटाघाटा टाल्दैन । चर्केका सार्वजनिक सम्पत्ति जोड्दैन । अभावको भाँडोमा सिधै मानाचामल पनि भर्दैन । तर, पत्रकारिताले बाटो बनाउने निकाय, बाटो बनाउने ठेकेदार, केही समयमै भत्किने कच्चा गुणस्तरको बाटो बनाउने निर्माणकर्तालाई जवाफदेही बनाउँछ । अभावको पूर्ति गर्ने उपाय र साधनस्रोतको पारदर्शी वितरण भयो÷भएन हिसाब खोज्छ । मानिसलाई बाँच्नका लागि हावा र पानीको आवश्यकता भएजस्तै सूचना पनि अत्यावश्यक छ । पत्रकारिताले सूचनाको आदानप्रदान गर्छ । समाजलाई सूचित गर्छ । मनोरञ्जन दिन्छ । राम्रो काममा लाग्न उत्प्रेरित गर्छ ।
सरकारले सूचना, सञ्चार तथा प्रविधिमा देखाएको उदारतासँगै गाउँगाउँमा मोबाइल, इन्टरनेट, टेलिफोन, टेलिभिजन, पत्रपत्रिका तथा रेडियोहरू सञ्चालन हुँदा सर्वसाधारण सूचना र सञ्चारको सुविधाबाट लाभान्वित भएका छन् ।

खान र लगाउन कटाएरै भए पनि मोबाइल, रेडियो र टेलिभिजनसँग नजिक हुनुपर्ने अहिलेको आवश्यकताजस्तै बनेको छ । लेख्न, बोल्न वा अभिव्यक्ति दिन जो सुकैले पनि सक्ने मान्यता स्थापित भएकाले पत्रकारिता रुचि हो भन्ने पनि छन् । र, त्यो रुचि हुने जोसुकै व्यक्ति पनि पत्रकार हुन सक्छ भन्ने गलत व्याख्या गरिएकाले नेपालजस्ता थुप्रै अल्पविकसित मुलुकमा पत्रकारितालाई पेसा कम, रुचि बढी मानिँदै आएको छ । लेखिएका वा अभिव्यक्त गरिएका सबै सूचना वा विचार पत्रकारिता होइन भन्ने वास्तविकता नबुझेकाले पत्रकारितालाई रुचि बढी, पेसा कम र कतिपय अवस्थामा त रुचि मात्रै पनि मानिँदै आएको छ । पत्रकारितालाई किन पेसा मान्ने र यो किन सबैले अभ्यास गर्न मिल्दैन भन्ने बुझ्न सञ्चार, आमसञ्चार र पत्रकारिता तीनै विधालाई तुलना गरेर बुझ्नु आवश्यक छ ।
सञ्चार विचार वा सूचनाको अर्थपूर्ण आदानप्रदान हो । यो व्यापक र विशाल छ । थोरै व्यक्तिद्वारा छरिएर रहेका असंख्य व्यक्ति वा समुदायलाई अखबार, रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, पुस्तक, प्रदर्शन सामग्री, शिक्षा, सूचना वा सञ्चार सामग्री आदिको प्रयोग गरेर सूचना वा विचारको सम्प्रेषण गर्नु आमसञ्चार हो । यो जटिल प्रक्रिया हो
खासगरी नेपालको सन्दर्भमा २०४६ सालको परिवर्तन अघिको बन्द प्रेस नीति र त्यसयताको प्रजातान्त्रिक कालमा हुर्केको खुला नीतिबीचको तुलना गर्दा नै स्पष्ट हुन्छ, प्रेसमैत्री राज्य भए मात्रै हामी आफ्ना विचार÷भावना निर्विवाद राख्न सक्छौं । एक ठाउँको खबर आमजनताले अर्को ठाउँमा सजिलै थाहा पाउने माध्यम पनि यही बन्यो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि २०५९ देखि २०६२/६३ सालको अवधि जसरी राज्य निरंकुश बन्यो, त्यतिबेला प्रेसमाथि राज्य उत्रेको थियो । किनकि, प्रेस निरंकुश सत्ताका लागि बाधक पनि हो । त्यसकारण, अहिले प्रेस नागरिक स्वतन्त्रता कायम गर्ने माध्यम मात्रै नबनेर हजारौंलाई रोजगारी दिन सक्ने उद्योग बनेको छ । यसले राष्ट्रनिर्माणमा अर्थतन्त्र बलियो बनाउनसमेत मद्दत पु¥याएको मान्न सकिन्छ । त्यसैले खुला आमसञ्चारबिनाको समाज/राष्ट्रको परिकल्पनासम्म गर्न सकिँदैनभन्दा कुनै अत्युक्ति नहोला । बदलिँदो समयजस्तै गरी पत्रकारिता पनि बदलियो । यसमा अचम्म मान्नु पर्ने केही छैन । कतिपयले यस्तो आरोप पनि लगाउँछन् कि आजकालका पत्रकारिताको कुनै मिसन छैन, यो मूल उद्देश्यबाट विमुख छ ।
पत्रकारिताको दायरा फराकिलो हुँदै गएको छ । समाचारमा मानिसको पहुँच बृहत्तर बन्दै गएको छ । समाचार सम्प्रेषणकोे गतिमा अभूतपूर्व रफ्तार बढेको छ, जसको परिणाम दुनियाँभरको समाचार हाम्रोे मुठ्ठीमा छ । नेपालमा मात्र होइन, संसारभर पत्रकारिता बृहत् बन्दै गएको छ । यो व्यवसायको रूपमा लाखौं करोडांैको व्यापार गरिरहेको छ, ठूलाठूला कर्पोरेट हाउस समाचारमा नाफा र घाटाको व्यापार गरिरहेका छन् । यी कम्पनीले पत्रकारिताको परिभाषासमेत बदलिदिएका छन् । यसैकारण भन्न सक्छौं कि पत्रकारिता मिसन होइन । कैयौं आलोचक यसलाई मार्केट इकोनोमीको जिम्मेवार ठह¥याउँछन् । उनीहरूको भनाइमा विशुद्ध पत्रकारिता समाप्त भएको छ । तर, यो चाहिँ भन्न सकिन्छ पत्रकारिता अब मिसन रहेन यो त व्यवसाय बनेको छ । यदि यो व्यवसायलाई इमान्दारिताका साथ निभाउन सके मात्र पनि समाज र देशलाई सकारात्मक ढंगले अघि बढाउन सक्छौं ।
बाँकेकै कुरा गर्दा यहाँ पनि आज प्रशस्त पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइन न्युज पोर्टलहरू खुलेका छन् । आममानिसमा मिडिया चलाएर पैसा कमाएको भान परेको हुन सक्ला तर, नेपाली मिडियाले नाफा होइन, बरु घाटा खाएर समाजको सेवा गरिरहेका छन् । चल्तीका मिडियासामु साना मिडियाका प्रस्तुति, विषयवस्तुको कभरेज, प्राविधिक क्षमतालगायत सबैमा होचो भएकाले कमजोरी देखिनु स्वभाविक नै हो । तर, पत्रकारिताको व्यावसायिक अचारसंहिता ठूलो होस् या सानो सबै मिडियामा एउटै हुन्छ । पत्रकारले प्रवाह गर्ने सूचनामा शुद्धता अकाट्य छ । सामाजिक जिम्मेवारी भए पनि पत्रकारिता व्यवसाय हो ।

मिडिया चलाउन कतिबाट अनुदान होइन, पेसा पनि मर्यादित हुनुपर्छ । समुदाय भित्रैबाट आउने विज्ञापन र ग्राहक शुल्क मात्रै नेपाली मिडियाको आम्दानीको स्रोत हो । यसरी आर्जित सीमित रकमबाट आफ्नो लागत खर्च र पत्रकार पाल्नुपर्ने हुन्छ । त्यसैले, मिडियालाई हामीले माया नगरे कसले गर्छ ? नेपाली मिडिया भोको छ कि अघाएको छ ? पत्रकारले आधापेट खाएका छन् कि खालीपेट काम गरिरहेका छन् राज्यले विचार गर्नुपर्छ ।





Leave a comment

Your email address will not be published.


*