निरन्तर अघि बढ्नु नै एक मात्र विकल्प

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५     ::: 117 पटक पढिएको   |  

शोभा गजुरेल- छोरीलाई कहिल्यै सिकाउन खोजिएन तिमी आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा उनलाई कहिल्यै भनिएन यो घर तिम्रो हो यसमा तिमीले आफ्ना दाजुभाइसरह अधिकार पाउनेछौ भनेर । उनलाई सधै निर्जीव बन्न हौसला दिइन्छ, अर्काको घरमा दान भएर जान अनि त्यही घरलाई आफ्नो घर बनाउन अनि फेरि अर्को घरमा लक्ष्मी बनिदिन, त्यो घरलाई सजाउन त्यसपछि त्यहाँ फेरि दास बन्न ।

छोरीले छोरीका रूपमा जब यो धर्तीमा पाइला टेक्छिन् तब उनको नाम लक्ष्मी हुन्छ । ती लक्ष्मीले आफू जन्मिएको घरलाई सानैदेखि सजाउन थाल्छिन् अनि घरका सदस्यहरूमाथि मायाको वर्षा गरिरहन्छिन् । आमाबुवा, हजुरबुवा, हजुरआमा, काका–काकी, ठूलाबुवा, ठूलीआमा, दाजुभाइ, दिदीबहिनी, फुपू हुन् वा मामा हरेकको दिलमा बसेर सधै मायाको मुस्कान छर्छिन् । त्यो घरका हरभित्तामा उनको पौरख झल्कन्छ, कोठाचोटा, आँगन, पिंढी सबैतिर उनको परिश्रम हुन्छ । त्यसैले त्यो घर उनीबिना अधूरो हुन्छ । उनको उपस्थिति नै त्यो घरका लागि लक्ष्मीको आगमनजस्तो हुन्छ । त्यसैले उनलाई घरकी लक्ष्मीको उपमा दिइन्छ । उनले त्यो घरलाई हरप्रकारले सजाउँछिन् । माया, प्रेम पोखेर होस् वा मेहनत गरेर उनी हरेक कामका लागि तयार हुन्छिन् । यद्यपि तिनै लक्ष्मी मारे पाप पाले पुण्य भनी कन्यादान गरेर अर्काको हातमा सुम्पिएपछि पराइ घरमा जान बाध्य हुन्छिन् ।

जुन घरलाई उनले आजसम्म मेरो भनेकी हुन्छिन्, भोलिपल्टैदेखि माइती भन्नुपर्ने, त्यहाँका कुनै पनि चल–अचल सम्पत्ति उनको नहुने जसका लागि उनले आफ्नो आधा जीवन समर्पण गरिसकेकी हुन्छिन् त्यो सबलाई पराइ मान्दै, अर्काको हातमा दान भएर जानुपर्ने तीतो यथार्थले हाम्रो समाजमा निरन्तरता पाउँदै आएको छ । त्यसैले पनि छोरीलाई जन्मदै भेदभावपूर्ण वातावरणमा हुर्काइन्छ । छोराले पढ्नुपर्छ, उसले परिवार पाल्नुपर्छ तर छोरीले घरको काम सिक्नुपर्छ अनि अर्काको घरमा जानुपर्छ–यो नियम समाजले नै बनाएको हो ।

छोरीलाई कहिल्यै सिकाउन खोजिएन तिमी आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा उनलाई कहिल्यै भनिएन यो घर तिम्रो हो यसमा तिमीले आफ्ना दाजुभाइसरह अधिकार पाउनेछौ भनेर । उनलाई सधै निर्जीव बन्न हौसला दिइन्छ, अर्काको घरमा दान भएर जान अनि त्यही घरलाई आफ्नो घर बनाउन अनि फेरि अर्को घरमा लक्ष्मी बनिदिन, त्यो घरलाई सजाउन त्यसपछि त्यहाँ फेरि दास बन्न ।

नारीले आफ्नो अस्तित्व मेटाएर सन्तानलाई जन्म दिन्छिन् अनि त्यो सन्तानको नाम बाबुको हुन्छ । उनलाई फलानाका छोराछोरी भनाएर चिनाइन्छ । आत्मनिर्भरता हुँदैन त्यहाँ पनि अर्काकै कमाइमा बाँच्नुपर्छ । समाजलाई दिने यही हो उनले । हिजो उनी फलानाकी छोरी थिइन् नाम थियो लक्ष्मी, तिनैलाई घरबाट निकालेर दान गरी अर्काको हातमा सुम्पिएपछि अब उनको नाम फलानाकी श्रीमती, अनि भन्ने त यहाँ पनि यही हो यी हुन् घरकी लक्ष्मी, यस्तो दासतामा जकडदै समाजले नारीलाई आफ्नै हिसाबले उपयोग गर्दै आएको छ । समाज उनको अस्तित्व मेटाइदिन कम्मर कसेर लागेको छ ।

जब कुनै पनि महिला आफ्नै बाबुको घरमा आफ्नै अभिभावकसँग अधिकार विहीन हुन सिकेर आउँछिन्, ती नारीले कसरी अगाडि बढेर आफ्नो अधिकारको रक्षा गर्न सक्छिन् जब उनको मानसिकतालाई नै मोडेर म र मेरो भन्ने सबै कुरा खोसिन्छ, न उनको हातमा सम्पत्ति हुन्छ न त उनलाई मानसिक रूपमा बलियो बनाइन्छ । उनलाई त तिमीलाई अरूले पाल्छ, तिमीले अर्काको घर जानुपर्छ भनेर सिकाइन्छ ।

आज २१ औं शताब्दीमा आएर नारीले केही साक्षर हुने मौका पाए पनि उनको मस्तिष्कमा भरिएको अरूले पाल्ने, अरूको हुनुपर्ने, यो सम्पत्ति मेरो होइन, मैले पराइघर जानुपर्छ भन्ने सामाजिक विभेदले नारीको चेतना नै कमजोर बनाइदिन्छ अनि उनी आफ्नो कर्तव्य यही हो भन्ने धारणा बनाउन थाल्छिन् । उनले अधिकारको उपभोग होइन कर्तव्य मात्र पालना गर्छिन् अनि यसैलाई चलन भन्दै यही प्रक्रिया अघि बढ्दै जान्छ । सधै आफ्नो अस्तित्व समाप्त गरी, कसैकी छोरी, श्रीमती अनि आमा यिनै हुन्छन् यिनका परिवर्तनशील नाम ।

नारीको बौद्धिकता कमजोर हुँदैन तर उनलाई कमजोर बनाइन्छ । आफ्नै अभिभावकबाट नारीलाई कमजोर हुन सिकाइन्छ । यही नै हिजो र आजको तीतो यथार्थ हो । जन्मनासाथ सुरु गरिने गलत शिक्षाका कारण पनि नेपाली नारीहरू अघि बढ्न सकिरहेका छैनन् ।

उनीहरू विद्रोह गर्न सक्दैनन् । उनीहरूको मनस्थिति नै कमजोर हुन्छ । यो स्वाभाविक पनि हो किनभने समाजले नारीलाई अधिकार होइन कर्तव्यमा मात्र बाँच्न सिकाएको छ । जब उनीहरूलाई अधिकारका लागि लड्न सिकाइन्छ तब उनीहरू समाज विरोधी हुन्छन् । दास बनेकी नारीले दासताको बन्धन तोड्न खोज्दा घर भँडुवाको संज्ञा पाउँछिन् । यद्यपि जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि महिलाहरूले यी तमाम बाधा–अड्चन पन्छाउँदै अघि बढ्नु नै आजको एक मात्र विकल्प हो । nari.ekantipur बाट





Leave a comment

Your email address will not be published.


*