विपद् प्राकृतिक हुँदैन

        शेषकान्त काफ्ले   |   प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६     ::: 73 पटक पढिएको   |  

काठमाडौँ — विपद् व्यवस्थापनमा केही आधारभूत शब्द छन्– प्रकोप, विपद्, संकटापन्नता, सम्मुखता र सामुदायिक सक्षमता । यिनको सही ज्ञान र प्रयोगबाट प्रकोपको रोकथाम, निवारण वा विपद्बाट हुन जाने क्षति कम गर्न सकिन्छ । आजकल पत्रपत्रिका, अन्तर्वार्ता र सामाजिक सञ्जालमा प्राकृतिक प्रकोप, दैवी प्रकोप र प्राकृतिक विपद्जस्ता शब्द छ्यासमिस रूपमा प्रयोग भएको  पाइन्छ ।

प्रकोप र विपद्मा के फरक छ ? के विपद् प्राकृतिक हुन सक्छ ? विपद्बाट हुने क्षति न्यूनीकरण गर्न यस अवधारणाबारे जानकार हुन किन आवश्यक छ ?

‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय रणनीति’ संयुक्त राष्ट्रसंघीय निकायको परिभाषाअनुसार ‘प्रकोप’ भन्नाले कुनै एउटा प्रक्रिया, परिघटना वा मानवीय क्रियाकलाप हो, जसले जनधनको क्षति, घाइते वा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । सामाजिक र आर्थिक क्षति वा वातावरणीय विनाश निम्त्याउन सक्छ । अर्को शब्दमा प्रकोप खतराजन्य अवस्था हो ।

विपद् भन्नाले प्रकोपजन्य घटनासँग संकटापन्नता, सम्मुखता तथा समुदायको सक्षमताको अन्तरक्रियाबाट सिर्जित व्यापक मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति एवम् असर हुन्, जसका कारण समुदायको सामान्य जीवन पद्धति गम्भीर रूपमा अवरुद्व हुन पुग्छ । उदाहरणका लागि बारा, पर्सा जिल्लामा केही हफ्ताअघि आएको चक्रवात (शत्तिशाली हुरीबतास) विपद् हो, जसले ३१ जनाको ज्यान लियो । सयौंलाई घाइते बनायो ।

स्थानीय समुदायलाई यसको सामना गर्न बाह्य सहयोगको आवश्यकता पर्‍यो । गत महिना गएको ४ म्याग्निच्युडको भूकम्प जसलाई हामी सबैले महसुस गर्‍यौं तर त्यसबाट कुनै मानवीय, सामाजिक, आर्थिक वा वातावरणीय क्षति भएन । यसलाई हामी प्रकोप भन्छौं ।

४ दशकअघि सन् १९७६ मा बेलायतका तीन जना विपद् व्यवस्थापन विशेषज्ञले ‘नेचर’ पत्रिकामा लेख प्रकाशित गरी एउटा अवधारणा अघि सारे, ‘कुनै पनि विपद् प्राकृतिक हुँदैन । यो सामाजिक, आर्थिक अवस्थाको परिणाम हो ।’ यसको अर्थ थियो– विपद् मानवीय उपस्थितिबिना सम्भव हुँदैन ।
मानिसका कमीकमजोरी, अज्ञानता, अक्षमता, मानव सिर्जित कमजोर भौतिक संरचना, एकता अभाव, लोभलालच तथा एकआपसमा समन्वय अभावजस्ता सामाजिक, आर्थिक एवं राजनीतिक अवस्थाबाट सिर्जित प्रकोपले विपद्को रूप लिन्छ तर विपद् जहिले पनि मानवद्वारा सिर्जित अवस्था हो । तसर्थ, विपद् वा विपत्तिलाई प्राकृतिक भनिँदैन ।

जुन बेला यो अवधारणा ‘नेचर’ पत्रिकामा प्रकाशित भएको थियो, नेपालमा हामी दैवी प्रकोप (उद्धार) ऐन, २०३९ बनाउन प्रारम्भिक छलफल क्रममा थियौं । हाम्रो त्यतिबेलाको सोचाइ थियो– विपद् देवताको श्राप वा देन हो । यसलाई रोकथाम अथवा नियन्त्रण गर्न सकिँदैन । यसको क्षतिलाइ राहत तथा प्रतिकार्यबाट कम गरिनुपर्छ ।

विश्वव्यापी रूपमा भने त्यति नै बेला प्रतिकार्य वा पूर्वतयारीका क्रियाकलापबाट मात्र होइन, समग्र ‘विपद् व्यवस्थापन’ को आवधारणा अवलम्बन गरी क्षति न्यूनीकरण गरिनुपर्छ भन्ने अवधारणाबारे छलफल चल्दै थियो । परिणामस्वरूप सन् १९९०–२००० को दशकलाई संयुक्त राष्ट्रसंघको आह्वानमा ‘प्राकृतिक विपद् न्यूनीकरण दशक’ का रूपमा विश्वव्यापी रूपमा मनाइयो । अझै पनि विपद् वा विपत्तिलाई प्राकृतिक नै भनिएको थियो ।

सन् २००५ मा जापानको कोबे सहरमा आयोजित विश्व विपद् न्यूनीकरण सम्मेलनमा आइपुग्दासम्म भने विपद् व्यवस्थापनमा नवीन अवधारणा आइसकेको थियो । यस सम्मेलनमा विपद् जोखिम न्यूनीकरण, सामुदायिक स्वसक्षमताजस्ता अवधारणाले स्थान पाए । विपद्को जड सामुदायिक संकटापन्नता हो र यसका अन्तर्निहित कारण पहिचान गरी तिनलाई निवारण गर्नु र विपद्बाट हुने क्षतिलाई कम गर्नु विपद् जोखिम न्यूनीकरणको मुख्य उद्देश्य हो । यस सम्मेलनले प्रकोप रोकथामभन्दा सामुदायिक सक्षमता अभिवृद्धि गरी संकटापन्नतालाई हटाउने वा कम गर्ने बिधिमा जोड दियो । अहिले ‘विपद् प्राकृतिक हुँदैन, यो सामाजिक, आर्थिक अवस्थाको परिणाम हो’ भन्ने अवधारणा आत्मसात् गरिएको छ ।

विपद् र प्रकोपबीचको अवधारणाबारे स्पष्ट हुनु किन पनि आवश्यक छ भने विपद् न्यूनीकरणका रणनीति वा उपाय अवलम्बन यसै अवधारणामा निर्भर गर्छ । कतिपय प्राकृतिक प्रकोपको रोकथाम सम्भव नहुन सक्छ । जस्तो कि चट्याङ, भुइँचालो, हावाहुरीजस्ता पूर्णतः प्राकृतिक प्रकोपलाई रोकथाम गर्न सकिँदैन । यिनका लागि विपद् जोखिम विश्लेषण गरी समुदायमा अन्तर्निहित संकटापन्नतालाई कम गर्ने उपाय अवलम्बन गर्नुपर्छ ।

विपद् व्यवस्थापनका रणनीतिमा सम्भव भए प्रकोपको रोकथाम गर्ने तथा पूर्वतयारीका विधि अवलम्बन गरी प्रतिकार्यलाई प्रभावकारी बनाउने, सम्भव नभए सामुदायिक संकटापन्नताका अन्तर्निहित कारणलाई कम गर्न उपयुक्त विधि अपनाउने, केही जोखिम इन्सुरेन्स कम्पनीमा सार्ने र केही जोखिमलाई कम गर्न जनमानसमा जनचेतना अभिवृद्धि गरी कम गर्ने वा जनसशक्तिकरणका माध्यमबाट क्षति कम गर्न सकिन्छ ।

गर्मी, प्रि–मनसुनसँगै नेपालमा हावाहुरी, चट्याङ, बाढी, पहिरो, आगलागी, लू (ताप लहर), महामारी आदि प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको जोखिम बढ्दो छ । जनसंख्या वृद्घि, विपद् जोखिमको ख्याल नगरी बनाइएका विकासका संरचना, वातावरणीय विनाश र राजनीतिक संक्रमणकाल आदिले विपद्बाट हुने क्षति हरेक वर्ष बढ्दो छ ।

मनन गर्नुपर्ने कुरा के हो भने प्रकोप र सामुदायिक संकटापन्नताको एक ठाउँमा भेट नभएसम्म विपद् कहिल्यै पनि सिर्जना हुँदैन । प्रकोप मानव सिर्जित, मानवको कारणबाट सिर्जित वा प्राकृतिक हुन सक्छ तर सामुदायिक संकटापन्नता पूर्णतः मानवीय अवस्था हो । सामुदायिक क्षमता अभिवृद्धि गरी संकटापन्नता कम गराउन सके विपद्बाट हुने क्षति स्वतः कम वा निराकरण हुन सक्छ ।

कान्तिपुरवाट साभार गरिएको हो ।

लेखक विपद् जोखिम न्यूनीकरण विशेषज्ञ हुन् ।

shesh.kafle@gmail.com





Leave a comment

Your email address will not be published.


*