असिनापानीले गाउँ उजाड

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख ३, २०७६     ::: 76 पटक पढिएको   |  

b}n]vsf] klZrd If]qdf z’qmjf/ cfPsf] x’l/jtf; / cl;gf kfgLn] k’¥ofPsf] IftLsf] ljj/0f ;+sng ul/Fb} .
tl:j/ M lxSdt axfb’/ g]kfnL, /f;;, b}n]v

हिक्मत बहादुर नेपाली

‘दही खानु दैवले लैगो, मही खानु हराई गो ।’ हुन त यो पश्चिमेली लवजको पुरानो गीत हो । तर, यही गीत यहाँका नागरिकका लागि वास्तविकतामा परिणत भएको छ । साठ्ठी वर्षीया खडके वडले आफ्ना व्यथा सुनाउँदै गुनगुनाएको यो गीतले यहाँका नागरिकको कथा र व्यथा समेटेको छ । भित्र्याउने तरखरमा रहेको हिउँदे बाली चैत २२ गते साँझ आएको असिनापानीले सखाप पारेपछि यहाँका नागरिकहरुलाई सहिनसक्नु पीडा भएको छ ।

चैत २५ गते ती गाउँ पुग्दा केही पनि बाँकी नरहे जस्तो उजाड देखिन्थ्यो । पहेलपुर गहुँबाली सबै ढलेका थिए । मानिसहरु मलिन अनुहारमा कहिले घर भित्र त कहिले बाहिर गरिरहेका । केही असिनापानीले नष्ट पारेको उजाड बारी हेरिरहेका । असिनापानीले बाली स्वाहा पारेकाहरु राहतका लागि स्थानीय सरकारसँग हारगुहार गरिरहेका थिए । उनीहरु छिन छिनमा भक्कानिन्थे ।

हारगुहार गर्ने पीडितमध्येका एक थिए, खडके वड । बोल्ने वाक्य ऊसँग थिएन । गहभरीका आँशु तप्प तप्प खसाल्दै पीडा सुनाउन उनी अघि सरे, एकैछिन रोकिए र भने–“जेनतेन छ महिना खान पुग्ने गहुँ लगाएका थियौं, त्यो पनि असिनाले लग्यो । हामी अब के खाएर बाँच्ने रु” यति भन्दा पनि उनका पीडा सकिएका थिएनन् । “आफू मात्र भएको भए एक छाक टार्न मजदूरी गरेर खान्थें, घरमा १७ जनाको परिवार छ,” वड भन्छन्–“तिनलाई म एक्लैले गरेको मजदूरीबाट कमाएको पैसाले खान लाउन पुग्दैन, साहुले पनि पत्याउँदैन ।”

उनी मात्रै होइन यहाँकी जैसी नेपालीको पीडा पनि सहिनसक्नु छ । रुँदा रुँदा थाकेजस्तो मलिन अनुहार लिएकी तिनले भनिन्, “हाम्रो नाम पनि टिपेर लगिदिनुहोला सरकारले केही सहयोग गर्छ कि ।” उनका पीडा सुनेपछि त्यहाँ पुगेका सबैका आँखा रसाए, गला अवरुद्ध भए । घरमा एक छोरो, बुहारी र नाति नातिनी रहेका नेपालीले भनिन्–“छोरा र बुहारी आफूबाट छुट्टिएर बसेका छन, श्रीमान् छैनन् ।”

यता, चामुण्डाविन्द्रासैनी नगरपालिकाकी गौरा विकको व्यथा पनि उस्तै छ । यो वर्ष पाँच महिनासम्म आफ्नै उत्पादनले पुग्नेमा उनी ढुक्क थिइन । समयमै पानी पर्दा गौराले लगाएका हिउँदे खेती विगतका वर्षको तुलनामा आशलाग्दो थियो । “तीन महिनाको चामल किन्ने पैसा बचाएर यस पटक साहुको ऋण तिर्ने योजना बनाएको थिएँ,” उनी भन्छिन्, “त्यो सपना चकनाचूर भयो ।”

“गाउँमा साहुको ऋण तिर्न बाँकी छ, साहुले उधारो चामल पत्याउदैन, बेसाह गरेर खाने ठाउँ छैन, सबैले लगाएको हिउँदे खेती नष्ट गरिदियो,” उनी भन्छिन् । यस्तै पीडा यहाँका सबै वडाका करीव चार हजार घरधुरीमाथि परेको छ ।

असिनापानीले दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा लगाएको हिउँदे बाली नष्ट गरेपछि प्रभावित गाउँहरु उजाड भएका छन् भने पीडितहरु छिन छिनमा भक्कानिने गरेका छन् । ठूलो मात्रामा परेको असिनापानीले कृषकले लगाएका सबै बाली नष्ट गरेपछि यो क्षेत्रमा भोकमरी निम्तने खतरा बढेको छ । झण्डै ४० मिनेटसम्म लगातार परेको असिनापानीले कृषकले लगाएको गहुँ, बन्दा, सिमी, काउली लगायतका बाली नष्ट गरेपछि भोकमरीको त्रास देखापरेको हो । खाने अन्न नभएपछि असिनापानी पीडितहरु राहतका लागि हारगुहार गरिरहेका छन् ।

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले पीडितलाई उचित राहत दिने आश्वासन दिएका छन् । दैलेख पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटीकाँध गाउँपालिकाकाले उपलब्ध गराएका जानकारी अनुसार प्राकृतिक विपद्ले करीव ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्लाभर क्षति

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नं १ देखि ९ सम्मका सबै भागमा असिनापानीले व्यापक क्षति गरेको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन कार्य शुरु गरिसकेको छ । पचास वर्षपछि यति ठूलो असिनापानी आएको हो । करीव दुई फिटसम्म जम्ने गरी असिना पर्दा गहुँको बाली नष्ट भएको स्थानीयवासीले बताएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै सबैलाई धैर्य गर्न आग्रह गरेको छ । विवरण सङ्कलन कार्यसँगै सहयोगका लागि विभिन्न निकायहरुसँग आशा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विपद्पछि टाठीकाँध गाउँपालिका, चामण्डाबिन्द्रासैनी नगरपालिकालगायत पश्चिमका अधिकाँश क्षेत्रमा तरकारी, फलफूल, गहुँ, जौ जस्ता सबै उपज नष्ट भएपछि गाउँपालिकाले प्रारम्भिक क्षतिको विवरण निकालेको छ । ठाटीकाँध गाउँपालिकामा करीव २० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुष्मिता सिंहले जानकारी दिइन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ । क्षति व्यवस्थापन स्थानीय सरकारको मातहतमा नभएका कारण प्रदेश र केन्द्र सरकारले यसबारे ठोस कार्य अगाडि बढाउन स्थानीय सरकारले अपिल गरेको छ ।

यता, दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ मा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पु¥याएको छ । गुराँस गाउँपालिकाका १, २ र ३ मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ । बाँकी विवरण सङ्कलन भइरहेको प्रभावित क्षेत्रका स्थानीय तहले जानकारी दिएका छन् ।

६ करोडको तरकारी नष्ट

ठाटीकाँध गाउँपालिकामा किसानहरुले उत्पादन गरेको तरकारी बाली पूर्णरुपमा क्षति भएको छ । बन्दा, काउली, लसुन, प्याज, लगायतका तरकारी बालीसँगै वर्षात्का बेलामा फल्ने अवस्थामा रहेको फर्सी, चिचिन्ना लगायतका बाली नष्ट भएपछि यहाँका किसानको आर्थिक उपार्जनको बाटो बन्द भएको छ । ठाँटीकाँध गाउँपालिकामा मात्रै ६ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष सिंह जानकारी दिइन् ।

किसानहरुले घरमा भित्र्याउने अवस्थामा रहेको गहुँबालीसँगै अन्य हिउँदे बाली नष्ट भएपछि यसको क्षतिपूर्ति र थप व्यवस्थापनका लागि स्थानीय सरकारसँग अख्तियार छैन । यस्तो विपद्मा प्रदेश र केन्द्र सरकारले पहलकदमी लिनुपर्ने ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाहीको जोड छ । “हामी स्थानीय सरकारले गर्न सक्ने त गरौंला तर गाँस मानिसको सबैभन्दा ठूलो विषय भएकाले यसको थप व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्दछ,” अध्यक्ष शाहीले भने, “ठाटीकाँधमा रहेको खाद्य डिपो तत्कालीन द्वन्द्वका बेलामा विस्थापित भएकाले पुनः सञ्चालनमा ल्याउन सरकारले पहल थाल्नुपर्छ ।”

दैलेखमा असिनापानीले ठूलो क्षति पारेपछि तत्काल राहत जुटाइदि प्रतिनीधिसभा र प्रदेशसभा सांसदले माग गरेका छन् । प्रतिनिधिसभा सदस्य राज बहादुर बुढाले दैलेखमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो हुरिबतास र असिनापानीले प्रभावित परिवारलाई राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्य पार्वती कुमारी विशुन्केले जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् । कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद सुशील कुमार थापा, मीनासिंह रखाल र हिम बहादुर शाहीले पनि असिनापानी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् । रासस





Leave a comment

Your email address will not be published.


*