फेसबुक

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख ३, २०७६     ::: 109 पटक पढिएको   |  

‘फेसबुक पोस्ट अनि टुइट- गर्लफ्रेन्ड, स्वास्नी अनि हाकिमको रिस पोख्ने ठाउँ,’ निमेष भुतभतायो।

मानसी

‘नितान्त वैयक्तिक कुरा,’ आर्यनले तुरुन्तै प्रतिवाद गर्‍यो।

‘मेरो कि सामाजिक सञ्जालमा आक्रोश पोख्नेहरूको ?’ निमेष पनि के कम ? छिर्के हान्यो।

‘तेरो !’

‘कसरी ?’

‘एक पक्षीय विश्लेषण।’

‘विश्लेषण सधैं एक पक्षीय नै हुन्छ।’

‘तर सामाजिक सञ्जालका अभिव्यक्तिलाई यसरी विश्लेषण गर्न मिल्दैन।’

‘आखिर तँ पनि त त्यस्तै होस् नि, किन मान्थिस् मेरो कुरा ? स्वास्नीको कचकच, टुटेको प्रेम र हाकिमको पेलानको तिक्तता टुइट गर्छस्,’ निमेष आफ्नै भनाइ बचाउन तम्सियो।

‘कुरा त्यसो होइन,’ आर्यनले सम्झाउने प्रयास गर्‍यो।

‘शब्दहरू हावाबाट होइन, मनमस्तिष्कबाट सञ्चारित हुन्छन्।’

‘तर सबै शब्द र भावले केवल अपनत्व मात्रै दर्शाउँछन् भन्ने होइन।’

‘शब्द, भावना अनि संयोजन। के कसैले चाहँदैमा यिनको सही संयोजन हुन सक्छ जबरजस्ती ? हृदयको कुनै कुनामा, मस्तिष्कको कुनै छेउमा चोट नपुगी मन छुने भावनाको ओइरो लाग्नै सक्तैन।’

‘बाँच्ने अनुक्रमसँगै मान्छेको जीवनमा केही त्यस्ता पल, क्षण र घटनापरिघटना आउँछन्, जुन अधिकांशले अनुभव गरेका हुन्छन्। अर्थात्, जीवन जिउने उपक्रममा आइपरेका अधिकांश परिवेश झन्डै समान प्रकृतिका हुन्छन्। त्यसको साक्षात्कार प्रायः सबैले गर्छन्।’

सबैको जीवनका अधिकांश घटना उस्तै उस्तै भएकाले पैरवीमै सामान्यीकृत हुने दाबी गर्न थाल्यो आर्यन— ‘प्रायः मान्छेका एकै खाले समस्या हुन्छन्। प्रेमले दिने सुखद अनुभूति र पीडा सबैलाई उस्तै लाग्छ। प्रकृति र परिवेश भिन्न होलान्, सुरुआत र अन्त्य फरक हुन सक्छ। भोगाइ एउटै हो। अँध्यारो र उज्यालोको प्रकृति मान्छेअनुसार कहाँ फरक हुन्छ ? त्यसैले अरूले पनि तेरो अभिव्यक्तिमा अपनत्व पाउन सक्छन्, जुन संयोग मात्रै हो।

नितान्त वैयक्तिक भावनाको अभिव्यक्ति बेग्लै हुन् तर सामाजिक सञ्जालमा राखिएका भनाइ व्यक्तिसँग जोडेर हेर्न मिल्दैन। मान्छे आफ्नो व्यक्तिगत भोगाइ, अनुभव र यथार्थ सधैं लुकाउन चाहन्छ। खुसी भए दुखी छु भन्छ, दुःखी भए सुखी बताउँछ। नभएको देखाउन खोज्छ, भए लुकाउँछ। अपवादबाहेक सामान्यतः यही हो मानिसको स्वभाव। म पनि त्यही कोटीको मान्छे, जो यथार्थ लुकाउन खोज्छु।’

कुराकानी नसकिँदै आर्यन बाटो लाग्यो।

००

‘प्रेम, सम्बन्ध अनि धोका…. जिन्दगीको चक्र !’ आर्यनको पछिल्लो स्टाटस।

‘सार्वजनिक रूपमा प्रेम, सम्बन्ध अनि धोका ? छोड् यार यो प्रेमको चक्कर। प्रेम गरिस्, धोका पाइस्; सम्बन्ध बढाइस्, धोका खाइस् ! म तेरो प्रेमपीडामा दुःख व्यक्त गर्छु तर प्लिज यार मैदानमा ल्याउने काम नगर। बन्द गर यो फेसबुकमा रुने बानी।’ निमेषले पहिलो पेगसँगै आर्यनलाई सम्झायो।

हिजोआज निमेषसँगको निकटता बढेको छ। पैरवीसँगको सम्बन्धले पातलिएको भेटघाट फेरि बाक्लिएको हो मदिराको सहयात्राले। पैरवीको आग्रहमा पान, पराग, चुरोट, मादक पदार्थ…. सब त्यागेको थियो। अहिले त ऊ दुई–तीन पेग नलिई निदाउनै सक्तैन। अनि थपिएको छ डिप्रेसन….. औषधिको परीक्षण।

‘त्यसले टुँडिखेलमा मेरो प्रेमको हत्या गरी। म आफ्नो पीडा पनि पोख्न नपाउनू ?’ ह्विस्कीको चुस्की लिँदै आर्यन बल्यो।

‘के फाइदा ? तेरो हाँसोमा हिस्सा खोज्न आउँछ तर दुखाइ बाँड्न आउँदैन दुनियाँ। दुनियाँ त रमिते न हो। तेरो खुसीमा जलन हुन्छ, दुःखमा थपडी बजाउँछ।’ निमेषले जीवन र जगत्को यथार्थ बुझाउने प्रत्यत्न गर्‍यो।

‘सहनशीलताको बेलुनमा पीडाका ऐंचहरूका खपेटा थपिँदै जाँदा एक दिन अवश्य फुट्छ। सम्भावित दुर्घटनाबाट जोगिन शब्द खर्चिन्छु म। भावना पोख्छु। पीडाको सम्मोहन लुकाउने कोसिस गर्छु, उम्लिएको दुध पोखिनबाट ओजाए जस्तै।’ आर्यनका आँखा आँसुले भरिए तर पीडाको पहिरो खस्न पाएको थिएन। अर्डर गरेको बोनलेस चिकेन चिल्ली, साँधेको बदाम, डोम स्टिकसँगै ब्ल्याक लेबल बाँकी नै थियो।

घरबाट ‘छोरी बिरामी भएको’ खबर आयो। मोटरसाइकल स्टार्ट गर्‍यो— घ्वार्र घ्वार्र….।

००

‘ओइ, अचेल तेरो स्टाटस निकै कडा आउँछन् त ! ‘केटीहरूले बडी मेन्टेन गरे जस्तै मन मेन्टेन गर्ने कुनै टिप्स छैन ?’ वाह !  घायल प्रेमी…. कस्तो शब्दसंयोजन ? कस्तो भावना ? मान्नुपर्छ यार तँलाई। तँ यो इन्जिनियरिङ पेसा छोड्दे यार, अब कवि बन् ! नत्र गजलकार बने पनि हुन्छ। कथाकार, उपन्यासकारै बनिस् भने त झन् अति गजब। अब तँ मेसिनको काम गर्न सक्तैनस्, तेरो मनले सेप छाडिसक्यो। ट्र्याकबाहिर गएको मनले कसरी मेसिनको काम गर्छ ?’

आर्यनको काँधमा ढाप मारेर जोडसँग हाँस्तै निमेषले थप्यो— ‘‘खुसी भन्ने शब्द मेरो जिन्दगीको डिक्स्नेरीमा छैन।’ अर्को स्टाटस ! तर केही दिनअगिसम्म त तेरो खुसीको सीमा थिएन नि। सधैं पुकलित थिइस् ! बाफ रे बाफ तेरो खुसी ! अनि त्यसमा मिसिएको जीवनदर्शन। के चाहियो त्यति भएपछि। अफिसदेखि कफी सपसम्म सबैतिर मुस्कानको तारिफ हुन्थ्यो। अनायासै परिवर्तित तेरो स्वभावको खुब चर्चा हुन्थ्यो। रहरलाग्दो, लोभलाग्दो तेरो खुसी र उमङ्गमा कसरी ग्रहण लाग्यो ?’ निमेषले भित्रैसम्म पुगेर खोतल्यो।

‘हो, आएको थियो क्षणिक खुसी तर जसरी आयो, त्यसै गरी गयो !’

‘प्रेमले संसार लुट्छ। प्रेमले जोगी पनि बनाउँछ। यी दुवै कुरा कसरी सत्य हुन्छन् एकैचोटि ?’ निमेषले फेरि खोस्रियो।

‘म पनि यही सोच्थें। कल्पना, कामना, मनोभावना सुन्दा उस्तै उस्तै लाग्छन् तर यिनले भिन्नाभिन्नै अनुभूति बोक्ता रहेछन्।’ आर्यनको भनाइमा पूरै दर्शन थियो।

बुझेन सायद, अर्थात् कुराको भेउ नपाएर निमेषले सोध्यो— ‘मतलब ?’

‘प्रेम पाउने कल्पना गर्नु। सफल प्रेमको कामना गर्नु। अनि अप्राप्तिमा विचलित मनको भावनासँगै मन बहलाउन उपाय खोज्नु……।’ लामो श्वास लियो, रसाएका आँखा स्थिर बनाउन आकाशतिर हेर्‍यो तर कुरा टुङ्ग्याउन सकेन आर्यनले।

‘तँ अझै आँसु बगाउँछस् उसका लागि ? तेरा सारा खुसी छिनेर गई, जसले….।’

‘बस् ! म उसका बारेमा कुनै नकारात्मक टिप्पणी सुन्न चाहन्नँ, सक्तै सक्तिनँ। सायद मेरो कमजोरी। स्टिल आई लभ हर। फरक यति हो, मेरो प्रेमको प्रकृति परिर्वतन भएको छ। साथ र प्राप्तिमा रमाएको मन एकान्त र त्यागमा खुसी पार्ने कोसिस गर्दै छु। म उसलाई त्यति नै माया गर्छु, जति पहिला गर्थें। उसको खुसीका लागि आज पनि म त्यत्तिकै गम्भीर छु, जति पहिला थिएँ। उसलाई दोषी प्रमाणित गर्न चाहँदैन मेरो मन। फरक यत्ति हो— म हाँस्न सक्तिनँ।’

००

‘जिन्दगी सम्बन्धै सम्बन्धको जालो रहेछ। केही सम्बन्ध त्यस्ता हुन्छन्, जसलाई जीवनभर भुल्न सकिँदैन— भलै त्यो सम्बन्धले अन्तिम समयसम्म पीडा दिएको किन नहोस्। म ऊसँगको सम्बन्ध चाहेर पनि भुल्न सकिरहेकी छैन। झन्डै एक महिना त मेरो नजरबाट ऊ हट्नै सकेन। स्मरणबाट मेटाउनै सकिनँ मैले। ऊसँग बिताएका खुसीका पलपलले मलाई पीडा दिइरहे।

शीतलता प्रदान गर्ने उसका शब्दले अन्तरहृदय पोलिरह्यो। त्यो पीडाको व्याख्या गर्ने शब्दै छैनन् मसँग। सीमान्त पीडा, अनि कष्ट महसुर गरें मैले। सम्बन्ध नराखेकी भए मेरो मनमा यति साह्रो चोट पुग्दैनथ्यो। मेरो अस्मितासँग गरिएको खेलबाड….. मृत्युपर्यन्त बिर्सने छैन म।’ पछाडि फर्किएर आँसु पुछी उसले।

दुइटी उसकै उमेरका युवती थिए सँगै। सायद उसका हितैषी हुनुपर्छ।

‘गल्ती तेरै हो ! सामाजिक सञ्जालको मित्रतामा जीवन्तता खोजिस्। हिजोआज सामाजिक सञ्जाल समय बिताउने मनोरञ्जनका साधन मात्रै बन्दै गएका छन्। तैंले कसरी विश्वास गरिस् त्यस्तो मित्रतालाई ? कसरी आत्मसात् गरिस् ?’ सँगैकी अर्कीले भनी।

‘त्यही त, म आफै आश्चर्यमा छु। तिमीहरूका अगाडि सधैं आदर्श र नैतिकताको कुरा गरेर नथाक्ने म, आफ्नै आर्दश कमजोर हुँदा, नैतिकता निरीह बन्दा बेखबर बनँे। राम्रो–नराम्रो, सही–गलतको तराजु आपैm विरुद्ध भारी पर्‍यो। सुम्पनुपर्ने आकर्षण के थियो उसमा ? आज पनि बुझेकी छैन।’

चिडियाखाना परिसरमा तीन किशोरीबीचको वार्तालाप आधा सुन्यो आर्यनले। प्रेम र धोकाको पूरै इतिहास सुन्न मन थियो तर माध्यम थिएन।

बिदाको दिन चिडियाखाना घुम्न पुगेको आर्यनको मन त्यो कुराले अझ पर हुत्त्यायो। ‘सायद पैरवी पनि यही सोच्ती हो। ऊ पनि सीमान्त पीडामा पुगी होली। उफ्…. आखिर म पनि त एउटा भिखारी नै हुँ तर किन ऊ मलाई सामन्त र शोषक देख्छे ?’

चिडियाखानाको मूल द्वारबाट बाहिरिँदै गर्दा फेरि अर्को झुन्डमा सुन्यो— ‘चालु रैछ नि थाहा छ त्यो मान्छे त ? फेक आईडी बनाएर फेसबुक फ्रेन्ड त कति कति ? आज सरसरर्ती उसका म्युचुअल फ्रेन्ड हेर्दै गएको त…. ओ माई गऽड ! नाम पनि कस्तो कस्तो ? प्रायः सबैले भारतीय हिरोइनहरूको फोटो राखेका। अनि ऊबाहेक अरू साथी नै छैनन् रे। भनेपछि…. तँ आफै बुझ्न उसले कतिसँग फ्रेन्डसीप गर्दो रहेछ ?’

‘भर्रखर भर्रखर फेसबुक खोल्दा नियन्त्रण गरिएन, कति साथी भए कति ? कोको छन् भन्नेसम्म थाहा छैन। मसँग पनि त्यस्ता फेक आईडीका साथी पो छन् कि ?’ आर्यन झस्कियो।

‘‘मेरो भावना तिम्रो डली सेन्टरको खेलौना होइन। मन लागेको बेला खेल्ने र नलागे सोकेसमा ताल्चा मार्ने।’ लेखिदिएँ मैले त वालमा। कतिसम्म गर्ने के ? फुर्सद हुनेबित्तिकै भेट्न हुरुक्क हुने तर मन नलागे म्यासेज रिप्लाई त के, फोन रिसिभ पनि नगर्ने !’ सेतो टी–सर्ट लगाएकी पातलीले ठूलै काम फत्ते गरेभैmँ सुनाई।

‘तँ जस्ता कति केटी होलान् ऊसँग। साताभर पालैपालो समय मिलाउँदो हो। त्यसो गर्दा पनि सात जना हुनुपर्‍यो। त्यत्ति मात्रै त के होलान् ? दिनमा पनि समय डिभाइड गरेर भेट्ने गर्छ होला। बिहान, दिउसो, साँझ…..।’ लाजै नमानी हाँसे गललल।

ट्याम्पो चढ्नु आर्यनको बाध्यता। आधाबाटोमा पुगेपछि बाइक बिग्रियो।

‘कस्तो घाँस रैछ वर्कसप पनि। जाबो एउटा क्लज सोल पनि रैनछ। अझ फुर्ती लाउँछ— अरूको त छ, तपाईंको बाइकमा लाग्ने छैन ! साला घाँस !’ ट्याम्पोमा सवार दुई पैसे युवतीका कुरा सुन्नुपर्दा ऊ भित्रभित्रै रिसले मुरमुरियो।

सार्वजनिक सवारी साधन। बकाइदा व्यक्तिगत प्रेमका कुरा। त्यो पनि दुई पैसे। रिस उठेर के गर्नु ? घर पुग्नु थियो समयमै। रात छिप्पिँदै थियो। त्यो ट्याम्पो पनि छोड्यो भने हिँडेरै घर पुग्नुपर्ने।

‘कतिलाई त सिद्ध्यायो पनि होला ?’ दुइटी हाँसे गलल तर सेतो टी–सर्टवाली पालती गम्भीर भई। उसको अनुहारको भावभङ्गीबाट प्रस्ट हुन्थ्यो— उसको भोगाइ कठोर छ।

‘ओई, तँलाई पनि सकायो कि क्याहो ? सिरियस छस् नि ? तेरो पनि पूजा गर्‍यो उसले ? त्यसो भए तेरो स्टाटसले केही लछार्दैन। सबै कुरा सकेपछि अब त तेरो डली पनि सोकेसमा राख्तैन, डस्ट बिनमा फ्याल्छ। फ्याली पनि सक्यो होला।’ दुइटी फेरि खितखिताए। ट्याम्पोमा सवार अन्य यात्रुले मुखामुख गरे।

‘लाज, घिन, डरबिनाका छँडुल्लीहरू !’ रिसको पारो चढ्यो तर बोल्ने हिम्मत गरेन। आक्रोशमा पनि नचाहेरै पैरवीलाई सम्झ्यो। सायद ऊ पनि मलाई…..। पछाडिबाट टाउकोमा कसैले ह्यामरले हाने जस्तो भयो।

‘म तिमीप्रति अलि बढी नै उदार बने। मन उदार बनाउनुको मतलब बेपर्वाह तिम्रो गल्ती स्विकार्ने त होइन नि….’

‘आज तिमीले साथी हुनुसम्मको पनि हैसियत गुमाएका छौ।’

‘यसलाई तिमी मेरो उदार दिलको कमजोरी नसम्झ।’

‘सबका अगाडि मेरो प्रेमको उपहास गर्‍यौ तिमीले। तिमी वास्तवमा मेरो प्रेम र खुलापनको लायक थिएनौ।’

एकपछि अर्को गर्दै अनलाइन च्याटमा आएका उसका प्रतिक्रिया स्क्यान भइरहे आर्यनको मस्तिष्कमा।

००

‘उमङ्गले फुरुङ्ग हुनुपर्ने मन तर उदास ! बेचैनी उस्तै। दुःखमा त उसले साथ दिन सकिन तर म यो खुसी ऊसँग बाँड्न चाहन्छु।’

‘उफ् तेरो स्टाटस ! पागल प्रेमी यस्तैलाई नै भन्छन् होला हगि ?’ मोटरसाइकलबाट नओर्लीकनै निमेषले भन्यो।

‘हाँस, खुब हाँस। मेरो खिसी गर्दा तँलाई आनन्द आउँछ हैन ? उडाइदे मेरो भावनालाई। जसलाई जीवनकै सर्वाधिक प्रेम गरें, जसलाई अथाह विश्वास गरें, उसले त मलाई पतिँगर बनाएर छाडी भने तेरो के कुरा गर्नु। चौबाटोमा पनि फेसबुक स्टाटसकै कुरा गर्छस् होइन ?’ आर्यनले मोटरसाईकलको गति बढायो।

००

‘आज अनिमाले ग्रेट पार्टी दिँदै छे।’

‘केको पार्टी ?’

‘हिजो उसले आफ्नो भर्जिनिटी ब्रेक गरी रे….।’

‘ओ माई गऽऽऽड !’

‘किन ? के भो ? तँलाई उछिनी कि क्याहो ?’

उसको हाँसो यति उचाइमा पुग्यो कि ओल्लो–पल्लो टेबलमा बसेकाको त के, रेस्टुराँको पूरै हल कम्पायमान बन्यो।

‘ओ ! स्टाटस पनि राखिछ ?’

‘पार्टीपछि राख्छे रे।’

‘विथ ?’

‘सायद वन्ली सिम्बोल।’

वार्तालापको सुनीजान्ने र देखीजान्ने साक्षी आर्यनले तुरुन्तै मोेबाइलको प्याटर्न खोल्यो र फेसबुक कहिल्यै नचलाउने गरी ‘डिएक्टिभेट’ गर्‍यो।





Leave a comment

Your email address will not be published.


*