त्यो आशा, त्यो तरङ्ग

          |   प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६     ::: 104 पटक पढिएको   |  
केकी अधिकारी

आज लोकतन्त्र दिवस। अर्थात्, जनताको जित भएको दिन।२०६२/६३ सालको जनआन्दोलन हुँदा म कक्षा नौमा पढ्थेँ। त्यो बेला दिनदिनै सडकमा प्रदर्शन र झडपहरू हुन्थे। विद्यालय बन्द हुन्थ्यो। परीक्षा सरेको सर्यै हुन्थ्यो।म राजनीतिक रुपले सचेत भइसकेकी थिइनँ। तर मलाई यत्ति चाहिँ थाहा थियो–देशमा केही राम्रो हुँदैछ।

त्यो जनआन्दोलन सफल भए प्रजातन्त्रको पुनर्स्थापना हुने, जनताको अधिकार जनताकै हातमा फर्किने र हत्या–हिंसाको श्रृंखला बन्द हुने चेत पनि मलाई थियो। मेरो बाबा (रङ्गकर्मी बद्री अधिकारी) २०४६ सालको जनआन्दोलनमा सक्रिय हुनुहुन्थ्यो। उहाँले बहुदलको पक्षमा लड्नुभयो। २०६२–६३ सालको जनआन्दोलनमा पनि सहभागिता जनाउनुभयो। 

दोस्रो जनआन्दोलन हुँदा मेरो बाबा गुरुकुलमा सक्रिय हुनुहुन्थ्यो। उहाँलगायत गुरुकुलका सबै रङ्गकर्मीहरूले जनआन्दोलनमा समर्थन जनाए। एकपटक मेरो बाबा अन्य रङ्गकर्मीहरूसँग मिलेर सरकारविरोधी प्रदर्शन गर्दै हुनुहुन्थ्यो। प्रहरीले हस्तक्षेप गरे। सबै प्रदर्शनकारीहरू तितरबितर भए। मेरो बाबा भाग्ने क्रममा लड्नुभएछ। उहाँको खुट्टा मर्कियो।मर्किएको खुट्टा लिएर उहाँ केही दिनै घरै बस्नुभयो। बाबाको खुट्टा मर्किएपछि आमा पनि चिन्तित हुनुहुन्थ्यो। तर, बाबालाई भने मर्किएको खुट्टाभन्दा देशकै चिन्ता हुन्थ्यो। 

खुट्टा दुख्न छाडेपछि उहाँले एकल सडक नाटक मञ्चन गर्न थाल्नुभयो। सडक नाटककै माध्यमद्वारा जनआन्दोलनमा एकाकार हुन नेपाली जनतालाई आग्रह गर्नुहुन्थ्यो। हरेक साँझ घर फर्केर आमा र मलाई उत्साहित हुँदै सबै कुरा भन्नुहुन्थ्यो – आज मैले यसो गरेँ, उसो गरेँ। 

मलाई लाग्थ्यो – देशभरि यत्रो तरङ्ग चल्छ भने त्यसले राम्रै गर्छ। नत्र सबै नेपालीलाई प्रभावित पार्ने यत्रो तरङ्ग नै चल्दैन।मलाई बाबाप्रति गर्व हुन्थ्यो। तर, मेरो मनमा चिन्ता पनि पैदा हुन्थ्यो। बाबालाई केही होला कि भन्ने डरले म मनमनै काप्थेँ। मेरो बालमनले आफैंसँग प्रश्न गर्थ्याे – मेरो बाबा सडकमा नजानुभए पनि जनआन्दोलन  त भइहाल्छ नि, उहाँलाई नै किन सडकमा जानुपर्‍यो?

विगतलाई फर्केर हेर्दा लाग्छ – मैले जस्तै सबैले सोचेका भए, अरुले पनि आफ्ना बा–आमा र दिदीभाइलाई सडकमा जान नदिएका भए जनआन्दोलन त सफल नै हुने थिएन। हामीले यो दिन देख्न पाउने थिएनौँ। जनआन्दोलनको १९ औं दिन राति ११ बजेतिर राजाले देशवासीको नाममा सम्बोधन गर्दै हार स्वीकारे। त्यसै रात देशभरि विजय जुलुसहरू निक्लिए।भोलिपल्ट देशका सबै अखबारहरूले पहिलो पृष्ठमा छापेको समाचारको शीर्षक एउटै थियो – जनताको जित। मेरो मानसपटलमा त्यो शीर्षकको सम्झना अझै पनि ताजै छ।

भोलिपल्ट देशैभर झन् ठूला विजयी र्‍यालीहरू निस्किए। त्यसबेला मैले भेटेका सबै नेपालीको आँखामा आशा थियो। सकारात्मक भाव थियो।सबैलाई लागेको थियो – जुन कलह र हिंसाबाट हामी गुज्रिरहेका थियौँ, त्यसबाट देशले अब मुक्ति पायो। देशले अब मुहार फेर्नेछ। सारा नेपाली झैं म पनि आशावादी थिएँ। मैले पनि शान्ति र विकासका सपनाहरू देखेकी थिएँ।तर, त्यो जनआन्दोलनमा साँच्चै  जनताको जीत भएको थिएछ त?

समष्टिगत रुपमा विश्लेषण गर्ने हो भने सोचेको सबै कुरा प्राप्त भएन। यी सबै कुरा प्राप्त गर्न समय लाग्छ। तर, जे जति उपलब्धि पाएका छौँ, त्यसलाई पनि नजरअन्दाज गर्न मिल्दैन।हामी धेरै ठूलो खाडलबाट निस्केका छौँ, त्यसलाई पनि विचार गर्नुपर्छ। आज हामी आफ्ना विचारहरू प्रष्ट राख्न सक्छौँ। अहिले हामीलाई कसैको भय छैन। यहाँ कानूनभन्दा माथि कोही छैन। अभिव्यक्ति स्वतन्त्रता छ।आज मलाई राति एक्लै अबेर घर फर्किन डर लाग्दैन। कम्तीमा काठमाडौंभित्र हुँदा असुरक्षा महशुस हुँदैन। सायद मोफसलमा यस्तो सुरक्षाको अनुभूति नहोला। मेरो भोगाइले देशकै प्रतिनिधित्व नगर्ला। तर, त्यो जनआन्दोलनले हामीलाई शान्ति र स्वतन्त्रता दिएको छ। 

आज हामी मनमा लागेका कुरा सामाजिक सञ्जालमार्फत निर्धक्क व्यक्त गर्न सक्छौँ। सत्य बोलिरहेको छौं भने डराउनु पर्दैन। अरुलाई नोक्शानी नपुर्‍याएसम्म आत्तिनु पर्दैन। यो पनि त जनआन्दोलनकै उपलब्धि हो। लैङ्गिक असमानता र घरेलु हिंसाविरुद्ध प्रष्टसँग आवाज उठाउन सक्छौँ। घरेलु हिंसा पीडितहरू आफ्नो पीडाबारे खुलस्त बोल्न सक्छन्। 

तर, धेरै कुरा प्राप्त गर्न अझै बाँकी छ। परिवर्तन एकैचोटि हुने पनि होइन। लोकतन्त्र यस्तो शासन प्रणाली हो, जहाँ सबै नागरिक बराबर हुन्छन्, जहाँ सबैलाई अभिव्यक्ति स्वतन्त्रता हुन्छ, जहाँ सबैलाई आफ्नो संविधानप्रदत्त अधिकारहरू उपभोग गर्ने हक हुन्छ।

लोकतन्त्र यति सुन्दर अवधारणा हो कि यसबारे सोच्दा मात्रै पनि मलाई आनन्द महशुस हुन्छ। लोकतन्त्र छैन भने पैसा र प्रसिद्धि भएर पनि त्यसको कुनै अर्थ हुँदैन। लोकतन्त्रमा यस्तो प्रणाली हो, जहाँ हरेक नागरिकले आफ्नो पखेटा पलाएको महशुस गर्न सक्छन्। हुन त यहाँ नागरिकताको विषयमा महिलामाथि विभेद कायमै छ। नारी र पुरुषबीच कुनै विभेद नहुनु पर्ने हो। तर, यहाँ शदियौंदेखि त्यो विभेद कायमै छ। हाम्रो जस्तो पुरुष सत्तावादी देशमा महिलाले एकैचोटि सम्पूर्ण अधिकार पाउनु मुश्किल छ। यस विषयमा राज्यको मात्रै होइन, व्यक्तिको पनि तौरतरिकामा पनि परिवर्तन आवश्यक छ। 

व्यवस्थाका बेथीतिहरू देख्दा निराशा पलाउनु स्वभाविक हो। कहिलेकाहीं नराशा आउँछ। त्यसलाई हटाउनुपर्छ। जिन्दगी चल्ने नै आशा र सकारात्मक सोचले हो। समस्या जतिसुकै ठूलो किन नहोस्, त्यसको समाधान हुन्छ नै। समाधानतिर जानुपर्छ। हामी सबैलाई थाहा छ – लोकतन्त्र यसै आएको होइन। जनताले धेरै दुःखले आर्जेको व्यवस्था हो यो।  यसलाई कसरी खेर जान नदिने? कसरी संरक्षण गर्ने? यसमा हामी सबै सचेत हुन जरुरी छ। यसमा हामी सबैको व्यक्तिगत प्रयास आवश्यक छ। हामी नागरिकले अधिकारसँगै कर्तव्य पनि बुझ्नुपर्छ। अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन्। 

मैले नागरिकको कर्तव्य निर्वाह गरिरहेको छु कि छुइनँ? आवधिक निर्वाचनमा मतदान गरिरहेको छु कि छुइनँ? मैले नियम कानून मानेको छु कि छुइनँ? आफ्नो काम छिटो होस् भनेर घूस खुवाई म आफैंले भ्रष्टाचारलाई बढावा दिइरहेको पो छु कि? अधिकार दुरुपयोग पो गरेको छु कि? यो हामी सबैले बोध गर्नुपर्ने कुरा हो।हामी अञ्जानमा यस्ता कुरा गर्न पुगिरहेका हुन्छौँ, जसले लोकतन्त्रलाई हानी पुर्‍याउँछ। यसैले लोकतन्त्रका लागि व्यक्तिगत तवरबाट पनि संरक्षणको प्रयास आवश्यक छ।आफ्नो सोच परिवर्तन भयो भने समाजको पनि सोच परिवर्तन हुन्छ।

अभिनेत्री केकी अधिकारीसँग कुराकानीमा आधारित 





Leave a comment

Your email address will not be published.


*