सामाजिक जागरणमा सधैं सक्रिय !

          |   प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६     ::: 257 पटक पढिएको   |  

हिक्मत बहादुर नेपाली, दैलेख
हरेक मान्छे सुखमय जीवनका लागि दौडिरहन्छ, व्यक्तिगत होस् वा पारिवारिक स्वार्थका लागि। तर, नेपाली समाजमा यस्ता व्यक्तिहरू पनि छन् जो समाजका लागि रातदिन दौडिरहेका हुन्छन्। जो समाजका लागि बाँच्न चाहन्छ तिनै व्यक्ति समाजमा महान् हुन्छन्।

त्यस्तै नेपाली समाज रूपान्तरणमा सर्वपरिचित नाम हो हीरासिंह थापा। आजभन्दा करिब ४८ वर्ष पहिले २०२८ साल वैशाख १ गते दैलेखको भैरवी गाउँपालिकाको रावतकोटमा जन्मिनुभएका थापा सामाजिक जागरण, महिला र बाल अधिकारको क्षेत्रमा अनवरतरूपमा समर्पित हुनुहुन्छ। उहाँ पेसाले इन्जिनियर भए तापनि बालविवाह, छाउप्रथा, जातीय विभेद न्यूनीकरण तथा गरिबी उन्मुलनमा पनि उहाँ उत्तिकै चिन्तनशील हुनुहुन्छ, अर्को अर्थमा मानव हितमा क्रियाशील हुनुहुन्छ। उहाँलाई यही कार्यले आत्मसन्तुष्टि मिलेको छ। जिल्लामा बालविवाह, छाउपडी प्रथा, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरीति र कुसंस्कारविरुद्ध अभियान चलाउँदै विभेदरहित समाज निर्माणको अभियानमा अनवरतरूपमा क्रियाशील हुनुहुन्छ।

विसं २०५४ सालमा दैलेखमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय रहनुभएका थापा दैलेखमा समाज रूपान्तरणको संवाहकका रूपमा समेत परिचित हुनुहुन्छ। जिल्लामा महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरूको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका हरेक निकायमा वकालत तथा पैरवी गर्दै आएको सक्रिय संस्था सोसेकको अध्यक्षसमेत रहनुभएका थापा बाल संरक्षण संजाल नेपाल, कर्णाली प्रदेशका संयोजक तथा जिल्ला बाल न्याय समन्वय समिति दैलेखको सदस्य हुनुहुन्छ।

नेपाली समाज रूपान्तरणमा उनि अन्तर्राष्ट्रिय एनपीस अवार्डबाट सम्मानित भइसक्नुभएको छ। जिल्लामा विगत दुई दशकदेखि समाज रूपान्तरण, महिला र बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारका रूपमा रहेको छाउप्रथा र बालविवाह न्यूनीकरणका लागि अनवरतरूपमा काम गर्दै आएका अभियान्ता थापा ‘एन पिस’ अवार्ड २०१८ बाट सम्मानित हुनुभएको हो। विभिन्न एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्रसंघीय ‘एन पिस’ नेटवर्कको अवार्डमा उहाँलाई छनोट गरेको थियो। साउथ एसिया प्यासिफिक क्षेत्रका देशहरूबाट एकजना छानिने ‘क्याम्पेनिङ फर एक्सन म्यान’ विधामा सम्मानित हुनुभएको हो।

पछिल्लो अन्तर्राष्ट्रिय एन पिस अवार्ड मात्र नभई उहाँले सामाजिक रूपमा खेलेको भूमिकाको मूल्यांकन गर्दै राष्ट्रियस्तरका थुप्रै सम्मान पाइसक्नुभएको छ। बालबालिकाको हक, हित, बाल अधिकार संरक्षण र सम्बद्र्धनको क्षेत्रमा काम गरेको भन्दै राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा केन्द्रीय बाल कल्याण समितिले सम्मान तथा पुरस्कृत गरेको थियो। यस्तै शिक्षा मन्त्रालयले समेत शिक्षा क्षेत्रमा काम गरेको भन्दै २०६५ सालमा सम्मान गरिसकेको छ। दाइजो तथा बालविवाह न्यूनीकरण राष्ट्रिय अभियानले सम्मान गरेको छ। दैलेख जेसीसबाट पनि सम्मानित थापालाई दैलेख जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानका क्रममा तत्कालीन जिल्ला विकास समिति र गाउँविकास समितिबाट समेत सम्मानित गरेको थियो। जंगलमा फिरन्ते जाति राउटे समुदायको सामाजिकीकरणमा उहाँ उत्तिकै क्रियाशील हुनुहुन्छ।

‘समाजसेवी बन्छु भन्ने लागेकै थिएन’

उहाँको भाग्यरेखा भावीले कोरिदिएको होइन, उहाँ आफैं कोर्नुभएको हो। निरन्तर साधना र सत्कर्मबाट भाग्य चम्कन्छ या भनौं सामाजिक क्षेत्रमा काममा लाग्ने प्रेरणा दिन्छ। उहाँको जीवनले यही देखाउँछ। सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरूका माझ उहाँको नाम मात्रै होइन कार्यशैली पनि चर्चित छ। इन्जिनियरिङ क्षेत्रमा उहाँको चर्चा जति छ, उस्तै चर्चा अन्य काममा पनि। हीरासिंहको अर्को नाम हो सफलता ⁄ उहाँको सफलताको कथा हरेक नेपालीका लागि प्रेरणादायी बनेको छ।

‘गोठालो’ शब्द सुन्नेबित्तिकै जो कोही छिः छिः र दुरदुर गर्छन्। त्यसबेला गोठालोलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोणमा खासै फरक छैन। गोठालोलाई कसैको घरमा काम गर्न बसेको नोकरका रूपमा बुझ्ने पनि धेरै भेटिन्थे। तर, उहाँ १४ वर्षको उमेरसम्म भंैसी गोठालो हुनुहुन्थ्यो। अरू कसैको घरमा नभई आफ्नै घरमा। ‘त्यसबेला घरमा भैंसी पाल्थ्यांै, घरमा १५ वटा भैंसी थिए, भैंसी लिएर दैलेखको तल्लो डुङेश्वर हुँदै बर्दियाको राजापुर र कैलालीको सतिबजारसम्म गोठालो जान्थें’ –उहाँ भन्नुहुन्छ। त्यसबेला उहाँका लागि भैंसीको दूध बिक्री गर्ने स्थान भनेकै बर्दियाको राजापुर र कैलाली सतिबजार थियो।

भैंसीहरू भदौमा बर्दियाको राजापुर र कैलालीको सतिबजारसम्म पुर्याउने र असारमा दैलेख फर्काउने गरेको उहाँले सुनाउनुभयो। स्कुल जाने उमेरमा बर्दियाको राजापुर र कैलालीको सतिबजारसम्म भैंसी गोठाले भएको उहाँको जीवन भोगाइ हो। ‘१४ वर्षको हुँदा राजापुर भैंसी गोठालो गएको थिएँ, त्यहीं दुईवटा दुहुना भैंसी मरे, बुबाले तिमी दैलेख फर्क भन्नुभयो, त्यसपछि घर फर्किएँ’ –उहाँ भन्नुहुन्छ। भैंसी मरेर दैलेख फर्केर उहाँले कखरा पढ्न शुरू गरेको पछिल्लो वर्ष कक्षा ४ मा अध्ययन शुरू गर्नुभएको थियो। कक्षा १ देखि ३ सम्म पढ्नलाई १ वर्ष मात्रै लाग्यो।

उहाँ जन्मदाको कथा दुःखदायी छ। ‘आमा घाँस काट्न जंगलमा जाँदा जन्मिएको हुँ, घर फर्कंदा पिठ्यूँमा घाँसको भारी र अगाडि मलाई बोकेर आमा घर आउनुभएको हो’ –उहाँ भन्नुहुन्छ। कखरा सिकेर सीधैं कक्षा चारमा पढेका थापाले सिभिल इन्जिनियरिङ उत्र्तीण गर्नुभएको छ। ‘म सानै थिएँ, आमा महिनावारी हुँदा घरबाहिर बस्नुहुन्थ्यो, भाइ बहिनीहरू पनि सानै थिए। आमा ७ दिनसम्म घरभित्र नआउने भएका कारण खाना खर्चको जोहो गरेर मात्रै बाहिर जानुहुन्थ्यो’, उहाँ भन्नुहुन्छ– ‘सानो छँदा विद्यार्थी उमेरमा दुर्गम गाउँघर पुग्थें, त्यहाँ जाँदा बच्चा जन्माएर पनि महिलाहरूले दाउरा घाँस काट्न जाँदा पछाडि भारी, अगाडि बच्चा बोकेको देख्दा उनीहरूको पीडा कम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।’ त्यति मात्र होइन, उनीहरूको अधिकारको क्षेत्रमा काम गर्ने सोच पलाएको थापाले सुनाउनुभयो– ‘समाजसेवी बन्छु भन्ने लागेकै थिएन, तर अहिले सामाजिक क्षेत्रमा काम गरिरहेको छु।’

छाउपडी, बालविवाह र महिला हिंसाविरूद्व दैलेखका सामाजिक अभियन्ता तथा एन पिस अवार्ड विजेता हीरासिंह थापाको प्रयास बेग्लै किसिमको छ। महिला तथा बालबालिकाको अधिकार, बालविवाह न्यूनीकरण र लोपोन्मुख राउटे समुदायको सामाजिकीकरणको अभियानमा उहाँले काम गर्दै आउनुभएको छ। उहाँ दैलेख जिल्लाको समाज रूपान्तरणका संवाहक बन्नुभएको छ। थापाले थालेको प्रयासले जिल्लामा छाउप्रथा न्यूनीकरणमा टेवा पुगेको छ।

‘त्यसबेला महिला अधिकार र बाल अधिकारको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर सोच्थें, कक्षा ६ मा पढ्दा जुनियर रेडक्रसको सदस्य भएँ, त्यसबेलादेखि नै सामाजिक कार्यमा लागिपरेको हुँ। हाम्रो पालामा एसएलसी पास गर्नेहरूमध्ये पहिलो श्रेणीमा पास गर्ने थोरै हुन्थे। मैले पढ्ने स्कुलबाट चारजना पहिलो श्रेणीमा एसएलसी पास गरेका थियौं’, थापाले भन्नुभयो– ‘उच्च शिक्षा पढ्न काठमाडौं आएँ, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भएँ, उद्देश्य डाक्टर बनेर समाज सेवा गर्ने थियो, अमृत साइन्स क्याम्पसमा नाम पनि लेखाएँ।

साथीको सुझावमा इन्जिनियरिङ पढिसकेर दैलेख फर्किएपछि सरकारी सेवामा प्रवेश गरें।’ उहाँले थप्नुभयो– ‘सरकारी जागिरमा प्रवेश गरे पनि दैलेखका महिला र बालबालिकाले पाएको दुःख ऐनाजस्तै आँखै अगाडि आइरहन्थ्यो। महिला र बालबालिकाको समस्या समाधानका लागि सामाजिक सेवा केन्द्र नामक सामाजिक संस्था स्थापना गरेका थियौं। बालविवाह, छाउप्रथा न्यूनीकरणमा थुप्रै चुनौतीसँगै अवसर पनि। यिनै सवालमा उहाँ अनवरतरूपमा लागिपर्नुभएको छ। उहाँको सपना हो ‘सभ्य र समतामूलक समाज निर्माण।’





Leave a comment

Your email address will not be published.


*